Friday, April 6, 2012

सिद्धान्त र व्यवहारको विपर्यासमा : शङ्कर लामिछाने


॥ गीता त्रिपाठी ॥
सिद्धान्तले अँगालेको जीवनमूल्य व्यवहारमा पाउन प्रायः असम्भव हुँदोरहेछ । असम्भव हुँदोरहेछ - आफ्नै दृष्टिकोणबाट आफैलाई बचाएर राख्नु पनि । जीवनका भोगाइहरुले भावलाई मात्र होइन विचारलाई पनि कता हो कता बहकाएर लैजाँदोरहेछ । त्यसैले त जीवनभरको प्रयासमा पनि आफैलाई चाहिँ चिन्न सक्दैन मानिसले अरुका सन्दर्भमा निकै समालोचकीय अवधारणाहरु बनाउनेले पनि आफ्नै परिचयको ऐनाभित्र भने सधैँजसो धमिलो छायामात्र भेट्छ विश्वका चर्चित स्रष्टाहरुका जीवनीका पाटाहरु यसरी नै रहस्यपूर्ण पहाडमय भएको पढिन्छ र सुनिन्छ तिनमा अव्यवहारिकताको चरम आरोप लागेको हुन्छ । भावनाको केन्द्र प्रबल हुनुलाई असामाजिक यात्राको थालनी मानिदिन्छ समाजले र परम्परा तोड्न सङ्घर्षरत योद्धा आफ्नो प्रहारले आफै घाइते भइरहन्छ बारम्बार । उसलाई लाग्छ जीवन कॆही हो कि जस्तो अथवा केही होइन कि जस्तो पनि । अनि अल्झिरहन्छ- उसैमा उसका प्रतिबिम्बहरु ।

Wednesday, April 4, 2012

माया नं ६५३


माया आज अलि उद्विग्न थिई । हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई । पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस् । र आज त उसलाई अस्पताल गई आफ्ना शरीर जचाउनु पनि थियो । अनि एक सातासम्म अस्पतालमै बसेर आराम पनि लिनु थियो । अनि मार्च १७ तारिख ।
आज ११ तारिख, मार्च १७ त उसको जन्मदिन पनि हो । उसले आफ्नू नारीघडी सारेर छालामा अङ्कित मिति पढी - १७ मार्च, २०५० । यो थियो उसको जन्मदिन ! नं ६५३ यो थियो उसको जन्मसङ्ख्या ।
ऊ नगरपालिकाको जनसङ्ख्या-नियन्त्रण-विभागमा काम गर्दथी । तथा उसका मातहत नारीवर्गको जन्मकुण्डली र जीवनकार्यक्रमको लेखो राख्ने काम थियो । र उसलाई थाहा थियो कि कुन क्षेत्रमा जननीगुणरहित कति नारी छन् । उनीहरु के काम गर्छन् र कुन विभागमा ? यो पनि ऊ जान्दथी । त्यस्तै ऊ यो पनि जान्दथी कि पुरुषवर्गको पनि रेकर्ड पनि राखिन्छन् - र त्यस विबागमा काम गर्ने पुरुषलाई पनि थाहा हुन्छ कि उसको क्षेत्रको पुरुषत्वहीन कति लोग्ने मानिस छन् । सन्तानोत्पत्तिमा सरकारको पूर्ण नियन्त्रण थियो - सरकारका पूर्वनिर्धारित योजनानुसार नै उनलाई जन्माइन्थ्यो ।

Wednesday, May 11, 2011

सन्दर्भ लक्ष्मी जयन्ती


२००७ सालको पुस महिनाको जाडो साँझ । मैतीदेवीको फाँटको बीच खेतमा टायलको एउटा घर । त्यसको ढोकामा म चिच्याउँदै थिएँ- 'देवकोटाजी हुनुहुन्छ ?' माथिबाट कुनै अंग्रेजी ऐतिहासिक किताब जोरसँग घोकेको शब्द आइरहेको थियो । मेरो मनमा लाग्यो सायद हेनरी आदौंका जीवनी पढ्ने यो कुनै मेट्रिकको विद्यार्थीका घरमा म पुगेछु भूलले ।

सेतो पुरानो छिटको धोती लाएकी एकजनाले मेरो नगिच आएर भन्नुभयो- 'माथि ऊ त्यो कोठामा जानुहोस् ।'

जीवनमा पहिलोचोटि देवकोटाजीसित परिचय पाउने उत्साहमा मेरो मन धकमक गरिरहेको थियो । 'सुन्दरीजल' र 'शाकुन्तल महाकाव्य' लेख्‍ने कविको साक्षात् दर्शन । भर्‍याङको हरेक खुड्किला पहाडझैं लागेपछि २/२ वटा गरेर म कोठामा उफ्रेर एक्कासि पुगेँ । देखेँ- कालो कम्बलले गुटुमुटु भएर एउटा मैलो फोहोर ओछ्यानमा पल्टेर घोप्टिई देब्रे हातले चिउँडो अडाएर उच्चस्वरमा एकाग्र चित्त भई पढिरहेछ । एक मन त लगत्तै फर्कूँजस्तो लाग्यो सायद उहाँ त्यो महाकवि होइन होला भन्ठानेर । के छ अनुहारमा कालो फुस्रो मुख छ । कपालका रौं आफूखुसी दस दिशा दौडिरहेछन् । कम्बलबाट निस्केका हातमा झ्याप झ्याप्पी रौं कालो फुस्रो हात मसी-मसी लागेको । यस्तो मानिस पनि महाकवि ! कोठामा चारैतिर हेरेँ ।

Monday, May 9, 2011

एब्स्ट्रयाक्ट चिन्तनः प्याज

हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- "शङ्करजी, तपाईँको लेख, त्यो लेख, 'शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा' पढेँ ।''
Shankarji"कस्तो लाग्यो ?''
" मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।''

"एब्स्ट्रयाक्ट पेन्ट गर्ने त तपाईँको काम ! म कहाँ पेन्टिङतिर जाऊँ अब ।''
" होइन, पेन-पिक्चरमा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।'' 

म हाँसिरहेँ । (हाँस्न जान्नु पनि ठूलो कला हो ! मानिसको उमेरमा विकास हुनासाथै उसको हाँसोको कलामा अनेक रङ चढ्न थाल्छन् ।) हाँसेर मैले बाङ्देलजीलाई बिदा दिएँ, र कुरालाई पन्छाएँ पनि ।

Thursday, May 6, 2010

शङ्कर हाइकुका गर्विला क्षण

लामो अन्तरालपछि ब्लगको बन्द दैलो उघार्ने क्रममा यसपाली हाइकु र त्यसमा शङ्कर लामिछानेको सहभागिताबारे लेखक प्रकाश सायमीले लेखेको ‘शङ्कर हाइकुका गर्विला क्षण’ शीर्षकको एउटा समीक्षात्मक लेख ल्याएका छौँ । खास गरी हाइकु विधाको जन्म, परिचय र विस्तारबारे बखान्नमा धेर खर्चिएको यस लेखमा शङ्करले नेपाली साहित्यमा हाइकुलाई प्रवेश गराएको प्रसङ्गसहितको भागले आंशिक स्थान ओगटेको छ । सायमीले शङ्करका कृतिहरूलाई पुन: नेपाली पाठकहरूमा परिचित गराउने क्रममा भावक अभियान नेपाल संस्थाको स्थापना र त्यससँगै शङ्कर-साहित्यको व्यापकतालाई धुरीमा पुर्‍याउन शङ्कर लामिछाने निबन्ध कोषको स्थापनामा विशेष योगदान गरेको स्तुत्य छ ।
------------------------------------------------------------------------------------- 
जापानका धेरै शास्त्रीय कलाहरू छन्, जसले विश्‍व समुदायलाई आकर्षित गरेको छ र त्यही अनुरूप ती कला विPsayami2श्‍वजनीत भएर गएका छन् । त्यस्ता धेरै कलाहरूले पश्‍चिमी जगत्‌मा आभ्यासिक कर्म र प्राज्ञिक चिन्तनको थाट बनाएका छन् जबकि ती कलाहरू जापानी समान र त्यसको इतिहासगत व्याख्यामा हेर्ने हो भने जीवनगत चरित्र नै हो । र, अभिन्न अवयव नै हो ।

बासोदेखि शिकीसम्मको शालीन परम्परामा जापानी सभ्यता र संस्कृतिमा हाइकुले धेरै विकासमान चित्र कोर्‍यो ।

हायकु, हाइकु अर्थात् हा-इकुका विभिन्न र विविध छविका परिचय छन्, पाँच-सात-पाँच अक्षरारेखमा तयार पारिने यो काव्य रचनाको