![]() |
| ॥ गीता त्रिपाठी ॥ |
सिद्धान्तले अँगालेको जीवनमूल्य व्यवहारमा पाउन प्रायः असम्भव हुँदोरहेछ । असम्भव हुँदोरहेछ - आफ्नै दृष्टिकोणबाट आफैलाई बचाएर राख्नु पनि । जीवनका भोगाइहरुले भावलाई मात्र होइन विचारलाई पनि कता हो कता बहकाएर लैजाँदोरहेछ । त्यसैले त जीवनभरको प्रयासमा पनि आफैलाई चाहिँ चिन्न सक्दैन मानिसले अरुका सन्दर्भमा निकै समालोचकीय अवधारणाहरु बनाउनेले पनि आफ्नै परिचयको ऐनाभित्र भने सधैँजसो धमिलो छायामात्र भेट्छ विश्वका चर्चित स्रष्टाहरुका जीवनीका पाटाहरु यसरी नै रहस्यपूर्ण पहाडमय भएको पढिन्छ र सुनिन्छ तिनमा अव्यवहारिकताको चरम आरोप लागेको हुन्छ । भावनाको केन्द्र प्रबल हुनुलाई असामाजिक यात्राको थालनी मानिदिन्छ समाजले र परम्परा तोड्न सङ्घर्षरत योद्धा आफ्नो प्रहारले आफै घाइते भइरहन्छ बारम्बार । उसलाई लाग्छ जीवन कॆही हो कि जस्तो अथवा केही होइन कि जस्तो पनि । अनि अल्झिरहन्छ- उसैमा उसका प्रतिबिम्बहरु ।

