Wednesday, February 27, 2013

अश्रुमिश्रित नयन र डुबिसकेको घाम

॥ गोकुल भण्डारी
ओ टुरिस्ट ! तिमी साँच्चै फर्केर आयौ हगि ? तिमीले इमेलमा आफ्नो आइटिनरेरि पठाउँदासम्म पनि मलाई विश्वास लागेको थिएन । झन्डै चालीस वर्ष अगाडि तिमीले भावुक भएर लेखेको चिठीको जवाफ समेत मैले फर्काइनँ, रिसाएर हैन भन्ने त तिमीले बुझिसकेकै थियौ । वास्तवमा तिम्रो चिठी एउटा कविता थियो, कवितामा सवाल-जवाफ हुदैन, त्यसैले चुपचाप पढ़िरहें - तिमीलाई आश्चर्य लाग्ला त्यो चिठी अझै पनि म सँग सुरक्षित छ – एउटा ऐतिहासिक दस्तावेज जस्तो । बेलाबेलामा मन विरक्तिएको बेला त्यही चिठी बोकेर म एक्लै स्वयम्भू र चोभार जान्छु र तिमीले देखेको काठमांडू हेर्न खोज्छु । खैर, म के देख्छु त्यो त तिमीले पनि छिटै थाहा पाइहाल्छौ नि तिम्रो २/४ दिनको बसाइमा ।