वि. सं. २०२४ सालको मदन पुरस्कारविजेता शङ्करको कृति 'एब्स्ट्रयाक्ट चिन्तन प्याज' बाट शङ्करद्वारा अभिव्यक्त दुई भूमिकापरक टिप्पणीलाई यसपाली समेटेका छौँ । पहिलो पटक २०२४ सालमा प्रकाशित 'प्याज' निबन्धमालालाई ३३ वर्षछि शङ्करका शुभेच्छुक, हितैषी, समकालीनहरू एवम् परिवारको सामुहिक चाख र लगनबाट २०५७ सालमा दोस्रो संस्करणको रूपमा प्रकाशन गरियो । भावक अभियान नेपालको सक्रियतामा थालिएको प्रकाशन-यात्रामा शङ्करका तीन निबन्धात्मक कृतिहरू ('प्याज'सँगै 'गोधूलि संसार', 'विम्ब प्रतिविम्ब') ले पुनःजीवन मात्र पाएनन्, नेपाली साहित्यिक र पाठकीय बजारमा शङ्करको चर्चा र बहस वर्षौँपछि एकफेरा फेरि हृवात्तै चुलियो । पछिल्लो समयमा साझा प्रकाशनले शङ्करका दुई कृति प्याज र गोधूलि संसारको प्रकाशन-अभिभारा लिँदै उक्त किताबहरू बजारमा ल्याएको छ ।
'प्याज' कृतिकै लागि शङ्करले २०२४ मा लेखेको भूमिकासँगै २०३२ मा अभूमिका शीर्षक दिएर कोरिएको जीवनबारेको विश्लेषणात्मक दार्शनिक पङ्क्तिहरू यहाँ भावक अभियानले २०५७ सालमा प्रकाशन गरेको (प्याज, दोस्रो संस्करण) बाट साभार गरेका छौँ । उक्त दोस्रो अभूमिका पढेर जीवनको आखिरी घडीमा शङ्कर जीवनप्रति कति रागी अथवा वैरागी रहेछन्, प्रबुद्ध पाठक समुदायले हिसाब निकाल्ने नै छन् ।
--------------------------------------
भूमिका
यस सङ्कलनमा परेका रचनाहरूको सिर्जनकाल मेरो जीवनको साह्रै नै अव्यवस्थित काल थियो । व्यवसायको असामयिक र अचिन्तनीय परिवर्तन, रूप लिन खोजिरहेका जीवनका अर्जित दर्शनको आकस्मिक विष्फोट तथा उमेरको प्रौढता - यी सबले एकै पटक मउपर प्रहार गरे । ढाड भाँच्न एउटा मात्रै परिस्थिति पनि पर्याप्त हुन्छ एक व्यक्तिलाई - म त झन् तीन बल्ड्याङ खान पुगेँ । चित्ता परेर भुइँमा, मैले उठ्न खोजेको प्रयासमा लर्खरिँदै लेखिएका यी रचनाले मलाई अर्कै गति दिए - शैलीमा, अभिव्यक्तिमा तथा आत्मविश्वासमा । एक प्रकारले, नयाँ उखान भन्ने हो भने, यी मेरा कालरात्रिका उज्ज्वल तरिका हुन् ।
यिनै ताक मैले अध्ययन पनि गरेँ विभिन्न विषयका । वेद, दर्शन, इतिहास, साहित्य, कामकला - जेजे हात पर्यो, जेजे सहजसँग उपलब्ध भयो । केही बुझेँ, धेरै बुझिनँ होला । तर तिनले सामुहिक रूपमा एक कुराको बोध गराए मलाई । त्यो के भने, नेपाली साहित्यका लागि प्रशस्त सम्भावना अझै उपलब्ध छन् । प्रशस्त विषय छन् जो छाइएका छैनन् र पर्खिरहेछन् कलमको कोराइलाई । र भाषा हाम्रो यत्ति सुन्दर र मलिलो र मीठो छ; यसबाट के उपलब्धि गर्न सकिन्न र ?
भाषाको कुरा उठ्यो, तर म भाषाविद् होइन । मैले आफैँ पनि अङ्ग्रेजी, उर्दू, संस्कृतलाई प्रशस्त प्रयोग गरिदिएको छु । (किताबको नाम नै एब्स्ट्रयाक्ट छ !) यसको उल्था अनेक किसिमबाट गर्न सकिन्छ, तर पनि मूल शब्दको जुन मात्रिक झङ्कार छ त्यसको आत्माको लागि मैले शब्दको हत्या गरिनँ । अमूर्तका रूप अमूर्त नै रहोस् !
मेरा

एक-दुई शुभचिन्तक छन् । उनको गुनासो हुन्छ प्रायशः - मेरा रचनामा नेपाली माटोको गन्ध आउँदैन भन्ने । कुरा एक प्रकारले ठीक पनि हो । हाम्रो शिक्षाको माध्यम नै अहिलेसम्म व्यवस्थित भइसकेको छैन । हामीलाई आफ्नो देशको इतिहास, संस्कृति, ज्ञान र शिक्षा त विदेशी भाषाको माध्यमद्वारा मात्र उपलब्ध छ (भनौँ, हाम्रो अनुहार हेर्न बेल्जियममा बनेको ऐना हेर्नुपर्छ !) । त, यस परिस्थितिमा कुनै एक प्रबुद्ध लेखक कसरी विश्व-साहित्यबाट अप्रभावित रहन सक्छ - फेरि आजको संसार विज्ञानबाट खुम्चिन गएको छ र हामी स्वयम् आफ्नै प्रयासले पनि अरूको नगीच हुने कोशिसमा छौँ । नेपालको राणाकालीन अवस्थाझैँ विश्वबाट एक्लिएर बस्न सक्दैन, न विश्वको अभिव्यक्तिबाट अलग्गिन । यस सन्दर्भमा, मेरा कृतिहरूले यदि राष्ट्रिय सिमाना नाघेका छन् भने, यसमा अपसोच मनाउने कुनै कुरा छैन ! हुन सक्ला, कुनै-कुनै लेखमा म विदेशी झल्किउँला, तर मेरा सभ्य समालोचकले मलाई त्यस्तो प्रवासी ठाने हुन्छ जो विदेशमा पनि नेपाली संस्कृतिको झन्डा बोकेर हिँडेको छ, लुगा उसले सूट नै लाएको किन नहोवोस् । म कुन कालमा जन्मेँ, कुन कालमा हुर्केँ र कुन कालमा प्रयोग गर्दैछु त्यो बिर्सनु हुन्न सच्चा साहित्यिकले ।
मलाई लाग्दछ, म सामयिक छैन ! सामयिक हुनु असाहित्यिकपन अपनाउनु हो । आजको नेपालमा मान्छे सामयिक हुन सक्दैन । १०० वर्षको प्रगति १० वर्षमा परिपूर्ण गर्ने सङ्कल्पमा हामी छौँ । नेपालको यही जागरण अवस्थामा, यस 'गाउँ फर्क' आन्दोलनको सन्दर्भमा, मलाई भन्न मन लाग्छ, हामीले विगत, गत र आगतको एउटा छिटो प्रक्रिया सहने दुस्साहस गरेका छौँ । यस आन्दोलनको भविष्यमा नै हाम्रो भविष्य निर्भर छ !
यसभन्दा बढी केही भन्नु छैन ।
भूमिका सदा भूमिका नै रहन्छ । वास्तविकता सदा समयको हातमा । समयलाई रिस उमार्ने दुस्साहस मेरो छैन ।
त्यस कारण, म यो पुस्तक समयलाई नै समर्पित गर्छु ।
शङ्कर लामिछाने
मङ्सिर १, २०२४
--------------------------------------