Showing posts with label शङ्कर लामिछानेका निबन्ध (२०५९). Show all posts
Showing posts with label शङ्कर लामिछानेका निबन्ध (२०५९). Show all posts

Sunday, October 4, 2009

शङ्करको 'प्याज' सुनौँ

०२४ सालको मदन पुरस्कार विजेता निबन्धकृति  'एब्स्ट्रयाक्ट चिन्तन प्याज'  को महत्ता कसको नजरमा कति छ कुन्नी । तर सर्जकको रुपमा शङ्कर लामिछानेको परिचय स्थापनाको परीक्षण-पाइला त्यही कृति  भयो, उनले पाठकको दैलोभित्र बास पाए ।

स्वाद लिनेले उनका जम्मै किताबमा उत्तिकै रस भेट्छन् । ती मध्ये 'प्याज' को महिमा विशिष्ट रहिआएको छ 'पढालु' पाठकहरूमाझ । पहिलो चोटि किताब समाएर बस्दा नबुझ्दा-नबुझ्दै पनि धेरै कुरा बुझे जस्तो लाग्न सक्छ, र त्यही माझधारको चिनाजानासँगै शङ्करको केस्रादार अध्ययनको लागि घुम्टी खुल्छ ।

यसपाली शङ्कर स्‍मृति घरमा त्यही कृति  'एब्स्ट्रयाक्ट चिन्तन प्याज' भित्रको शीर्ष निबन्धलाई सुन्ने रुपमा लिएर आएका छौँ, आशा छ यो स्वरुप शङ्करप्रेमी पाठकहरूलाई रुचिकर लाग्नेछ । यसलाई हामीले अनलाइन अडियो सङ्ग्रह 'मेरो रेडियो' बाट लिएका हौँ । निबन्ध वाचनमा आवाज रुपेश श्रेष्ठको हो ।
सुन्नलाई यो लिङ्कमा जानुहोला ।

Thursday, July 16, 2009

गिरीको याद

वि अगमसिंह गिरीप्रति शङ्कर लामिछानेको कलमको प्रेम र श्रद्धाभाव यस लेखोटको सार हो । हामीले यसलाई यहाँ यस रूपमा प्रस्तुत गर्नुको कारण त्यो श्रद्धाभावलाई पाठकसमाजमाझ छनक दिनु मात्र हुँदै होइन । बरू हो- गद्यलेखनमा प्रयोगशिल्पी भनी चिनिएका र पुजिएका-बुझिएका शङ्करको संस्मरणलेखनको पाटो के-कस्तो रहेछ भनेर उदाहरण राख्‍नु । त्यसो त कुनै व्यक्तिविशेषमाथि लेखिएको तथा संस्मरण लेखनको गहकिलो स्वाद चाख्‍न शङ्करको सिङ्गै किताब 'विम्ब-प्रतिविम्ब' मै पस्नुपर्छ ।

तर परिचयात्मक निबन्ध-सङ्ग्रहको नाम दिइएको 'विम्ब प्रतिविम्ब'मा उनको उक्त पुस्तकलेखनको समयमा दिवङ्गत भइसकेका व्यक्तित्व मात्रै थिएनन् । जिउँदा अग्रज प्रतिभा र समकालीनबारे परिचयात्मक भाव उनले उतारेका थिए उक्त पुस्तकमा । प्रस्तुत 'गिरीको याद' निबन्ध भने अगमसिंह बितिसकेपछि लेखेका हुन् शङ्करले ।
गिरीबारे शङ्करले 'निरन्तर बजिरहने एउटा धुन' र 'ओम स्वाहा ! एउटा नवीन आहुति' गरेर अरू दुई सम्झौटो पनि लेखेका छन् । यी दुईसहित प्रस्तुत 'गिरीको याद' विम्ब-प्रतिविम्ब' सँगालोमा पढ्न पाइन्छ । यसपाली शङ्कर स्मृति घरमा त्यही यादलाई सम्झना गरौँ, पढ्नुस् 'गिरीको याद' :-

Friday, June 5, 2009

क्याट माने बिरालो

क अमेरिकन मित्र काठमाडौँबाट प्रस्थान गर्दै थिए । हामीसँग निकै हेमचेम थियो । उनले सायभिज-सङ्कर बिरालो पालेका थिए । अब त्यसलाई उचित वासको टुङ्गो लगाउने समस्या पर्‍यो तिनलाई । हाम्रो सहायता मागे ।

एक प्रकारले म कुकुर, बिरालोप्रेमी हुँ । ती दुवै जनावरको केही अंश सायद ममा अवस्थित छ । जे होस्, मैले बिरालो स्याहार्ने जिम्मा लिएँ । हुन त बिरालो नदेखेको वा बिरालोउपर प्रबन्ध नलेखेको पनि होइन स्कुली जीवनमा, तथापि बिरालोको केही गुण, अवगुण रहेछन्, जो मलाई थाहा थिएन ।

जस्तै, त्यो बिरालो थियो । बाथरुममा हग्ने । उसको निमित्त काठको बाकस बनाएर त्यसमा बालुवा राखिदिनुपर्ने । ऊ बिहानै बाथरुम जाने र त्यसमै हग्ने । बिरालो आफ्नो गुहु लुकाउँछ भन्छन्, लोकोक्ति हो, बिरालो बाघको फुपू रे, सारा भदालाई सिकाएर उसले एउटै कुरा सिकाएन रे, रूख चढ्ने । त्यसमा रिसाएर बाघले झोँकमा भन्यो रे, ' तँ मूलाको गुहु पनि बाँकी राख्दिनँ ।' - र त्यस बेलादेखि बिरालाले गुहु लुकाउन थालेको रे !

त, त्यो अमेरिकन - सायभिज-सङ्कर बिरालो झन्डै छ महिनाजति बस्यो होला हामीकहाँ ।
त्यसको आगमनपछि, अनि पो मैले बिरालोबारे अध्ययन गर्न पाएँ । खासमा बिरालो सारै सुग्घरी हुँदो रहेछ । बिहान उठेपछि उसले मुख धुने, ज्यू चाटी सफा गर्ने गर्छ । आङ उसको सदा चिल्लो र चिप्लो हुन्छ ।

त्यो बिरालो हामीकहाँ आउँदा गर्भावस्थामा थिई । केही महिनापछि उसले बच्चा पाई । सानो बेलामा बिरालाले गुँड सार्छ भन्ने उखान त्यस बेला स्पष्‍ट भयो । मुखले बच्चा समातेर उसले जताततै पुर्‍याएर - लाग्दथ्यो, जङ्गलको प्रवृत्ति अझै उसमा समाप्‍त भएको थिएन, मानौँ एकै ठाउँमा बच्चा राख्दा अरूले त्यसको सुइँको पाउँछन् ।

अनि आउँछ उसले बच्चालाई तालिम दिने काल । उफ्रिने, झम्टिने, प्रहार गर्ने पन्जाले, रिसाउने, खुसाउने । सब सिकाउँछ उसले तथापि सारै दु:खदायी क्षण त सिकार गर्न सिकाएको अवस्था हुँदो रहेछ ।

एक दिन एउटा ठूलो मुसा मारेर ल्याउँछे । कतै घाउ चोट छैन उसको जीउमा । ल्याएर पलङमुनि उसले राख्दछे र बच्चाहरूलाई त्यहाँ पुर्‍याउँछे । उनीहरू नौलो जन्तु देखेर तर्सिन्छन् । आमा स्वयम् मुसालाई खेलौना जस्तो गरेर खेल्छे, मानौँ भनिरहेकी होओस्, यस निर्जीव वस्तुबाट केको भय ? यसबाट बच्चाहरू खेल्न थाल्छन् । एउटाले एकातिर तान्छ अर्कोले अर्कोतिर । घण्टौँको यस खेलबहाडमा समेत त्यो वस्तु खाने सामग्री हो भन्ने ती जान्दैनन् । अनि, आमाचाहिँ आएर मुर्दा मुसामा घाउ बनाइदिन्छे । त्यसबाट रगत चाटेपछि त्यस नयाँ स्वादबाट बच्चाहरूमा हिंसाको प्रवृत्ति स्वत: ब्यूझेर आउँदो रहेछ, र अनि ती यो पनि जान्दछन्- मुसा खेलौनाको साथसाथै भोज्य पदार्थ पनि रहेछ, आपसमा स्पर्धा र ङारङुर सुरु हुन्छ तिनमा ।

सिकारको यो उनीहरूको प्रतम अभ्यासपछि, दोस्रो कदमका रूपमा आमाले जीवित सानो मुसा पकडेर ल्याउँछे । कोठामा छाडिदिन्छे तथा ढोकाको छेउमा आफू बसेर त्यसलाई भाग्ने बाटो पनि बन्द गरिदिन्छे । बच्चाहरू त्रसित मुसालाई देखेर सुरुमा अचम्भित हुन्छन्, अनि बिस्तारै त्यसलाई लखेट्न थाल्छन् । आमाचाहिँ बीचबीचमा एक-दुई झप्पु दिएर मुसाको शक्ति क्षीण बनाइदिन्छे । भाग्ने प्रयास सकभर मुसाले गर्छ, तर चारैतिरबाट निराशा मात्र पाउँछ उसले । अनि, हुँदाहुँदा निराशाको यस्तो चरम सीमामा पुग्छ ऊ हतासिएर त्यसै लम्पसार पर्छ । निर्यातसमक्ष असहाय भएर पल्टेको मुसाको त्यो अवस्था देख्दा मेरी सानी छोरीले भनेकी थिई, "बुबा, त्यो मुसालाई बगैँचामा लुकाइदिऊँ ।"

मैले भनेको थिएँ, "छोरी, यो प्रकृतिको नियम हो, बिरालाले मुसा खाएको स्वभावजन्य अधिकारलाई छेक्ने हाम्रो हक छैन । मुसा खाएन बने बिराला बाँच्छ कसरी ? फेरि, सधैँ हामी बिरालाको चियो पनि त गर्न सक्दैनौँ ।"

आज मलाई लाग्दैछ, त्यत्रो दार्शनिक व्याख्या छोरीले बुझी वा बुझिन, तथापि ऊ चुप लागी । हामी हाम्रो समक्ष संहारको प्रक्रिया हेर्दे गर्‍यौँ ।

बच्चाको विकाससाथसाथै मुसाको आकार पनि बढाउँदै लैजान्छे आमाचाहिँ । पछिपछि हुँदाहुँदा त पूरा विकसित मुसालाई जिउँदै अघाइने रूपमा ऊ ल्याउँछे र छाडिदिन्छे कोठामा । आफू उफ्रेर, जिस्केर, प्रहार गरेर ऊ सारा युद्धशास्त्र बच्चालाई सिकाउँछे ।

यी सारा क्रिया गरून्जेल ऊ माया गर्छे बच्चालाई । अनि बच्चा पारङ्गत के बन्छ एक पटक, उसको माया स्पर्धामा बदलिन्छ । पहिले आफू नखाएर पनि बच्चालाई खान दिने आमा अब खाने बेलामा ती बच्चाप्रति ङुर्रसमेत गर्ने हुन्छे ।

यो अवस्था मानौँ सक्षमताको बाधक हो । मानौँ अब जीवनयापनको समस्या सामूहिक नभएर पूरा रूपले व्यक्तिगत बन्न गएको छ । त्यस बेला लाग्छ, जनावरमा समेत आफ्नो व्यक्तित्वको विकासको आकाङ्क्षा हुँदो रहेछ वा भनौँ आफूसमान अरूलाई हुन नदिने स्वार्थको जुन भन्को छ, त्यो सभ्यताको देन मात्र होइन रहेछ ।

अर्को कुरा जो मैले थाहा पाएँ, त्यो थियो सहवासको आवश्यकताले प्राकृतिक शत्रुता पनि सेलाउँदो रहेछ । जस्तै चलन छ भन्ने, कुकुर-बिरालो झगडा । तथापि, साथसाथ बस्ने अवस्था पर्न जाँदा ती दुई जनावरमा एक-अर्काप्रति बेवास्ताको भावना बढ्दै जाँदो रहेछ । पछिपछि त ती छेउछेमै ढक्केर घाम ताप्नेसम्म पनि हुँदा रहेछन् ।

सारा कुरा विचार गर्दा, हाम्रा जीवनमा हाम्रै आँखासामु अनेकन् घटना घटिरहेका हुन्छन्, हामीले हेरि मात्र दिन सक्नुपर्छ, बुझि मात्र दिन सक्नुपर्छ । बाल्यावस्थामा जुन प्रबन्ध लेख्‍न सिकाइन्छ, जसको आरम्भ नै'बिरालो एउटा चारखुट्टे जनावर हो' वा 'गाई एउटा चारखुट्टे जनावर हो' - त्यो कति गलत तरिका रहेछ शिक्षापद्धतिको, त्यो आज अनुभव हुँदैछ । बिरालाले आफ्नो ज्ञान जुन प्रकारले प्रदर्शनपद्धतिद्वारा आफ्ना बच्चालाई सिकाउँछ, त्यो मानिसले भर्खरभर्खर शिक्षापद्धतिमा अपनाउने प्रयोग आरम्भ गर्न थालेको छ। त्यो पनि सभ्यताको विकास दस हजार वर्षपछि ।

आज अनुभव हुन्छ जीवन पुन: आरम्भ गर्न पाए अनेक कुरा जो जान्नुपर्ने थियो र जो छुटिरहेको छ वा ढिला रूपमा मात्र पछिपछि जानियो, तिनलाई आरम्भमै जान्न सकिने थियो । ती कुरा अघि बुझ्न पाएको भए तिनले जीवनको प्रवाहलाई सायद नयाँ मोड दिन्थे कि ? जेजति गल्ती गरियो, हुन सक्छ, त्यसको मात्रा सायद कम पो बन्थ्यो कि ? केही नभए पनि सामान्य जीवनमा दार्शनिक दृष्‍टिकोणको बढी प्रभाव हुने थियो ।

हाम्रो ज्ञान सी ए टी क्याट, क्याट माने बिरालाको सतहबाट निश्‍चय पनि माथि उठ्ने थियो ।

------------------------------------

:: साभार: शङ्कर लामिछानेका निबन्ध (२०५९), साझा प्रकाशन, ललितपुर ।
सम्पादक: शिव रेग्मी ।

*तस्बिर: डिजिटलजर्नल.कम

Monday, January 5, 2009

मादक वस्तुको सेवन

पाठक एवम् अध्ययनप्रेमी साहित्यिकहरूको चाख, गहिरो अभिरुचि तथा थप खोजीले निर्धारण गर्छ, कुनै साहित्यिक प्रयासले कुन रूपमा कोल्टे फेर्दै जान्छ । शङ्कर स्मृति घरको हकमा पनि यो कुरा लागू हुन्छ । सुरूमा शङ्करका आफ्ना कृतिरचना तथा उनीबारे विभिन्न विद्वान्‌ले लेखेका सामग्रीलाई मात्र यस मञ्चमा प्रस्तुत गर्ने भन्ने सोचले राखिएकोमा विस्तारै आजको समयको पनि निबन्ध पनि शङ्करको हाराहारी सजाएर उहिले र अहिलेको बीचमा सेतु जोड्ने चेत पलायो ।
ब्लगमा छिरेको बेला सोझै टिप्पणी नगरे पनि विभिन्न स्रोतमार्फत शङ्करप्रेमी पाठकले इच्छाएका कुरा हामीसम्म आइरहे । 'शङ्करसम्बन्धी ब्लगमा खोइ त शङ्करका किताब ?', अक्षरका पूजकहरूले ठुँगिरहे । तिनलाई हामीले पन्छाउने कुरै थिएन । त्यसो त, विस्तारै प्रक्रिया मिलाएर शङ्करका कृति एकमुष्ठ रूपमा सँगाल्ने हाम्रो योजना छँदै थियो । अब शङ्करको सिङ्गो किताबै यस ब्लगमा राख्‍ने कार्यको बीजारोपण भएको छ, यसै निबन्धरचनामार्फत ।

सम्पादित रूपमा निस्किएको शङ्करको पछिल्लो सङ्ग्रह 'शङ्कर लामिछानेका निबन्ध' लाई सबैभन्दा पहिले हामीले छनोटमा राख्यौँ । कारण, यो सङ्ग्रह पछिल्लो प्रकाशन भएको हिसाबले सर्वसुलभ भइकन पनि सबैको आँखामा परिरहेको छैन कि भन्ने हामीलाई लाग्यो । पुरस्कार पाएर चर्चामा आएको र शङ्करको समयमा तहल्का मच्चाएका उनका प्रारम्भिक कृतिलाई पाठकले अवश्य धेरथोर चिहाएका छन् । यसो भन्दैमा अघिल्ला कृतिहरूलाई एकमुष्ठ रूपमा ब्लगमा समेट्न छुटाउने भन्ने होइन, क्रमश: ती पनि सँगालिनेछन् ।

सिङ्गो किताबलाई नै ब्लगमा समेट्ने यस अभियानबाट शङ्करलाई पढ्न छुटाएका र पढिसकेर पनि स्मृतिमा धूमिल हुन पुगेका पाठकहरू त लाभान्वित हुने नै छन्, यस ब्लगको पूर्णतामा पनि इँट थपिँदै जानेछ ।
-------------------------------------------------
मादक वस्तुको सेवन

झोछेँको सडकमा गाँजा तथा हृयासिसको पसलहरूको लाइन छ । जत्ति विदेशी पर्यटक आउँछन् तिनका लागि यो खुलेआम विक्रय ज्यादै आश्‍चर्य लाग्दछ । साइनबोर्डको फोटो त उनीहरू खिच्छन् आफ्ना फर्केर मित्र तथा परिवारलाई देखाउन, नत्रभने उनीहरूलाई विश्वास हुने छैन रे ! प्रायः सबको भनाइ छ, नेपाल मात्र विश्‍वमा त्यो देश हो, जहाँ हृयासिसको विक्रयमा कुनै प्रतिबन्ध छैन ।

हाम्रा धार्मिक परम्पराअन्तर्गत जोगी, साधु, सन्तहरूले गाँजा, भाङ, अफिम तथा चरेसको सेवन गरी धुनी जगाउने प्रचलन निकै पुरानो हो । हिमालयका आदिदेव महादेव त विषपान गर्नमा ख्यातिप्राप्‍त छन् । पुराना समयमा यसको सेवन गरी चिन्तनमननको लागि एकाग्रता पाउने प्रयास गरिन्थ्यो भने वर्तमान काल पश्‍चिमी सेवकहरू अतिशय भौतिक विकासको प्रतिक्रियाबाट उत्पन्न भएका कोलाहलबाट तन्तुहरूलाई सुषुप्त पार्न तथा वातावरण, एक ट्रान्क्विलाइजरको रूपमा यसलाई प्रयोग गरेको भन्दछन् । एक प्रकारले हेर्ने हो भने संसारका जत्ति मादक पदार्थ छन् ती सबको प्रयोगको आधारभूत उपादेयता एउटै छ, वास्तविकता बिर्सिन, मनमस्तिष्कलाई सकेसम्म निस्क्रिय पार्नु । कुनै मादक पदार्थमा चेतनतालाई लाटो बनाएर बिर्सन सकिने अवस्था हुन्छ भने, अर्का थरीमा कुनै विशेष उत्तेजना उमारेर त्यसलाई तीव्रतम पारिदिएर, अन्यान्य तन्तुलाई त्यसको तुलनामा कमजोर बनाइन्छ । अफिमले शारीरिक सुस्ती बनाएर मनलाई एकोहोरो ढङ्गबाट भविष्यलाई चित्रित गर्ने प्रयास गर्दछ भने रक्सीले ब्लडप्रेसरलाई उकासेर आत्मलघुताको आभास कम गर्नुका साथै क्षणिक यौवनजन्य आवेग तथा तार्किक प्रक्रिया (जुन कहिलेकाहीँ झगडालु प्रवृत्तिमा परिणत हुन्छ) त्यसको वृद्धि गरिदिन्छ ।

पूर्वीय देशहरूमा आफ्ना आर्थिक विषमता र दैनिक दारिद्र्यबाट उम्किन गरिबवर्गमा यसको प्रचलन बढी रूपमा पाइन्छ भने यसको ठीक विपरीत पश्चिमी देशहरूमा धनको गरिमाबाट सबै वस्तु सहज रूपमा उपलब्ध भएका अवस्थाको परिणामस्वरूप जीवनको उराठलाग्दो एकनासेपनबाट मुक्ति पाउन सम्पन्न परिवारहरूका तरुणवर्गमा यो प्रचलित पाइन्छ । अस्ट्रेलियानिवासी तरुणवर्ग आवश्यक सैनिक सेवाबाट छुटकारा पाउन जत्थाका जत्था रूपमा विदेसिन्छन् भने अमेरिकी सैनिकहरू भियतनाम युद्धको विभीषिका बिर्सन यसको शरण लाग्छन् । सैगोनका अँध्यारा बारहरूमा टिपेको मादकसेवन तथा गुप्‍ताङ्गसम्बन्धी रोगहरू बोकेर उनीहरू स्वदेश फर्किन्छन् । भियतनाममा अब शान्ति सम्झौता त भयो, तथापि विगतका युद्धको अनेक अदृश्य प्रभावहरूसँग सङ्घर्ष गर्न अमेरिकालाई एक दशकले पनि पुग्ने छैन । सबभन्दा ठूलो सङ्घर्ष हुनेछ युवावंशको मनोवैज्ञानिक दृष्टिकोणमा आएको एक भावनालाई मेट्न: त्यो हो, अर्काको देशमा गई युद्ध गरी आफ्नो ज्यान किन व्यर्थमा फालियो । आफ्नो यौवनको सर्वश्रेष्ठ कालमा, केही सिक्ने-सिकाइने, केही उपलब्धिको आधार बनाउन सक्ने बेलामा, त्यस समयको दुरुपयोग भएको बोध सायद मृत्युपर्यन्त पनि कैयन्‌लाई बिझाइरहनेछ । युद्धमा मृत्यु भएका सदस्यहरूको परिवार भने यो अनावश्यक हानिको क्षोभ बोकिरहनेछन् ।

त्यस अर्थमा, पूर्वीय देशहरू भाग्यवादी दृष्टिकोणले गर्दा, यी मनोवैज्ञानिक विषमता त्यत्तिको कष्टप्रद नहुन पनि सक्छन् । तथापि यही भाग्यवादी दृष्टिकोण तथा मादक वस्तुको सेवनको बढ्दो प्रचलनले हाम्रो आवश्यक राष्ट्रिय जागरण तथा उत्थानका लागि ठूलो बाधक हुने सम्भावना पनि छ । अधुरो आध्यात्मिकतासँग नैराश्यजन्य निस्क्रियता जोडिन जानु जस्तो आत्मघातक अवस्थाको परिकल्पना गर्न सकिन्न । यो एक यस्तो सङ्क्रमक रोग हो, जसको आक्रमणबाट व्यक्ति वा समाज मात्रको स्तरमा हानि हुने होइन कि यसले राष्ट्रको परम्परागत उपलब्धिहरूलाई समेत क्रमशः गुमाउँदै जान्छ ।

हेरोइनको सबभन्दा ठूलो खेती मध्य-पूर्व एसियामा हुने गथ्र्यो । मेडिटेरेनियन सागरको बाटो ससाना डुङ्गाहरूको माध्यद्वारा यो तस्कर-व्यापार फ्रान्स तथा इटलीमा पुग्थ्यो । त्यहाँ प्रशोधन गरिने प्रयोगशालाहरूमा यिनको प्रशोधित रूप प्रदान गरिन्थ्यो । तथा लैटिन अमेरिकी देशहरूको बाटो गरी यो अमेरिकामा विक्रीवितरण केन्द्रमा पुग्थ्यो । यो अवैध व्यवसायलाई निर्मूल पार्न संयुक्त राष्ट्रसङ्घको माध्यमबाट अमेरिकाले एक दीर्घकालीन योजनाअन्तर्गत अरबौँ डलर खर्च गरी हेरोइनको खेती नै रोक्ने आग्रह गरेको छ । उक्त योजना सफल हुन निकै श्रम र समयको आवश्यकता छ । तथापि त्यसको सफलता अन्य राष्ट्रहरूको लागि एक यस्तो उदाहरण हुनेछ, जसबाट प्रेरणा पाई अरूहरूले समेत केही कदम चाल्ने आशा गरिन्छ ।
यो भविष्य कति टाढा होला ?

गुनकेशरी- अङ्क २, माघ-चैत २०२९
* साभारः शङ्कर लामिछानेका निबन्ध (२०५९), सम्पादक : शिव रेग्मी
--------------------------------------------------------------------------------------------