Wednesday, December 31, 2008

प्रश्‍नचिह्न

यसपाली शङ्करको कथाको पालो । प्रश्‍नचिन्ह । सङ्ख्यात्मक रूपमा हेर्दा, निबन्धको तुलनामा कथासिर्जनामा मितव्ययी देखिएका उनको यो कथा सिर्जनायात्राको प्रारम्भिक कालको रहेको बुझिएको छ । शङ्कर लामिछाने निबन्ध कोषसँग सम्बन्धित स्रष्टा प्रकाश सायमीका अनुसार, शङ्करले प्रश्‍नचिन्ह कथा बनारसमा लेखेका हुन् । महाकवि देवकोटासँग पहिलो भेट (वि. सं. २००७) हुनुअघि लेखिएको यस कथामा शङ्कर अलि आभ्यासिक चरणमा रहेको छनक पाइन्छ । सायमीका ठम्याइमा यससमेत शङ्करका अरू दुई कथा आभ्यासिक चरणका अपरिष्कृत रचना छन्- 'सपनामा समावेश चुम्बन' (गौँथलीको गुँड कथासङ्ग्रहमा समाविष्ट जुन रचना निबन्धका रूपमा शिव रेग्मीद्वारा सम्पादित 'शङ्कर लामिछानेका निबन्ध' मा समेत समेटिएको छ ।) र 'नेरी नं. २' ।

सम्पादकले कहानी पठाउन गुहारेकोमा त्यसको बदलामा विशृङ्खलित जीवनको निस्सारता पोखिएको राजु नामक कुनै साथीको पत्र ठेलिदिने शङ्कर विचित्र लाग्न सक्छन् । यस कथाको भावभूमि त्यस्तै छ । तर अलमलिनु पर्दैन, तलको सिङ्गो लेखाइ शङ्करकै हो । खालि उनले यहाँ शिल्पीको सीमा विस्तार गर्दै कथानकमा चलखेल गरेका छन् । साहित्यिक पाकशालामा नयाँ-नयाँ पकवानको प्रयोगमा रम्ने शङ्करको शैलीगत चमत्कार यस कथामा टड्कारै देख्‍न सकिन्छ । बाँकी कुरा यसभित्रै परिभ्रमण गरेर स्वाद चाखौँ । >>>
---------------------------------------------
श्री सम्पादकजी,
कहानी पठाउनु भनी तपाईँको आदेश पाएँ । तर, आज केही दिनदेखि मनस्थिति बिग्रिरहेको छ । यसको कारण हो, मेरो एक मित्रको चिठी जो मैले अस्ति पाएँ । हामी सँगै पढ्यौँ, सँगै खेल्यौँ । तर राजु हामीभन्दा पहिले पनि भिन्न देखिन्थ्यो । उसको पिताजी दरबारी थिए । तेस्रो बाजी बिहा गरेर जन्मेको राजुले आफ्नो बाल्यावस्था पिताजीको काखमा बिताउन पाएन । आमा उसलाई जन्म दिएको केही समयमा नै परलोक भइन् । र ऊ पालियो पिताको एक साथीकहाँ । परदेशमा । काकाले उसलाई मित्रको हैसियतबाट पाले । र राज जहिले पनि थियो । उसले चाहेको पुग्न गाहारो थिएन - धनको विषयमा । तर प्यार उसले पाएन ।

र आज उसको यस्तो पत्र पाउँदा- मलाई दुःख लागेको छ । र म त्यसको जवाफ पाउन सक्दिनँ । यो पत्र छापिदिनोस् । सायद कोही पाठकले तकलीफ उठाएर जवाफ दिहाल्नेछन् ।
भवदीय-
शङ्करप्रसाद, ताहाचल ।

शङ्कर,
आज बिहानैदेखि एक किसिमको नरमाइलो लागिरहेछ । बितिसकेका जीवनका घटनाहरूको सम्झना अहिलेको अवस्था र भविष्य यी तीनै थोक एकैचोटि मगजमा घुमिरहेछन् । र असहाय भएर, एउटाबाट अर्कोमा आफ्नो विचार हुत्याउँदै गर्छु तर हरेकमा पीडा छ । बितिसकेका जीवनको दुःख मेटिइसकेछ - तिनमा सिर्फ मिठो बिझ्ने सम्झना छ । अहिले चलिरहेको जीवन कुन दिशामा जाँदै छ, थाहा छैन, त्यसमा अज्ञानता छ । भविष्य के हुन्छ, कसरी म आफूलाई एक स्थान बनाऊँ, यो सोच्न सक्दिनँ दृष्टि धमिलिएको छ- अतः त्यसमा असमर्थता छ ।

आज बिहानैदेखि मनमा आफूलाई पढ्ने भावना उम्रिरहेको छ । यो अज्ञानतालाई चिरेर- म देख्‍न सकूँ केही, यो इच्छा छ । र बिहानैदेखि जीवन-फिल्मको चक्कलाई उल्टो घुमाएर म झन्‌झन् पुराना सीनहरू हेर्दै जान्छु । र एक प्रश्‍न बारबार मेरो मनमा घुमिरहेछ, म त्यसलाई समाधान गर्ने कोशिसमा थिएँ । म किन यस्तो दुःखी छु - व्यतीत जीवनका हर अङ्गमा यो प्रश्नचिन्ह ट्रेडमार्कझैँ लागेको छ !! वर्तमान जीवनको हरेक कुनामा यो प्रश्‍नचिन्ह झन् गहिरो सँग छापिएको छ ! मलाई आफ्नो जीवन अहिले एउटा पुरानो नोट जस्तो लागिरहेछ । मैलो, ठाउँठाउँमा च्यातिएको, असङ्ख्य हातमा परेर एउटा गरिबको हातमा पर्न आएको । ऊ त्यसलाई ओल्र्टाई-पल्र्टाई हेरिरहेछ । त्यसमा छापिएको रुपियाँको अङ्क अस्पष्ट छ, त्यसको पानीछाप धमिलिएको छ तापनि व्याप्त छ, त्यो पानी
छाप नोटको जीवनी हो, एक इतिहास ! मेरो जस्तै । र त्यो गरिब सोचिरहेछ - यो नोट चल्छ ? मेरो प्रश्‍न जस्तै ।

र सबैभन्दा मुख्य छ- यसको रुपैयाँ भुक्तान माग्न आएमा सदर मुल्की खानाबाट मोरु... तुरुन्त पाइनेछ । नोट जन्मेको अड्डामा पुग्न गाहारो छ, धेरै दुःखदायी, तर सबै जान्दछन् नोट कहाँबाट आयो । .....

मनको यो भावना हटाउनकै लागि होटलतिर लागेँ । होटेलहरूको ख्याउँख्याउँमा एक किसिमको आनन्द हुन्छ । तर .... भाग्यवश भनूँ या अभाग्यवश साथीहरू पनि रहेछन् । कुराको बहस मलाई नै केन्द्रित भएर उठ्यो । एउटाले भन्यो - 'राजु केटाकेटीमा यति तेज, चलाख र हँसिलो थियो, आजकाल के भो ?'

मेरा केही मित्रहरू यस्ता पनि छन्, शङ्कर, जसले राजुको सिर्फ एक रूप देखेका छन्- हँसिलो । तिनीहरू सोच्दछन् राजु अत्यन्त सुखी छ, किनकि ऊ खुसी छ । तर जो मेरा धेरै नगीच छन्- र दुवै रूप जान्दछन्- उनीहरू जान्दछन् कि राजु गम्भीर हुँदै आएको छ ।

मोहनले भन्यो- "यत्ति इन्टेलिजेन्ट भएर पनि राजुले धेरै पढ्न सकेन । यही त सबैभन्दा दुःखको कुरा छ ! नपढ्ने कुरा पनि केही थिएन ।"

गोपालले भन्यो- "कलेजमा जब थियो, अत्यन्तै ब्रिलियन्ट थियो । हामीहरूले धेरै आश राखेका थियौँ । तर.....शायद खल्तीको पैसा र यहाँको वातावरण सब यसका प्रतिकूल भए । यसमा राजु डुब्यो, पार हुन सकेन ।"
"होइन ।"
"ठिटीहरू ?" "अहँ, मलाई राम्ररी थाहा छ !"
"तब, सिर्फ एउटै कारण हुन सक्छ- स्नेहको अभाव ! यसले केटाकेटी बेलामा प्यार पाउन सकेन, र माया पनि त्यसबेला जब धेरै ढिला भैसकेको थियो । त्यसबेला जब ५ बजिसकेको थियो ।"

त्यस बखत यस्तो लाग्यो कि भईँमा मुङ्ग्रोले हानेर खेल्दाखेल्दै अकस्मात् हातमा चोट लागेझैँ मेरो हृदयको ठीक कमजोर ठाउँमा कसैले ढुङ्गा हान्यो । र बिहानैदेखि घुमिरहेको प्रश्‍न..... त्यसले जवाफ पायो - स्नेह अभाव ।

मेरो जीवनको ट्रेजेडी आमाको छिटो मरण । र बाबुको साथी काकाको शुष्क हृदय । म काकालाई दोष दिन्नँ । किनकि मैले उनीसँग स्नेह पाइनँ यो भन्दिनँ । यो अन्तिम २ वर्ष उनले आफ्नो हृदय मेरो अगाडि राखेका छन् । तर..... गोपालको अवस्था.... त्यस बखत राजु ढुङ्गा बनिसकेको थियो । पानीले माथिल्लो सतह भिजाएर बगेर गयो भित्र पुग्न सकेन । काकाले मलाई एक मित्रको हैसियतबाट प्यार दिनुभो न कि छोराले । हामी राजनीति, साहित्य, इतिहास, प्रेम र वासनामाथि गफ गर्थ्यौँ । मेरो जीतमा बधाई र मेरो हारमा अफशोच दिनुभो- एक मित्रले झैँ। तँलाई थाहै छ, मैले एक दिन वहाँलाई भनेँ- "म फलानी लड्कीसँग विवाह गर्न चाहन्छु ।" वहाँले भन्नुभो- "हुन्छ, तर मैले अठोट गरेँ कि ऊ सच्चा प्रेम गर्छे कि गर्दिन !" र उमाबाट निराश भएर एक दिन इतिहास बताउँदै मैले भनेथेँ- "म बिहा गर्दै गर्दिनँ, स्वास्नीमानिस धोकालु छन् ।" काकाले भन्नुभयो- "वासनाको भोकमा अन्धा भएर नहुत्तिनु । बिहे गर्नु-नगर्नु तेरो हातमा छ, तर राजु, बिहे गर्ने अगाडि सिर्फ २ कुरा विचार गरेस् । एक त एउटैसँग जीवन बिताउने प्रण र अर्को उसले तँलाई प्रेम गरेको होस् ।"

यत्तिको स्वतन्त्रता पाएर पनि, सबैभन्दा धोका पाएको छु, स्वास्नी मानिसबाट । मेरा पे्रमहरूको श्री गणेश राम्रो छ तर कठिन वाचा अत्यन्त नराम्रो । शायद यो मेरो असमर्थताकै दोष होला ! बिजुली बत्ती बलेको सडकमा हिँडेको बेला के तैँले एउटा कुराको विचार गरेको छ - बत्तीको खम्बा अगाडि हुन्जेल क्या राम्रो लाइट छरेर सडकै उज्यालो पारेको हुन्छ । तर त्यही खम्बा नाघ्नेबित्तिकै छाया अगाडि सरेर बाटोलाई झन् अन्धकार पारिदिन्छ । मेरो जीवन पनि यस्तै एउटा बटुवाको सफर हो । तर.... शायद म रुकेको भए उनीहरूको ज्याति पाउन सक्थेँ होला । र रुक्नु त जीवन होइन, अब त्यो पनि अस्वाभाविक हुन जान्थ्यो ।

त अँ, काकाले दिइराखेको यो स्वतन्त्रताले मलाई एउटा राम्रो मित्र बनायो तर एउटा असल पुत्र बनाउन सकेन । र आज मेरा सयकडौँ मित्र छन् र सबै मलाई चाहन्छन्- म उनीहरूलाई चाहन्छु । तर म पति बन्न सकिनँ । त्यो शक्ति ममा उठ्नै पाएन । स्वास्नी मानिसहरूप्रति, म उनीहरूको प्रेम तुरुन्त पाउन सक्छु, तर टिकाउन सक्दिनँ । प्रेमी बनेर उनीहरूलाई प्रेम गर्न सक्छु, तर पति बनेर उनीहरूलाई स्नेह दिन सक्दिनँ । यहीँ त मेरो जीवनको ठूलो हार छ ! स्त्री चाहन्छे, पतिमा कठोर एवम् बलियो आश्रय । ऊ दबिन चाहन्छे, न कि दबाइन । ऊ चाहन्छे कोही आफ्नो मुठोमा (हृदयमा, जीवनमा) उसलाई बाँधोस् । स्वास्नीमान्छेमा शरण (resignation) को भावना हुन्छ र ऊ चाहन्छे लोग्ने मानिसमा आश्रय (possession) को । राजुमा त्यो (instinct, faculty) शक्ति छैन । नोटझैँ ऊ एक हातबाट अर्को हातमा सरी, आफूलाई बेचेर, सुख दिन जान्दछ । जान्दैन त सिर्फ कसरी सुख किनिन्छ । नोटलाई हातमा लिँदा हरेकलाई खुसी हुन्छ, तर सुख किन्न नोट बेच्नुपर्दा सबलाई दुःख पनि हुन्छ । राजु खुसी दिन सक्छ, सुख दिन सक्दैन । हुन त, तँ भन्लास् नोटको सच्चा जीवन च्यातिएर चिथडा नहुन्जेल र सहर मुल्की खानामा त्यसको भुक्तानी माग्न नपठाइन्जेल हात साटिरहनु, खुसी दिइरहनु हो । कन्जुसको सेफमा बन्द हुनु होइन । तर.... आफ्नो जिउमा, कागजमा तेल-मैलो लागेको देखेर नोटलाई के मलाई जस्तै थुनिन मन लाग्दो होइन होला ?

मलाई यस्तो किन मन लाग्छ ? किन ? किन ?

तेरो मित्र,
राजु
--------------------------------------------------------------------------------------------

Sunday, December 28, 2008

शङ्करका १० कुरा

१९९८ असोज १ गते जन्मिएका शिव रेग्मी नेपाली साहित्यको अनुसन्धान, अन्वेषण तथा खोजबीन र सम्पादनका क्षेत्रमा विगत पाँच दशकदेखि निरन्तर सक्रिय रहँदै आएको नाम हो । सरकारी सेवामा उप सचिवसम्मको जिम्मेवारी सम्हालेर हाल सेवानिवृत्त रेग्मी सम्वत् २०१७ देखि कविता-कथा लेखनमार्फत साहित्यमा प्रवेश गरेर केही समय समालोचनामा पनि कलम तिखारे । तर आफ्नो सिर्जनात्मक यात्रामा सन्तुष्ट हुन नसकेपछि २०३५ सालदेखि अरू नै प्रतिभाहरूलाई उजागर गर्न नेपाली साहित्यको खोज-अनुसन्धानतर्फ ढल्किए । भूपी शेरचनका कविता, शारदाका सम्पादकीय टिप्पणी, शङ्कर लामिछानेका निबन्ध (२०५९) आदि महत्वपूर्ण कृतिको सम्पादन गरेका उनको विभिन्न नेपाली साहित्यिक पत्रपत्रिकाबारे अनुसन्धानमूलक फुटकर रचनाहरूको सङ्कलित रूप अतीतका पाना (२०६३) पनि प्रकाशित छ ।

पछिल्लो समयमा देवकोटाबारे कृति निकाल्ने प्रयासमा जुटेका उनी विभिन्न पत्रपत्रिकामा छरिएर रहेका शङ्कर लामिछानेका कथाहरूको सँगालो बनाउन सङ्कलन र सम्पादनको काममा समेत व्यस्त छन् ।

साहित्यबारे विभिन्न स्थानमा रहेका शङ्कर लामिछानेद्वारा अभिव्यक्त विचारलाई एकै हारमा १० बुँदाहरूमा जोरजाम गरेर २०४७ सालको मिर्मिरे पत्रिका (नेपाल राष्ट्र बैँकद्वारा प्रकाशित) मा पहिलो पटक प्रकाशित रेग्मीको सामग्रीलाई यहाँ प्रस्तुत गरिएको छ । उनले यो टिपोट तयार पार्नमा राम्रै परिश्रम खर्चिएको देखिन्छ । तल साहित्यका विविध पक्षबारे अभिव्यक्त मान्यताहरू पढ्दै जाँदा शङ्कर कतैकतै विवादास्पद र हलुका पनि लाग्न सक्छन् । तर खास चुरो के हो त, किन उनले त्यस्तो विचार अघि सारेछन् ? पढिसकेपछि चिन्तन-मननले खोतल्ने हाम्रै भाग हो । निष्कर्ष बनाउने र त्यसलाई ग्रहण गर्ने त हाम्रो आ-आफ्नो हिसाब हो ।
यस सामग्रीलाई हामीले बगर फाउन्डेसन नेपालले २०५९ सालमा प्रकाशन गरेको सर्वश्रेष्ठ दस नामक सँगालोबाट साभार गरेका हौँ ।
-----------------------------------------------------------

प्रयोगवादी सशक्त हस्ताक्षर : शङ्कर लामिछाने



'प्रयोगशीलता नै शङ्कर लामिछानेको विशेषता हो' र शङ्कर लामिछानेको शैलीमा लेखक र पाठकसँगै बसेर कुरा गरिरहेझैँ लाग्छ र प्रभावोत्पादकले गर्दा नेपाली गद्यशैलीले फर्मायसी लुगा लाएझैँ लाग्छ भन्ने उद्‌गारले उनको नेपाली साहित्यमा भएको विशेषताको केही झलक पाइन्छ । तर शङ्कर भने "मैले आफूलाई लेखक कहिल्यै ठानिनँ र परिस्थितिले मलाई लेखक बनाइदियो, (भाग्यको विडम्बना भनेको यही हे क्यारे !) लेखक बन्ने साहस मैले कहिल्यै गर्न सकिनँ । कारण लेखक मेरो नजरमा देवता हो, देवकोटा हो । म त सिर्फ सोखको साधन, एउटा इच्छापूर्ति मात्र गरिरहेको थिएँ । (यो अर्कै कुरा हो, पाठकले मेरो ठट्टालाई साँच्चिकै मानिदियो ।)" भन्दछन् ।

साहित्यलाई व्यवयाय नबनाउने शङ्करको उद्देश्य र धारणाअनुरुप उनी यसमा सचेष्ट रहे तर २०२५/२६ सालतिर आएर उनको यो धारणा अर्थात् नेपालाको आजसम्मको इतिहासमा साहित्य कहिल्यै व्यवसाय हुन सकेन । (चाकडी भएको कुरा छाडिदिनोस् !) तसर्थ मैले यसलाई सोखकै रूपमा अपनाएको छु भन्ने दृढोक्ति ढलपलायो । तर उनले साहित्यलाई व्यवसाय बनाएर उत्पादन गरेको भए पनि गोधूलि संसार निबन्धसङ्ग्रह र अन्य फुटकर निबन्धहरू उल्लेखनीय रूपमा छन् र नेपाली निबन्धका विशिष्ट रूपमा छन् । एब्सट्र्याक्ट चिन्तन प्याज निबन्धसङ्ग्रहमा मदन पुरस्कार प्राप्‍त गर्न सफल हुने शङ्कर लामिछाने नेपाली साहित्यको निबन्ध विधाका साँच्चिकै सशक्त र प्रखर हस्ताक्षरका प्रतिभा थिए ।

शङ्कर लामिछाने आफ्ना समकालीन साहित्यकार-निबन्धकारहरूमध्ये नितान्त अलग र विशिष्ट हुनुमा उनको आफ्नोपनको निबन्धगत शैलीले गर्दा नै हो । पाश्‍चात्य साहित्यमा भएको अत्याधुनिक गद्यको विविध प्रयोग अत्यन्त रुचिका साथ पढेर त्यसको पाचनसारलाई नेपाली साहित्यमा निबन्धको गहन विषयका रूपमा, सर्वथा नौलो ढाँचामा (शङ्करकै शब्दमा भन्ने हो भने 'युनिक') र साधारण बोलीचालीका भाषमा ओकल्न सक्नु नै शङ्कर लामिछानेको आफ्नो विशेषता हो र जीवनको आत्मानुभूतिलाई आत्मसात् गर्दै निबन्धलाई आत्मकथाका रूपमा पेस गर्न सक्नु उनको दोस्रो ठूलो विशेषता हो ।

यसरी आधुनिक नेपाली साहित्यमा नितान्त अलग ढाँचामा तथा सर्वथा नौलो शैली र सीपमा गद्य लेख्‍ने शङ्कर लामिछानेका साहित्यिक मान्यतासम्बन्धी उनका धारणाहरू उनकै शब्दमा यहाँ टिप्ने प्रयास गरिएको छ ।

१. शब्द र कविता

साहित्यिक मान्यताले नै मेरो काव्यगत मान्यतालाई अँगाले मारेको छ । हुन त मैले मेरो साहित्यिक जीवन प्रकाशित रूपमा गद्यबाट सुरु गरे पनि अरू अप्रकाशित शब्दहरूसँग खेल्न मैले कविताबाट नै सिकेँ ।

२. नेपाली साहित्यको गद्य

नेपाली साहित्य ज्यादै कमजोर छ भन्ने चर्चा मित्रमण्डलीमा भयो एक पटक र मैले निश्‍चय गरेँ नै किन बलियो नबनाउने । त्यस्तै एक पटक निबन्धको कमी छ भन्ने चर्चा उठ्यो र म त्यतातिर लागेँ ।

३. साहित्य कसका लागि ?

साहित्यले सेवा गर्नुपर्छ, जनभावना बनाउनुपर्छ र देशको उन्नति गर्नुपर्छ भन्ने नारा - यीउपर मेरो कहिल्यै पनि विश्‍वास हुन सकेन । तपाईँलाई थाहै छ, मेरो साहित्यिक जीवन प्रेमपत्रको लेखनीबाट सुरु भयो, प्रेमपत्र आफ्ना निमित्त लेखेँ, अर्काका निमित्त लेखेँ । आज पनि कुनै नयाँ लेख लेख्‍न एउटा अस्पष्ट अनुहार आँखाका सामु आइरहन्छ- म त्यसैका निमित्त लेख्दछु । त्यो अनुहार मजत्तिकै प्रबुद्ध, अझ मभन्दा बढी प्रबुद्ध हुन्छ र त्यो अनुहारले स्पष्टता लिन बाँकी नैछ । यसै सन्दर्भमा मलाई भन्ने दुस्साहस (?) हुन्छ, म जनताका लागि लेख्दिनँ, किनभने जनताको राजनीतिक अनुहार कमसेकम हुन्छ ।

४. साहित्यमा यौन ?

यो प्रश्‍न संसारमा अनेक रूपमा उठेको छ । तर मलाई लाग्दछ, धेरैजसो मानिसहरूले यौनसम्बन्धको गाम्भीर्यलाई बुझेकै छैनन् किनभने यौनमा 'स्वतन्त्रता' शब्द जोडिनुजस्तो मुर्ख्याइँ अरू केही छैन । यौनस्वतन्त्रता भन्नुको शाब्दिक अर्थ हुन जान्छ खुला रूपमा हस्तमैथुन । यौनको प्राप्ति, कमसेकम यौनको चरम सुखको प्राप्ति स्वतन्त्र रूपमा हुन सक्दैन । यसका लागि एक स्वयम् जत्तिकै बुझ्ने, प्रतिक्रिया व्यक्त गर्नसक्ने सहभागी आवश्यक हुन्छ र यी सम्पूर्ण प्रतिक्रियाहरू एक शुद्ध भावनामा लीन भएर गरिने कुरा हुन् । यिनमा न त स्वतन्त्रता छ, न त यिनको चर्चा त्यस सहभागीबाहेक अन्त सम्भव नै छ । साहित्यमा यौन तरकारीमा नुन हालेर स्वाद तिखारेको जस्तो स्वाद तिखार्न प्रयोग गरिने कुरा अर्कै हो, तर यौनमा साहित्यको प्रयोग जसले गरेको छ त्यसलाई नै यसको मुख्य स्वाद थाहा हुन्छ ।

५. जो भला सो भला

नैतिकवादी म हैन, न त अनैतिकवादी नै हुँ । म त एक मनुष्य हुँ जसको सबभन्दा ठूलो गुण उसमा रहेको एकदुईओटा बैगुन नै हुन्छन् । ममा जे अवगुण रहेका छन् तिनका गुणहरूबाट मैले साहित्य सिर्जना गर्न सकेको हुँ र हिन्दीमा भन्ने हो भने जो भला सो भला, बस् ।

६. दर्शन, बौद्ध दर्शन र शून्यवाद

म दर्शनलाई आफूले देखेको कुरा मान्दछु । सायद दर्शन शब्दको अर्थ पनि यही हो- दार्शनिक कुराहरू निश्‍चय पनि अर्काले देखेको र व्यक्त गरेको राम्रा कुरा हुन्, तर ती हाम्रा लागि व्यत्ति,गत रूपमा शतप्रतिशत ठीक छन् भन्न सकिँदैन, किनभने ईश्‍वरलाई नमान्ने बुद्धलाई नै ईश्‍वर बनाइदिने परम्पार पनि मानवले नै अपनाएका छन् र दर्शनकै कुरा गर्ने हो भने मलाई सबभन्दा मन पर्ने दर्शन बौद्ध दर्शन हो, खास गरी यसको शून्यवाद !

शून्यवाद मेरा निमित्त अझ लक्ष्यवाद नै बनेको छ र मेरो लक्ष्यमा शून्य आइदियो भने छाक अड्कला भन्ने डर हुन्छ । अहिले त म शून्य र लक्ष्यका बीच रोप ट्रिक गरिरहेको छ र मैले स्वयम् आफ्नो दर्शन पैल्याउन सकेको छैन ।

७. आत्म र साहित्य

साहित्य जति मानिसको नजिक कुनै वस्तु छैन । धर्म, पाप, यौन, दर्शन आदि यी सब यथार्थ वा अयथार्थ रूपमा मानिसद्वारा नै आंशिक रूपमा परिचालन गरिने कुरा हुन् । साहित्य भने मानिस-समष्टि रूपको स्वच्छ प्रतिविम्ब हो । यसरी यी माथि भनेका सब कुराहरू साहित्यमा अङ्ग हुन् तर साहित्य कसैको अङ्ग हैन । आत्माको परिभाषा यदि मसँग चाहनुहुन्छ भने म एउटै शब्दमा परिभाषा दिन सक्छु- साहित्य ।

८. आधुनिक र प्राचीन साहित्य

ज्ति लेखिने साहित्य हुन् ती आधुनिक र जति लेखिसकिएका छन् ती प्राचीन, जति नपढिएका हुन् ती आधुनिक र जति पढिएका हुन् ती प्राचीन तर पनि प्रत्येक कृतिमा समयले आफ्नो पन्जाछाप छाडेकै हुन्छ । जस्तै अत्याधुनिक भनेर हामीले दाबा गरे पनि ती रचाना गरिएका कालभन्दा बढी नवीन हुन सक्दैनन् । रहृयो शैलीको कुरा, शैलीले जबसम्म सामयिक बौद्धिकतालाई उत्प्रेरित गर्न सकदैन तबसम्म यस्ता कृति पढिँदा पनि पढिँदैनन् ।

९. साहित्यमा गम्भीरताको प्रश्‍न

साहित्यमा केको गम्भीरता ? म स्वयम् जीवनलाई पनि मैले आजसम्म गम्भीर रूपमा लिएको छैन । बाबु र आमाको आनन्दबाट म जन्मेँ, कैयौँ कीटाणुको आनन्दबाट म मर्नेछु, यहाँ गम्भीरताको ठाउँ नै कहाँ छ र ? र फेरि साहित्यमा मैले गम्भीरता ओगटेँ भने मेरा साहित्य कसले पढिदेला ?

१०. कथा र हाइकू शैलीको कविता

एक पटक नेपाली साहितयमा वैज्ञानिक कथा छैनन् भन्ने चर्चा उठ्यो र म त्यता लागेँ र एक पटक फेरि मेरा मित्र ईश्‍वर बरालले भने- नेपाली साहित्यमा भविष्यकालको व्याकरण ओगटी कुनै कथा लेखिएको छैन र मैले लेखिदिएँ- म भोलि जन्मनेछु, एक किसिमले हेर्‍यो भने नेपाली साहित्यको प्वाङ्ग प्वाल मात्रै म टाल्दै छु । कवितामा नयाँ मान्यता ल्याउनका निमित्त नै मैले जापानी हाइकू शैलीको प्रयोग गरेँ, किनभने नेपाली अस्पष्टमै रुमल्लिएको थियो र काव्यमा मेरो धारणाअनुसार अस्पष्टता हुनु हुँदैन । हाइकू शैलीको एक मात्र ध्येय हो- ५/७/५ अक्षरका तीन पङ्क्तिमा एक चित्रभावना र एक अभिव्यक्ति । काइमा त्यसको स्फुरण चरमा विन्दुमा यही नै मान्यता सर्वोपरि हुन जान्छ कि ? यसै निमित्त मैले हाइकूलाई प्रयोग गरेको हुँ । रहृयो काव्यमा या कवितामा बौद्धिक मान्यताहरू प्रदर्शन गर्ने आकाङ्क्षा, त्यसका लागि गद्य नै प्रशस्त बलवान् र सजिलो छ भन्ने सोच्दछु ।
--------------------------------------------------------------------------------------------

Monday, December 22, 2008

O MOUNTAINS !


- Shankar Lamichhane


Keep forever now
My footprints as souvenirs -
I am on my way to the valley now.
I'm so very grateful
You have carpeted my trails with gold-leaves;
I am so very grateful
That you flowered the rocks with orchids.
Please remember
Some one came to scale
Your heights and depths
And had heart enough
To possess you.
And remember
He stood in the middle of the bridge
And cut his heart in two
With the blades of your stream;
While the trees around
Waved their branches
Like someone's hands
Waving farewell.
And his heart weighed
The stones he was stepping upon;
Each step
That increased the distance
Of separation !


November 26, 1960
Pati-bhanjyang

--------------------------------------------------------------------------------------------

Friday, December 19, 2008

शङ्कर-साहित्यमा विम्ब-प्रतिविम्ब

पढ्ने सबैको आ-आफ्नो कला हुन्छ, लेख्‍ने आ-आफ्नो शैली । एउटै लेखकका सम्पूर्ण कृतिहरू एकै लहरमा राखेर पढ्ने मेरो स्वभाव छ । शङ्कर लामिछानेका गौँथलीको गुँड (कथासङ्ग्रह), एब्स्ट्रयाक्ट चिन्तन : प्याज, विम्ब-प्रतिविम्बलगायत केही अप्रकाशित अङ्ग्रेजी र हिन्दी कविताहरू पढेँ मैले । साँच्चै मज्जा रहेछ शङ्कर-साहित्यमा । एउटै किताब विम्ब-प्रतिविम्बभित्र थुप्रै शङ्कर लामिछानेहरू रहेछन् । जम्मा १४ स्रष्टाको संस्मरण समेटिएको छ यसमा ।

सामान्यतः दिवङ्गतहरूप्रति नै शब्दगुच्छाहरू उनिन्छन् । तर, जीवितै अवस्थामा व्यक्तिहरूका बारेमा परिचयात्मक निबन्ध लेखेर शङ्करले दुस्साहस नै गरेका हुन् । तिनमा मान्छेका नवरसहरू गजबसँग पर्गेलिएको छ । पढ्न पाइन्छ । पारिजात र छिन्नलताका बारेमा उनले शब्द र भावना दुवैमा कन्जुस्याइँ गरेका छैनन् । जिउँदी पात्रका रूपमा छिन्, पारिजात । विपरीतलिङ्गीसँगको सम्बन्ध चर्चामा आएपछिको अप्ठ्यारो रहँदारहँदै लेखेका रहेछन् उनले । यति हुँदाहुँदै पनि व्यक्तिगत धारणाभन्दा पनि सिर्जनात्मक वातावरणलाई अक्षरमा उतारेका छन् ।

शङ्कर लामिछाने स्वयम्‌ले महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति पूर्वाग्रह पालेका भए कुन्नि ? नत्र, अभावमा पनि स्रष्टाको सिर्जनशीलता र अदम्यपन देखेर नतमस्तक भएका छन् । देवकोटाले भन्ने अनि लेखकले टिप्ने गरेर चार घन्टामा पाँचवटा कथा रचना पनि सामान्य होइन । बच्चाहरू पिठ्यूँमा बोकेर कविता रच्ने महाकवि धन्य हुन् । कतिपय सम्बन्धहरू रित्तोपना छाडेर जान्छन्, तब मात्र थाहा लाग्छ, हाम्रालागि ती खास रहेछन् । तुलसीनाथ ढुङ्गेलका बारेमा शङ्करलाई यस्तै अनुभव भएको छ । सामान्य ठानेको र सामान्य मानिरहेको सम्बन्धले उब्जाएको भाव र मनका तरङ्गहरू छन् यसमा । अम्बर गुरुङका आरोह-अवरोह पढ्दा पनि त्यस्तै लाग्छ ।

एकअर्कासँगको लय र ताल रहनुलाई लेखकले 'स्फटिक रहस्य' मानेका छन् । र, अन्त्यमा महाकवि देवकोटाले शङ्कर लामिछानेलाई भनेका रहेछन्, "शङ्करजी, मैले जे गरेँ, त्यही बाटो तपाईँ हिँड्ने हो भने नआउनूस् । आफ्नो बाटो आफैँले पहिल्याउनूस् ।" तर, हामी त सबै देवकोटा, शङ्कर लामिछाने, डेरिडाहरू बन्न तम्सिरहेका छौँ ।

--------------------------------------------------------------------------------------------

सहर : नव कोलाजहरूमा

- जनकराज सापकोटा
तपाईँलाई स्वागत छ, म उभिएको व्यस्त सडकको चोकमा । यो सडक एउटा खुला विश्‍वविद्यालय हो । यहाँ समावेशी मान्छेहरूको जीवन पोखिएको छ । अधमराहरूको बैँस छचल्किएको छ । कति सपनाहरू यही सडकका पेटीहरूमा बलात्कृत भएका छन् । कति सपनाहरूले यही सडकका पेटीहरूमा चिसो रात खाएर मृत्युभोग गरेका छन् । यसलाई पढ्न मात्रै जान्नुपर्छ । यहाँ पोखिएका एक-एक जीवन मार्क्सदेखि स्टालिनसम्म र गोर्भाचोभदेखि तेंग सियाओपेनसम्मका दर्शनमा कहीँकतै लेखिएका छन् र सम्बोधनमा परेका छन् ।

जीवनको सबैभन्दा ठूलो सङ्ग्रहालय हो या सडक । मान्छेहरू जानेर वा नजानेर यी सडकहरूमा घोप्टिन्छन्, पोखिन्छन् र छचल्किन्छन् । बैँस हुनेहरू आरुका फूल फुलाउँछन्, सपना हुनेहरू जीवनका कथा लेख्छन्, पैँताला हुनेहरू दौडिन्छन् र थाक्छन् । हरेक दिनजसो हुने म्याराथन दौडमा पुरस्कार थाप्न नसकेकाहरू बेलुका यहीँ- कहीँकतैका भट्टी पसलहरूमा निर्बाध छिर्छन् । रात छिप्पिँदै गएपछि गिलासको पिँधमा अलिकति बाँकी रहेको रक्सीमा आफ्नो धमिलो छायाकृति हेर्छन् र विधि अनि व्यवस्थालाई कुकुर-गाली गर्छन् । कहिले वेश्यालयजस्तो, कहिले भोजनालयजस्तो, यो सहर कुनै नाट्यशालाजस्तो लाग्छ ।

सधैँभरि मान्छेहरू नाप् र झाँप् गर्दै दौडिन्छन्, थाक्छन् र भन्छन्- साला ! सहरमा क्या है ! सहरबाट भाग्छन् र सहरमै पुग्छन् । सहरलाई गाली गर्छन् र सहरमै हुर्कन्छन् । सहरको सत्तोसराप गर्छन्, अन्तत: त्यही सहर ओढेर-ओछ्‌याएर सुत्छन् ।

कुनै वियोगान्त कथाबाट उछिट्टिएको मूल पात्रजस्तो, कुनै कवितामा आँसु बगाएर थाकेको पात्रजस्तो अलिकति कृत्रिम, अलिकति बेढङ्गको र अलिकति बेसोमतको यो सडक आफैँलाई ओछ्‌याएर आफैमाथि पल्टेको छ । यहीँबाट हो, भर्खर राष्ट्रियताको गीत गाउँदै एउटा जमात पूर्वतिरको यात्रामा निस्किएको । यहीँबाट हो, भर्खर परिवर्तनको शङ्खघोष गर्दै विजयको जुलुस निस्किएको । यहीँबाट हो, भर्खर एउटा जड्याँहालाई घिसारेर महानगरीय प्रहरी प्रभागतिर पाहुना बनाइएको, अनि यहीँबाट हो भर्खर बेपत्ता पारिएका परिवारहरूको एउटा जुलुस निस्किएको । यो सडकमा जीवनको परिभाषा जहाँतही पोखिएको छ ।

यसको आफ्नै ताल छ । यसको आफ्नै गति छ । अलिकति इतिहासको विरासत र अलिकति वर्तमानको हर्कत दुवै बोकेर वाँचेको छ यो सहर । यसको सभ्यता र यसको दिनचर्या ।

यस्तो लाग्छ, सारा परिवर्तनको ठेक्का आफ्नै भागमा परेर उन्मुक्त परेजस्तो देखिन्छ कहिले यो सहर, कहिले प्रेमिकासँग झगडा परेको झोंकमा दारुपानीको साथ लागेर चुरोटको धुँवामा हराएको कुनै अल्लारे केटोको अनुहारजस्तो घुर्मैलो देखिन्छ यो सहर । यो सहरको अनुहार कुनै सिकारु चित्रकारले कोरेको अमूर्त चित्र जस्तो देखिन्छ । सहरको एउटा कुनामा एउटी युवती मोबाइलको किप्याडमा प्रेमका भाका कोर्दै गरेको देखिनेछ, कुनै कुनामा एक बथान युवा छिल्लिँदै मोबाइलको मेमोरी कार्डको कुनै गोप्य फोल्डरमा लुकाएको नीला फिल्मको छोटा किस्सामा मज्जा चाख्दैछ ।

यो उत्तरआधुनिक सहर हो र यहाँ प्राचीनकालका अवशेषहरू भेटिन्छन् मान्छेको जीवनमा, हाम्रा व्यवहारहरूमा । यो हो - नव्य लोकतन्त्रको एउटा गतिलो प्रदर्शनीकक्ष ।
janak_rasa2000@yahoo.com
--------------------------------------------------------------------------------------------

Wednesday, December 17, 2008

नजन्मेको छोरालाई

- शङ्कर लामिछाने


मेरो छोरा !
एकदिन तैँले मसँग
वा मेरो मृत्यु भएमा
स्वयम्‌सँग
एक प्रश्‍न गर्ने छस् ।
मेरो छोरा !
मसँग प्रश्‍नको केही उत्तर छैन !
सिर्फ छ, एक सन्तुष्टि
बल्ल मेरो परम्पराले थिचेका
प्रश्‍नहरू
तेरो मुखबाट निस्कन सके ।
मेरो छोरा !
तेरो युगको प्रभातमा
मेरो अन्धकार
मेरो मृत्युसँगै मरिसकेका हुनेछन् ।
र तैँले बुझ्ने छैनस्
तेरो पितालाई स्वयम्‌को अस्तित्त्वसँग पनि शङ्का उठेको थियो ।
तँलाई पत्यार पार्न सक्ने छैन त्यसबेला
म कस्तो उत्तेजनाहीन
निष्क्रिय र निर्बल थिएँ ।
तैँले सायद कहिल्यै पनि बुझ्ने छैनस् होला
कि सङ्घर्षको सिर्जन निम्ति
शरीरका रगतका अन्तिम बूँद पनि भुल्किनुपर्छ -
केन्द्रित हुनुपर्छ - प्रत्येक क्रिया
एक लक्ष्यमा ।
म त झण्डै लक्ष्यहीन थिएँ
सिवाय एक प्रयासको ।
मैले तँलाई जन्माउने प्रयास गरिनँ;
र लुकाइराखेँ आफैँमा
एक अज्ञात अपरिचित अनिश्‍चित अवसरको निम्ति ।
म भन्न सक्दिनँ, म बिल्कुलै असमर्थ छु -
तँलाई जन्म लिनु दिन ढिला गरेर
मैले, आफैँसँग
वा तैँसँग
वा तेरापछि आइरहने कैयन्-कैयन् वंशसँग
नजन्मेको मेरो छोरा !
तेरो जन्मभन्दा
कति अघि
कति अघिदेखिन्
तेरो प्रश्‍न
मकहाँ आएर फर्केको छैन ।
---------------
माघ, २०२२
साभार स्रोत :- शङ्कर स्मृति : व्यक्ति-कृति-स्मृति (सन् २००६),
पैरवी बुक्स एण्ड स्टेशनरी । सम्पादक: प्रकाश सायमी ।
--------------------------------------------------------------------------------------------

चिन्तनशील शङ्कर

२००७ सालपछि दर्जनौँ निबन्धकारहरू हातेमालो गर्दै आए तापनि नेपाली निबन्धमा विषय र शैली दुवैतिरबाट बिलकुलै नौलो प्रयोग गर्ने निबन्धकार भनेर शङ्कर लामिछानेको नाम लिइन्छ । भर्खरै प्रकाशित उहाँको 'अब्स्ट्रयाक्ट चिन्तन प्याज' मा सङ्कलित केही निबनधहरूमा जीवनका अन्तर्बाहृय कोणहरूलाई कतै मुर्त रूपले र कतै अमूर्त रूपले औँल्याउने कोशिश भएको देखिन्छ ।

शङ्कर लामिछाने एक चिन्तनशील, अध्ययनशील र विश्वसाहित्यको समसामयिक गतिविधिसित विशेष चासो राख्ने व्यक्ति भएकाले उहाँको अध्ययन, चिन्तन र प्रभाव तीनै कुराको समष्टिगत प्रेरणास्वरूप नेपाली निबन्धले व्यापकता, गहिराइ र चमत्कारिता पाउनु स्वाभाविक हो । आत्मपरक निबन्धको अगिल्लो छेउ लक्ष्मीप्रसाद देवकोटाको कवितात्मक उडानबाट शुरू हुन्छ भने अर्को छेउ शङ्कर लामिछानेको प्रयोगात्मक अभियानबाट शुरू हुन्छ भन्ने पनि कसैको मत छ, तर यसो भन्नुभन्दा यसो भन्नु मिल्दो होला- थोरै लेखेर पनि नेपाली निबन्धको स्वरूप र शैलीमा शङ्करले नयाँ क्रान्ति ल्याउनुभएको छ, यस क्रान्तिको भावपक्षमा निस्सारवादको धूलोमैलो पनि पाइन्छ तापनि कलापक्ष बेजोड छ भन्न करै लाग्छ ।

- भैरव अर्याल (सम्पादक),
साझा निबन्ध (सम्वत् २०२६) मा समाविष्ट 'नेपाली साहित्यमा निबन्ध : एक विहङ्गावलोकन' परिचय खण्डबाट । आठौँ संस्करण (२०५९), ललितपुर : साझा प्रकाशन ।
--------------------------------------------------------
मूलतः नेपाली हास्यव्यङ्ग्य निबन्ध सिर्जनाको फाँटमा विशिष्ट पहिचान बनाएका भैरव अर्यालले सम्पादकीय अभिभारामा रहेर पनि नेपाली बाङ्‌मयलाई परिपुष्ट पार्नमा योगदान गरेका छन् । त्यसैका बलिया उदाहरण हुन्- साझा कथा, साझा निबन्ध आदि कृतिहरू ।

यसबाहेक, उनको खास चिनारी त काउकुती (सम्वत् २०१९) जयभुँडी (२०२२), गलबन्दी (२०२६) इतिश्री (२०२८), दशावतार जस्ता शिष्ट हास्यव्यङ्ग्यले परिपोषित कृतिमै मिल्छ । यी सबै पाँचै कृतिलाई भैरव पुरस्कार गुठीले (स्थापित २०६०) भैरव अर्यालका हास्यव्यङ्ग्य नामक एउटै ग्रन्थमा समेटेर २०६० सालमा प्रकाशन गरेको छ । उनलाई नेपाली साहित्यले इतिहासमा सँगाल्ने भनेकै तिनै गर्विला रचनाबाट हो । कारण हास्यव्यव्यङ्ग्य र भैरव अर्याल हाम्रो साहित्यमा आपस्तका पर्यायवाची बनिसकेका छन् ।

शङ्कर लामिछानेबारे अर्यालले संस्मरणात्मक लेख 'शङ्कर दाइ र फ्रैङ्क क्यापरा' पनि लेखेका छन् । विदेह पत्रिकाले शङ्करको निधनपछि २०३३ सालमा प्रकाशन गरेको शङ्कर स्मृति अङ्कमा समाविष्ट उक्त लेख हामी आगामी रचनात्मक क्रममा पस्किनेछौँ ।
--------------------------------------------------------------------------------------------

Saturday, December 13, 2008

अनुनय


शङ्कर लामिछाने (जन्म वि. सं १९८४ चैत ५ - मृत्यु वि. सं २०३२ माघ १०), नेपाली साहित्यप्रेमीका लागि यति नाम नै प्रयाप्त छ   यसमाथि पाठकले निबन्धशिरोमणिको उपाधि ओढाएर प्रेम गरिरहेछन् । साहित्यप्रेमीको खँदिलो दिमागमा यो विशिष्ट नाम छोपिएर बस्नेखालको छैन । सधैँ ताजा बाफ पाठकीय आकाशमा चक्कर काटिरहन्छ । उनी रहुन्जेल नेपाली साहित्यजगत्‌मा उनको लेखनले चर्चाको उचाइमा पङ्ख चलाइरह्यो । जीवन छँदै सामान्य पाठक तथा बौद्धिक समाजबाट सम्मान र वाहवाही पाउने थोरै भाग्यमानी नेपाली लेखकमा उनी पनि हुन् (र यो पनि कुरा हो- उनले जीवनमा हुनसम्मको असङ्गति र विडम्बना पनि झेले ।) ।

पाठक र आलोचकका आँखामा शङ्कर धेरै चिनिएका छन् । अझ कतिपय कोणमा उनलाई चिन्नै बाँकी रहेको होला । अनि गहिरिएर बुझ्न छुटिरहेको पनि हुनसक्छ । चिनिएकै कुरामा पनि के सही र के गलत चिनिएछ भनेर त्यसलाई सच्याउनु पनि पर्ला । शङ्करको नाम अघि सारेर उनलाई हाम्रो गफगाफ र चिन्तनको सभानायक बनाउँदा व्यक्तिवादको पिछलग्गु बनेको एउटा आरोप पनि लाग्ला । तर कुरा व्यक्तिको होइन, व्यक्तित्त्वको हो । आम मस्तिष्कमा बौद्धिक भुइँचालो छोड्ने एउटा प्रतिभाको प्रवृत्तिलाई पूजा गर्नु र त्यसैलाई दृष्टान्त बनाएर नयाँ यात्राको बिगुल फुक्नु कुनै बाटोबिराइ होइन । बरू सम्भावनाको स-सानो भए पनि ज्वर हो, जसले कुनै दिन प्रज्ञाजगत्‌लाई नै उधुमले तताउनेछ र रचनात्मक क्रियाशीलतामा फलदायी उम्लाइ दिनेछ ।

भौतिक चोलाबाट उठेपछि यताको ३३ वर्षे कालखण्डमा समेत यी लेखक निरन्तर चाख र आकर्षणमाझ रहँदै आए । यस भण्डारलाई शङ्करका सबै किसिमका प्रकाशित-अप्रकाशित लेखरचना समेटिएको मूलघरका रूपमा विकास गर्ने हाम्रो योजना छ । यसका लागि तपाईँ विद्वान् प्रतिभा तथा प्रेमी पाठकहरूको अटुट साथ नभई हुन्न । यति मात्र होइन, यस भण्डारलाई वर्तमान साहित्यिक गतिधाराको सशक्त झलक दिने हिसाबले विशेषत: निबन्ध विधाको संवर्द्धन एवम् प्रवर्द्धन गर्नमा केन्द्रित गरिनेछ ।

अर्थात् शङ्करका जीवन्त सिर्जनाहरू र उनीबारे विभिन्न विद्वान् व्यक्तित्व तथा प्रेमी पाठकद्वारा लिखित रोचक मन्तव्य, आलोचना, संस्मरण, अनुभूति, टिप्पणी एवम् विविध विवेचना त ब्लगमा खुराक रहने नै छन्, आजका पुस्ताको गद्य पनि यसमा पढ्न पाइनेछ । अत: मस्त सुतेर घुरिरहेको नेपाली निबन्धको नाकको पोरामा पानी छ्‌याप्न आजको युवा पुस्ता किन अघि नसर्ने भनेर हाम्रो चुनौती पनि हो । खासमा, यो त समयकै चुनौती हो । यो चुनौतीलाई थाम्दै नेपाली गद्यको लाज राख्‍न गहन अभिभारा लिनेमा आजका को छोरा-छोरी अग्रसर छन् ? प्रश्‍न यही ब्लग हो, र जवाफ पनि यसैले दिँदै जानेछ । यसर्थ: आउनुस्, तपाईँ-हाम्रो हातेमालोबाट नेपाली साहित्यको टाक्सिएको गोरेटो फराकिलो बनाऔँ र त्यसमा निरन्तर लगनले उज्यालो रोगन पनि भरौँ ।

देवकोटा र लामिछानेपछि खारिएको तीक्ष्ण गद्य बोकेर एउटा इतिहास उभ्याउने तन्मयतामा को लागिपरेको छ ? को त्यस्तो स्पष्ट अनुहारमा देखिएको छ ? बान्किलो गद्यसाथ कस्तूरीहरू यत्रतत्र रहिरहेका पनि हुन सक्छन् । त्यो नाभीको सुवासलाई आम पारखीसामु बाँड्ने र चिनाउने शुभ यात्राको घडा हामीले यसै ब्लगसाथै स्थापना गरिसक्यौँ । हामी त्यो उज्यालो पाइलाको टेकाइलाई सदा स्वागत गरिरहनेछौँ । तपाईँलाई आमन्त्रण !

यो थलो शङ्करलाई साक्षी राख्दै तपाईँ-हामी सबैले भेटघाट र विचार-विमर्श-अन्तरक्रिया गर्ने साझा अनि खुला मञ्च हुनेछ । ब्लगलाई डिजाइन, विषयप्रस्तुति, सामग्री चयन आदि कुरामा के-के गरेर राम्रो र प्रभावकारी बनाउन सकिएला ? आफूलाई लागेका विचार निर्धक्क बाँड्नुहोला । शङ्करको साथी हुन अब पनि ढिला भएको छैन ।
यो खुला मञ्चमा अब एउटै मियोमा समवेत गाँसिएर जीवनगीत गाऔँ, आफ्नो खुसीको सीमा ढाक्नेगरी ।


तपाईंबाट प्राप्त सामग्रीलाई यथोचित सौजन्य प्रदान गर्नेछौँ ।


संयोजन - जोतारे धाइबा, काठमाडौँ, नेपाल ।
dhaibaji@gmail.com