Showing posts with label समाचार-गतिविधि. Show all posts
Showing posts with label समाचार-गतिविधि. Show all posts

Sunday, April 8, 2012

श्यामप्रसादलाई लामिछाने निबन्ध पुरस्कार

शङ्कर लामिछाने निबन्ध समाजले २०६८ सालको शङ्कर लामिछाने निबन्ध पुरस्कारबाट वरिष्ठ निबन्धकार श्यामप्रसाद शर्मालाई सम्मान गरेको छ । 
लामिछानेको ८५ औं जन्मजयन्तीको अवसर पारेर गत चैत ५ गते पुरस्कार अर्पण गरिएको थियो । पुरस्कारको राशि ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृतिविद् एवम् साहित्यकार सत्यमोहन जोशीले पुरस्कार अर्पण गरेका थिए । १९८६ असार ६ गते मकवानपुरको सोलीथुम गाउँमा जन्मिएका श्यामप्रसादका तन्नेरी साथीहरुसँग दुईचार कुरा, बहिनीलाई चिठी-भाग १ र २, तँ-तिमी-तपाईँ-हजुर, साहित्य सम्बन्धी दुईचार कुरा, लेखक कसरी बन्ने, थुनुवाको डायरी, केही कविता, केही गीत, मेरा डायरीका पाना, श्रद्धाको एउटा थुँगो, भूमिकाहरू लगायत एक दर्जन भन्दा बढी कृति प्रकाशित छन् । विशेष गरी निबन्ध विधामा कलम चलाउने उनले साहित्य, स्वास्नीमान्छे लगायतका पत्रिकाको सम्पादन पनि गरेका छन् ।
उनका निबन्धहरूलाई समेटेर विवेक सिर्जनशील प्रकाशनले २०६१ सालमा श्यामप्रसादका निबन्धहरू नामक कृति निकालेको छ ।

Monday, January 19, 2009

नयाँघरेलाई निबन्ध पुरस्कार

प्रत्येक दुई वर्षमा प्रदान गरिने शङकर लामिछाने युवा निबन्ध पुरस्कार यस वर्ष स्रष्‍टा युवराज नयाँघरे (२०२६, इलाम) ले पाएका छन् । दुई दशकदेखि नेपाली साहित्यमा साधनारत नयाँघरे विशेषतः निबन्ध विधामा क्रियाशील छन् ।

नेपाली निबन्ध विधालाई विशिष्ट दर्जा दिलाउनमा अहम् भूमिका खेल्ने दिवङ्गत साहित्यकार शङ्कर लामिछाने (वि. सं. १९८४-२०३२) को नाममा स्थापित शङ्कर लामिछाने निबन्ध समाजद्वारा प्रदान गरिने पुरस्कार १५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । पुरस्कार लामिछानेको स्मृति दिवसको अवसर पारेर माघ १० गते प्रदान गरिन्छ । पुरस्कृत नयाँघरेका मुहूर्तको वरिपरि, मखुण्डोको मन , काठमाडौँलाई कोर्रा, नीलडाम, अनाम पहाडमा फनफनी लगायतका निबन्धात्मक तथा यात्रा संस्मरणात्मक कृतिहरू प्रकाशित छन् ।

निबन्धमा वर्णनात्मक-विवरणात्मक शैलीका विरोधी नयाँघरे अनुभूतिपरक स्थितिचित्रणका पक्षपाती मानिन्छन् । यसअघि उनी राष्ट्रिय प्रतिभा पुरस्कार, उत्तम-शान्ति पुरस्कार, अन्तर्राष्ट्रिय नेपाली साहित्य उत्कृष्ट पुस्तक पुरस्कार ('अनाम पहाडमा फनफनी'का लागि) लगायतबाट विभूषित भइसकेका छन् ।

विशिष्‍ट सर्जक शङ्करसँगको यस संयोगमा निबन्धकार नयाँघरेलाई शङ्कर स्मृति घरको पनि हार्दिक बधाई ! साथै व्यक्तिगत जीवनयात्रा सुखमय रही निबन्ध र सिङ्गो साहित्यमा उनले सोचे-आँटेको नयाँ घर बनिरहोस्, मङ्गल कामना !
------------------------------------------------------------------------------------