“म तिमीसँग साँच्चै रिसाएको छु, तिमीलाई भन्न मात्रै नभनेको ! मेरो साँच्चै चित्त दुखेको छ तिमीसँग । तिमीले मेरो अपमान गरे झैँ लाग्छ मलाई आजकाल !” यी वाक्यहरू सुनिरहँदा मेरो शिर निहुरिएको थियो । म निरुत्तर थिएँ । भित्रभित्रै आफैँलाई अपराधी अनुभव गरिरहेकी थिएँ । तर स्नेहको तरलताले लफ्रक्क रुझेकी थिएँ । लाग्यो, मेरो आलस्यको ठिहीलाई पगाल्न समयले दिएको न्यानो सूर्योदय हो यो । चुपचाप सुनिरहेँ, अकर्मण्यताको ठिहीलाई पगाल्ने न्याना वाणीहरू । मनको कोमल भागमा मीठो स्पर्श पाएझैं लाग्यो । एउटा चेतनाले अर्को चेतनालाई ब्युँझाउने तातोपन महसुस गरेँ । हृदयमा चुपचाप लुकाएर मुसुक्क मुस्कुराएँ । केही बोल्ने आवाजै थिएन मसँग । त्यसैले एउटी आमाले सन्तानको मृदु तर व्यङ्ग्य वाणीलाई बेवास्ता गरे झैँ आवाजलाई कान दिइरहें, शब्द दिन सकिनँ । तर मेरो अघिल्तिर त मेरो पितातुल्य व्यक्तित्वको आवाज थियो । शरीरभरि एक प्रकारको तरङ्ग छुट्यो । एकैछिनमा झनझनायो मेरो शरीर । बाहिरको चिसोलाई चुनौती दिएझैँ रननन तात्न थाल्यो । मैले मेरा गालामा तातो-तातो हुँदै आएको रातोपन महसुस गरेँ ।