> सुरेश 'प्राञ्जली' सापकोटा - 'हाँस्न जान्नु पनि ठूलो कला हो ! कुन मानिससँग कसरी हाँस्नु पर्छ त्यो जानिएन भने रोएको बराबर दुःख पाइन्छ ।' (एब्स्ट्रयाक्ट चिन्तनः प्याज बाट ) - 'बाँच्नु जस्तो ठूलो कुरा जीवनमा अरु केही रहेनछ । मैले कसैलाई मारिनँ, त्यो मेरो भाग्य हो । म सायद साहित्यिक क्षेत्रबाट सन्यास लिदैछु र अब म लेख्ने पनि छैन होला ।' (कुमुदिनीलाई लेखेको पत्रबाट) - 'मैले आफूलाई कहिल्यै लेखक ठानिनँ र परिस्थितिले मलाई लेखक बनाइदियो । लेखक बन्ने साहस मैले कहिल्यै गर्न सकिनँ । कारण, लेखक मेरो नजरमा देवता हो, देवकोटा हो ।' ( गौँथलीको गुँडः भूमिकाबाट) आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शङ्कर लामिछानेले नेपाली साहित्यको जगमा असङ्ख्य इँटा थपेका छन् । विशेषगरी, नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफैँले खने । नेपाली 'नन फिक्सन'को फाँटलाई उँचाइमा पुर्याउने काममा उनको भूमिका अत्यन्तै उल्लेखनीय छ । नेपाली निबन्धमा 'चेतनप्रवाह शैली' (स्ट्रीम अफ कन्सिअसनेस)लाई स्थापित गराउने लेखक हुन् उ...