Skip to main content

नजन्मेको छोरालाई

- शङ्कर लामिछाने


मेरो छोरा !
एकदिन तैँले मसँग
वा मेरो मृत्यु भएमा
स्वयम्‌सँग
एक प्रश्‍न गर्ने छस् ।
मेरो छोरा !
मसँग प्रश्‍नको केही उत्तर छैन !
सिर्फ छ, एक सन्तुष्टि
बल्ल मेरो परम्पराले थिचेका
प्रश्‍नहरू
तेरो मुखबाट निस्कन सके ।
मेरो छोरा !
तेरो युगको प्रभातमा
मेरो अन्धकार
मेरो मृत्युसँगै मरिसकेका हुनेछन् ।
र तैँले बुझ्ने छैनस्
तेरो पितालाई स्वयम्‌को अस्तित्त्वसँग पनि शङ्का उठेको थियो ।
तँलाई पत्यार पार्न सक्ने छैन त्यसबेला
म कस्तो उत्तेजनाहीन
निष्क्रिय र निर्बल थिएँ ।
तैँले सायद कहिल्यै पनि बुझ्ने छैनस् होला
कि सङ्घर्षको सिर्जन निम्ति
शरीरका रगतका अन्तिम बूँद पनि भुल्किनुपर्छ -
केन्द्रित हुनुपर्छ - प्रत्येक क्रिया
एक लक्ष्यमा ।
म त झण्डै लक्ष्यहीन थिएँ
सिवाय एक प्रयासको ।
मैले तँलाई जन्माउने प्रयास गरिनँ;
र लुकाइराखेँ आफैँमा
एक अज्ञात अपरिचित अनिश्‍चित अवसरको निम्ति ।
म भन्न सक्दिनँ, म बिल्कुलै असमर्थ छु -
तँलाई जन्म लिनु दिन ढिला गरेर
मैले, आफैँसँग
वा तैँसँग
वा तेरापछि आइरहने कैयन्-कैयन् वंशसँग
नजन्मेको मेरो छोरा !
तेरो जन्मभन्दा
कति अघि
कति अघिदेखिन्
तेरो प्रश्‍न
मकहाँ आएर फर्केको छैन ।
---------------
माघ, २०२२
साभार स्रोत :- शङ्कर स्मृति : व्यक्ति-कृति-स्मृति (सन् २००६),
पैरवी बुक्स एण्ड स्टेशनरी । सम्पादक: प्रकाश सायमी ।
--------------------------------------------------------------------------------------------

Comments

Popular posts from this blog

किन लेख्दिनँ म ?

“म तिमीसँग साँच्चै रिसाएको छु, तिमीलाई भन्न मात्रै नभनेको ! मेरो साँच्चै चित्त दुखेको छ तिमीसँग । तिमीले मेरो अपमान गरे झैँ लाग्छ मलाई आजकाल !” यी वाक्यहरू सुनिरहँदा मेरो शिर निहुरिएको थियो । म निरुत्तर थिएँ । भित्रभित्रै आफैँलाई अपराधी अनुभव गरिरहेकी थिएँ । तर स्नेहको तरलताले लफ्रक्क रुझेकी थिएँ । लाग्यो, मेरो आलस्यको ठिहीलाई पगाल्न समयले दिएको न्यानो सूर्योदय हो यो । चुपचाप सुनिरहेँ, अकर्मण्यताको ठिहीलाई पगाल्ने न्याना वाणीहरू । मनको कोमल भागमा मीठो स्पर्श पाएझैं लाग्यो । एउटा चेतनाले अर्को चेतनालाई ब्युँझाउने तातोपन महसुस गरेँ । हृदयमा चुपचाप लुकाएर मुसुक्क मुस्कुराएँ । केही बोल्ने आवाजै थिएन मसँग । त्यसैले एउटी आमाले सन्तानको मृदु तर व्यङ्ग्य वाणीलाई बेवास्ता गरे झैँ आवाजलाई कान दिइरहें, शब्द दिन सकिनँ । तर मेरो अघिल्तिर त मेरो पितातुल्य व्यक्तित्वको आवाज थियो । शरीरभरि एक प्रकारको तरङ्ग छुट्यो । एकैछिनमा झनझनायो मेरो शरीर । बाहिरको चिसोलाई चुनौती दिएझैँ रननन तात्‍न थाल्यो । मैले मेरा गालामा तातो-तातो हुँदै आएको रातोपन महसुस गरेँ ।

क्याट माने बिरालो

ए क अमेरिकन मित्र काठमाडौँबाट प्रस्थान गर्दै थिए । हामीसँग निकै हेमचेम थियो । उनले सायभिज-सङ्कर बिरालो पालेका थिए । अब त्यसलाई उचित वासको टुङ्गो लगाउने समस्या पर्‍यो तिनलाई । हाम्रो सहायता मागे । एक प्रकारले म कुकुर, बिरालोप्रेमी हुँ । ती दुवै जनावरको केही अंश सायद ममा अवस्थित छ । जे होस्, मैले बिरालो स्याहार्ने जिम्मा लिएँ । हुन त बिरालो नदेखेको वा बिरालोउपर प्रबन्ध नलेखेको पनि होइन स्कुली जीवनमा, तथापि बिरालोको केही गुण, अवगुण रहेछन्, जो मलाई थाहा थिएन । जस्तै, त्यो बिरालो थियो । बाथरुममा हग्ने । उसको निमित्त काठको बाकस बनाएर त्यसमा बालुवा राखिदिनुपर्ने । ऊ बिहानै बाथरुम जाने र त्यसमै हग्ने । बिरालो आफ्नो गुहु लुकाउँछ भन्छन्, लोकोक्ति हो, बिरालो बाघको फुपू रे, सारा भदालाई सिकाएर उसले एउटै कुरा सिकाएन रे, रूख चढ्ने । त्यसमा रिसाएर बाघले झोँकमा भन्यो रे, ' तँ मूलाको गुहु पनि बाँकी राख्दिनँ ।' - र त्यस बेलादेखि बिरालाले गुहु लुकाउन थालेको रे ! त, त्यो अमेरिकन - सायभिज-सङ्कर बिरालो झन्डै छ महिनाजति बस्यो होला हामीकहाँ । त्यसको आगमनपछि, अनि पो मैले बिरालोबारे अध्ययन गर्न पाएँ । ...

महामुद्रा

आ जभन्दा २००० वर्षअगाडि अनकन्टार, हिमालयको एक  कन्दरामा भिक्षु बसेका छन्। उनका सामु दश–पन्ध्र जना चेला–भिक्षुहरू दत्तचित्त भएर गुरुले बताएको धर्म उपदेश ग्रहण गरिरहेछन्। पीतवर्ण लुगा लगाएका भिक्षुहरु, हिमालयबाट बिदा हुन लागेको सुनौला प्रकाशमा अरु देदीप्यमान बनिरहेछन्। उनका अनुहारमा कौतुहल, जिज्ञासा र कथाको अनौठो प्रकृतिबाट अल्मलिएकोपन पनि प्रष्ट थाहा हुन्छ।    ताडपत्रमा लेखिएको त्यो तान्त्रिक कथा सन्ध्या–भाषामा लेखिएको थियो। अनङ्गवज्रद्वारा रचित ‘प्रज्ञोपायबिनिश्चयसिद्धि’को त्यस अंशमा अनौठोसँग यी वाक्य परेका थिए– ‘महामुद्राको अनुभव ग्रहण गर्नलाई प्रत्येक साधकले सर्वनारीको भोग गर्नैपर्दछ।’   भिक्षुहरुको अनुहारमा बढी कौतुहल र बढी जिज्ञासा देखिन्छ। कसै–कसैको अनुहारमा वितृष्णा पनि झल्कियो। गुरुले आँखा चिम्लेर भने– ‘म अर्को अंश सुनाउँछ । तिमीहरू यी दुवै अंशको आत्ममनन भोलिको सूर्यास्तसम्म गर र अनि आफूले बुझ्न सकेको कुरा व्यक्त गर्नू।’   केही पत्र गुरुले पल्टाए। उनका अभ्यस्त हातले दृष्टिको साथ दियो। एकछिन ताडपत्रमा दृष्टि उनका दौडे, आँखा चिम्लेर अनि उनले ...