Sunday, November 1, 2009

Abstract Chintan: Pyaaz (An Onion: Contemplating the Abstract)

 त प्रस्तुतिमा मेरो रेडियोको सौजन्यस्वरूप रुपेश श्रेष्ठको आवाजमा शङ्कर लामिछानेको बहुचर्चित निबन्ध कृति एब्सट्र्याक्ट चिन्तन प्याज भित्रको शीर्ष निबन्धलाई समेटिएको स्‍मृति घरमा यसपाली सोही निबन्धको अङ्ग्रेजी अनुवाद लिई आएका छौँ । आशा छ, भाषागत सीमाको कारणले खुम्चिएर रहेको शङ्करको उक्त निबन्ध सबै पाठकको घेरामा पुग्नेछ ।

यस अनुवादलाई लामिछानेकै छोरी शिखा लामिछानेले तयार पारेकी हुन् भने यो सामग्री हामीले शङ्करकै सुपुत्र प्रभास लामिछानेको ब्लगबाट साभार गरेका हौँ ।  प्रभासलाई हार्दिक धन्यवाद !

------------------------------------------------


I met Bangdelji last evening on New Road. “Shankarji”, he says, “I just read your essay, you know that essay ‘Shankar Lamichhane in Shankar Lamichhane’s opinion.’”


“Did you like it?”

“It was entertaining. But too realistic. Why don’t you make the next one a little more abstract”.

Sunday, October 4, 2009

शङ्करको 'प्याज' सुनौँ

०२४ सालको मदन पुरस्कार विजेता निबन्धकृति  'एब्स्ट्रयाक्ट चिन्तन प्याज'  को महत्ता कसको नजरमा कति छ कुन्नी । तर सर्जकको रुपमा शङ्कर लामिछानेको परिचय स्थापनाको परीक्षण-पाइला त्यही कृति  भयो, उनले पाठकको दैलोभित्र बास पाए ।

स्वाद लिनेले उनका जम्मै किताबमा उत्तिकै रस भेट्छन् । ती मध्ये 'प्याज' को महिमा विशिष्ट रहिआएको छ 'पढालु' पाठकहरूमाझ । पहिलो चोटि किताब समाएर बस्दा नबुझ्दा-नबुझ्दै पनि धेरै कुरा बुझे जस्तो लाग्न सक्छ, र त्यही माझधारको चिनाजानासँगै शङ्करको केस्रादार अध्ययनको लागि घुम्टी खुल्छ ।

यसपाली शङ्कर स्‍मृति घरमा त्यही कृति  'एब्स्ट्रयाक्ट चिन्तन प्याज' भित्रको शीर्ष निबन्धलाई सुन्ने रुपमा लिएर आएका छौँ, आशा छ यो स्वरुप शङ्करप्रेमी पाठकहरूलाई रुचिकर लाग्नेछ । यसलाई हामीले अनलाइन अडियो सङ्ग्रह 'मेरो रेडियो' बाट लिएका हौँ । निबन्ध वाचनमा आवाज रुपेश श्रेष्ठको हो ।
सुन्नलाई यो लिङ्कमा जानुहोला ।

Thursday, July 16, 2009

गिरीको याद

वि अगमसिंह गिरीप्रति शङ्कर लामिछानेको कलमको प्रेम र श्रद्धाभाव यस लेखोटको सार हो । हामीले यसलाई यहाँ यस रूपमा प्रस्तुत गर्नुको कारण त्यो श्रद्धाभावलाई पाठकसमाजमाझ छनक दिनु मात्र हुँदै होइन । बरू हो- गद्यलेखनमा प्रयोगशिल्पी भनी चिनिएका र पुजिएका-बुझिएका शङ्करको संस्मरणलेखनको पाटो के-कस्तो रहेछ भनेर उदाहरण राख्‍नु । त्यसो त कुनै व्यक्तिविशेषमाथि लेखिएको तथा संस्मरण लेखनको गहकिलो स्वाद चाख्‍न शङ्करको सिङ्गै किताब 'विम्ब-प्रतिविम्ब' मै पस्नुपर्छ ।

तर परिचयात्मक निबन्ध-सङ्ग्रहको नाम दिइएको 'विम्ब प्रतिविम्ब'मा उनको उक्त पुस्तकलेखनको समयमा दिवङ्गत भइसकेका व्यक्तित्व मात्रै थिएनन् । जिउँदा अग्रज प्रतिभा र समकालीनबारे परिचयात्मक भाव उनले उतारेका थिए उक्त पुस्तकमा । प्रस्तुत 'गिरीको याद' निबन्ध भने अगमसिंह बितिसकेपछि लेखेका हुन् शङ्करले ।
गिरीबारे शङ्करले 'निरन्तर बजिरहने एउटा धुन' र 'ओम स्वाहा ! एउटा नवीन आहुति' गरेर अरू दुई सम्झौटो पनि लेखेका छन् । यी दुईसहित प्रस्तुत 'गिरीको याद' विम्ब-प्रतिविम्ब' सँगालोमा पढ्न पाइन्छ । यसपाली शङ्कर स्मृति घरमा त्यही यादलाई सम्झना गरौँ, पढ्नुस् 'गिरीको याद' :-

Monday, June 29, 2009

किन लेख्दिनँ म ?

“म तिमीसँग साँच्चै रिसाएको छु, तिमीलाई भन्न मात्रै नभनेको ! मेरो साँच्चै चित्त दुखेको छ तिमीसँग । तिमीले मेरो अपमान गरे झैँ लाग्छ मलाई आजकाल !”

यी वाक्यहरू सुनिरहँदा मेरो शिर निहुरिएको थियो । म निरुत्तर थिएँ । भित्रभित्रै आफैँलाई अपराधी अनुभव गरिरहेकी थिएँ । तर स्नेहको तरलताले लफ्रक्क रुझेकी थिएँ ।

लाग्यो, मेरो आलस्यको ठिहीलाई पगाल्न समयले दिएको न्यानो सूर्योदय हो यो । चुपचाप सुनिरहेँ, अकर्मण्यताको ठिहीलाई पगाल्ने न्याना वाणीहरू । मनको कोमल भागमा मीठो स्पर्श पाएझैं लाग्यो । एउटा चेतनाले अर्को चेतनालाई ब्युँझाउने तातोपन महसुस गरेँ । हृदयमा चुपचाप लुकाएर मुसुक्क मुस्कुराएँ । केही बोल्ने आवाजै थिएन मसँग । त्यसैले एउटी आमाले सन्तानको मृदु तर व्यङ्ग्य वाणीलाई बेवास्ता गरे झैँ आवाजलाई कान दिइरहें, शब्द दिन सकिनँ । तर मेरो अघिल्तिर त मेरो पितातुल्य व्यक्तित्वको आवाज थियो । शरीरभरि एक प्रकारको तरङ्ग छुट्यो । एकैछिनमा झनझनायो मेरो शरीर । बाहिरको चिसोलाई चुनौती दिएझैँ रननन तात्‍न थाल्यो । मैले मेरा गालामा तातो-तातो हुँदै आएको रातोपन महसुस गरेँ ।

Wednesday, June 17, 2009

औपन्यासिक पात्र - जीवनको पृष्‍ठभूमिमा

न्छन् दान गर्नु बिर्सिदिनु, अनि मात्र पुण्य मिल्छ । कुरा कहाँबाट उठ्छ भने, भर्खर एउटी अन्धी आइमाई केटोलाई डोर्‍याउँदै आइरहेकी थिई । उसलाई मैले एक ढ्याक दिएँ । बच्चोले पैसा हत्केलामा राखेर हेर्‍यो र बिस्तारै भन्यो 'पाँच पैसा' । स्वास्नीमान्छेको अनुहारमा न कुनै कृतज्ञताको भाव आयो, न हर्षको, न सफलताको । ऊ ढ्याक जत्ति नै निस्पन्द थिई । परेला चिम्लेकी नै ऊ बिस्तारै घुमी र गई । ठिटोले डोर्‍याउँदै लग्यो उसलाई ।

असलमा यो साह्रै नगन्य एक घटना थियो । र, कहानी कलाको मापतौलमा यस्ताको उल्लेख गरिन्न पनि । र जीवनमै पनि यी जुन नगण्य पात्र छन् यिनलाई सम्झिराखिन्न । तर मेरो परिस्थिति अर्कै थियो, म त्यस बेला जीवनको गहनता र महान्‌ता र विभिन्नताउपर रमिएको थिएँ । मेरो आँखामा एउटा स्मार्ट ठिटोको अनुहार व्याप्‍त थियो र मेरा कानमा उसका बोलीको झन्कार गुञ्जिरहेको थियो । ऊ असलमा स्कूलबाट भागेर आएको थियो । नीलो कट्टु, सेतो कमिज, पुस्तकको झोली जनै जस्तो भिरेको, दाहिने हातमा लन्च-बक्स । सडकमा उभिएर ऐनाभित्रका मालसामन निरीक्षण गरिरहेको । मेरो छोराकै स्कूलको लुगा देखेर, सायद एक आत्मीयताको नाताले होला- मैले अङ्ग्रेजीमा सोधेँ, 'आज स्कूलबाट चाँडै आयौ ?'

पुलुक्क मेरो मुख हेर्छ ऊ ! अहिलेसम्म, साँच्चै भनूँ भने, म युनिफर्मसँग कुरा गर्दै थिएँ ।

Friday, June 5, 2009

क्याट माने बिरालो

क अमेरिकन मित्र काठमाडौँबाट प्रस्थान गर्दै थिए । हामीसँग निकै हेमचेम थियो । उनले सायभिज-सङ्कर बिरालो पालेका थिए । अब त्यसलाई उचित वासको टुङ्गो लगाउने समस्या पर्‍यो तिनलाई । हाम्रो सहायता मागे ।

एक प्रकारले म कुकुर, बिरालोप्रेमी हुँ । ती दुवै जनावरको केही अंश सायद ममा अवस्थित छ । जे होस्, मैले बिरालो स्याहार्ने जिम्मा लिएँ । हुन त बिरालो नदेखेको वा बिरालोउपर प्रबन्ध नलेखेको पनि होइन स्कुली जीवनमा, तथापि बिरालोको केही गुण, अवगुण रहेछन्, जो मलाई थाहा थिएन ।

जस्तै, त्यो बिरालो थियो । बाथरुममा हग्ने । उसको निमित्त काठको बाकस बनाएर त्यसमा बालुवा राखिदिनुपर्ने । ऊ बिहानै बाथरुम जाने र त्यसमै हग्ने । बिरालो आफ्नो गुहु लुकाउँछ भन्छन्, लोकोक्ति हो, बिरालो बाघको फुपू रे, सारा भदालाई सिकाएर उसले एउटै कुरा सिकाएन रे, रूख चढ्ने । त्यसमा रिसाएर बाघले झोँकमा भन्यो रे, ' तँ मूलाको गुहु पनि बाँकी राख्दिनँ ।' - र त्यस बेलादेखि बिरालाले गुहु लुकाउन थालेको रे !

त, त्यो अमेरिकन - सायभिज-सङ्कर बिरालो झन्डै छ महिनाजति बस्यो होला हामीकहाँ ।
त्यसको आगमनपछि, अनि पो मैले बिरालोबारे अध्ययन गर्न पाएँ । खासमा बिरालो सारै सुग्घरी हुँदो रहेछ । बिहान उठेपछि उसले मुख धुने, ज्यू चाटी सफा गर्ने गर्छ । आङ उसको सदा चिल्लो र चिप्लो हुन्छ ।

त्यो बिरालो हामीकहाँ आउँदा गर्भावस्थामा थिई । केही महिनापछि उसले बच्चा पाई । सानो बेलामा बिरालाले गुँड सार्छ भन्ने उखान त्यस बेला स्पष्‍ट भयो । मुखले बच्चा समातेर उसले जताततै पुर्‍याएर - लाग्दथ्यो, जङ्गलको प्रवृत्ति अझै उसमा समाप्‍त भएको थिएन, मानौँ एकै ठाउँमा बच्चा राख्दा अरूले त्यसको सुइँको पाउँछन् ।

अनि आउँछ उसले बच्चालाई तालिम दिने काल । उफ्रिने, झम्टिने, प्रहार गर्ने पन्जाले, रिसाउने, खुसाउने । सब सिकाउँछ उसले तथापि सारै दु:खदायी क्षण त सिकार गर्न सिकाएको अवस्था हुँदो रहेछ ।

एक दिन एउटा ठूलो मुसा मारेर ल्याउँछे । कतै घाउ चोट छैन उसको जीउमा । ल्याएर पलङमुनि उसले राख्दछे र बच्चाहरूलाई त्यहाँ पुर्‍याउँछे । उनीहरू नौलो जन्तु देखेर तर्सिन्छन् । आमा स्वयम् मुसालाई खेलौना जस्तो गरेर खेल्छे, मानौँ भनिरहेकी होओस्, यस निर्जीव वस्तुबाट केको भय ? यसबाट बच्चाहरू खेल्न थाल्छन् । एउटाले एकातिर तान्छ अर्कोले अर्कोतिर । घण्टौँको यस खेलबहाडमा समेत त्यो वस्तु खाने सामग्री हो भन्ने ती जान्दैनन् । अनि, आमाचाहिँ आएर मुर्दा मुसामा घाउ बनाइदिन्छे । त्यसबाट रगत चाटेपछि त्यस नयाँ स्वादबाट बच्चाहरूमा हिंसाको प्रवृत्ति स्वत: ब्यूझेर आउँदो रहेछ, र अनि ती यो पनि जान्दछन्- मुसा खेलौनाको साथसाथै भोज्य पदार्थ पनि रहेछ, आपसमा स्पर्धा र ङारङुर सुरु हुन्छ तिनमा ।

सिकारको यो उनीहरूको प्रतम अभ्यासपछि, दोस्रो कदमका रूपमा आमाले जीवित सानो मुसा पकडेर ल्याउँछे । कोठामा छाडिदिन्छे तथा ढोकाको छेउमा आफू बसेर त्यसलाई भाग्ने बाटो पनि बन्द गरिदिन्छे । बच्चाहरू त्रसित मुसालाई देखेर सुरुमा अचम्भित हुन्छन्, अनि बिस्तारै त्यसलाई लखेट्न थाल्छन् । आमाचाहिँ बीचबीचमा एक-दुई झप्पु दिएर मुसाको शक्ति क्षीण बनाइदिन्छे । भाग्ने प्रयास सकभर मुसाले गर्छ, तर चारैतिरबाट निराशा मात्र पाउँछ उसले । अनि, हुँदाहुँदा निराशाको यस्तो चरम सीमामा पुग्छ ऊ हतासिएर त्यसै लम्पसार पर्छ । निर्यातसमक्ष असहाय भएर पल्टेको मुसाको त्यो अवस्था देख्दा मेरी सानी छोरीले भनेकी थिई, "बुबा, त्यो मुसालाई बगैँचामा लुकाइदिऊँ ।"

मैले भनेको थिएँ, "छोरी, यो प्रकृतिको नियम हो, बिरालाले मुसा खाएको स्वभावजन्य अधिकारलाई छेक्ने हाम्रो हक छैन । मुसा खाएन बने बिराला बाँच्छ कसरी ? फेरि, सधैँ हामी बिरालाको चियो पनि त गर्न सक्दैनौँ ।"

आज मलाई लाग्दैछ, त्यत्रो दार्शनिक व्याख्या छोरीले बुझी वा बुझिन, तथापि ऊ चुप लागी । हामी हाम्रो समक्ष संहारको प्रक्रिया हेर्दे गर्‍यौँ ।

बच्चाको विकाससाथसाथै मुसाको आकार पनि बढाउँदै लैजान्छे आमाचाहिँ । पछिपछि हुँदाहुँदा त पूरा विकसित मुसालाई जिउँदै अघाइने रूपमा ऊ ल्याउँछे र छाडिदिन्छे कोठामा । आफू उफ्रेर, जिस्केर, प्रहार गरेर ऊ सारा युद्धशास्त्र बच्चालाई सिकाउँछे ।

यी सारा क्रिया गरून्जेल ऊ माया गर्छे बच्चालाई । अनि बच्चा पारङ्गत के बन्छ एक पटक, उसको माया स्पर्धामा बदलिन्छ । पहिले आफू नखाएर पनि बच्चालाई खान दिने आमा अब खाने बेलामा ती बच्चाप्रति ङुर्रसमेत गर्ने हुन्छे ।

यो अवस्था मानौँ सक्षमताको बाधक हो । मानौँ अब जीवनयापनको समस्या सामूहिक नभएर पूरा रूपले व्यक्तिगत बन्न गएको छ । त्यस बेला लाग्छ, जनावरमा समेत आफ्नो व्यक्तित्वको विकासको आकाङ्क्षा हुँदो रहेछ वा भनौँ आफूसमान अरूलाई हुन नदिने स्वार्थको जुन भन्को छ, त्यो सभ्यताको देन मात्र होइन रहेछ ।

अर्को कुरा जो मैले थाहा पाएँ, त्यो थियो सहवासको आवश्यकताले प्राकृतिक शत्रुता पनि सेलाउँदो रहेछ । जस्तै चलन छ भन्ने, कुकुर-बिरालो झगडा । तथापि, साथसाथ बस्ने अवस्था पर्न जाँदा ती दुई जनावरमा एक-अर्काप्रति बेवास्ताको भावना बढ्दै जाँदो रहेछ । पछिपछि त ती छेउछेमै ढक्केर घाम ताप्नेसम्म पनि हुँदा रहेछन् ।

सारा कुरा विचार गर्दा, हाम्रा जीवनमा हाम्रै आँखासामु अनेकन् घटना घटिरहेका हुन्छन्, हामीले हेरि मात्र दिन सक्नुपर्छ, बुझि मात्र दिन सक्नुपर्छ । बाल्यावस्थामा जुन प्रबन्ध लेख्‍न सिकाइन्छ, जसको आरम्भ नै'बिरालो एउटा चारखुट्टे जनावर हो' वा 'गाई एउटा चारखुट्टे जनावर हो' - त्यो कति गलत तरिका रहेछ शिक्षापद्धतिको, त्यो आज अनुभव हुँदैछ । बिरालाले आफ्नो ज्ञान जुन प्रकारले प्रदर्शनपद्धतिद्वारा आफ्ना बच्चालाई सिकाउँछ, त्यो मानिसले भर्खरभर्खर शिक्षापद्धतिमा अपनाउने प्रयोग आरम्भ गर्न थालेको छ। त्यो पनि सभ्यताको विकास दस हजार वर्षपछि ।

आज अनुभव हुन्छ जीवन पुन: आरम्भ गर्न पाए अनेक कुरा जो जान्नुपर्ने थियो र जो छुटिरहेको छ वा ढिला रूपमा मात्र पछिपछि जानियो, तिनलाई आरम्भमै जान्न सकिने थियो । ती कुरा अघि बुझ्न पाएको भए तिनले जीवनको प्रवाहलाई सायद नयाँ मोड दिन्थे कि ? जेजति गल्ती गरियो, हुन सक्छ, त्यसको मात्रा सायद कम पो बन्थ्यो कि ? केही नभए पनि सामान्य जीवनमा दार्शनिक दृष्‍टिकोणको बढी प्रभाव हुने थियो ।

हाम्रो ज्ञान सी ए टी क्याट, क्याट माने बिरालाको सतहबाट निश्‍चय पनि माथि उठ्ने थियो ।

------------------------------------

:: साभार: शङ्कर लामिछानेका निबन्ध (२०५९), साझा प्रकाशन, ललितपुर ।
सम्पादक: शिव रेग्मी ।

*तस्बिर: डिजिटलजर्नल.कम

Thursday, April 2, 2009

हृदयमा तोपलाङ्

वाह तोपलाङ् !

तिम्रो चित्र मेरो हृदयमा स्थायी बनेको छ । तिम्रो सङ्घर्षको कथा र पीडाका घाउहरूले म तरल बनेको छु ।

कपासको फूलजस्तो
हुस्सुका गुच्छाहरू
तल खोँचबाट उठिरहेका
आकाश चुम्न

हरियालीको पृष्‍ठभूमिमा
फूल झैँ आकाङ्क्षाका गुच्छाहरू पनि
आकाश चुम्न उठेको
अनुभूत गर्छु
तोपलाङ्‌मा ।

एउटा संयोग मात्र थियो म तोपालाङ् पुग्नु । एउटा सुखद् तर आकस्मिक भविता । जीवनमा भइरहने सामान्य घटनाहरू झैँ एउटा छोटो यात्रा केही घन्टाको । कहिलेकाहीँ यस्ता सामान्य घटनाको ठूलै अर्थ र प्रभाव रहन्छ मान्छेको जीवनमा । जीवन भनेकै सूक्ष्म अवलोकन हो जसले नदेखिएका अनन्त भविताहरूको गहिराइ देख्छ र अर्थका सार्थक तहहरू अन्वेषण गर्छ । एउटै घटना र संयोजित दृश्यको पनि अनन्त अर्थहरू उत्पादन गर्ने सम्भावना रहन्छ, सौसरले भने झैँ । तर त्यहाँ जरुरत छ खोजीको, भोकको, प्रतिबद्धताको, सिर्जनशीलताको, जीवनदृष्टिको र सकारात्मकताको ।

तोपलाङ्‌मा मैले भैरवबहादुरलाई भेटेँ । उनी आफैँ तोपलाङ्का जीवित स्तम्भ बनेको पाएँ मैले । सत्तरी शिशिर पार गरेका उनको अनुहारका असङ्ख्य रेखाहरूमा सङ्घर्षको महाआख्यान पढ्न सकिन्छ । प्रत्येक रेखाहरू समयका क्रूर कोर्राबाट लेखिएका हुन् । अभाव, विपन्नता, अन्याय, अत्याचार, राज्यको पूर्वाग्रह र बेवास्ता आदिबाट संयुक्त रूपमा सिर्जित पीडाका उदास रङ्गहरूले कोरिएका हुन् उनका अनुहारका धर्साहरू । उनको दृश्य पिल्लिएको पाएँ मैले पीडाका तुलिकाघातले । उनको हृदयको पोखरी आफ्नै आँसुले भरिएको छ । उनको हृदय भन्छ :

तोपलाङ्‌मा पानी पर्दा
मेरो आँसु मिसिएर झर्छ

म सधैँ चिन्तित हुन्छु
मेरो आँसु मिश्रित झरीले
हरियाली डड्ने त हैन !

हो भैरवबहादुरको जीवन तोपलाङ्कै उन्नतिमा समर्पित छ र उनी चिन्तित बनेका छन् मातृभूमिको प्रगतिप्रति ।

जवानीमै सेनाको आकर्षक जागिर छोडेर उनी गाउँ फर्किएका हुन् र प्रयास गरेका हुन् गाउँको मुहार फेर्न । उनको जीवनमा आँसुको कथा मात्र छैन । उनको अनुहारमा पीडामा रेसा सँगसँगै उन्मुक्त हाँसो पनि छ । गाउँलेहरूलाई सङ्गठित गर्दै सामूहिक प्रयासद्वारा परिवर्तनका पक्षमा उभ्याउन सकेको सफलताको खुसी पनि निस्वार्थ र निस्कपट हाँसोमा प्रतिबिम्बित हुन्छ ।

यो देशमा सारा राजनीति सामान्य र गरीब जनताकै उन्मुक्तिको लागि गरिएको छ र शासन तिनकै रक्षा र समृद्धिको लागि लक्षित भनिएको छ इतिहासमा । इतिहासको पछिल्लो टुप्पोसम्म पनि यही नै दसी कायम छ । तर यी सबै दसीहरू झूट, पाखण्ड र आडम्बर भएका छन् भन्ने प्रमाणका लागि एक्लै तोपलाङ् काफी छ ।

राजधानीबाट केही किलोमिटर भित्रै पर्ने धादिङको यो गाउँ वास्तवमै धेरै अर्थमा नेपालका ठगिएका गाउँहरूको प्रतिनिधि हो भन्ने लाग्छ मलाई । न यहाँ 'एउटा गाई र घरको चित्र' पुग्यो, न 'गाउँ फर्क राष्ट्रिय अभियान', न पुग्यो 'एशियाली मापदण्डको वायु, न त 'आफ्नो गाउँ आफैँ बनाऊँ'को राष्ट्रिय अभियानको प्रभाव । यी नाराहरू केवल शत्तासीनहरूको दीर्घायुका लागि सिर्जना गरिएका प्रतिबद्धताविहीन नाराका नयाँ अवतारहरू मात्र भएका छन् तोपलाङ्का लागि ।

जनताप्रति गरिएको धोकाहरूको शृङ्खला बढ्दै जाँदा विद्रोहको आगो पनि दन्किन्छ नै । तोपलाङ्‌माथिको राज्यको ज्यादती सम्झँदा मलाई मेरै गाउँको सम्झना भयो । झापाको भौतिकरूपमा अविकसित गाउँबाट झापा विद्रोहको आगो हुर्केको थियो । राज्य र राज्यहरूद्वारा पोषित सामन्तहरूको विरुद्धमा वि.सं. २०२० को दशकको अन्त्यतिर । चिनियाँ सांस्कृतिक क्रान्तिको प्रभावमा भारतको पश्‍चिम बङ्गाल राज्यको नक्सलवादीबाट चारु मजुमदारको नेतृत्वमा उठेको सशस्त्र विद्रोहको पहिरो असर पर्‍यो त्यहाँ । वि.सं. २०२० को दशकको अन्त्यतिर झापा विद्रोहले चरम रूप लिएको थियो । यस्तो सशस्त्र विद्रोहको चरमोत्कर्षमा युवाहरूले सामन्तको टाउको गिड्नेसम्म अभियान चलाएका थिए । तर तोपलाङ् संयमित छ, उसको विद्रोहले हतियार रोजेन । विद्रोहबाट उत्पन्न हुन सक्ने खतरनाक परिणतिबाट जोगिँदै आफ्ना चेतनाका आवाजलाई आफ्नै ढङ्गले बुलन्द गरिरह्यो । यद्यपि ती आवाजहरू राज्यका अगाडि साउतीभन्दा बढी केही हुन कसेका छैनन् -अहिलेसम्म ।

भैरवबहादुरको उन्मुक्त पारदर्शी हाँसोमा उनको सफलताको कथा पनि प्रतिबिम्बित हुन्छ । उनको सबैभन्दा ठूलो विश्‍वास छ, गाउँलेको एकता र तोपलाङ्बासीको सहकार्यमा । उनको परिवर्तनको लडाइँ पनि यही बलमा टिकेको छ । उनीहरूले लडेर स्कुल ल्याए राज्यबाट । तर शिक्षक बेपत्ता छन् अहिलेसम्म । त्यहाँका बालबालिका चार घन्टा एकतर्फी हिँडेर प्राथमिक शिक्षा लिन जान बाध्य छन् । राज्यको ध्यान तान्न निरन्तर सदरमुकाम धाइरहेछन् गुनासोका पुलिन्दा बोकेर उनीहरू ।

राजधानीको नाकैमा पनि देखेन राज्यले तोपलाङ्लाई । बाटोका लागि बजेट नदिएर निषेध गर्न खोज्यो । तर गाउँले मिलेर खने बाटो र जोडे नजिकको केन्द्रसँग । अवसरको राजमार्ग खोज्दै । राजधानी उज्यालोमा डिस्को नाच्छ । सँगै तोपलाङ् अन्धकारमा उच्छ्‌वास छोड्न बाध्य छ । अन्धकारकै बीचबाट पनि चहकिलो उज्यालोको खोजी गर्न ऊ प्रयत्‍नशील छ ।

सूचनाको हकको आधारभूत अधिकारको नाङ्लो ठटाउँछ राज्य राजधानीबाट । सँगै तोपलाङ् सञ्चारसँग विच्छेदित भई कुहिरामा हराइरहेछ ।

राज्य गाउँको आवाज नसुन्ने बहिरो भएको छ, समस्या नदेख्ने अन्धो, पीडा अनुभूत गर्न नसक्ने निर्दयी र ध्यान दिन नसक्ने अविवेकी बनेको छ । राज्य तोपलाङ्का लागि चेतनाहीन मुर्कुट्टा बनेको छ । लज्जास्पद कुरा के छ भने राजधानीबाट आफूलाई जनमुखी भनी सरकार ढ्वाङ् फुकिरहेछ । सुन्दर प्रकृतिको अनुपम सौन्दर्यमा गर्व गर्छ तोपलाङ् । हरियालीको बर्को ओढेर मुसुक्क मुस्कुरायो हामीलाई देखेर । यही हरियालीलाई आफ्नो र सन्ततिका सम्पदा ठानेका छन् यहाँका मानिसहरूले । डेढ दशकअघि सुख्खा डाँडा बन्न लागेको वनको संरक्षणका लागि सङ्गठित प्रयास गरेर फर्काउन सके हरियाली । प्रत्येक बच्चाको आँखामा चम्किने हरियालीको प्रतिबिम्ब वास्तवमा जीवनको प्रतिबिम्ब हो । तोपलाङ्ले जीवनको प्रतिरूप जोगाएको छ ।

तोपलाङ् आत्मनिर्भर बन्न प्रयत्‍नरत छ । भुटेका मकै र साँधेको गुन्द्रुकमा रमाएको छ । अहिलेसम्म राज्यले चामलको लाइनमा उभ्याएको कर्णालीको जस्तो नियति भोग्नबाट जोगिएको छ ऊ । जे फल्छ त्यो नै उसको हो । आफ्नै आधारमा उभिएर तोपलाङ् बाँचेको छ ।

भैरवबहादुरको आकाङ्क्षा, प्रतिबद्धता र सङ्घर्षलाई मनोजको नातिपुस्ताले निरन्तरता दिइरहेको छ । अझ प्रगाढ सपनाको साथ । प्रयासहरूको निरन्तरता नै उपलब्धिमा पुग्ने सिँढीहरू हुन् जीवनका । सिङ्गै गाउँ सङ्गठित रूपमा यिनै प्रयासका सिँढीहरू उक्लिरहेछ ।

राज्यको खुनी पञ्जाबाट पनि आफूलाई बचाउने प्रयास गरेको छ तोपलाङ्ले आफूलाई । उत्पादकत्व बढाउने र उन्नत प्रविधिका नाममा जहाँ जहाँ राज्य पस्यो समस्या सँगै थोपरेको छ । तोपलाङ प्राकृतिक छ, जैविक वा अर्ग्यानिक छ । राज्यको काँध चढेर आयातीत रसायन छिरेको छैन त्यहाँ अहिलेसम्म । घातक रसायन रोक्न प्रयत्‍नशील छ तोपलाङ् ।

शताब्दीऔँ लामो इतिहास भएको समृद्ध तामाङ संस्कृति तोपलाङ्को मौलिक परिचय बनेको छ । आफ्ना भाषा र संस्कृतिप्रति गर्व गर्दै यसको संवर्द्धनमा भिडेको छ तोपलाङ् । तोपलाङ् बहुलता स्विकार्ने उदारता देखाउँछ तर आफ्नो परिचय आफ्नै संस्कृतिबाट अघि सार्छ । इतिहासको गर्वमा मात्र होइन, तोपलाङ् वर्तमानमा नै बाँचेको छ । नजिकै चन्द्रागिरी पुगेर जीवन र प्रकृतिका शास्वत कविता रचना गरेका महाकवि देवकोटाले पनि काव्य लेख्दा सायद तोपलाङ्को प्रभाव पनि लिएको हुनुपर्छ ।

तोपलाङ्का प्रौढ महिला पनि अक्षर पढ्छन् । अक्षरभित्र अन्तर्निहित जीवन र सभ्यताका आयामहरूको खोजी यहाँका महिलाले गरेका छन् । इतिहासमा सधैँ ठगिँदाको पीडाका वर्णमाला र उन्मुक्तिको सार्थक वाक्य पूरा गर्न सङ्घर्ष गरिरहेछन् उनीहरू । हँसिया, कुटो र लिपपोतका साथमा उज्यालाका गीतहरू पनि गाइरहेछन् उनीहरू ।

हामी, तोपलाङ्का मित्रहरू छत्र क्षितिज र ऋषि बस्ताकोटीको प्रयासमा यहाँ आइपुगेका छौँ - गणतन्त्र घोषणा कार्यान्वयन भएको अर्को हप्‍ता । रगतले लेखिएको आँसुले लेखिएको, सिन्दूर र पीडाका मसीले लेखिएको गणतान्त्रिक नेपालमा तोपलाङ्को चित्र कसरी उतारिनेछ ? के तोपलाङ्जस्ता हजारौँ गाउँहरू उक्लिनेछन् राष्‍ट्रिय एजेण्डाका केन्द्रमा ? नयाँ नेपालको नयाँ अनुहारको चहक विपन्न गाउँबाट उदाउने छ ?
तोपलाङ्को छोटो यात्रामा यिनै यक्ष प्रश्‍न मेरो मनमा चट्याङ् जसरी गाडिएका छन् ।

- tankaupreti@hotmail.com

Monday, March 23, 2009

तुम कौन हो ?

तुम कौन हो ?
चन्द्रमा की विमल, स्वर्णिम रश्मि सी तुम
कौन हो ?
तुम कौन हो ?

कमल की नव पल्लवी सी कोमला तुम
कौन हो ?
तुम कौन हो ?

मधुर वीणा के स्वरों सी चन्चला तुम
कौन हो ?
तुम कौन हो ?

आग की उठती लठा सी सुन्दरी तुम
कौन हो ?
तुम कौन हो ?

कौन जीवन के अन्धेरे में उजाले की किरण सी
कौन हो ?
तुम कौन हो ?

स्वर्ग का वरदान हो तुम
या कि माया मूर्ति कोई ?
अप्सरा या मानवी हो ?

सत्य हो या स्वप्न कोई ?
मुस्कुराहट में नयन की
बात मन की
मत छिपाओ
यह बताओ

कौन हो ?
तुम कौन हो ?

-----------------------------------------------------
शङ्करले हिन्दी साहित्यमा पनि कलम चलाएका छन् । खास गरी अध्ययनका क्रममा बनारस-बसाइमा सरसङ्गतिको प्रभावले उनी हिन्दी साहित्यतिर आकर्षित भएको र बिस्तारै लेखनमा पनि हात बसाउन थालेको पाइन्छ । हिन्दीमा विशेषत: उनी कविता लेखनतिर ढल्किएका छन् । तिनमा पनि प्रायश: उनले प्रेम-प्रणयका कविता लेखेका छन् । उनले लेखेका तिनै कविताहरूमध्येबाट प्रकाश सायमीको सङ्कलनमा रहेको र उहाँमार्फत समृद्धि सायद हुँदै हामीसम्मन् आइपुगेको कविता यहाँ प्रस्तुत गरेका छौँ । शङ्करका चेतनप्रवाह शैलीमा बगेका निबन्ध मात्र पढ्दै आएका पाठकहरूको मनमा यो सौगात फरक स्वादको रूपमा बस्ने नै छ ।

*तस्बिर: मिस्ट एन्ड स्टोन

Sunday, March 15, 2009

जापानी हाइकु कविता

-६ वर्षअघि मैले हाइकु शैलीका एक दुई कविता रूप-रेखामा प्रस्तुत गरेको थिएँ । तिनको छोटकरीमा तथा देखिने सहजताको परिणामस्वरूप सबैले खिसी त गरे, हाइकुको बाढी आयो, सम्पादकको डेस्कमा । हाइकुकविता वास्तवमा त्यति सहज कविता होइन । ५-७-५ अक्षरका कवितामा यसका तीन पङ्क्तिको मुख्य विभाजनमा एउटा दर्शन छ ।

जापानी साहित्यमा हाइकु शैलीका कविताका सबभन्दा चर्चित कवि हुन् बासो । उनको बहुचर्चित कविता लिऊँ -


फुरूइके या (५) पुरानो ताल
कावाजु टोबिकोमू (७) भ्यागुतो उफ्रिन्छ
भिजू नो ओटो (५) पानीको शब्द ।

आफ्ना शिष्यहरूसमक्ष कविताको व्याख्या गर्दा बासोले भनेका थिए, उनका कविताको चरित्रको दुई विशेषता छन् । परिवर्तन तथा स्थायित्व । जापानी कविताको अध्ययन गर्ने व्यक्तिलाई थाहा हुनेछ, त्यसबखत परम्परालाई मात्र कायम राख्‍ने एक रोग व्याप्‍त थियो, उनको साहित्य समाजमा । बासोका कथन अनुसार, "मेरो कवितामा प्रत्येक वर्ष परिवर्तन आउनुपर्दछ र ती प्रत्येक महिना स्वच्छ हुनैपर्दछ ।"

आउनुहोस् यस सन्दर्भमा माथिको कविताको अध्ययन गरौँ ।

पहिलो पङ्क्तिमा, विश्‍वको कवितात्मक अभिव्यक्ति जनाइन्छ- त्यो हो समयहीन, सञ्चालनहीन पानी तालका । दोस्रो पङ्क्तिमा सामयिक हलचल जनाइन्छ- जसमा भ्यागुतोको उफ्राइ जनाइन्छ । तिनको सङ्घर्षको परिणाम हो तेस्रो पङ्क्ति- पानीको शब्द !! यसैलाई यदि औपचारिक रूपमा व्याख्या गर्ने हो भने पहिलो पङ्क्तिले चिरन्तन सत्य अभिव्यक्त गर्छ , जो जापानी साहित्यको एक आधारभूत गुण हो;बासोको देन यहाँ छ सञ्चालन निमित्त प्रयोग गरिएको भ्यागुतो, जो बेढङ्गको स्वररहित, परम्परालाई भत्काएर नयाँ परम्परा स्थापित गर्दछ ।

सत्यको खोजी नै यदि कविताको मुख्य वस्तु ठान्ने हो बने त्यसलाई जने बुद्धिज्मका सन्दर्भमा हामी बुझ्न सक्छौँ, जसअन्तर्गत अन्य कुराका अतिरिक्त, बोध हामीलाई एक्कासि हुन्छ भन्ने सिकाइयो । यसै अनुरूप, नयाँ शिष्यलाई एक्कासि पाठ घोकिरहेको बेला कपालमा विस्तारै हिर्काउने गर्थे उनीहरू, ज्ञान उमार्न । जे होस्, एक्कासि उम्रेको भावना नै हाइकुको आत्मा हो । बासोको अर्को उत्तिकै चर्चित कविता लिऊँ-

कारेइदा नी (५) जर्जर हाँगा
कासुनो तोमार्केरी (७) कौवा एक बसेछ
आकिनो कुरो (५) शरद्‌मा सन्ध्या ।

बासोको यो कविताले प्रसिद्धि पायो- लाखौँ चित्रणमा । तर चित्रण गर्ने भने उनको उद्देश्य थिएन । कवितामा चित्रण मात्र उनी चाहदैन तिए, यसको उदाहरण निमित्त अर्को कविता लिऊँ-

सिजुकासा या (५) कस्तो निस्तब्ध
इवानी सिमिइरू (७) झ्याउँकिरीको शब्द
सेमी नो कोई (५) डुब्छु डुङ्गामा ।

हाइकु कवितामा सुधारको सम्भावना जहिले पनि हुन्छ । १००-२०० वर्षको कुरा त्यहाँ आउँदैन । (सन् १७१७-८४) मा लेखे :−

च्छुरो गाने नी (५) मन्दिर घण्टा
तोमारिते हिकारू (७) आरामसाथ मस्त
कोचो का ना (५) क्या झ्याउँकिरी !

दोस्रो उपमा सिकीको (१८७६-१९०२)

च्छुरो गाने नी (५) मन्दिर घण्टा
तोमारिते किकारू (७) आराम ली उज्ज्वल
होतारू का ना (५) त्यो झ्याउँकिरी

यहाँ तपाईँहरूले देख्‍नुभयो होला- प्रत्येक कवितामा एक पद्धति छ- आफ्नै । प्रथम पङ्क्तमा विश्‍व अवस्थाको; दोस्रोमा सब्जेक्टको अवस्थाको, तेस्रोमा प्रतिक्रियाको ।
यी सारालाई अनुबन्ध गर्नुपर्‍यो १७ अक्षरमा !
सम्भव छ के ?

हाइकु, त्यही हो ।

---------------------------------------------------------------
प्रथम पटक प्रकाशित : रूपरेखा, पूर्णाङ्क ११३, असोज २०२७ साभार : शङ्कर स्मृति (व्यक्ति, कृति स्मृति), सन् २००६- पैरवी बुक्स, काठमाडौँ ।
सम्पादक- प्रकाश सायमी ।

Sunday, March 1, 2009

मोफसलको कथा

न्छन्, मोफसल राजधानीबाट धेरै टाढा छ । हुन त सायद त्यसैले पनि राजधानीवादको हावादेखि पर पनि छ । आज मात्र होइन हिजोदेखि नै मोफसल सँधै राजधानीबाट टाढा नै रहृयो । पर रहेपनि मोफसलले कहिल्यै राजधानीलाई स्मृतिको कठघरामा राखेन । कस्तो बिडम्बना छ भने राजधानी बिरामी पर्दा मोफसलले भरथेग गर्नुपर्छ तर मोफसल थला पर्दा पनि राजधानीले एक झल्को चियाउँदैन । अचम्म लाग्छ, मोफसलको ऋण खाएर बलियो र मजबुत बनेको राजधानी आफूलाई कहिल्यै मोफसलको ऋणी हुँ भन्दैन ।

वास्तवमा मोफसलको कथा यतिमै समाप्‍त हुँदैन,पुस्तकका पुस्तक लेखिन सक्छ मोफसललाई लिएर । उसको कथा नै यस्तो दर्दनाक छ कि जति नै भने पनि कहिल्यै टुङ्गिदैन । कथा समाप्‍त भएको उद्‌घोष बारम्बार गरिए तर पटकपटक सुरू हुन्छ त्यसको श्रृङ्खला । धेरै पीडा र यातनाहरूसँग दशकौँदेखि सङ्घर्षमय जीवन बाँच्दै हुर्किएको मोफसलमा सुविधाको ना
ममा राजधानीमा सहज रूपमा प्राप्‍त हुने ती यावत् कुराहरू पाइँदैनन् जुन मोफसलले पनि भित्री हृदयदेखि चाहना राखेको हुन्छ ।

पण्डितहरू भन्छन्, 'केन्द्र र मोफसलबीचको दूरी अब घट्दो क्रममा छ ।' विज्ञान तथा प्रविधिको चमत्कारका कारण केन्द्रमा पाइने कतिपय कुरा मोफसलमा नपाइने होइनन् तर यसको अर्थ यो हुँदैन- अब दूरी घट्दै गएको छ । एकले अर्कोलाई हेर्ने सोचमा जबसम्म आफ्नोपनको मीठो आभाष मिल्दैन तवसम्म दूरी घट्दै गएको कुरा कुनै काल्पनिक कथाको विषयवस्तु त हुनसक्छ कहिल्यै यथार्थ हुन सक्दैन । आजसम्म जुन दृष्टिकोणका साथमा मोफसललाई हेरिएको छ त्यही दृष्टिकोणकै निरन्तरता जता हेरे पनि देखिन्छ । मन खोइ त आत्मीयताले भिजेको, निथ्रुक्क नहुने गरी ओभानै मात्र देखिन्छ । यसलाई के नाम दिने ?

पटकपटक भनिन्छ, 'जीवन यात्रा हो यात्रा जसरी नै बाँच्नुपर्छ । यात्राका उतारचढावहरू कहिले घाम हुन्छन् र झलमल्ल लाग्छन् । कहिले
भने छाया भएर ओझेलमा रेखाहरू बनाउँदै त्यसमा सुँकसुँकाएर धमिला रङ्गहरूको समायोजन हुँदै पोखिन्छन् ।' भनाइकै पछि लाग्ने हो भने जीवन झन् कष्‍टकर हुने निश्‍चितप्रायः नै छ । सन्दर्भ के हो र त्यो जीवनमा कत्तिको सापेक्ष छ भन्ने कुराले मात्र धेरै ठूलो अर्थ राख्छ, जीवनका तमाम निरपेक्षरूपी उद्धरणहरूका साथले पनि जीवनमा केही परिवर्तन आउन सक्ने छैन ।

धेरैपछि, केही समयअघि, काठमाडौंमा एक जनासँग भेट हुन्छ । उनलाई परिचित मान्दा पनि हुन्छ र नमान्दा पनि । त्यसको पनि कारण छ, उनीसँग केही वर्षपहिला मेरो परिचय भएको थियो र त्यसले निकै समय निरन्तरता पनि पायो । जब मलाई काठमाडौँले के साँझ के बिहान, के रात के दिन नभनी मोफसलतिर लखेट्दै थियो तब मलाई थाहा भयो सङ्घर्ष मात्र गर्नु शक्ति होइन रहेछ । बिनासङ्घर्ष कतिले नाम पनि कमाए र दाम पनि कमाएका प्रत्यक्षदर्शीका रूपमा उपस्थित हुने यिनै आँखाहरू पर्याप्‍त छन् । जति सङ्घर्ष गरे पनि त्यसको कुनै अर्थ नरहेपछि र बाँच्नसक्ने कुनै विकल्प नै नभएपछि काठमाडौँले मलाई मोफसलमा धपाएरै सन्तुष्‍टि लिएका दृश्यहरू अझै पनि यी आँखाहरूमा ताजै देखिन्छन्
म कलङ्की चोकबाट सधैँका लागि पश्‍चिमतिर लाग्दा मेरा पूर्वपरिचित मित्र भने त्यतिबेला अग्रपङ्क्तिमा बसेर जोड जोडसँग ताली बजाइरहेका थिए ।

यो मेरो मात्र पीडा होइन, म त केवल प्रतिनिधि पात्र हुँ । केही हदसम्म काठमाडौँमा नै बसेर पनि श्रवण मुकारूङको पीडा हुनसक्छ यो । केही हदसम्म युवराज नयाँघरेको पनि पीडाका रूपमा दोहोरिन सक्छ यो । चाहे कृष्ण धराबासी नै किन नहून् या मनु ब्राजाकीकै पीडा हुनसक्छ यो ।

मोफसलको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ नकि आदर्शमा बाँच्ने आदर्श नायकहरूलाई । मोफसलको सङ्घर्ष अनुभव गर्नेले मात्र थाहा पाउँछ नकि राजधानीको सुख र सम्पन्नतामा जीवनबोध गर्नेहरूले । किन कहिल्यै लाग्दैन राजधानीको घाम मोफसलको धरतीमा ? एक झुल्को घामको प्यासी बनेर मोफसल धेरै अघिदेखि प्रतीक्षारत छ, उसले किन कहिल्यै बुझ्दैन मोफसललाई ? किन कहिल्यै गाउँदैन राजधानीले मोफसलको गीत आफ्नो नजिकको साथी मानेर ? गीतको वर्षाले पटकपटक रुझ्न चाहन्छ मोफसल, सङ्गीतको झरीले बारम्बार भिज्न चाहन्छ मोफसल । राजधानीले किन कहिल्यै यसलाई महसुस नै गर्दैन ?

एक्लो एक्लो मोफसल जीवन्त सङ्घर्षका कथाहरू लेखिरहेछ तर सार्वजनिक गर्ने साहस जुटाउन सक्दैन । भन्छ, 'सार्वजनिक गरेर मात्र के हुन्छ ? प्रचारप्रसारका लागि पालो कुरेर राजधानीलाई चाकडी गर्नुपर्छ । यदि पालोको क्रम आयो भने पनि त्यसको कदर नै हुन्छ भन्ने के आधार छ र ! मोफसलले अहिले ती दृश्यहरू सम्झिन्छ जहाँ उसको पालो आउँदा पनि अरूले नै मिचेर अतिक्रमण गरेको विम्ब मोफसलको आँखाभरि अझै व्याप्‍त छ । मोफसललाई थाहा नभएको होइन, राजधानीलाई नमस्कार गरेर मात्र पुग्दैन, मोटो दक्षिणाको रूपमा भेटीसमेत चढाउनु पनि पर्छ ।'

एक मन त लाग्छ, हुनेखानेहरू सबैले किन मोफसललाई रातारात त्यागेका होलान् ? किन हुँदाखानेहरूको जिम्मामा मोफसललाई छोडेर उनीहरू नफर्किने गरी भागेर गएका होलान् ? प्रतिभा पलायनको यस्तो अद्‌भूत दृश्य राजधानीले सायदै कहिल्यै देख्यो जति मोफसलले आफ्नो जिन्दगीभरि देख्यो । यस्तो प्रकारको प्रतिभा पलायनलाई अब के नाम दिने ? के सबैलाई राजधानी चाहिएकै हो त ?

घाम सबैको लागि हो भनिन्छ, त्यसले दिने प्रकाशलाई सार्वजनिक अर्थ र अभिप्रायमा नै गणना गरिन्छ । पानीले कहिल्यै आफ्नो जात छुट्टयाउँदैन भन्ने कुरा घरिघरि प्रमाणित पनि हुन्छ । फूलको सुगन्धले कहिले कसलाई भेदभाव गर्छ र ! हावाको उपस्थितिले सबैलाई नै आलिङ्गनबद्ध गरेर सधैँ नै न्यानोपन प्रदान गर्दैन र ! मान्छेरूपी भौतिक प्राणीले कतिसम्म गर्‍यो भने प्राकृतिक रूपमा सबैका लागि उस्तै रहेको घाम भौतिक अर्थमा घामलाई हेर्ने सन्दर्भमा पनि ठूलो विभाजन ल्यायो । पानीको महत्व सबैका लागि त्यत्तिकै हो तर आजको मान्छेले पानीलाई पनि तराजुमा जोख्‍ने काम गर्‍यो । फूलले दिने सुगन्धमा कतै फरक महसुस हुँदैन तर मान्छेले फूलको सुगन्धलाई पनि फरक फरक मूल्यमा विक्री गर्न राख्यो । हावा सबैका लागि अनिवार्य छ तर आजको मान्छेले त्यस हावालाई पनि वर्गीय बनाउँदै त्यसको मूल्यवेत्ता कायम गर्‍यो ।

यस कुरामा न कहिल्यै शङ्का थियो न अहिले नै कुनै शङ्का छ, राजधानीलाई अहिलेको राजधानी बनाउनुमा मोफसलको जति हात कसैको पनि छैन । दुःखको कुरा यही छ, राजधानीले यस्तो सत्यलाई कहिल्यै महसुस नै गरेन । चाहे कलामय यात्रामा बौद्धिक श्रमको लागि नै किन नहोस् या जीविकोपार्जनमा शारीरिक श्रमको बलमा नै राजधानीलाई सिञ्चित गर्ने अभियानमा किन नहोस्, हरेकपल्ट मोफसलले राजधानीलाई बचाएको छ । सधैँ नै राजधानी देशको गौरव र गरिमा हो भन्दै मोफसलले आफूलाई अर्पित गरेको छ । यात्रा यात्रामा साथ दिने मोफसललाई राजधानीले गर्ने व्यवहार प्रिय नहुँदा मोफसलबासीको मन चसक्क दुख्‍नु अनौठो पनि छैन ।

Sunday, February 15, 2009

THIS NIGHT

- Shankar Lamichhane
Like a torn leaf of notation
A piece of sky
Is glued over here.

It is its song
thant the waves murmer
And sing out to the shores.

This night,
Now I feel,
Will not be able to nestle in my eyes ! ---

It is this night
That has taken away
The songs
That I composed
And had not yet sung.

Thursday, February 12, 2009

बूढ्यौली घर

मायाले कसैलाई बचाउन सकिने त होइन तर पनि हामी
निष्प्राण भएर लडेको मान्छेलाई कठै बिचरा भन्ने गर्छौँ । त्यसैले असी वर्ष पार गरेका मान्छे बित्दा पनि हामी त्यसलाई सहज मान्दैनौँ र उसको मृत्युलाई असामयिकताको संज्ञा दिन्छौँ । यति मात्र होइन, शरीरबाट अलग भएर उडी जाने अमर आत्मालाई पनि हामी मृत नै घोषित गरिदिन्छौँ । आजकाल सजिलो पनि भएको छ- को मरे भन्ने थाहा पाउन अखबार हेरे पुग्छ । विशेषगरी बूढाहरू (यसले विपरीतलिङ्गीलाई पनि जनाउँछ) लाई आफ्ना साथीभाइको जानकारी राख्‍न अखबार सहयोगी भएको छ । समवेदना छपाउने फेसन खुब चलेकोले घाटमा पत्रिकावालाले विज्ञापन प्रतिनिधि राख्‍नुपर्ने दिन पनि छिट्टै आउन सक्छ !

हुन त मृत्यु बूढो भएपछि मात्र आउने होइन । न यो फोटोग्राफर नै हो जसले आफ्नो उपस्थिति अर्थात् फोटो खिच्ने बेला भएको जनाउ दिन्छ । मृत्यु त थाहा नै नदिई लुसुक्क आएर खुसुक्क जाने चिज हो । तर पनि केही अपवादलाई छाडेर साधारणतया मान्छेको मृत्यु युवा अवस्थामा हुँदैन । खानपिन र आहारविहारमा आएको परिवर्तन, रोगप्रतिको चनाखोपनले मान्छेको औंसत आयु क्रमशः बढिरहेको पाइन्छ । सयौँ वर्ष, अझ त्योभन्दा बढी बाँच्ने मान्छे पनि छन् । यसरी लामो समयसम्म बाँच्ने मान्छे सबै स्वस्थ-निरोगी भएरै बाँच्छन् भन्ने छैन । कति दीर्घरोगी भएर बसेका छन् । कतिपय मान्छे आफ्नै अकर्मण्यता, हठ, लत जस्ता कारणले बुढेसकालमा रोगी भएका छन् । नियममा बस्ने बूढाहरू तन्दुरुस्त मात्र होइन नब्बे वर्ष नाघ्दा पनि कमाउन सक्रिय छन् ।

अहिलेको समय पहिलेको जस्तो संयुक्त परिवारको छैन । त्यतिमात्र होइन आजकाल विशेषगरी सहरका मान्छेमा बच्चा कम पाउने र छोरा र छोरीमा भेद नगर्ने चलन पनि आइसक्यो । धेरैजसो परिवारमा त अबको केही वर्षमा बाबु, आमा र एउटा बच्चा गरी तीन जनाभन्दा बढी मानिस नै हुँदैन । कुनैकुनै सासूहरूले एउटामात्र बच्चा पाएमा कागजस्तो एकवेते (कागवेते) हुन्छ भनी दबाव दिएको कारणले दुइटा पाउनेबाहेक धेरै बुहारीहरू दुइटा बच्चा पाउन राजी छैनन् । यसको कारण हो- थप आर्थिक भारबाट मुक्ति र कमाउन जान पाउने बाटो खुला । फेरि मान्छेले अब के बुझ्न थाले भने छोराछोरीले बुढेसकालमा सहयोग गर्छन् भनेर सोच्नु बेकार हो । किनभने उमेर पुगेपछि कसैले पनि सन्तानलाई न बन्धनमा राख्‍न मिल्छ, न उनको वृत्तिविकासको लागि संसार चहार्न जान रोक्न मिल्छ ।

छोराछोरीको पढाइ पूरा भएपछि उनीहरू बाबु आमासँग बस्छन् र बुढेसकालको सहारा बन्छन् भन्ने कुरा अबको सामाजिक परिवेशमा सम्भव हुँदैन । यस्तो इच्छा राख्‍नु पारिवारिक द्वन्द्व सिर्जना गर्नु मात्र हो । द्वन्दले झन् वैमनष्यता बढाउँछ र रिक्तता तथा तिक्तता मात्र बढ्छ । जान्नेले बीचमा जोडिएको नाता बीचमा नै बिलाउँछ भनी सहज रूपमा लिनुपर्छ । नाता भनेको हाम्रो दाँत जस्तै हो, जो पछि आएर पहिले नै फुक्लन्छ । परिस्थितिलाई यस प्रकारले ग्रहण गरेमा मात्र अवकाशप्राप्‍त जीवन हाँसीखुसी रचनात्मक कार्य गरेर बिताउन सकिन्छ । होइन भने डिप्रेस हुने सम्भावना बढी रहन्छ ।

आजकाल हामी देखिरहेका छौँ- पाँच/छ वर्षका बालकहरू पनि आमा-बाबुसँग छुट्टिएर आवासीय विद्यालयमा बसेका छन् । वास्तवमा भन्ने हो भने अरु कुराको अतिरिक्त बाबु आमाको व्यस्तताको कारण पनि यसो हुन गएको हो । अबका केही वर्षमा यस्तै विद्यार्थीहरूको जमात प्रसस्त पाइनेछ । यस्ता विद्यार्थी जवान भएर आफ्नो खुट्टामा उभिने भएपछि यिनका बाबु-आमा बूढो हुँदै जानु सेवाबाट अवकाश हुनु असहज नभई सामान्य कुरा नै हो । यस्ता बाबुआमाको चाहना छोरा आफूसँगै बसिदेओस्, हेरविचार गरिदेओस् भन्ने हुनु नौलो कुरा होइन । तर त्यो सोच राख्दा आफूले अभिभावन नगरेर आफ्नो छोरालाई कलिलै उमेरमा आवासीय विद्यार्थी बनाएर एकलकाँटे बनाएको कुरा बिर्सनु हुँदैन । अब यस्ता एकलकाँटे कामकाजी र आफ्नो वृत्तिविकासको लागि देशदेशावर गर्नुपर्ने छोरा आमा-बाबुसँग बस्ने भन्ने कुरा एकादेशको कुरा भइसक्यो । हो यस्ता छोराले आमा बाबुलाई आफ्नी श्रीमती सुत्केरी हुँदा केही महिना बच्चा हुर्काउन सम्म सहयोग लिन माया देखाउने हुन् । आजकाल त त्यो माया पनि आमा भन्दा सासु मनपराउने परम्परामा बदलिइसकेको छ ।

माथिका कथनहरूलाई बियाँलो नगरेर गम खाने हो भने अब यूरोप-अमेरिकामा जस्तो हाम्रो एशियामा पनि बूढोको जीवन सहज एवम् सरल छैन भन्ने बुझ्नुपर्छ । पहिलेजस्तो नोकर चाकर राख्ने, राख्‍न सक्ने अनि तिनलाई विश्‍वास गर्न सक्ने स्थिति पनि अहिले छैन । आफू टाठै भए त बुढाहरू बिजुली, पानी, टेलिफोनको महसूल आफैँ बुझाउन जालान् । तरकारी, रासन आफैँ किनेर ल्याउलान् । आफैँ पकाएर खालान् । भाँडा माझ्लान् । होइन असक्त रहेछन् भने त उपचार गर्न कसले लगिदिने ! हात समातेर कसले पुर्‍याइदिने ! तातो पानी तताएर कसले खान दिने ! भन्ने समस्या आइलाग्छ । अनि त बत्तीको लाइन काटिएर अँध्यारैमा बस्नु पर्ने स्थिति पनि आउन सक्छ । यति मात्र होइन एक्लै बस्नुपर्दा एक्लोपनले झन गालेको हुन्छ । आफू फूर्तिलो भएको बेला धेरैलाई चिढाएको पनि हुन्छ जसले गर्दा चिढिएकाहरू खुलेर सहयोगी हुन पनि सक्दैनन् किनभने उनीहरूलाई कसैले लालची भनिदिन पनि सक्छ ।

शारीरिक अवस्था क्षीण भएको बेला एककिलो आलु त भारी हुन्छ भने त्यो पन्ध्र किलोको ग्याँसको सिलिण्डरलाई कसरी यताउता गर्ने ? वास्तवमा बुढाका अनगिन्ति समस्याहरू छन् । अझ उमेरमा कुनै समस्या नझेलेर ढलेको लोटा नउठाएकाहरूलाई त आफ्नै शरीर बोझ भएको महसुस हुनेछ । मरुँ भने काल आउँदैन बाँच्दा पैसा भएर पनि मुखमा माड हाल्न सकिएन भनेर विगत सम्झेर पछुतो गर्दैमा केही हुने पनि होइन । बूढोको जीवन यसरी विरक्तिनु भनेको वर्डफ्लुभन्दा पनि खतरा हुन्छ । यसलाई त 'फिस फ्लु'सँग तुलना गरिदिए हुन्छ । बच्चाहरू रवरको चुङ्गीमा रमाएजस्तै नेता भनाउँदाहरू राजनीतिको चुङ्गी खेल्नमा नै मस्त छन् । युवा तन्नेरीहरूको कल्याण गर्न नसकेको देशले बूढाको कल्याण गर्ला भनी सोच्नु पनि अहिलेको परिप्रेक्ष्यमा सान्दर्भिक देखिँदैन । यो परिस्थितिमा बूढाहरूले आफूमाथि आइपर्नसक्ने कुनै पनि समस्याको पूर्वानुमान गरेर तत्काल कदम चाल्न बाध्य भइसकेको छ ।

अवकाशप्राप्‍त बूढाहरूमध्ये आफूलाई शारीरिकरूपमा स्वस्थ ठान्नेहरू भने विहान विहान घुम्ने गरेका भेटिन्छन् र बाटामा समवयष्क साथीहरू भेट्दा भनेजस्तो नहुने रहेछ, हुँदै नहुने रहेछ भनी भलाकुसारी गरेको पनि सुनिन्छ । केही टाठाहरू काम पनि गरिरहेका छन् । सबैलाई एउटै अवसर नमिल्ने हुँदा धेरैजसो बुढाहरूको हविगत राम्रो छैन । कतिपयका छोरा विदेशमा अथवा जिल्लामा छन् । एउटै घरमा हुनेहरू पनि आम्दानीमा एकरूपता नहुनाले छुट्टिएर अलग्ग बसेका छन् । सँगै बस्नेको पनि छोरा बुहारी काममा, नातिनातिना पढ्न जान्छन् । अनि बुढो एक्लोको एक्लै । विधवा अथवा विधुरको समस्या अझ जटिल छ । बार्दलीमा एउटा मेच राखेर दिनभरि ट्वाल्ल परेर काल कुरिरहनु अर्थात् अर्को अर्थमा डिप्रेस भई अरु उपाय शून्य हुन जाने स्थिति छ । जसले छिमेकी एवम् नातागोताका मान्छेलाई गरिपुर्‍याउनु कि हेरिछाड्नुको अन्यौल उत्पन्न गराइरहेको छ । यो गम्भीर यथार्थलाई त्यति सारो सबैले महसुस गरिनसके पनि धान्नै नसक्ने गरी एकैचोटि यो समस्याले विकराल रूप लिने स्थिति देखापरिसकेको छ ।

सर्सर्ती हेर्दा माथिका समस्या सामुहिक नभएर व्यक्तिगत हुन् । तर पनि यसलाई सामाजिक समस्या होइन भनेर टार्न मिल्ने अवस्था भने छँदैछैन । उमेरमा सबैले भोलिको ख्याल नगरी मार्वल छापेर घर बनाएका छन् । आफू भुइँ तलामा नबसी चार तलामाथि बस्ने बानी गरेका छन् । आज अर्काको बच्चालाई पढाइदिएजस्तो गरी नोकरचाकर बनाएर राखेका छन् । आफूले केही नगरी सबै काम अरुलाई लगाएर जीउ साँचेका छन् । तर बुढेसकालमा मार्वल छापेको घरमा बस्न र चार तला भर्‍याङबाट ओहरदोहर गर्न के सम्भव होला ? काम गर्ने मान्छे नै पाइए पनि ति महँगा हुन्छन् । केही अपवादलाई छाडेर सबैले राख्‍न सक्दैनन् । उमेरमा साँचेकोले जीउ चल्दैन । अनि परेन त फसाद । नानीदेखि लागेको बानी जाँदैन भन्ने हामी सबैलाई थाहा छँदैछ । उमेरमा आफैँले एक कप चिया पकाएर नखाएको मान्छे बूढो भएपछि एक्लै पर्‍यो भने त्यस्ताले आफ्नो लागि एक गिलास तातो पानी कसरी जुटाउला भन्ने जस्ता समस्या धेरै छन् । त्यसैले अबका दिनमा पनि केही नसोच्ने हो भने आगामी दिनमा बूढोको जीवन झनै कष्टकर हुने छर्लङ्ग छ ।

हुन त हामी पशुपतिक्षेत्रको वृद्धाश्रम मात्र बुझेका मान्छेहरूलाई वृद्धाश्रममा बस्न जाने भन्दा अपच पनि हुन सक्छ । तर यथार्थमा माथि भनिएका बूढाले बेलैमा अलि भिन्न प्रकारको वृद्धाश्रमको बाटो रोज्नैपर्छ । अरु उपाय छँदैछैन । पशुपतिक्षेत्रमा अवस्थित सरकारले चलाएको वृद्धाश्रममा गरीब, दुःखी तथा अपहेलितलाई आश्रय दिएर पालिएको छ । त्यसैले त्यहाँ समाजका सबै क्षेत्रका मान्छे सेवा गर्न जान्छन् । एक किसिमले अर्को भाषामा त्यो हण्डीबराबर हो । गरीब असहायको लागि त्यो आवश्यक छ ।

यहाँ उठाउन खोजिएको प्रसङ्ग आर्थिकरूपले असहायको होइन । पैसा भएर पनि शारीरिक अस्वस्थताले गर्दा आफ्नो हेरविचार आफैँ गर्न नसक्ने एवं परिवारमा कोही नभएर एक्लै बस्नुपर्ने स्थितिमा परेका बूढो मान्छेको हो । जो सँग आफ्नो गुजारा चलाउने पैसा छ तर व्यवहार चलाइदिने सहयोगी छैन त्यस्ताले अब आफ्ना छोरा-छोरीको घर रूँगेर दिनभर बार्दलीमा टवाल्लपरेर बस्नुभन्दा सबै कुराको सुविधा भएको एउटै घरमा समवयस्कसँग बस्नु बुद्धिमानी हुन्छ । त्यसो हुन सकेमा छोराछोरीको पनि आङ हलुको भई उनीहरू पनि निर्धक्कपूर्वक आफ्नो धन्दा गर्न पाउँछन् । तर यस्तो आश्रमको जीवन तालिकावद्धरूपमा हातेमालो गर्दै सञ्चालन गर्ने खालको हुनुपर्छ । त्यहाँ आ-आफ्नो एउटा कोठामा बस्ने । सामुहिक भान्सामा खाने । तालिकाअनुसार प्रार्थना, पूजा, ध्यान, योग, भजन, कीतर्न गर्ने, प्रवचन सुन्ने, आत्मानुभव सुनाउने, विद्यार्थीहरूको लागि प्रेरणाको स्रोत, अध्ययनको पुस्तक बनिदिने । संस्मरण लेख्‍ने । बगैँचामा डुल्ने । झर्नासँग मोहित हुने । चराचुरुङ्गीसँग जिस्किने । उफ्रिने । गाउने आदि वातावरण होस् ।

अस्वस्थ भएमा उपचारको लागि बन्दोवस्त मिलाउन कर्मचारी एवम् स्वयंसेवी परिचालित भई यी सबको लागि बूढालाई केही गर्न नपरोस् तर आफ्नो लागि पर्न आउने न्यूनतम खर्च आफ्नै हातले आश्रमलाई बुझाउन पाउँदा उनीहरूको मनमा खुसी जागोस् । अनि मात्र बूढाको जीवन बूढो भएकोमा सार्थक हुन पाउँछ । होइन भने 'बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधै माथि' भन्दै मोहपासमा डुबेर काल कुरिरह्‍यो । कहिले छोरालाई सराप्यो कहिले बुहारीलाई सराप्यो । कुरा काटयो । तुरुक्क आँसु चुहायो । सानो छँदा छोरालाई काँधमा बोकेको सम्झ्यो । त्यसो गर्दा उसले मुतिदिएकोमा हाँसेर दङ्ग परेको संझ्यो । आफू छोराको घोडा भएको संझ्यो । अहिले त्यसैले स्वास्नीको पछि लागेर टेरेन भनेर खुइय गरेर आफ्नो जीवनलाई धिक्कार्‍यो । यसैमा जिन्दगी वित्छ । वास्तवमा बुझ्ने हो भने त छोराछोरी भनेको त हाम्रा मालिक हुन्, हामी त तिनको सेवक हौँ र तिनीहरू नै हाम्रा भोलिका बाबु हुन् । मानव चोलाको चक्रले त यसै भन्छ । उनीहरूलाई योग्य बनाइदिएपछि हाम्रो दायित्व सकिन्छ । तर पैसा खर्च गर्न सक्नेले पनि उनीहरूको वृत्तिविकास रोकेर आफैँसग बस्नुपर्छ भनी उनीहरूलाई बाध्य पार्नु भनेको आत्मकेन्द्रित प्रवृत्ति हो । यस्तो प्रवृत्तिले एक आपसलाई झन् टाढा पुर्‍याउँछ र दुवै पक्ष आपसमा खुल्न नसकेर एउटै घरमा सँगै बसेर पनि उकुसमुकुस भएको भान हुन्छ । छटपटाएर औडाहा भएर बोलचाल नगरेर बूढो बाबु र तन्नेरी छोरा एउटै घरमा बस्नुभन्दा बाबुले आफ्नो सुविधा रोज्नु र छोरालाई स्वतन्त्र छाडिदिएर असल मान्छे बन्ने सुझाव दिनु नै पैसाले सक्ने बाबुको धर्म हो ।

यसैले पेन्सन खाने गरेका र पचास नाघेकाहरूले समयमा नै बूढेसकालको साथी "बूढो घर" बनाउने अभियान चलाएमा उनीहरूको हैसियत पनि बिसे नगर्चीको जस्तो हुन कत्ति बेर लाग्दैन ।

रचनाकाल- फाल्गुन १, ०६२
------------------------------------------------------------------------------------

Sunday, January 25, 2009

एकहजार वर्षपछि जन्मिन चाहने लेखक

> सुरेश 'प्राञ्जली' सापकोटा

- 'हाँस्न जान्नु पनि ठूलो कला हो ! कुन मानिससँग कसरी हाँस्नु पर्छ त्यो जानिएन भने रोएको बराबर दुःख पाइन्छ ।' (एब्स्ट्रयाक्ट चिन्तनः प्याजबाट)- 'बाँच्नु जस्तो ठूलो कुरा जीवनमा अरु केही रहेनछ । मैले कसैलाई मारिनँ, त्यो मेरो भाग्य हो । म सायद साहित्यिक क्षेत्रबाट सन्यास लिदैछु र अब म लेख्ने पनि छैन होला ।' (कुमुदिनीलाई लेखेको पत्रबाट)
- 'मैले आफूलाई कहिल्यै लेखक ठानिनँ र परिस्थितिले मलाई लेखक बनाइदियो । लेखक बन्ने साहस मैले कहिल्यै गर्न सकिनँ । कारण, लेखक मेरो नजरमा देवता हो, देवकोटा हो ।' (गौँथलीको गुँडः भूमिकाबाट)

आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शङ्कर लामिछानेले नेपाली साहित्यको जगमा असङ्ख्य इँटा थपेका छन् । विशेषगरी, नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफैँले खने । नेपाली 'नन फिक्सन'को फाँटलाई उँचाइमा पुर्‍याउने काममा उनको भूमिका अत्यन्तै उल्लेखनीय छ । नेपाली निबन्धमा 'चेतनप्रवाह शैली' (स्ट्रीम अफ कन्सिअसनेस)लाई स्थापित गराउने लेखक हुन् उनी । पश्‍चिमा साहित्यका आधुनिक लेखक जेम्स जोयसले महाकाव्य 'यूलिसिस' (सन् १९२२) मार्फत यो शैलीलाई जसरी स्थापित गर्ने काम गरे त्यसरी नै लामिछानेले 'एब्स्ट्रयाक्ट चिन्तनः प्याज' (वि.सं. २०२४) मार्फत यो 'चेतनप्रवाह शैली'लाई अङ्कुराउने कार्य गरे नेपाली साहित्यमा । त्यसो त उनका अधिकांश लेखनमा अमूर्त क्रान्तिको 'फ्लेभर' पाइन्छ । जीवन आफ्नो लागि भन्दा पनि अरुको लागि आदर्श भएर बाँच्नुपर्दाको पीडाले गर्दा व्यक्तिगत जीवन स्वेच्छाले बाँच्न नपाउनु नै आजको मानवको गुनासो बनेको छ । यद्यपि त्यो गुनासोलाई निबन्धशिल्पी शङ्कर लामिछानेले न्यूनिकरण गर्ने प्रयास गरेका छन् ।

Thursday, January 22, 2009

हाइकू

फ्नो रचनात्मक कालखण्डमा विश्‍वसाहित्यको अध्ययनमा एकसुरले लागेका शङ्कर लामिछानेले त्यसको लाभ नेपाली साहित्य भण्डारलाई परिपुष्ट पार्नमा पनि खर्चिएका छन् । जापानी साहित्यबाट भित्र्याइएको हाइकू शैलीको कविता यस्तै विशिष्‍ट खजाना हो । विभिन्न अध्ययन र सैद्धान्तिक अनुसन्धानमा आधारित भएर हेर्दा, तीनपङ्क्तिय संरचनामा क्रमश: ५/७/५ को अक्षरसंरचना मात्र हाइकूको पूर्णता होइन । प्राकृतिक चोखा विम्बविधान र प्रतीकात्मक झट्कामै हाइकूले अभिव्यक्तिको असली सुर पाउँछ । त्यस्तो लघु बनोटको प्रभावोत्पादक साहित्यलाई नेपाली साहित्यमा परिचय गराएको श्रेय लामिछानेलाई प्राप्‍त छ । 'जापानी हाइकू कविता' शीर्षकमा उनको समीक्षात्मक लेख (वि सं २०२७ असोज, पुर्णाङ्क ११३) आगामी क्रममा विज्ञ पाठकसमक्ष अर्पण गर्ने नै छौँ ।

यसपाली शङ्करको आफ्नै हाइकू रचना यहाँ प्रस्तुत छ । साहित्यकार पारिजातको मदन पुरस्कारविजेता कृति 'शिरीषको फूल' (२०२२) मा अभिलेखित शिरीष फूलबारेकै हाइकू (तल दोस्रो क्रममा) कसले लेखेको भन्नेमा त्यसो त विद्वान्‌हरूबीच प्रशस्त मतभेद रहेको पाइन्छ । बेनामी रूपमा पारिजातको कृतिमा पूरै एक पृष्‍ठ ओगटेर कसको हाइकू राखियो, आलोचकहरूले खुट्याउन नसकेको विषय हो । पारिजातको उपन्यास भएकोले नामबेगरको उक्त रचना पारिजातकै हो भन्नेहरू पनि छन् । अरू कसैको रचना भएको भए त्यसमा कुनै नाम, सङ्केत रहेको हुनुपर्ने उनीहरूको तर्क छ ।

तर उपन्यासमा भूमिका लेखक शङ्कर लामिछाने भएको र विश्‍वसाहित्यको एक हाँगामा रहेको हाइकू कविताको अध्ययन-मनन गर्नमा त्यो समयमा उनी नै लागेकाले उक्त पङ्क्तिहरू शङ्करकै हुन् भन्नेमा अधिकांश अन्वेषकहरूको ठम्याइ पाइन्छ । अहिलेसम्म यसबाहेकको स्पस्ट र बलियो प्रमाण नपाएकाले हामीले पनि यसैलाई सही मान्दै शङ्करको नाममा उक्त हाइकूलाई समेटेर ल्याएका छौँ । पहिलो हाइकू भने वि सं २०१९ सालको रूप-रेखा पत्रिकाबाट लिइएको हो ।


१.
माकुरा जाल
झोल्लिएको ओसले
तन्किँदै गयो ।

२.
शिरीष फूल
भ्रमर चुम्बनमै
ओइली झर्छ ।
------------------------------------------------------------------------------------

Monday, January 19, 2009

नयाँघरेलाई निबन्ध पुरस्कार

प्रत्येक दुई वर्षमा प्रदान गरिने शङकर लामिछाने युवा निबन्ध पुरस्कार यस वर्ष स्रष्‍टा युवराज नयाँघरे (२०२६, इलाम) ले पाएका छन् । दुई दशकदेखि नेपाली साहित्यमा साधनारत नयाँघरे विशेषतः निबन्ध विधामा क्रियाशील छन् ।

नेपाली निबन्ध विधालाई विशिष्ट दर्जा दिलाउनमा अहम् भूमिका खेल्ने दिवङ्गत साहित्यकार शङ्कर लामिछाने (वि. सं. १९८४-२०३२) को नाममा स्थापित शङ्कर लामिछाने निबन्ध समाजद्वारा प्रदान गरिने पुरस्कार १५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । पुरस्कार लामिछानेको स्मृति दिवसको अवसर पारेर माघ १० गते प्रदान गरिन्छ । पुरस्कृत नयाँघरेका मुहूर्तको वरिपरि, मखुण्डोको मन , काठमाडौँलाई कोर्रा, नीलडाम, अनाम पहाडमा फनफनी लगायतका निबन्धात्मक तथा यात्रा संस्मरणात्मक कृतिहरू प्रकाशित छन् ।

निबन्धमा वर्णनात्मक-विवरणात्मक शैलीका विरोधी नयाँघरे अनुभूतिपरक स्थितिचित्रणका पक्षपाती मानिन्छन् । यसअघि उनी राष्ट्रिय प्रतिभा पुरस्कार, उत्तम-शान्ति पुरस्कार, अन्तर्राष्ट्रिय नेपाली साहित्य उत्कृष्ट पुस्तक पुरस्कार ('अनाम पहाडमा फनफनी'का लागि) लगायतबाट विभूषित भइसकेका छन् ।

विशिष्‍ट सर्जक शङ्करसँगको यस संयोगमा निबन्धकार नयाँघरेलाई शङ्कर स्मृति घरको पनि हार्दिक बधाई ! साथै व्यक्तिगत जीवनयात्रा सुखमय रही निबन्ध र सिङ्गो साहित्यमा उनले सोचे-आँटेको नयाँ घर बनिरहोस्, मङ्गल कामना !
------------------------------------------------------------------------------------

Sunday, January 11, 2009

प्याज: भूमिका-अभूमिका

वि. सं. २०२४ सालको मदन पुरस्कारविजेता शङ्करको कृति 'एब्स्ट्रयाक्ट चिन्तन प्याज' बाट शङ्करद्वारा अभिव्यक्त दुई भूमिकापरक टिप्पणीलाई यसपाली समेटेका छौँ । पहिलो पटक २०२४ सालमा प्रकाशित 'प्याज' निबन्धमालालाई ३३ वर्षछि शङ्करका शुभेच्छुक, हितैषी, समकालीनहरू एवम् परिवारको सामुहिक चाख र लगनबाट २०५७ सालमा दोस्रो संस्करणको रूपमा प्रकाशन गरियो । भावक अभियान नेपालको सक्रियतामा थालिएको प्रकाशन-यात्रामा शङ्करका तीन निबन्धात्मक कृतिहरू ('प्याज'सँगै 'गोधूलि संसार', 'विम्ब प्रतिविम्ब') ले पुनःजीवन मात्र पाएनन्, नेपाली साहित्यिक र पाठकीय बजारमा शङ्करको चर्चा र बहस वर्षौँपछि एकफेरा फेरि हृवात्तै चुलियो । पछिल्लो समयमा साझा प्रकाशनले शङ्करका दुई कृति प्याजगोधूलि संसारको प्रकाशन-अभिभारा लिँदै उक्त किताबहरू बजारमा ल्याएको छ ।

'प्याज' कृतिकै लागि शङ्करले २०२४ मा लेखेको भूमिकासँगै २०३२ मा अभूमिका शीर्षक दिएर कोरिएको जीवनबारेको विश्‍लेषणात्मक दार्शनिक पङ्क्तिहरू यहाँ भावक अभियानले २०५७ सालमा प्रकाशन गरेको (प्याज, दोस्रो संस्करण) बाट साभार गरेका छौँ । उक्त दोस्रो अभूमिका पढेर जीवनको आखिरी घडीमा शङ्कर जीवनप्रति कति रागी अथवा वैरागी रहेछन्, प्रबुद्ध पाठक समुदायले हिसाब निकाल्ने नै छन् ।

--------------------------------------

भूमिका

स सङ्कलनमा परेका रचनाहरूको सिर्जनकाल मेरो जीवनको साह्रै नै अव्यवस्थित काल थियो । व्यवसायको असामयिक र अचिन्तनीय परिवर्तन, रूप लिन खोजिरहेका जीवनका अर्जित दर्शनको आकस्मिक विष्फोट तथा उमेरको प्रौढता - यी सबले एकै पटक मउपर प्रहार गरे । ढाड भाँच्न एउटा मात्रै परिस्थिति पनि पर्याप्‍त हुन्छ एक व्यक्तिलाई - म त झन् तीन बल्ड्याङ खान पुगेँ । चित्ता परेर भुइँमा, मैले उठ्न खोजेको प्रयासमा लर्खरिँदै लेखिएका यी रचनाले मलाई अर्कै गति दिए - शैलीमा, अभिव्यक्तिमा तथा आत्मविश्‍वासमा । एक प्रकारले, नयाँ उखान भन्ने हो भने, यी मेरा कालरात्रिका उज्ज्वल तरिका हुन् ।

यिनै ताक मैले अध्ययन पनि गरेँ विभिन्न विषयका । वेद, दर्शन, इतिहास, साहित्य, कामकला - जेजे हात पर्‍यो, जेजे सहजसँग उपलब्ध भयो । केही बुझेँ, धेरै बुझिनँ होला । तर तिनले सामुहिक रूपमा एक कुराको बोध गराए मलाई । त्यो के भने, नेपाली साहित्यका लागि प्रशस्त सम्भावना अझै उपलब्ध छन् । प्रशस्त विषय छन् जो छाइएका छैनन् र पर्खिरहेछन् कलमको कोराइलाई । र भाषा हाम्रो यत्ति सुन्दर र मलिलो र मीठो छ; यसबाट के उपलब्धि गर्न सकिन्न र ?

भाषाको कुरा उठ्यो, तर म भाषाविद् होइन । मैले आफैँ पनि अङ्ग्रेजी, उर्दू, संस्कृतलाई प्रशस्त प्रयोग गरिदिएको छु । (किताबको नाम नै एब्स्ट्रयाक्ट छ !) यसको उल्था अनेक किसिमबाट गर्न सकिन्छ, तर पनि मूल शब्दको जुन मात्रिक झङ्कार छ त्यसको आत्माको लागि मैले शब्दको हत्या गरिनँ । अमूर्तका रूप अमूर्त नै रहोस् !

मेरा एक-दुई शुभचिन्तक छन् । उनको गुनासो हुन्छ प्रायशः - मेरा रचनामा नेपाली माटोको गन्ध आउँदैन भन्ने । कुरा एक प्रकारले ठीक पनि हो । हाम्रो शिक्षाको माध्यम नै अहिलेसम्म व्यवस्थित भइसकेको छैन । हामीलाई आफ्नो देशको इतिहास, संस्कृति, ज्ञान र शिक्षा त विदेशी भाषाको माध्यमद्वारा मात्र उपलब्ध छ (भनौँ, हाम्रो अनुहार हेर्न बेल्जियममा बनेको ऐना हेर्नुपर्छ !) । त, यस परिस्थितिमा कुनै एक प्रबुद्ध लेखक कसरी विश्‍व-साहित्यबाट अप्रभावित रहन सक्छ - फेरि आजको संसार विज्ञानबाट खुम्चिन गएको छ र हामी स्वयम् आफ्नै प्रयासले पनि अरूको नगीच हुने कोशिसमा छौँ । नेपालको राणाकालीन अवस्थाझैँ विश्‍वबाट एक्लिएर बस्न सक्दैन, न विश्‍वको अभिव्यक्तिबाट अलग्गिन । यस सन्दर्भमा, मेरा कृतिहरूले यदि राष्ट्रिय सिमाना नाघेका छन् भने, यसमा अपसोच मनाउने कुनै कुरा छैन ! हुन सक्ला, कुनै-कुनै लेखमा म विदेशी झल्किउँला, तर मेरा सभ्य समालोचकले मलाई त्यस्तो प्रवासी ठाने हुन्छ जो विदेशमा पनि नेपाली संस्कृतिको झन्डा बोकेर हिँडेको छ, लुगा उसले सूट नै लाएको किन नहोवोस् । म कुन कालमा जन्मेँ, कुन कालमा हुर्केँ र कुन कालमा प्रयोग गर्दैछु त्यो बिर्सनु हुन्न सच्चा साहित्यिकले ।

मलाई लाग्दछ, म सामयिक छैन ! सामयिक हुनु असाहित्यिकपन अपनाउनु हो । आजको नेपालमा मान्छे सामयिक हुन सक्दैन । १०० वर्षको प्रगति १० वर्षमा परिपूर्ण गर्ने सङ्कल्पमा हामी छौँ । नेपालको यही जागरण अवस्थामा, यस 'गाउँ फर्क' आन्दोलनको सन्दर्भमा, मलाई भन्न मन लाग्छ, हामीले विगत, गत र आगतको एउटा छिटो प्रक्रिया सहने दुस्साहस गरेका छौँ । यस आन्दोलनको भविष्यमा नै हाम्रो भविष्य निर्भर छ !

यसभन्दा बढी केही भन्नु छैन ।
भूमिका सदा भूमिका नै रहन्छ । वास्तविकता सदा समयको हातमा । समयलाई रिस उमार्ने दुस्साहस मेरो छैन ।
त्यस कारण, म यो पुस्तक समयलाई नै समर्पित गर्छु ।

शङ्कर लामिछाने

मङ्सिर १, २०२४

--------------------------------------
अभूमिका

ज आएर जीवनको लेखाजोखा गर्न मन लागिरहेछ । जत्ति-जत्ति बाँचिदै जाइन्छ, उत्ति-उत्ति यो जटिल हुँदै जाँदो रहेछ । नलेखिएको स्लेट-पाटी बोकेर मानौँ हामी जन्मिन्छौँ र अक्षर कोर्ने मेट्ने, फेरि कोर्ने निरन्तर प्रयासमा त्यो स्लेटको स्वच्छता दिनपरदिन अस्पष्ट हुँदै जान्छ । र अक्षर लेख्‍न सक्ने र अरूले पढ्न सक्ने अभ्यास आफ्नो हुँदा नहुँदा स्लेट त यत्ति धमिलिँदो रहेछ- त्यसमा के लेखियो त्यही नै हामी स्वयम् बुझ्न नसक्ने भइसक्ने बनिसक्दा रहेछौँ ।

सबभन्दा प्रथम प्रश्‍न छ, जीवनको लेखाजोखा गर्ने नै किन ? जन्मिनु र मर्नु नै यदि यसको मापदण्ड हो भने, के कति इन्ची वा सेन्टिमिटरमा के कति उपलब्धि भयो त्यसको निरुपण गरेर फाइदा नै के छ र ? आत्मसन्तुष्टिको नै यसको परिपूर्ति हो भने त्यो प्राप्‍ति भएपछिका अन्य थप क्षण व्यर्थमा बाँचिएको रहेन ? अप्राप्‍ति र त्यसको प्राप्‍तिको प्रयास नै यदि जीवनको मुख्य ध्येय हो भने जीवन के त एक सनातन र चिरन्तन यातना मात्र हो ? र अप्राप्‍ति केको, र प्राप्‍ति केको ? धनको, धर्मको, इज्जतको ? यी तीनवटै वस्तुको सूक्ष्म विश्लेषण गरियो भने अन्तयमा केही अर्थ प्राप्त हुँदैन !

सायद जीवन साधारणपनाको पयार्यवाची हो । धन प्राप्‍ति गर्ने ऐतिहासिक अनेक विभूतिहरू आज रहेनन्- यिनका सन्तान साधारण व्यक्तिमै परिणत भएका छन् । धर्मकै कुरा गर्ने हो भने; राम, कृष्ण, बुद्ध, क्राइष्ट, मुहम्मद इत्यादि इत्यदिका सन्तान रहेनन्- धर्म उनले कल्पना गरेको रूपबाट निकै पृथक् भएर आज साधारणीकरण अपनाइसकेको छ । इज्जत ? पनि त त्यही प्रक्रियामा परेर साधारणपनमा परिणत भइसकेको छ !?

लाग्दछ, यो कुनै लेख होइन, कुनै कथा होइन, कुनै उपन्यास होइन, न कुनै आत्मकथा नै हो ! सबै अभिव्यक्तिका शैली हुन्- भन्न चाहेका कुराहरूको भनाइको छनोट ! यसो हेरेमा भन्नु बाँकी नै छ के ? कस-कसले कत्ति राम्ररी भनेर गएनन् र ? र त्यो भनाइ टिक्यो के ? सबै समयको गर्भमा साधारणपनामा परिणत भए- मैले यहाँ भन्न चाहेको, वा भन्न नचाहेको कुरा पनि कालान्तरमा साधारणमय भै त्यही पनामा बदलिनेछ ।
त्यस कारण म यसलाई अभनाइको अभूमिका भनूँ ?

शङ्कर लामिछाने

पाटन
मङ्सिर ७, २०३२
------------------------------------------------------------------------------------

Wednesday, January 7, 2009

पढ्नु : प्रेम

प्रेमसँग हाड नाता भएकाहरूले बुझ्छन्- यसभित्रको लगाव कति दुःखदायी हुन्छ, तर मीठो तड्पन ! भोगेपछि यस्तो लाग्दो हो, यो प्रेम भन्ने कुरा त नभइदिएकै भए पनि हुने ! तर के यसबिना संसारको सहज रफ्तार सम्भव छ ?

धेरैअघि सोचेथेँ प्रेमबारे केही त लेख्‍नेछु । तर यसबेलासम्म त मैले त्यही सोचाइसँग नै प्रेम गरेर बसिरहेको रहेछु । फेरि यो बसिरहनु, बस्न सक्नु पनि त एउटा प्रेम नै हो । कति-कति प्रेमहरू...।
आरम्भमा प्रेमका बारेमा केही विद्वान्‌द्वारा अभिव्यक्त पङ्क्तिहरू :

- हरेक दिन म तिमीलाई बढी माया गर्छु हिजोभन्दा आज बढी, भोलिको भन्दा आज कम । - रोजमोन्ड गेरार्ड
- म प्रेममा धेरैपल्ट परेँ । र सधैँ तिमीसँग । - एडगर एलेन पो
- प्रेम दुई जनाले खेल्न मिल्ने र दुवै विजयी हुने खेल हो । - इभा गाबर
- थप प्रेमबाहेक प्रेमको कुनै उपचार नै हुँदैन । - थोरो
- प्रेम विष्फोटक सिगार हो । जानी जानी हामी यसलाई खाइरहेका हुन्छौँ - लिन्डा बेरी
- प्रेम मेरो धर्म हो । योबिना म बाँच्न सक्दिनँ । - जोन किट्स
- मेरो हृदयमा आएर बस । यसको कुनै भाडा तिर्नुपर्दैन । - स्यामुयल लभर

... ...र यति गमिसकेपछि के भयो ? भयो नै भने पनि उपर्युक्त प्रेमशास्त्री विद्वान्‌हरूसँग हामीलाई आकर्षणको प्रेम भयो सायद । आह ! क्या धारिलो चित्रण !! तर तिनको निचोरिएको भावधारा त हामीबाट गुम ! खासमा भनाइहरूका ती चास्नीले हामी लस्सादार हुनुपर्ने हो । शीतको प्रथम आवेगले भिजेको कपासझैँ अझ कोमल र प्रेमालु हुनुपर्ने हो । जो बतासको वेग देख्‍नासाथै जुरुक्क उत्तेजनामा मर्किहाल्दैन, हामी त तेलको स्याहार पाएर सपक्क सुतेको त्यस्तो कपाल पो हुनुपर्ने ।

यी अनगिन्ती 'हुनुपर्ने'हरूलाई हामी मानौँ देउसी र भैलोको सुरिलो भाका ठानेर भट्याइरहेछौँ । भट्याएर आज पोल्टोमा कति दान-दक्षिणा भरियो ? खोइ, मैले प्राप्तिलाई अङ्कगणितमा पढ्न र पारख गर्न जानेको छैन । यति जानेको छु, प्रेम गर्न । तर प्रेम गर्नु भनेको त्यस्तो जान्नैपर्ने पाकशिक्षाको तालिमकक्षा नै कहाँ हो र ? र, प्रेम गर्नुको मिठासलाई अर्थ दिन सक्यो भने पढ्नु पनि त प्रेमभन्दा कम मुलायम छैन नि π खासमा यही जान्नुनपर्ने भएकाले अहिलेसम्म म केही न केही पढ्दै आइरहेको हो कि क्या हो ? अघिल्तिर देखा पर्ने कुनै अन्जान अनुहार पढ्नु, साथीको कोपरिएको मनको मर्म पढ्नु, आफ्नै एकालाप पढ्नु ... आदि आदि ।

तर यस्ता किसिमका पढाइको कुरामा म छैन, कम्तीमा यो अहिलेको लेखाइभरिलाई । म त पढ्नु अर्थात् ज्ञानको चकटीमा पलेंटी कसेर किताबसँग योगासन जमाउने कुराको विस्तारमा यहाँनेर फुक्न खोज्दै छु । जहाँ प्रत्येक श्वाससगै चेतनाको सिर्‌सिर् अन्तरमा घुसोस् र त्यसको आयतनसगै प्रत्येक प्रश्‍वाससगै अज्ञानता बान्ता भएर निस्कियोस् ।

प्रेम : आफूले आफूलाई भुलेर आफूलाई अरुमा पाउनु । मैले कतै पढेको । आफूलाई सम्पूर्ण रूपमा बिर्सिएर उसैमा समर्पित हुनु प्रेम हो रे । यो पनि पढेको । यसरी पढाइमार्फत प्रेमलाई बुझ्दाबुझ्दै पढ्नुसँगै प्रेम बस्यो । बरु प्रेमसँग नै प्रेम भएन सायद !

आज आएर अलिकता आफ्नै भोगाइ, अलिकता बाहृय बुझाइ तौलिएर हेर्दा लाग्दैछ, आफूबाहेकको अस्तित्वलाई प्रेम गरेर प्राणीले आफ्नो कमजोरीको स्तर स्वयम् पुष्टि गर्छ । कसैलाई प्रेम गर्नु आज शुद्ध रूपमा प्रेम गर्नुमै मात्र व्याख्या हुन्छ भन्ने छैन, गरिँदा-गरिँदा त्यो प्रेम- प्रेम थाप्ने पात्रको आँखामा सस्तोपनको बेकामी चश्मा भएर झर्ने खतरा प्रबल रहन्छ । कठै झिरिप्प शीशाहरू....!

यति लेखिसकेपछि एउटा नोटबुकमा केही समयअघि कोरिन पुगेको दार्शनिक पङ्क्ति सम्झिन पुगेँ । झ्वाट्ट पङ्क्ति के सम्झिनु, नोटबुकमा केही कोरेको छु भन्ने मात्र हेक्का भयो, पल्टाएँ- 'प्रेम कुनै अवस्था हो कि काम ? अर्थात् प्रेममा छु कि प्रेम गर्दै छु ?'

यसको खास तथ्य उधिन्न सोचमा डुबुल्की मारेँ, र केही सोच्न सकिनँ । छुट्यो केवल रन्थनी । अवस्था, काम, छु, गर्दै छु....। प्रेमभित्रको लगावपछि झ्याङ्गिन पुगेको आत्मीयता कसैको समक्षमा जाहेर गर्दा कसैलाई हिउँद मासमा घामको तमतम्याइलो सहीछाप धस्काएझैँ हुँदो हो भने कसैलाई कृपावादको फिर्ता खेल लाग्दो हो । के टुङ्गो छ र एकनास हुनुपर्ने ? नाप्न मिल्ने भए मनको कुनाकानी आयतन र सङ्कुचनको मात्रामाथि अध्ययन गरेर आम मनहरूबारे एउटा निष्कर्ष छरिदिन हुन्थ्यो - हेर बाबू-नानी हो, आपसको मन यस तवरले पिँजडाझैँ साँगुरिन्छ र क्षितिजझैँ फैलिन्छ, नौनीझैँ गल्छ र इस्पातझैँ गाँठिन्छ.....।

खुङ्खार पण्डित अर्थात् विशेषज्ञहरूले प्रेमको पन्ना एकपछि अर्को गर्दै अति तन्मयतापूर्वक थपिरहे प्रेमशास्त्रको उत्थानमा । मानौँ प्रेम नै नगरी-नगरी । यदि प्रेम गर्नतिर ती लाग्दा हुन् त शास्त्रका ठेलीमा जिल्दामाथि छिप्पट भाकामा ढ्याप्प शीर्षक मात्र ओगटिएर बस्थे होलान् । भित्रका पन्नाहरू त निष्प्राण जीवको श्‍वासनलीझैँ एकदम सफा-सफा । बिनाप्रेम, अनुभवहीनताको त्यस्तो अनुभवी बलमा प्रेमशास्त्रीहरूले प्रेमको बारेमा रास-रास लय बगाउनु पनि विचित्र प्रेम-महफिल लाग्छ ।

पढ्नुको के कुरा, पुस्तकमा आँखालाई बगरमा टक्रक्क उभिएको बकुल्लामा रुपान्तर गरी छोडिदिने हत्तेदेखि पर आफ्नै जिन्दगी पढ्न नजानेर/नसकेर धुरुधुरु रुने जमात हाम्रो सामाजिक पुस्तकालयमा टन्नमन्न होलान् । पढ्दापढ्दै कसैको आँखालाई न्रि्राले छल गर्छ, कसैको आँखामा विरहले जल भर्छ । कति फरक छन् प्रेमका नमुनाहरू ! आफ्नो अज्ञान देख्‍न र ज्ञान देख्‍न पढ्ने अलग-अलग ढाँचाको संसारमा यस्तो पनि होला, कोही अज्ञान र ज्ञानको खिचडीलाई धुवाँ छुटाउन्जेल पगाल्न पढिरहेको होस् । त्यस्तो तपमा कुनै न कुनै प्रेमी त होला । जागिर खान पढ्नु, आनन्द बटुल्न पढ्नु, केही सिक्न पढ्नु, सिकाउन पढ्नु, पाण्डित्य प्रदर्शन गर्न पढ्न... एउटै पढ्नुभित्र पनि कति-कति प्रेमहरू पत्रेदार भएर बसेका छन् । र आजको जमानामा एउटा मान्छे ती सबैखाले प्रेम गर्दै अथवा गर्नलाई के त नपढिरहेको होला र, किटान गर्न गाह्रो छ । कारण, ती सबैसबै प्रेम नै त हुन् फरक अनुहारका । प्रेम सबैलाई चाहिन्छ, सबै यसलाई अँगाल्न उत्सुक हुन्छन् । मतलब हुन्न, प्रेमपछि गहिरो रापको तातो हुन्छ या उँचो चापको चिसो । बस् प्रेम भए पुग्यो !

'प्रेम गर्नु' लाई विपरीत लिङ्गीबीचको दोहोरी भाका भन्ने बुझिदिए सङ्गीतको एकाङ्गी आलाप मात्र हुन जाला । प्रेमको जरामा एउटै रस थलथलिएर रहे पनि चारैतिर हुत्तिएर जाने हाँगाबिँगाको हिसाब कसले राखोस् ! जस्तै कि, प्रेम गर्नुः भाइचाले ढलको पानीमा गोडा रङ्ग्याई-रङ्ग्याई काउली र गोलभेँडामा पानी पटाउनु । प्रेम गर्नुः हजुरआमा विष्णुमाया आफ्नो घरको चियारङ र चिनी बचाइबचाइ छिमेकको घरमा चिया-पाहुना लाग्न जानु । प्रेम गर्नुः आफाले दनुवारले छोराछोरीको पढाइ बिग्रिने डर पचाएर लोकलाजका कारण बजारबाट डाँडाको घरमा टेलिभिजन भित्र्याउनु । प्रेम गर्नुः प्राण धानिरहेको स्वस्थ मृगौला बेचेर पुर्खाले चलाउँदै आएको पत्रिका प्रकाशनलाई निरन्तरता दिनु । प्रेम गर्नुः शून्यताको चिच्याहटदेखि झर्को मानेर पागल हुँला-हुँला आफ्नो मनस्थितिलाई निश्‍चिन्त आधारमा बिसाउन परिवारमा फर्किनु । प्रेम गर्नुः स्वाभिमान बचाउन समूहको भाँडभैलोबाट तानिएर टापुको बासमा जानु । प्रेम नै प्रेम...। जम्मामा, प्रेम गर्नुः समग्रमा संसारमा रहनु र आफ्नो अवस्था -त्यो चाहे रहर वा विवशताको उपज) लाई आत्मसात् गरेर श्‍वासप्रवाहमा चिप्लिरहनु...।

र म यही चिप्ल्याइलाई थप रौनकता दिन केही न केही पढ्दै छु । अर्थात् प्रेमको पुष्टकारी चपाउँदै । कथम् यो पुष्टकारीको मोजमज्जामा म पात्तिँदापात्तिँदै बेहोसीवश दाँतको सीमाले नरम जिब्रोमा रत्तिभर पनि धावा बोलेर रगतको सिर्का उमाल्यो भने त्यसको तातो मिठासलाई पनि म पुष्टकारीकै स्वाद सम्झेर कृतज्ञ बनूँला । सायद खासमा, त्यही नै त हो प्रेम ।
------------------------------------------------------------------------------------

Monday, January 5, 2009

मादक वस्तुको सेवन

पाठक एवम् अध्ययनप्रेमी साहित्यिकहरूको चाख, गहिरो अभिरुचि तथा थप खोजीले निर्धारण गर्छ, कुनै साहित्यिक प्रयासले कुन रूपमा कोल्टे फेर्दै जान्छ । शङ्कर स्मृति घरको हकमा पनि यो कुरा लागू हुन्छ । सुरूमा शङ्करका आफ्ना कृतिरचना तथा उनीबारे विभिन्न विद्वान्‌ले लेखेका सामग्रीलाई मात्र यस मञ्चमा प्रस्तुत गर्ने भन्ने सोचले राखिएकोमा विस्तारै आजको समयको पनि निबन्ध पनि शङ्करको हाराहारी सजाएर उहिले र अहिलेको बीचमा सेतु जोड्ने चेत पलायो ।
ब्लगमा छिरेको बेला सोझै टिप्पणी नगरे पनि विभिन्न स्रोतमार्फत शङ्करप्रेमी पाठकले इच्छाएका कुरा हामीसम्म आइरहे । 'शङ्करसम्बन्धी ब्लगमा खोइ त शङ्करका किताब ?', अक्षरका पूजकहरूले ठुँगिरहे । तिनलाई हामीले पन्छाउने कुरै थिएन । त्यसो त, विस्तारै प्रक्रिया मिलाएर शङ्करका कृति एकमुष्ठ रूपमा सँगाल्ने हाम्रो योजना छँदै थियो । अब शङ्करको सिङ्गो किताबै यस ब्लगमा राख्‍ने कार्यको बीजारोपण भएको छ, यसै निबन्धरचनामार्फत ।

सम्पादित रूपमा निस्किएको शङ्करको पछिल्लो सङ्ग्रह 'शङ्कर लामिछानेका निबन्ध' लाई सबैभन्दा पहिले हामीले छनोटमा राख्यौँ । कारण, यो सङ्ग्रह पछिल्लो प्रकाशन भएको हिसाबले सर्वसुलभ भइकन पनि सबैको आँखामा परिरहेको छैन कि भन्ने हामीलाई लाग्यो । पुरस्कार पाएर चर्चामा आएको र शङ्करको समयमा तहल्का मच्चाएका उनका प्रारम्भिक कृतिलाई पाठकले अवश्य धेरथोर चिहाएका छन् । यसो भन्दैमा अघिल्ला कृतिहरूलाई एकमुष्ठ रूपमा ब्लगमा समेट्न छुटाउने भन्ने होइन, क्रमश: ती पनि सँगालिनेछन् ।

सिङ्गो किताबलाई नै ब्लगमा समेट्ने यस अभियानबाट शङ्करलाई पढ्न छुटाएका र पढिसकेर पनि स्मृतिमा धूमिल हुन पुगेका पाठकहरू त लाभान्वित हुने नै छन्, यस ब्लगको पूर्णतामा पनि इँट थपिँदै जानेछ ।
-------------------------------------------------
मादक वस्तुको सेवन

झोछेँको सडकमा गाँजा तथा हृयासिसको पसलहरूको लाइन छ । जत्ति विदेशी पर्यटक आउँछन् तिनका लागि यो खुलेआम विक्रय ज्यादै आश्‍चर्य लाग्दछ । साइनबोर्डको फोटो त उनीहरू खिच्छन् आफ्ना फर्केर मित्र तथा परिवारलाई देखाउन, नत्रभने उनीहरूलाई विश्वास हुने छैन रे ! प्रायः सबको भनाइ छ, नेपाल मात्र विश्‍वमा त्यो देश हो, जहाँ हृयासिसको विक्रयमा कुनै प्रतिबन्ध छैन ।

हाम्रा धार्मिक परम्पराअन्तर्गत जोगी, साधु, सन्तहरूले गाँजा, भाङ, अफिम तथा चरेसको सेवन गरी धुनी जगाउने प्रचलन निकै पुरानो हो । हिमालयका आदिदेव महादेव त विषपान गर्नमा ख्यातिप्राप्‍त छन् । पुराना समयमा यसको सेवन गरी चिन्तनमननको लागि एकाग्रता पाउने प्रयास गरिन्थ्यो भने वर्तमान काल पश्‍चिमी सेवकहरू अतिशय भौतिक विकासको प्रतिक्रियाबाट उत्पन्न भएका कोलाहलबाट तन्तुहरूलाई सुषुप्त पार्न तथा वातावरण, एक ट्रान्क्विलाइजरको रूपमा यसलाई प्रयोग गरेको भन्दछन् । एक प्रकारले हेर्ने हो भने संसारका जत्ति मादक पदार्थ छन् ती सबको प्रयोगको आधारभूत उपादेयता एउटै छ, वास्तविकता बिर्सिन, मनमस्तिष्कलाई सकेसम्म निस्क्रिय पार्नु । कुनै मादक पदार्थमा चेतनतालाई लाटो बनाएर बिर्सन सकिने अवस्था हुन्छ भने, अर्का थरीमा कुनै विशेष उत्तेजना उमारेर त्यसलाई तीव्रतम पारिदिएर, अन्यान्य तन्तुलाई त्यसको तुलनामा कमजोर बनाइन्छ । अफिमले शारीरिक सुस्ती बनाएर मनलाई एकोहोरो ढङ्गबाट भविष्यलाई चित्रित गर्ने प्रयास गर्दछ भने रक्सीले ब्लडप्रेसरलाई उकासेर आत्मलघुताको आभास कम गर्नुका साथै क्षणिक यौवनजन्य आवेग तथा तार्किक प्रक्रिया (जुन कहिलेकाहीँ झगडालु प्रवृत्तिमा परिणत हुन्छ) त्यसको वृद्धि गरिदिन्छ ।

पूर्वीय देशहरूमा आफ्ना आर्थिक विषमता र दैनिक दारिद्र्यबाट उम्किन गरिबवर्गमा यसको प्रचलन बढी रूपमा पाइन्छ भने यसको ठीक विपरीत पश्चिमी देशहरूमा धनको गरिमाबाट सबै वस्तु सहज रूपमा उपलब्ध भएका अवस्थाको परिणामस्वरूप जीवनको उराठलाग्दो एकनासेपनबाट मुक्ति पाउन सम्पन्न परिवारहरूका तरुणवर्गमा यो प्रचलित पाइन्छ । अस्ट्रेलियानिवासी तरुणवर्ग आवश्यक सैनिक सेवाबाट छुटकारा पाउन जत्थाका जत्था रूपमा विदेसिन्छन् भने अमेरिकी सैनिकहरू भियतनाम युद्धको विभीषिका बिर्सन यसको शरण लाग्छन् । सैगोनका अँध्यारा बारहरूमा टिपेको मादकसेवन तथा गुप्‍ताङ्गसम्बन्धी रोगहरू बोकेर उनीहरू स्वदेश फर्किन्छन् । भियतनाममा अब शान्ति सम्झौता त भयो, तथापि विगतका युद्धको अनेक अदृश्य प्रभावहरूसँग सङ्घर्ष गर्न अमेरिकालाई एक दशकले पनि पुग्ने छैन । सबभन्दा ठूलो सङ्घर्ष हुनेछ युवावंशको मनोवैज्ञानिक दृष्टिकोणमा आएको एक भावनालाई मेट्न: त्यो हो, अर्काको देशमा गई युद्ध गरी आफ्नो ज्यान किन व्यर्थमा फालियो । आफ्नो यौवनको सर्वश्रेष्ठ कालमा, केही सिक्ने-सिकाइने, केही उपलब्धिको आधार बनाउन सक्ने बेलामा, त्यस समयको दुरुपयोग भएको बोध सायद मृत्युपर्यन्त पनि कैयन्‌लाई बिझाइरहनेछ । युद्धमा मृत्यु भएका सदस्यहरूको परिवार भने यो अनावश्यक हानिको क्षोभ बोकिरहनेछन् ।

त्यस अर्थमा, पूर्वीय देशहरू भाग्यवादी दृष्टिकोणले गर्दा, यी मनोवैज्ञानिक विषमता त्यत्तिको कष्टप्रद नहुन पनि सक्छन् । तथापि यही भाग्यवादी दृष्टिकोण तथा मादक वस्तुको सेवनको बढ्दो प्रचलनले हाम्रो आवश्यक राष्ट्रिय जागरण तथा उत्थानका लागि ठूलो बाधक हुने सम्भावना पनि छ । अधुरो आध्यात्मिकतासँग नैराश्यजन्य निस्क्रियता जोडिन जानु जस्तो आत्मघातक अवस्थाको परिकल्पना गर्न सकिन्न । यो एक यस्तो सङ्क्रमक रोग हो, जसको आक्रमणबाट व्यक्ति वा समाज मात्रको स्तरमा हानि हुने होइन कि यसले राष्ट्रको परम्परागत उपलब्धिहरूलाई समेत क्रमशः गुमाउँदै जान्छ ।

हेरोइनको सबभन्दा ठूलो खेती मध्य-पूर्व एसियामा हुने गथ्र्यो । मेडिटेरेनियन सागरको बाटो ससाना डुङ्गाहरूको माध्यद्वारा यो तस्कर-व्यापार फ्रान्स तथा इटलीमा पुग्थ्यो । त्यहाँ प्रशोधन गरिने प्रयोगशालाहरूमा यिनको प्रशोधित रूप प्रदान गरिन्थ्यो । तथा लैटिन अमेरिकी देशहरूको बाटो गरी यो अमेरिकामा विक्रीवितरण केन्द्रमा पुग्थ्यो । यो अवैध व्यवसायलाई निर्मूल पार्न संयुक्त राष्ट्रसङ्घको माध्यमबाट अमेरिकाले एक दीर्घकालीन योजनाअन्तर्गत अरबौँ डलर खर्च गरी हेरोइनको खेती नै रोक्ने आग्रह गरेको छ । उक्त योजना सफल हुन निकै श्रम र समयको आवश्यकता छ । तथापि त्यसको सफलता अन्य राष्ट्रहरूको लागि एक यस्तो उदाहरण हुनेछ, जसबाट प्रेरणा पाई अरूहरूले समेत केही कदम चाल्ने आशा गरिन्छ ।
यो भविष्य कति टाढा होला ?

गुनकेशरी- अङ्क २, माघ-चैत २०२९
* साभारः शङ्कर लामिछानेका निबन्ध (२०५९), सम्पादक : शिव रेग्मी
--------------------------------------------------------------------------------------------