Monday, February 27, 2017

एक पत्र– सम्पादकलाई

(शङ्कर लामिछानेले समाज दैनिकका सम्पादक मणिराज उपाध्यायलाई लेखेको पत्र । यो पत्र समाजले २०१९ साल फागुनमा निकालेको साहित्यिक विशेषांकमा प्रकाशित छ । २०२४ सालमा प्रकाशित शङ्करको निबन्धसङ्ग्रह एब्सट्र्याक्ट चिन्तन प्याजमा समेत यो निबन्ध सङ्ग्रहित छ ।)
मणि दाजु,
तपाईँले भन्नुभएको छ 'समाजको विशेषांकको निमित्त म केही लेख दिऊँ- खासगरी पत्रकारिता र त्यो पनि 'समाजकै समालोचना गरेर । करिब दुई घण्टादेखि समाजको मसँग भएको संग्रह पलटाइरहेँ र सोचिरहेँ क्यै त लेख्नैपर्‍यो । तपाईँ एक मित्रको रूपमा मबाट चाहनुहुन्छ आफ्नु कला कौशलको समीक्षा ।
, यो दुई घण्टा म सोचिरहें । र केही पनि सोच्न सकिनँ । कमसे कम छाप्ने लायक त केही पनि सोच्न सकिनँ । तपाईँ भन्नुहोला छाप्ने लायक छुट्याउने अधिकार त सम्पादकमाथि पो छ । मेरो, यहाँनिर, छाप्ने लायक भन्ने शब्द प्रयोगको अर्थ चाहिँ होत्यस्तो विषय, जो मानिसले पढ्न मन पराउँछ । अब तपाईँकै पत्रिका लिऊँ न । मृत्यु, दुर्घटना, असाधारण कष्ट, पीडा इत्यादि नै त हुन्, जसले त्यसमा प्रमुखता पाएका छन् । किन अर्काको कष्ट, दुर्घटना र मृत्युलाई मानिस पढ्न मन पराउँछ ? (मन नपर्ने भए तपाईँको पत्रिका कहिले नै बन्द भैसक्थ्यो) ।

Thursday, October 20, 2016

गोरेटोको खोजीमा

'तिम्रा पर्खालमै तिम्रो बाटो छ !'

यो कसको महान् वाणी ? नित्सेको ? अहिले ट्याक्क सम्झिन सकिनँ !

बाटो नभएको ठाउँमै गोरेटो छ !

यो कसको महान् वाणी ? थाहा छैन !

लेख्न असमर्थ भएकै बेला, लेख्ने प्रयास गर !

यो कसको महान् वाणी ? थाहा छैन !

तर, अहिलेको क्षणमा म यो तीनै आयाममा संकुचित भएको स्वयंलाई अनुभव गर्दै छु । बाटो छैन, गोरेटो छैन, लेख्ने सामर्थ्य छैन !!!

Saturday, June 25, 2016

लघु संस्मरण, लघु लिपिमा शङ्कर दाइ

भूतपूर्व लेखनकला, वैचारिक प्रखरता र विभिन्नताका धनी, कथावस्तु विनाका कथाका पनि जन्मदाता । नेपालीमा हाइकुका प्रथम प्रयोक्तासमेत रहेका शङ्करदाइ 'इम्प्रेसनिज्म्' जस्ता नौला साहित्यिक धाराहरूको स्वाद हामीलाई चखाउने प्रथम व्यक्ति पनि थिए । कुरैकुरामा एकदिन मैले उनलाई सोधेको थिएँ, "दाइका प्रेरक साहित्यिक गुरुहरू लरेन्स डुरेल र सारोयानमध्ये कुन चाहिँ हुन् ?"

"मलाई त्यस्तो दम्भ गर्न मन त लाग्दैन, तर कहिलेकाहीँ म स्वयम् शङ्कर सारोयान र लरेन्स लामिछानेमध्ये कुन चाहिँ बढी हुँ, ठम्याउनै सक्दिनँ !"

यो उत्तर पनि मलाई अति 'एब्स्ट्र्याक्ट' (Abstract) जस्तो नै लाग्यो । अर्थात्, मैले केही बुझेँ पनि, बुझिनँ पनि । उनका निबन्धहरूले अत्यन्त प्रभावित भएर मैले उनलाई 'निबन्ध शिरोमणि' मानेको पनि धेरै भयो ।

तर अचम्म, 'दि काठमान्डु पोष्‍ट' अङ्ग्रेजी दैनिकमा सन् १९९७ देखि पछिका दुई वर्षमा हरेक साता छापिने मेरा करिब ३०० जति स्मृतिप्रधान रचनाहरूमध्ये एउटैमा पनि शङ्कर कसरी परेनन् होला, के भएर छुटे होला, म स्वयम् पनि भन्न सक्दिनँ । जब कि तिनमा कुने बेला यस्ता व्यक्ति पनि परे, जसलाई आजीवन समेत भेटेको थिइनँ- जस्ते निराद सिंह चौधरी ।

Friday, June 6, 2014

महामुद्रा

जभन्दा २००० वर्षअगाडि अनकन्टार, हिमालयको एक कन्दरामा भिक्षु बसेका छन्। उनका सामु दश–पन्ध्र जना चेला–भिक्षुहरु दत्तचित्त भएर गुरुले बताएको धर्म उपदेश ग्रहण गरिरहेछन्। पीतवर्ण लुगा लगाएका भिक्षुहरु, हिमालयबाट बिदा हुन लागेको सुनौला प्रकाशमा अरु देदिप्यमान बनिरहेछन्। उनका अनुहारमा कौतुहल, जिज्ञासा र कथाको अनौठो प्रकृतिबाट अल्मलिएकोपन पनि प्रष्ट थाहा हुन्छ। 
 
ताडपत्रमा लेखिएको त्यो तान्त्रिक कथा सन्ध्या–भाषामा लेखिएको थियो। अनङ्गवज्रद्वारा रचित ‘प्रज्ञोप’यबिनिश्रयसिद्धि’को त्यस अंशमा अनौठोसँग यी वाक्य परेका थिए– ‘महामुद्राको अनुभव ग्रहण गर्नलाई प्रत्येक साधकले सर्वनारीको भोग गर्नै पर्दछ।’
 
भिक्षुहरुको अनुहारमा बढी कौतुहल र बढी जिज्ञासा देखिन्छ। कसै–कसैको अनुहारमा वितृष्णा पनि झल्कियो।

Friday, July 26, 2013

३७ वर्षपछि – शंकरसँग अम्बर

॥ रामशरण बजगाईं ॥
॥ प्रतिमा सिलवाल ॥














पिच भत्केर सडकमा उडेको धुलोले वातावरण खैरो छ । शंकर लामिछानेबारे अम्बर गुरुङसँग संवाद गर्न हामी एकदिन पुग्छौं नेपाल संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठानको अफिस छाउनीमा । टेबिल पछाडि कार्यालय शैलीमा कुर्सीमा बसेका छन् अम्बर ।

हामी प्रवेश गर्छौं, हेर्छौं– टाउकोबीच झन्डै चिम्म हुँदै गएका उनका आँखा, स्वयम्भूका झैं सम्यक् छन् । हामी चाहन्छौँ– नेपाली साहित्यको एक स्वर्ण युगमा शंकरसँगै ज्ञानको आँच तापेका उनका आँखाबाट त्यसबेलाको समय कोट्याएर निहारौं र समयको धुलोले छोपेर विस्मृत भएका चरित्र र चित्रहरू ब्युँताइदिऊँ ।

Wednesday, February 27, 2013

अश्रुमिश्रित नयन र डुबिसकेको घाम

॥ गोकुल भण्डारी
ओ टुरिस्ट ! तिमी साँच्चै फर्केर आयौ हगि ? तिमीले इमेलमा आफ्नो आइटिनरेरि पठाउँदासम्म पनि मलाई विश्वास लागेको थिएन । झन्डै चालीस वर्ष अगाडि तिमीले भावुक भएर लेखेको चिठीको जवाफ समेत मैले फर्काइनँ, रिसाएर हैन भन्ने त तिमीले बुझिसकेकै थियौ । वास्तवमा तिम्रो चिठी एउटा कविता थियो, कवितामा सवाल-जवाफ हुदैन, त्यसैले चुपचाप पढ़िरहें - तिमीलाई आश्चर्य लाग्ला त्यो चिठी अझै पनि म सँग सुरक्षित छ – एउटा ऐतिहासिक दस्तावेज जस्तो । बेलाबेलामा मन विरक्तिएको बेला त्यही चिठी बोकेर म एक्लै स्वयम्भू र चोभार जान्छु र तिमीले देखेको काठमांडू हेर्न खोज्छु । खैर, म के देख्छु त्यो त तिमीले पनि छिटै थाहा पाइहाल्छौ नि तिम्रो २/४ दिनको बसाइमा ।

Wednesday, April 11, 2012

शङ्कर लामिछानेको सम्झना

॥ सुरेश प्राञ्जली
आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शङ्कर लामिछानेले नेपाली साहित्यको जगमा असंख्य इँटा थपेका छन् । विशेषगरी नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफैंले खने । नेपाली 'नन फिक्सन' को फाँटलाई उचाइमा पुर्‍याउने काममा उनको भूमिका अत्यन्तै उल्लेखनीय छ ।
नेपाली निबन्धमा 'चेतनप्रवाह शैली' (स्ट्रिम अफ कन्सिअसनेस) लाई स्थापित गराउने लेखक हुन् उनी । पश्चिमा साहित्यका आधुनिक लेखक जेम्स जोयसले महाकाव्य 'युलिसिस' मार्फत यो शैलीलाई जसरी स्थापित गर्ने काम गरे त्यसरी नै लामिछानेले 'एब्स्ट्रयाक्ट चिन्तन : प्याज' मार्फत यो 'चेतनप्रवाह शैली' लाई अंकुराउने कार्य गरे नेपाली साहित्यमा । जीवन आफ्ना लागि भन्दा पनि अरूका लागि आदर्श भएर बाँच्नुपर्दाको पीडाले गर्दा व्यक्तिगत जीवन स्वेच्छाले बाँच्न नपाउनु नै आजको मानवको गुनासो बनेको छ । यद्यपि त्यो गुनासोलाई निबन्धशिल्पी शङ्कर लामिछानेले न्यूनीकरण गर्ने प्रयास गरेका छन् । हामीले भोगेको जीवन केवल अनुभूति मात्र हो ।

Sunday, April 8, 2012

श्यामप्रसादलाई लामिछाने निबन्ध पुरस्कार

शङ्कर लामिछाने निबन्ध समाजले २०६८ सालको शङ्कर लामिछाने निबन्ध पुरस्कारबाट वरिष्ठ निबन्धकार श्यामप्रसाद शर्मालाई सम्मान गरेको छ । 
लामिछानेको ८५ औं जन्मजयन्तीको अवसर पारेर गत चैत  गते पुरस्कार अर्पण गरिएको थियो । पुरस्कारको राशि ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृतिविद् एवम् साहित्यकार सत्यमोहन जोशीले पुरस्कार अर्पण गरेका थिए  १९८६ असार  गते मकवानपुरको सोलीथुम गाउँमा जन्मिएका श्यामप्रसादका तन्नेरी साथीहरुसँग दुईचार कुराबहिनीलाई चिठी-भाग   तँ-तिमी-तपाईँ-हजुरसाहित्य सम्बन्धी दुईचार कुरालेखक कसरी बन्नेथुनुवाको डायरीकेही कविताकेही गीतमेरा डायरीका पानाश्रद्धाको एउटा थुँगोभूमिकाहरू लगायत एक दर्जन भन्दा बढी कृति प्रकाशित छन् । विशेष गरी निबन्ध विधामा कलम चलाउने उनले साहित्यस्वास्नीमान्छे लगायतका पत्रिकाको सम्पादन पनि गरेका छन् 
उनका निबन्धहरूलाई समेटेर विवेक सिर्जनशील प्रकाशनले २०६१ सालमा श्यामप्रसादका निबन्धहरू नामक कृति निकालेको छ 

Friday, April 6, 2012

सिद्धान्त र व्यवहारको विपर्यासमा : शङ्कर लामिछाने


॥ गीता त्रिपाठी ॥
सिद्धान्तले अँगालेको जीवनमूल्य व्यवहारमा पाउन प्रायः असम्भव हुँदोरहेछ । असम्भव हुँदोरहेछ - आफ्नै दृष्टिकोणबाट आफैलाई बचाएर राख्नु पनि । जीवनका भोगाइहरुले भावलाई मात्र होइन विचारलाई पनि कता हो कता बहकाएर लैजाँदोरहेछ । त्यसैले त जीवनभरको प्रयासमा पनि आफैलाई चाहिँ चिन्न सक्दैन मानिसले अरुका सन्दर्भमा निकै समालोचकीय अवधारणाहरु बनाउनेले पनि आफ्नै परिचयको ऐनाभित्र भने सधैँजसो धमिलो छायामात्र भेट्छ विश्वका चर्चित स्रष्टाहरुका जीवनीका पाटाहरु यसरी नै रहस्यपूर्ण पहाडमय भएको पढिन्छ र सुनिन्छ तिनमा अव्यवहारिकताको चरम आरोप लागेको हुन्छ । भावनाको केन्द्र प्रबल हुनुलाई असामाजिक यात्राको थालनी मानिदिन्छ समाजले र परम्परा तोड्न सङ्घर्षरत योद्धा आफ्नो प्रहारले आफै घाइते भइरहन्छ बारम्बार । उसलाई लाग्छ जीवन कॆही हो कि जस्तो अथवा केही होइन कि जस्तो पनि । अनि अल्झिरहन्छ- उसैमा उसका प्रतिबिम्बहरु ।

Wednesday, April 4, 2012

माया नं ६५३


माया आज अलि उद्विग्न थिई । हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई । पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस् । र आज त उसलाई अस्पताल गई आफ्ना शरीर जचाउनु पनि थियो । अनि एक सातासम्म अस्पतालमै बसेर आराम पनि लिनु थियो । अनि मार्च १७ तारिख ।
आज ११ तारिख, मार्च १७ त उसको जन्मदिन पनि हो । उसले आफ्नू नारीघडी सारेर छालामा अङ्कित मिति पढी - १७ मार्च, २०५० । यो थियो उसको जन्मदिन ! नं ६५३ यो थियो उसको जन्मसङ्ख्या ।
ऊ नगरपालिकाको जनसङ्ख्या-नियन्त्रण-विभागमा काम गर्दथी । तथा उसका मातहत नारीवर्गको जन्मकुण्डली र जीवनकार्यक्रमको लेखो राख्ने काम थियो । र उसलाई थाहा थियो कि कुन क्षेत्रमा जननीगुणरहित कति नारी छन् । उनीहरु के काम गर्छन् र कुन विभागमा ? यो पनि ऊ जान्दथी । त्यस्तै ऊ यो पनि जान्दथी कि पुरुषवर्गको पनि रेकर्ड पनि राखिन्छन् - र त्यस विबागमा काम गर्ने पुरुषलाई पनि थाहा हुन्छ कि उसको क्षेत्रको पुरुषत्वहीन कति लोग्ने मानिस छन् । सन्तानोत्पत्तिमा सरकारको पूर्ण नियन्त्रण थियो - सरकारका पूर्वनिर्धारित योजनानुसार नै उनलाई जन्माइन्थ्यो ।

Wednesday, May 11, 2011

सन्दर्भ लक्ष्मी जयन्ती


२००७ सालको पुस महिनाको जाडो साँझ । मैतीदेवीको फाँटको बीच खेतमा टायलको एउटा घर । त्यसको ढोकामा म चिच्याउँदै थिएँ- 'देवकोटाजी हुनुहुन्छ ?' माथिबाट कुनै अंग्रेजी ऐतिहासिक किताब जोरसँग घोकेको शब्द आइरहेको थियो । मेरो मनमा लाग्यो सायद हेनरी आदौंका जीवनी पढ्ने यो कुनै मेट्रिकको विद्यार्थीका घरमा म पुगेछु भूलले ।

सेतो पुरानो छिटको धोती लाएकी एकजनाले मेरो नगिच आएर भन्नुभयो- 'माथि ऊ त्यो कोठामा जानुहोस् ।'

जीवनमा पहिलोचोटि देवकोटाजीसित परिचय पाउने उत्साहमा मेरो मन धकमक गरिरहेको थियो । 'सुन्दरीजल' र 'शाकुन्तल महाकाव्य' लेख्‍ने कविको साक्षात् दर्शन । भर्‍याङको हरेक खुड्किला पहाडझैं लागेपछि २/२ वटा गरेर म कोठामा उफ्रेर एक्कासि पुगेँ । देखेँ- कालो कम्बलले गुटुमुटु भएर एउटा मैलो फोहोर ओछ्यानमा पल्टेर घोप्टिई देब्रे हातले चिउँडो अडाएर उच्चस्वरमा एकाग्र चित्त भई पढिरहेछ । एक मन त लगत्तै फर्कूँजस्तो लाग्यो सायद उहाँ त्यो महाकवि होइन होला भन्ठानेर । के छ अनुहारमा कालो फुस्रो मुख छ । कपालका रौं आफूखुसी दस दिशा दौडिरहेछन् । कम्बलबाट निस्केका हातमा झ्याप झ्याप्पी रौं कालो फुस्रो हात मसी-मसी लागेको । यस्तो मानिस पनि महाकवि ! कोठामा चारैतिर हेरेँ ।

Monday, May 9, 2011

एब्स्ट्रयाक्ट चिन्तनः प्याज

हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- "शङ्करजी, तपाईँको लेख, त्यो लेख, 'शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा' पढेँ ।''
Shankarji"कस्तो लाग्यो ?''
" मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।''

"एब्स्ट्रयाक्ट पेन्ट गर्ने त तपाईँको काम ! म कहाँ पेन्टिङतिर जाऊँ अब ।''
" होइन, पेन-पिक्चरमा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।'' 

म हाँसिरहेँ । (हाँस्न जान्नु पनि ठूलो कला हो ! मानिसको उमेरमा विकास हुनासाथै उसको हाँसोको कलामा अनेक रङ चढ्न थाल्छन् ।) हाँसेर मैले बाङ्देलजीलाई बिदा दिएँ, र कुरालाई पन्छाएँ पनि ।

Thursday, May 6, 2010

शङ्कर हाइकुका गर्विला क्षण

लामो अन्तरालपछि ब्लगको बन्द दैलो उघार्ने क्रममा यसपाली हाइकु र त्यसमा शङ्कर लामिछानेको सहभागिताबारे लेखक प्रकाश सायमीले लेखेको ‘शङ्कर हाइकुका गर्विला क्षण’ शीर्षकको एउटा समीक्षात्मक लेख ल्याएका छौँ । खास गरी हाइकु विधाको जन्म, परिचय र विस्तारबारे बखान्नमा धेर खर्चिएको यस लेखमा शङ्करले नेपाली साहित्यमा हाइकुलाई प्रवेश गराएको प्रसङ्गसहितको भागले आंशिक स्थान ओगटेको छ । सायमीले शङ्करका कृतिहरूलाई पुन: नेपाली पाठकहरूमा परिचित गराउने क्रममा भावक अभियान नेपाल संस्थाको स्थापना र त्यससँगै शङ्कर-साहित्यको व्यापकतालाई धुरीमा पुर्‍याउन शङ्कर लामिछाने निबन्ध कोषको स्थापनामा विशेष योगदान गरेको स्तुत्य छ ।
------------------------------------------------------------------------------------- 
जापानका धेरै शास्त्रीय कलाहरू छन्, जसले विश्‍व समुदायलाई आकर्षित गरेको छ र त्यही अनुरूप ती कला विPsayami2श्‍वजनीत भएर गएका छन् । त्यस्ता धेरै कलाहरूले पश्‍चिमी जगत्‌मा आभ्यासिक कर्म र प्राज्ञिक चिन्तनको थाट बनाएका छन् जबकि ती कलाहरू जापानी समान र त्यसको इतिहासगत व्याख्यामा हेर्ने हो भने जीवनगत चरित्र नै हो । र, अभिन्न अवयव नै हो ।

बासोदेखि शिकीसम्मको शालीन परम्परामा जापानी सभ्यता र संस्कृतिमा हाइकुले धेरै विकासमान चित्र कोर्‍यो ।

हायकु, हाइकु अर्थात् हा-इकुका विभिन्न र विविध छविका परिचय छन्, पाँच-सात-पाँच अक्षरारेखमा तयार पारिने यो काव्य रचनाको

Sunday, November 1, 2009

Abstract Chintan: Pyaaz (An Onion: Contemplating the Abstract)

 त प्रस्तुतिमा मेरो रेडियोको सौजन्यस्वरूप रुपेश श्रेष्ठको आवाजमा शङ्कर लामिछानेको बहुचर्चित निबन्ध कृति एब्सट्र्याक्ट चिन्तन प्याज भित्रको शीर्ष निबन्धलाई समेटिएको स्‍मृति घरमा यसपाली सोही निबन्धको अङ्ग्रेजी अनुवाद लिई आएका छौँ । आशा छ, भाषागत सीमाको कारणले खुम्चिएर रहेको शङ्करको उक्त निबन्ध सबै पाठकको घेरामा पुग्नेछ ।

यस अनुवादलाई लामिछानेकै छोरी शिखा लामिछानेले तयार पारेकी हुन् भने यो सामग्री हामीले शङ्करकै सुपुत्र प्रभास लामिछानेको ब्लगबाट साभार गरेका हौँ ।  प्रभासलाई हार्दिक धन्यवाद !

------------------------------------------------


I met Bangdelji last evening on New Road. “Shankarji”, he says, “I just read your essay, you know that essay ‘Shankar Lamichhane in Shankar Lamichhane’s opinion.’”


“Did you like it?”

“It was entertaining. But too realistic. Why don’t you make the next one a little more abstract”.

Sunday, October 4, 2009

शङ्करको 'प्याज' सुनौँ

०२४ सालको मदन पुरस्कार विजेता निबन्धकृति  'एब्स्ट्रयाक्ट चिन्तन प्याज'  को महत्ता कसको नजरमा कति छ कुन्नी । तर सर्जकको रुपमा शङ्कर लामिछानेको परिचय स्थापनाको परीक्षण-पाइला त्यही कृति  भयो, उनले पाठकको दैलोभित्र बास पाए ।

स्वाद लिनेले उनका जम्मै किताबमा उत्तिकै रस भेट्छन् । ती मध्ये 'प्याज' को महिमा विशिष्ट रहिआएको छ 'पढालु' पाठकहरूमाझ । पहिलो चोटि किताब समाएर बस्दा नबुझ्दा-नबुझ्दै पनि धेरै कुरा बुझे जस्तो लाग्न सक्छ, र त्यही माझधारको चिनाजानासँगै शङ्करको केस्रादार अध्ययनको लागि घुम्टी खुल्छ ।

यसपाली शङ्कर स्‍मृति घरमा त्यही कृति  'एब्स्ट्रयाक्ट चिन्तन प्याज' भित्रको शीर्ष निबन्धलाई सुन्ने रुपमा लिएर आएका छौँ, आशा छ यो स्वरुप शङ्करप्रेमी पाठकहरूलाई रुचिकर लाग्नेछ । यसलाई हामीले अनलाइन अडियो सङ्ग्रह 'मेरो रेडियो' बाट लिएका हौँ । निबन्ध वाचनमा आवाज रुपेश श्रेष्ठको हो ।
सुन्नलाई यो लिङ्कमा जानुहोला ।

Thursday, July 16, 2009

गिरीको याद

वि अगमसिंह गिरीप्रति शङ्कर लामिछानेको कलमको प्रेम र श्रद्धाभाव यस लेखोटको सार हो । हामीले यसलाई यहाँ यस रूपमा प्रस्तुत गर्नुको कारण त्यो श्रद्धाभावलाई पाठकसमाजमाझ छनक दिनु मात्र हुँदै होइन । बरू हो- गद्यलेखनमा प्रयोगशिल्पी भनी चिनिएका र पुजिएका-बुझिएका शङ्करको संस्मरणलेखनको पाटो के-कस्तो रहेछ भनेर उदाहरण राख्‍नु । त्यसो त कुनै व्यक्तिविशेषमाथि लेखिएको तथा संस्मरण लेखनको गहकिलो स्वाद चाख्‍न शङ्करको सिङ्गै किताब 'विम्ब-प्रतिविम्ब' मै पस्नुपर्छ ।

तर परिचयात्मक निबन्ध-सङ्ग्रहको नाम दिइएको 'विम्ब प्रतिविम्ब'मा उनको उक्त पुस्तकलेखनको समयमा दिवङ्गत भइसकेका व्यक्तित्व मात्रै थिएनन् । जिउँदा अग्रज प्रतिभा र समकालीनबारे परिचयात्मक भाव उनले उतारेका थिए उक्त पुस्तकमा । प्रस्तुत 'गिरीको याद' निबन्ध भने अगमसिंह बितिसकेपछि लेखेका हुन् शङ्करले ।
गिरीबारे शङ्करले 'निरन्तर बजिरहने एउटा धुन' र 'ओम स्वाहा ! एउटा नवीन आहुति' गरेर अरू दुई सम्झौटो पनि लेखेका छन् । यी दुईसहित प्रस्तुत 'गिरीको याद' विम्ब-प्रतिविम्ब' सँगालोमा पढ्न पाइन्छ । यसपाली शङ्कर स्मृति घरमा त्यही यादलाई सम्झना गरौँ, पढ्नुस् 'गिरीको याद' :-

Monday, June 29, 2009

किन लेख्दिनँ म ?

“म तिमीसँग साँच्चै रिसाएको छु, तिमीलाई भन्न मात्रै नभनेको ! मेरो साँच्चै चित्त दुखेको छ तिमीसँग । तिमीले मेरो अपमान गरे झैँ लाग्छ मलाई आजकाल !”

यी वाक्यहरू सुनिरहँदा मेरो शिर निहुरिएको थियो । म निरुत्तर थिएँ । भित्रभित्रै आफैँलाई अपराधी अनुभव गरिरहेकी थिएँ । तर स्नेहको तरलताले लफ्रक्क रुझेकी थिएँ ।

लाग्यो, मेरो आलस्यको ठिहीलाई पगाल्न समयले दिएको न्यानो सूर्योदय हो यो । चुपचाप सुनिरहेँ, अकर्मण्यताको ठिहीलाई पगाल्ने न्याना वाणीहरू । मनको कोमल भागमा मीठो स्पर्श पाएझैं लाग्यो । एउटा चेतनाले अर्को चेतनालाई ब्युँझाउने तातोपन महसुस गरेँ । हृदयमा चुपचाप लुकाएर मुसुक्क मुस्कुराएँ । केही बोल्ने आवाजै थिएन मसँग । त्यसैले एउटी आमाले सन्तानको मृदु तर व्यङ्ग्य वाणीलाई बेवास्ता गरे झैँ आवाजलाई कान दिइरहें, शब्द दिन सकिनँ । तर मेरो अघिल्तिर त मेरो पितातुल्य व्यक्तित्वको आवाज थियो । शरीरभरि एक प्रकारको तरङ्ग छुट्यो । एकैछिनमा झनझनायो मेरो शरीर । बाहिरको चिसोलाई चुनौती दिएझैँ रननन तात्‍न थाल्यो । मैले मेरा गालामा तातो-तातो हुँदै आएको रातोपन महसुस गरेँ ।

Wednesday, June 17, 2009

औपन्यासिक पात्र - जीवनको पृष्‍ठभूमिमा

न्छन् दान गर्नु बिर्सिदिनु, अनि मात्र पुण्य मिल्छ । कुरा कहाँबाट उठ्छ भने, भर्खर एउटी अन्धी आइमाई केटोलाई डोर्‍याउँदै आइरहेकी थिई । उसलाई मैले एक ढ्याक दिएँ । बच्चोले पैसा हत्केलामा राखेर हेर्‍यो र बिस्तारै भन्यो 'पाँच पैसा' । स्वास्नीमान्छेको अनुहारमा न कुनै कृतज्ञताको भाव आयो, न हर्षको, न सफलताको । ऊ ढ्याक जत्ति नै निस्पन्द थिई । परेला चिम्लेकी नै ऊ बिस्तारै घुमी र गई । ठिटोले डोर्‍याउँदै लग्यो उसलाई ।

असलमा यो साह्रै नगन्य एक घटना थियो । र, कहानी कलाको मापतौलमा यस्ताको उल्लेख गरिन्न पनि । र जीवनमै पनि यी जुन नगण्य पात्र छन् यिनलाई सम्झिराखिन्न । तर मेरो परिस्थिति अर्कै थियो, म त्यस बेला जीवनको गहनता र महान्‌ता र विभिन्नताउपर रमिएको थिएँ । मेरो आँखामा एउटा स्मार्ट ठिटोको अनुहार व्याप्‍त थियो र मेरा कानमा उसका बोलीको झन्कार गुञ्जिरहेको थियो । ऊ असलमा स्कूलबाट भागेर आएको थियो । नीलो कट्टु, सेतो कमिज, पुस्तकको झोली जनै जस्तो भिरेको, दाहिने हातमा लन्च-बक्स । सडकमा उभिएर ऐनाभित्रका मालसामन निरीक्षण गरिरहेको । मेरो छोराकै स्कूलको लुगा देखेर, सायद एक आत्मीयताको नाताले होला- मैले अङ्ग्रेजीमा सोधेँ, 'आज स्कूलबाट चाँडै आयौ ?'

पुलुक्क मेरो मुख हेर्छ ऊ ! अहिलेसम्म, साँच्चै भनूँ भने, म युनिफर्मसँग कुरा गर्दै थिएँ ।

Friday, June 5, 2009

क्याट माने बिरालो

क अमेरिकन मित्र काठमाडौँबाट प्रस्थान गर्दै थिए । हामीसँग निकै हेमचेम थियो । उनले सायभिज-सङ्कर बिरालो पालेका थिए । अब त्यसलाई उचित वासको टुङ्गो लगाउने समस्या पर्‍यो तिनलाई । हाम्रो सहायता मागे ।

एक प्रकारले म कुकुर, बिरालोप्रेमी हुँ । ती दुवै जनावरको केही अंश सायद ममा अवस्थित छ । जे होस्, मैले बिरालो स्याहार्ने जिम्मा लिएँ । हुन त बिरालो नदेखेको वा बिरालोउपर प्रबन्ध नलेखेको पनि होइन स्कुली जीवनमा, तथापि बिरालोको केही गुण, अवगुण रहेछन्, जो मलाई थाहा थिएन ।

जस्तै, त्यो बिरालो थियो । बाथरुममा हग्ने । उसको निमित्त काठको बाकस बनाएर त्यसमा बालुवा राखिदिनुपर्ने । ऊ बिहानै बाथरुम जाने र त्यसमै हग्ने । बिरालो आफ्नो गुहु लुकाउँछ भन्छन्, लोकोक्ति हो, बिरालो बाघको फुपू रे, सारा भदालाई सिकाएर उसले एउटै कुरा सिकाएन रे, रूख चढ्ने । त्यसमा रिसाएर बाघले झोँकमा भन्यो रे, ' तँ मूलाको गुहु पनि बाँकी राख्दिनँ ।' - र त्यस बेलादेखि बिरालाले गुहु लुकाउन थालेको रे !

त, त्यो अमेरिकन - सायभिज-सङ्कर बिरालो झन्डै छ महिनाजति बस्यो होला हामीकहाँ ।
त्यसको आगमनपछि, अनि पो मैले बिरालोबारे अध्ययन गर्न पाएँ । खासमा बिरालो सारै सुग्घरी हुँदो रहेछ । बिहान उठेपछि उसले मुख धुने, ज्यू चाटी सफा गर्ने गर्छ । आङ उसको सदा चिल्लो र चिप्लो हुन्छ ।

त्यो बिरालो हामीकहाँ आउँदा गर्भावस्थामा थिई । केही महिनापछि उसले बच्चा पाई । सानो बेलामा बिरालाले गुँड सार्छ भन्ने उखान त्यस बेला स्पष्‍ट भयो । मुखले बच्चा समातेर उसले जताततै पुर्‍याएर - लाग्दथ्यो, जङ्गलको प्रवृत्ति अझै उसमा समाप्‍त भएको थिएन, मानौँ एकै ठाउँमा बच्चा राख्दा अरूले त्यसको सुइँको पाउँछन् ।

अनि आउँछ उसले बच्चालाई तालिम दिने काल । उफ्रिने, झम्टिने, प्रहार गर्ने पन्जाले, रिसाउने, खुसाउने । सब सिकाउँछ उसले तथापि सारै दु:खदायी क्षण त सिकार गर्न सिकाएको अवस्था हुँदो रहेछ ।

एक दिन एउटा ठूलो मुसा मारेर ल्याउँछे । कतै घाउ चोट छैन उसको जीउमा । ल्याएर पलङमुनि उसले राख्दछे र बच्चाहरूलाई त्यहाँ पुर्‍याउँछे । उनीहरू नौलो जन्तु देखेर तर्सिन्छन् । आमा स्वयम् मुसालाई खेलौना जस्तो गरेर खेल्छे, मानौँ भनिरहेकी होओस्, यस निर्जीव वस्तुबाट केको भय ? यसबाट बच्चाहरू खेल्न थाल्छन् । एउटाले एकातिर तान्छ अर्कोले अर्कोतिर । घण्टौँको यस खेलबहाडमा समेत त्यो वस्तु खाने सामग्री हो भन्ने ती जान्दैनन् । अनि, आमाचाहिँ आएर मुर्दा मुसामा घाउ बनाइदिन्छे । त्यसबाट रगत चाटेपछि त्यस नयाँ स्वादबाट बच्चाहरूमा हिंसाको प्रवृत्ति स्वत: ब्यूझेर आउँदो रहेछ, र अनि ती यो पनि जान्दछन्- मुसा खेलौनाको साथसाथै भोज्य पदार्थ पनि रहेछ, आपसमा स्पर्धा र ङारङुर सुरु हुन्छ तिनमा ।

सिकारको यो उनीहरूको प्रतम अभ्यासपछि, दोस्रो कदमका रूपमा आमाले जीवित सानो मुसा पकडेर ल्याउँछे । कोठामा छाडिदिन्छे तथा ढोकाको छेउमा आफू बसेर त्यसलाई भाग्ने बाटो पनि बन्द गरिदिन्छे । बच्चाहरू त्रसित मुसालाई देखेर सुरुमा अचम्भित हुन्छन्, अनि बिस्तारै त्यसलाई लखेट्न थाल्छन् । आमाचाहिँ बीचबीचमा एक-दुई झप्पु दिएर मुसाको शक्ति क्षीण बनाइदिन्छे । भाग्ने प्रयास सकभर मुसाले गर्छ, तर चारैतिरबाट निराशा मात्र पाउँछ उसले । अनि, हुँदाहुँदा निराशाको यस्तो चरम सीमामा पुग्छ ऊ हतासिएर त्यसै लम्पसार पर्छ । निर्यातसमक्ष असहाय भएर पल्टेको मुसाको त्यो अवस्था देख्दा मेरी सानी छोरीले भनेकी थिई, "बुबा, त्यो मुसालाई बगैँचामा लुकाइदिऊँ ।"

मैले भनेको थिएँ, "छोरी, यो प्रकृतिको नियम हो, बिरालाले मुसा खाएको स्वभावजन्य अधिकारलाई छेक्ने हाम्रो हक छैन । मुसा खाएन बने बिराला बाँच्छ कसरी ? फेरि, सधैँ हामी बिरालाको चियो पनि त गर्न सक्दैनौँ ।"

आज मलाई लाग्दैछ, त्यत्रो दार्शनिक व्याख्या छोरीले बुझी वा बुझिन, तथापि ऊ चुप लागी । हामी हाम्रो समक्ष संहारको प्रक्रिया हेर्दे गर्‍यौँ ।

बच्चाको विकाससाथसाथै मुसाको आकार पनि बढाउँदै लैजान्छे आमाचाहिँ । पछिपछि हुँदाहुँदा त पूरा विकसित मुसालाई जिउँदै अघाइने रूपमा ऊ ल्याउँछे र छाडिदिन्छे कोठामा । आफू उफ्रेर, जिस्केर, प्रहार गरेर ऊ सारा युद्धशास्त्र बच्चालाई सिकाउँछे ।

यी सारा क्रिया गरून्जेल ऊ माया गर्छे बच्चालाई । अनि बच्चा पारङ्गत के बन्छ एक पटक, उसको माया स्पर्धामा बदलिन्छ । पहिले आफू नखाएर पनि बच्चालाई खान दिने आमा अब खाने बेलामा ती बच्चाप्रति ङुर्रसमेत गर्ने हुन्छे ।

यो अवस्था मानौँ सक्षमताको बाधक हो । मानौँ अब जीवनयापनको समस्या सामूहिक नभएर पूरा रूपले व्यक्तिगत बन्न गएको छ । त्यस बेला लाग्छ, जनावरमा समेत आफ्नो व्यक्तित्वको विकासको आकाङ्क्षा हुँदो रहेछ वा भनौँ आफूसमान अरूलाई हुन नदिने स्वार्थको जुन भन्को छ, त्यो सभ्यताको देन मात्र होइन रहेछ ।

अर्को कुरा जो मैले थाहा पाएँ, त्यो थियो सहवासको आवश्यकताले प्राकृतिक शत्रुता पनि सेलाउँदो रहेछ । जस्तै चलन छ भन्ने, कुकुर-बिरालो झगडा । तथापि, साथसाथ बस्ने अवस्था पर्न जाँदा ती दुई जनावरमा एक-अर्काप्रति बेवास्ताको भावना बढ्दै जाँदो रहेछ । पछिपछि त ती छेउछेमै ढक्केर घाम ताप्नेसम्म पनि हुँदा रहेछन् ।

सारा कुरा विचार गर्दा, हाम्रा जीवनमा हाम्रै आँखासामु अनेकन् घटना घटिरहेका हुन्छन्, हामीले हेरि मात्र दिन सक्नुपर्छ, बुझि मात्र दिन सक्नुपर्छ । बाल्यावस्थामा जुन प्रबन्ध लेख्‍न सिकाइन्छ, जसको आरम्भ नै'बिरालो एउटा चारखुट्टे जनावर हो' वा 'गाई एउटा चारखुट्टे जनावर हो' - त्यो कति गलत तरिका रहेछ शिक्षापद्धतिको, त्यो आज अनुभव हुँदैछ । बिरालाले आफ्नो ज्ञान जुन प्रकारले प्रदर्शनपद्धतिद्वारा आफ्ना बच्चालाई सिकाउँछ, त्यो मानिसले भर्खरभर्खर शिक्षापद्धतिमा अपनाउने प्रयोग आरम्भ गर्न थालेको छ। त्यो पनि सभ्यताको विकास दस हजार वर्षपछि ।

आज अनुभव हुन्छ जीवन पुन: आरम्भ गर्न पाए अनेक कुरा जो जान्नुपर्ने थियो र जो छुटिरहेको छ वा ढिला रूपमा मात्र पछिपछि जानियो, तिनलाई आरम्भमै जान्न सकिने थियो । ती कुरा अघि बुझ्न पाएको भए तिनले जीवनको प्रवाहलाई सायद नयाँ मोड दिन्थे कि ? जेजति गल्ती गरियो, हुन सक्छ, त्यसको मात्रा सायद कम पो बन्थ्यो कि ? केही नभए पनि सामान्य जीवनमा दार्शनिक दृष्‍टिकोणको बढी प्रभाव हुने थियो ।

हाम्रो ज्ञान सी ए टी क्याट, क्याट माने बिरालाको सतहबाट निश्‍चय पनि माथि उठ्ने थियो ।

------------------------------------

:: साभार: शङ्कर लामिछानेका निबन्ध (२०५९), साझा प्रकाशन, ललितपुर ।
सम्पादक: शिव रेग्मी ।

*तस्बिर: डिजिटलजर्नल.कम

Thursday, April 2, 2009

हृदयमा तोपलाङ्

वाह तोपलाङ् !

तिम्रो चित्र मेरो हृदयमा स्थायी बनेको छ । तिम्रो सङ्घर्षको कथा र पीडाका घाउहरूले म तरल बनेको छु ।

कपासको फूलजस्तो
हुस्सुका गुच्छाहरू
तल खोँचबाट उठिरहेका
आकाश चुम्न

हरियालीको पृष्‍ठभूमिमा
फूल झैँ आकाङ्क्षाका गुच्छाहरू पनि
आकाश चुम्न उठेको
अनुभूत गर्छु
तोपलाङ्‌मा ।

एउटा संयोग मात्र थियो म तोपालाङ् पुग्नु । एउटा सुखद् तर आकस्मिक भविता । जीवनमा भइरहने सामान्य घटनाहरू झैँ एउटा छोटो यात्रा केही घन्टाको । कहिलेकाहीँ यस्ता सामान्य घटनाको ठूलै अर्थ र प्रभाव रहन्छ मान्छेको जीवनमा । जीवन भनेकै सूक्ष्म अवलोकन हो जसले नदेखिएका अनन्त भविताहरूको गहिराइ देख्छ र अर्थका सार्थक तहहरू अन्वेषण गर्छ । एउटै घटना र संयोजित दृश्यको पनि अनन्त अर्थहरू उत्पादन गर्ने सम्भावना रहन्छ, सौसरले भने झैँ । तर त्यहाँ जरुरत छ खोजीको, भोकको, प्रतिबद्धताको, सिर्जनशीलताको, जीवनदृष्टिको र सकारात्मकताको ।

तोपलाङ्‌मा मैले भैरवबहादुरलाई भेटेँ । उनी आफैँ तोपलाङ्का जीवित स्तम्भ बनेको पाएँ मैले । सत्तरी शिशिर पार गरेका उनको अनुहारका असङ्ख्य रेखाहरूमा सङ्घर्षको महाआख्यान पढ्न सकिन्छ । प्रत्येक रेखाहरू समयका क्रूर कोर्राबाट लेखिएका हुन् । अभाव, विपन्नता, अन्याय, अत्याचार, राज्यको पूर्वाग्रह र बेवास्ता आदिबाट संयुक्त रूपमा सिर्जित पीडाका उदास रङ्गहरूले कोरिएका हुन् उनका अनुहारका धर्साहरू । उनको दृश्य पिल्लिएको पाएँ मैले पीडाका तुलिकाघातले । उनको हृदयको पोखरी आफ्नै आँसुले भरिएको छ । उनको हृदय भन्छ :

तोपलाङ्‌मा पानी पर्दा
मेरो आँसु मिसिएर झर्छ

म सधैँ चिन्तित हुन्छु
मेरो आँसु मिश्रित झरीले
हरियाली डड्ने त हैन !

हो भैरवबहादुरको जीवन तोपलाङ्कै उन्नतिमा समर्पित छ र उनी चिन्तित बनेका छन् मातृभूमिको प्रगतिप्रति ।

जवानीमै सेनाको आकर्षक जागिर छोडेर उनी गाउँ फर्किएका हुन् र प्रयास गरेका हुन् गाउँको मुहार फेर्न । उनको जीवनमा आँसुको कथा मात्र छैन । उनको अनुहारमा पीडामा रेसा सँगसँगै उन्मुक्त हाँसो पनि छ । गाउँलेहरूलाई सङ्गठित गर्दै सामूहिक प्रयासद्वारा परिवर्तनका पक्षमा उभ्याउन सकेको सफलताको खुसी पनि निस्वार्थ र निस्कपट हाँसोमा प्रतिबिम्बित हुन्छ ।

यो देशमा सारा राजनीति सामान्य र गरीब जनताकै उन्मुक्तिको लागि गरिएको छ र शासन तिनकै रक्षा र समृद्धिको लागि लक्षित भनिएको छ इतिहासमा । इतिहासको पछिल्लो टुप्पोसम्म पनि यही नै दसी कायम छ । तर यी सबै दसीहरू झूट, पाखण्ड र आडम्बर भएका छन् भन्ने प्रमाणका लागि एक्लै तोपलाङ् काफी छ ।

राजधानीबाट केही किलोमिटर भित्रै पर्ने धादिङको यो गाउँ वास्तवमै धेरै अर्थमा नेपालका ठगिएका गाउँहरूको प्रतिनिधि हो भन्ने लाग्छ मलाई । न यहाँ 'एउटा गाई र घरको चित्र' पुग्यो, न 'गाउँ फर्क राष्ट्रिय अभियान', न पुग्यो 'एशियाली मापदण्डको वायु, न त 'आफ्नो गाउँ आफैँ बनाऊँ'को राष्ट्रिय अभियानको प्रभाव । यी नाराहरू केवल शत्तासीनहरूको दीर्घायुका लागि सिर्जना गरिएका प्रतिबद्धताविहीन नाराका नयाँ अवतारहरू मात्र भएका छन् तोपलाङ्का लागि ।

जनताप्रति गरिएको धोकाहरूको शृङ्खला बढ्दै जाँदा विद्रोहको आगो पनि दन्किन्छ नै । तोपलाङ्‌माथिको राज्यको ज्यादती सम्झँदा मलाई मेरै गाउँको सम्झना भयो । झापाको भौतिकरूपमा अविकसित गाउँबाट झापा विद्रोहको आगो हुर्केको थियो । राज्य र राज्यहरूद्वारा पोषित सामन्तहरूको विरुद्धमा वि.सं. २०२० को दशकको अन्त्यतिर । चिनियाँ सांस्कृतिक क्रान्तिको प्रभावमा भारतको पश्‍चिम बङ्गाल राज्यको नक्सलवादीबाट चारु मजुमदारको नेतृत्वमा उठेको सशस्त्र विद्रोहको पहिरो असर पर्‍यो त्यहाँ । वि.सं. २०२० को दशकको अन्त्यतिर झापा विद्रोहले चरम रूप लिएको थियो । यस्तो सशस्त्र विद्रोहको चरमोत्कर्षमा युवाहरूले सामन्तको टाउको गिड्नेसम्म अभियान चलाएका थिए । तर तोपलाङ् संयमित छ, उसको विद्रोहले हतियार रोजेन । विद्रोहबाट उत्पन्न हुन सक्ने खतरनाक परिणतिबाट जोगिँदै आफ्ना चेतनाका आवाजलाई आफ्नै ढङ्गले बुलन्द गरिरह्यो । यद्यपि ती आवाजहरू राज्यका अगाडि साउतीभन्दा बढी केही हुन कसेका छैनन् -अहिलेसम्म ।

भैरवबहादुरको उन्मुक्त पारदर्शी हाँसोमा उनको सफलताको कथा पनि प्रतिबिम्बित हुन्छ । उनको सबैभन्दा ठूलो विश्‍वास छ, गाउँलेको एकता र तोपलाङ्बासीको सहकार्यमा । उनको परिवर्तनको लडाइँ पनि यही बलमा टिकेको छ । उनीहरूले लडेर स्कुल ल्याए राज्यबाट । तर शिक्षक बेपत्ता छन् अहिलेसम्म । त्यहाँका बालबालिका चार घन्टा एकतर्फी हिँडेर प्राथमिक शिक्षा लिन जान बाध्य छन् । राज्यको ध्यान तान्न निरन्तर सदरमुकाम धाइरहेछन् गुनासोका पुलिन्दा बोकेर उनीहरू ।

राजधानीको नाकैमा पनि देखेन राज्यले तोपलाङ्लाई । बाटोका लागि बजेट नदिएर निषेध गर्न खोज्यो । तर गाउँले मिलेर खने बाटो र जोडे नजिकको केन्द्रसँग । अवसरको राजमार्ग खोज्दै । राजधानी उज्यालोमा डिस्को नाच्छ । सँगै तोपलाङ् अन्धकारमा उच्छ्‌वास छोड्न बाध्य छ । अन्धकारकै बीचबाट पनि चहकिलो उज्यालोको खोजी गर्न ऊ प्रयत्‍नशील छ ।

सूचनाको हकको आधारभूत अधिकारको नाङ्लो ठटाउँछ राज्य राजधानीबाट । सँगै तोपलाङ् सञ्चारसँग विच्छेदित भई कुहिरामा हराइरहेछ ।

राज्य गाउँको आवाज नसुन्ने बहिरो भएको छ, समस्या नदेख्ने अन्धो, पीडा अनुभूत गर्न नसक्ने निर्दयी र ध्यान दिन नसक्ने अविवेकी बनेको छ । राज्य तोपलाङ्का लागि चेतनाहीन मुर्कुट्टा बनेको छ । लज्जास्पद कुरा के छ भने राजधानीबाट आफूलाई जनमुखी भनी सरकार ढ्वाङ् फुकिरहेछ । सुन्दर प्रकृतिको अनुपम सौन्दर्यमा गर्व गर्छ तोपलाङ् । हरियालीको बर्को ओढेर मुसुक्क मुस्कुरायो हामीलाई देखेर । यही हरियालीलाई आफ्नो र सन्ततिका सम्पदा ठानेका छन् यहाँका मानिसहरूले । डेढ दशकअघि सुख्खा डाँडा बन्न लागेको वनको संरक्षणका लागि सङ्गठित प्रयास गरेर फर्काउन सके हरियाली । प्रत्येक बच्चाको आँखामा चम्किने हरियालीको प्रतिबिम्ब वास्तवमा जीवनको प्रतिबिम्ब हो । तोपलाङ्ले जीवनको प्रतिरूप जोगाएको छ ।

तोपलाङ् आत्मनिर्भर बन्न प्रयत्‍नरत छ । भुटेका मकै र साँधेको गुन्द्रुकमा रमाएको छ । अहिलेसम्म राज्यले चामलको लाइनमा उभ्याएको कर्णालीको जस्तो नियति भोग्नबाट जोगिएको छ ऊ । जे फल्छ त्यो नै उसको हो । आफ्नै आधारमा उभिएर तोपलाङ् बाँचेको छ ।

भैरवबहादुरको आकाङ्क्षा, प्रतिबद्धता र सङ्घर्षलाई मनोजको नातिपुस्ताले निरन्तरता दिइरहेको छ । अझ प्रगाढ सपनाको साथ । प्रयासहरूको निरन्तरता नै उपलब्धिमा पुग्ने सिँढीहरू हुन् जीवनका । सिङ्गै गाउँ सङ्गठित रूपमा यिनै प्रयासका सिँढीहरू उक्लिरहेछ ।

राज्यको खुनी पञ्जाबाट पनि आफूलाई बचाउने प्रयास गरेको छ तोपलाङ्ले आफूलाई । उत्पादकत्व बढाउने र उन्नत प्रविधिका नाममा जहाँ जहाँ राज्य पस्यो समस्या सँगै थोपरेको छ । तोपलाङ प्राकृतिक छ, जैविक वा अर्ग्यानिक छ । राज्यको काँध चढेर आयातीत रसायन छिरेको छैन त्यहाँ अहिलेसम्म । घातक रसायन रोक्न प्रयत्‍नशील छ तोपलाङ् ।

शताब्दीऔँ लामो इतिहास भएको समृद्ध तामाङ संस्कृति तोपलाङ्को मौलिक परिचय बनेको छ । आफ्ना भाषा र संस्कृतिप्रति गर्व गर्दै यसको संवर्द्धनमा भिडेको छ तोपलाङ् । तोपलाङ् बहुलता स्विकार्ने उदारता देखाउँछ तर आफ्नो परिचय आफ्नै संस्कृतिबाट अघि सार्छ । इतिहासको गर्वमा मात्र होइन, तोपलाङ् वर्तमानमा नै बाँचेको छ । नजिकै चन्द्रागिरी पुगेर जीवन र प्रकृतिका शास्वत कविता रचना गरेका महाकवि देवकोटाले पनि काव्य लेख्दा सायद तोपलाङ्को प्रभाव पनि लिएको हुनुपर्छ ।

तोपलाङ्का प्रौढ महिला पनि अक्षर पढ्छन् । अक्षरभित्र अन्तर्निहित जीवन र सभ्यताका आयामहरूको खोजी यहाँका महिलाले गरेका छन् । इतिहासमा सधैँ ठगिँदाको पीडाका वर्णमाला र उन्मुक्तिको सार्थक वाक्य पूरा गर्न सङ्घर्ष गरिरहेछन् उनीहरू । हँसिया, कुटो र लिपपोतका साथमा उज्यालाका गीतहरू पनि गाइरहेछन् उनीहरू ।

हामी, तोपलाङ्का मित्रहरू छत्र क्षितिज र ऋषि बस्ताकोटीको प्रयासमा यहाँ आइपुगेका छौँ - गणतन्त्र घोषणा कार्यान्वयन भएको अर्को हप्‍ता । रगतले लेखिएको आँसुले लेखिएको, सिन्दूर र पीडाका मसीले लेखिएको गणतान्त्रिक नेपालमा तोपलाङ्को चित्र कसरी उतारिनेछ ? के तोपलाङ्जस्ता हजारौँ गाउँहरू उक्लिनेछन् राष्‍ट्रिय एजेण्डाका केन्द्रमा ? नयाँ नेपालको नयाँ अनुहारको चहक विपन्न गाउँबाट उदाउने छ ?
तोपलाङ्को छोटो यात्रामा यिनै यक्ष प्रश्‍न मेरो मनमा चट्याङ् जसरी गाडिएका छन् ।

- tankaupreti@hotmail.com