Saturday, June 25, 2016

लघु संस्मरण, लघु लिपिमा शङ्कर दाइ

भूतपूर्व लेखनकला, वैचारिक प्रखरता र विभिन्नताका धनी, कथावस्तु विनाका कथाका पनि जन्मदाता । नेपालीमा हाइकुका प्रथम प्रयोक्तासमेत रहेका शङ्करदाइ 'इम्प्रेसनिज्म्' जस्ता नौला साहित्यिक धाराहरूको स्वाद हामीलाई चखाउने प्रथम व्यक्ति पनि थिए । कुरैकुरामा एकदिन मैले उनलाई सोधेको थिएँ, "दाइका प्रेरक साहित्यिक गुरुहरू लरेन्स डुरेल र सारोयानमध्ये कुन चाहिँ हुन् ?"

"मलाई त्यस्तो दम्भ गर्न मन त लाग्दैन, तर कहिलेकाहीँ म स्वयम् शङ्कर सारोयान र लरेन्स लामिछानेमध्ये कुन चाहिँ बढी हुँ, ठम्याउनै सक्दिनँ !"

यो उत्तर पनि मलाई अति 'एब्स्ट्र्याक्ट' (Abstract) जस्तो नै लाग्यो । अर्थात्, मैले केही बुझेँ पनि, बुझिनँ पनि । उनका निबन्धहरूले अत्यन्त प्रभावित भएर मैले उनलाई 'निबन्ध शिरोमणि' मानेको पनि धेरै भयो ।

तर अचम्म, 'दि काठमान्डु पोष्‍ट' अङ्ग्रेजी दैनिकमा सन् १९९७ देखि पछिका दुई वर्षमा हरेक साता छापिने मेरा करिब ३०० जति स्मृतिप्रधान रचनाहरूमध्ये एउटैमा पनि शङ्कर कसरी परेनन् होला, के भएर छुटे होला, म स्वयम् पनि भन्न सक्दिनँ । जब कि तिनमा कुने बेला यस्ता व्यक्ति पनि परे, जसलाई आजीवन समेत भेटेको थिइनँ- जस्ते निराद सिंह चौधरी ।

Friday, June 6, 2014

महामुद्रा

जभन्दा २००० वर्षअगाडि अनकन्टार, हिमालयको एक कन्दरामा भिक्षु बसेका छन्। उनका सामु दश–पन्ध्र जना चेला–भिक्षुहरु दत्तचित्त भएर गुरुले बताएको धर्म उपदेश ग्रहण गरिरहेछन्। पीतवर्ण लुगा लगाएका भिक्षुहरु, हिमालयबाट बिदा हुन लागेको सुनौला प्रकाशमा अरु देदिप्यमान बनिरहेछन्। उनका अनुहारमा कौतुहल, जिज्ञासा र कथाको अनौठो प्रकृतिबाट अल्मलिएकोपन पनि प्रष्ट थाहा हुन्छ। 
 
ताडपत्रमा लेखिएको त्यो तान्त्रिक कथा सन्ध्या–भाषामा लेखिएको थियो। अनङ्गवज्रद्वारा रचित ‘प्रज्ञोप’यबिनिश्रयसिद्धि’को त्यस अंशमा अनौठोसँग यी वाक्य परेका थिए– ‘महामुद्राको अनुभव ग्रहण गर्नलाई प्रत्येक साधकले सर्वनारीको भोग गर्नै पर्दछ।’
 
भिक्षुहरुको अनुहारमा बढी कौतुहल र बढी जिज्ञासा देखिन्छ। कसै–कसैको अनुहारमा वितृष्णा पनि झल्कियो।

Friday, July 26, 2013

३७ वर्षपछि – शंकरसँग अम्बर

॥ रामशरण बजगाईं ॥
॥ प्रतिमा सिलवाल ॥














पिच भत्केर सडकमा उडेको धुलोले वातावरण खैरो छ । शंकर लामिछानेबारे अम्बर गुरुङसँग संवाद गर्न हामी एकदिन पुग्छौं नेपाल संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठानको अफिस छाउनीमा । टेबिल पछाडि कार्यालय शैलीमा कुर्सीमा बसेका छन् अम्बर ।

हामी प्रवेश गर्छौं, हेर्छौं– टाउकोबीच झन्डै चिम्म हुँदै गएका उनका आँखा, स्वयम्भूका झैं सम्यक् छन् । हामी चाहन्छौँ– नेपाली साहित्यको एक स्वर्ण युगमा शंकरसँगै ज्ञानको आँच तापेका उनका आँखाबाट त्यसबेलाको समय कोट्याएर निहारौं र समयको धुलोले छोपेर विस्मृत भएका चरित्र र चित्रहरू ब्युँताइदिऊँ ।

Wednesday, February 27, 2013

अश्रुमिश्रित नयन र डुबिसकेको घाम

॥ गोकुल भण्डारी
ओ टुरिस्ट ! तिमी साँच्चै फर्केर आयौ हगि ? तिमीले इमेलमा आफ्नो आइटिनरेरि पठाउँदासम्म पनि मलाई विश्वास लागेको थिएन । झन्डै चालीस वर्ष अगाडि तिमीले भावुक भएर लेखेको चिठीको जवाफ समेत मैले फर्काइनँ, रिसाएर हैन भन्ने त तिमीले बुझिसकेकै थियौ । वास्तवमा तिम्रो चिठी एउटा कविता थियो, कवितामा सवाल-जवाफ हुदैन, त्यसैले चुपचाप पढ़िरहें - तिमीलाई आश्चर्य लाग्ला त्यो चिठी अझै पनि म सँग सुरक्षित छ – एउटा ऐतिहासिक दस्तावेज जस्तो । बेलाबेलामा मन विरक्तिएको बेला त्यही चिठी बोकेर म एक्लै स्वयम्भू र चोभार जान्छु र तिमीले देखेको काठमांडू हेर्न खोज्छु । खैर, म के देख्छु त्यो त तिमीले पनि छिटै थाहा पाइहाल्छौ नि तिम्रो २/४ दिनको बसाइमा ।

Wednesday, April 11, 2012

शङ्कर लामिछानेको सम्झना

॥ सुरेश प्राञ्जली
आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शङ्कर लामिछानेले नेपाली साहित्यको जगमा असंख्य इँटा थपेका छन् । विशेषगरी नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफैंले खने । नेपाली 'नन फिक्सन' को फाँटलाई उचाइमा पुर्‍याउने काममा उनको भूमिका अत्यन्तै उल्लेखनीय छ ।
नेपाली निबन्धमा 'चेतनप्रवाह शैली' (स्ट्रिम अफ कन्सिअसनेस) लाई स्थापित गराउने लेखक हुन् उनी । पश्चिमा साहित्यका आधुनिक लेखक जेम्स जोयसले महाकाव्य 'युलिसिस' मार्फत यो शैलीलाई जसरी स्थापित गर्ने काम गरे त्यसरी नै लामिछानेले 'एब्स्ट्रयाक्ट चिन्तन : प्याज' मार्फत यो 'चेतनप्रवाह शैली' लाई अंकुराउने कार्य गरे नेपाली साहित्यमा । जीवन आफ्ना लागि भन्दा पनि अरूका लागि आदर्श भएर बाँच्नुपर्दाको पीडाले गर्दा व्यक्तिगत जीवन स्वेच्छाले बाँच्न नपाउनु नै आजको मानवको गुनासो बनेको छ । यद्यपि त्यो गुनासोलाई निबन्धशिल्पी शङ्कर लामिछानेले न्यूनीकरण गर्ने प्रयास गरेका छन् । हामीले भोगेको जीवन केवल अनुभूति मात्र हो ।