Sunday, January 25, 2009

एकहजार वर्षपछि जन्मिन चाहने लेखक

> सुरेश 'प्राञ्जली' सापकोटा

- 'हाँस्न जान्नु पनि ठूलो कला हो ! कुन मानिससँग कसरी हाँस्नु पर्छ त्यो जानिएन भने रोएको बराबर दुःख पाइन्छ ।' (एब्स्ट्रयाक्ट चिन्तनः प्याजबाट)- 'बाँच्नु जस्तो ठूलो कुरा जीवनमा अरु केही रहेनछ । मैले कसैलाई मारिनँ, त्यो मेरो भाग्य हो । म सायद साहित्यिक क्षेत्रबाट सन्यास लिदैछु र अब म लेख्ने पनि छैन होला ।' (कुमुदिनीलाई लेखेको पत्रबाट)
- 'मैले आफूलाई कहिल्यै लेखक ठानिनँ र परिस्थितिले मलाई लेखक बनाइदियो । लेखक बन्ने साहस मैले कहिल्यै गर्न सकिनँ । कारण, लेखक मेरो नजरमा देवता हो, देवकोटा हो ।' (गौँथलीको गुँडः भूमिकाबाट)

आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शङ्कर लामिछानेले नेपाली साहित्यको जगमा असङ्ख्य इँटा थपेका छन् । विशेषगरी, नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफैँले खने । नेपाली 'नन फिक्सन'को फाँटलाई उँचाइमा पुर्‍याउने काममा उनको भूमिका अत्यन्तै उल्लेखनीय छ । नेपाली निबन्धमा 'चेतनप्रवाह शैली' (स्ट्रीम अफ कन्सिअसनेस)लाई स्थापित गराउने लेखक हुन् उनी । पश्‍चिमा साहित्यका आधुनिक लेखक जेम्स जोयसले महाकाव्य 'यूलिसिस' (सन् १९२२) मार्फत यो शैलीलाई जसरी स्थापित गर्ने काम गरे त्यसरी नै लामिछानेले 'एब्स्ट्रयाक्ट चिन्तनः प्याज' (वि.सं. २०२४) मार्फत यो 'चेतनप्रवाह शैली'लाई अङ्कुराउने कार्य गरे नेपाली साहित्यमा । त्यसो त उनका अधिकांश लेखनमा अमूर्त क्रान्तिको 'फ्लेभर' पाइन्छ । जीवन आफ्नो लागि भन्दा पनि अरुको लागि आदर्श भएर बाँच्नुपर्दाको पीडाले गर्दा व्यक्तिगत जीवन स्वेच्छाले बाँच्न नपाउनु नै आजको मानवको गुनासो बनेको छ । यद्यपि त्यो गुनासोलाई निबन्धशिल्पी शङ्कर लामिछानेले न्यूनिकरण गर्ने प्रयास गरेका छन् ।

Thursday, January 22, 2009

हाइकू

फ्नो रचनात्मक कालखण्डमा विश्‍वसाहित्यको अध्ययनमा एकसुरले लागेका शङ्कर लामिछानेले त्यसको लाभ नेपाली साहित्य भण्डारलाई परिपुष्ट पार्नमा पनि खर्चिएका छन् । जापानी साहित्यबाट भित्र्याइएको हाइकू शैलीको कविता यस्तै विशिष्‍ट खजाना हो । विभिन्न अध्ययन र सैद्धान्तिक अनुसन्धानमा आधारित भएर हेर्दा, तीनपङ्क्तिय संरचनामा क्रमश: ५/७/५ को अक्षरसंरचना मात्र हाइकूको पूर्णता होइन । प्राकृतिक चोखा विम्बविधान र प्रतीकात्मक झट्कामै हाइकूले अभिव्यक्तिको असली सुर पाउँछ । त्यस्तो लघु बनोटको प्रभावोत्पादक साहित्यलाई नेपाली साहित्यमा परिचय गराएको श्रेय लामिछानेलाई प्राप्‍त छ । 'जापानी हाइकू कविता' शीर्षकमा उनको समीक्षात्मक लेख (वि सं २०२७ असोज, पुर्णाङ्क ११३) आगामी क्रममा विज्ञ पाठकसमक्ष अर्पण गर्ने नै छौँ ।

यसपाली शङ्करको आफ्नै हाइकू रचना यहाँ प्रस्तुत छ । साहित्यकार पारिजातको मदन पुरस्कारविजेता कृति 'शिरीषको फूल' (२०२२) मा अभिलेखित शिरीष फूलबारेकै हाइकू (तल दोस्रो क्रममा) कसले लेखेको भन्नेमा त्यसो त विद्वान्‌हरूबीच प्रशस्त मतभेद रहेको पाइन्छ । बेनामी रूपमा पारिजातको कृतिमा पूरै एक पृष्‍ठ ओगटेर कसको हाइकू राखियो, आलोचकहरूले खुट्याउन नसकेको विषय हो । पारिजातको उपन्यास भएकोले नामबेगरको उक्त रचना पारिजातकै हो भन्नेहरू पनि छन् । अरू कसैको रचना भएको भए त्यसमा कुनै नाम, सङ्केत रहेको हुनुपर्ने उनीहरूको तर्क छ ।

तर उपन्यासमा भूमिका लेखक शङ्कर लामिछाने भएको र विश्‍वसाहित्यको एक हाँगामा रहेको हाइकू कविताको अध्ययन-मनन गर्नमा त्यो समयमा उनी नै लागेकाले उक्त पङ्क्तिहरू शङ्करकै हुन् भन्नेमा अधिकांश अन्वेषकहरूको ठम्याइ पाइन्छ । अहिलेसम्म यसबाहेकको स्पस्ट र बलियो प्रमाण नपाएकाले हामीले पनि यसैलाई सही मान्दै शङ्करको नाममा उक्त हाइकूलाई समेटेर ल्याएका छौँ । पहिलो हाइकू भने वि सं २०१९ सालको रूप-रेखा पत्रिकाबाट लिइएको हो ।


१.
माकुरा जाल
झोल्लिएको ओसले
तन्किँदै गयो ।

२.
शिरीष फूल
भ्रमर चुम्बनमै
ओइली झर्छ ।
------------------------------------------------------------------------------------

Monday, January 19, 2009

नयाँघरेलाई निबन्ध पुरस्कार

प्रत्येक दुई वर्षमा प्रदान गरिने शङकर लामिछाने युवा निबन्ध पुरस्कार यस वर्ष स्रष्‍टा युवराज नयाँघरे (२०२६, इलाम) ले पाएका छन् । दुई दशकदेखि नेपाली साहित्यमा साधनारत नयाँघरे विशेषतः निबन्ध विधामा क्रियाशील छन् ।

नेपाली निबन्ध विधालाई विशिष्ट दर्जा दिलाउनमा अहम् भूमिका खेल्ने दिवङ्गत साहित्यकार शङ्कर लामिछाने (वि. सं. १९८४-२०३२) को नाममा स्थापित शङ्कर लामिछाने निबन्ध समाजद्वारा प्रदान गरिने पुरस्कार १५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । पुरस्कार लामिछानेको स्मृति दिवसको अवसर पारेर माघ १० गते प्रदान गरिन्छ । पुरस्कृत नयाँघरेका मुहूर्तको वरिपरि, मखुण्डोको मन , काठमाडौँलाई कोर्रा, नीलडाम, अनाम पहाडमा फनफनी लगायतका निबन्धात्मक तथा यात्रा संस्मरणात्मक कृतिहरू प्रकाशित छन् ।

निबन्धमा वर्णनात्मक-विवरणात्मक शैलीका विरोधी नयाँघरे अनुभूतिपरक स्थितिचित्रणका पक्षपाती मानिन्छन् । यसअघि उनी राष्ट्रिय प्रतिभा पुरस्कार, उत्तम-शान्ति पुरस्कार, अन्तर्राष्ट्रिय नेपाली साहित्य उत्कृष्ट पुस्तक पुरस्कार ('अनाम पहाडमा फनफनी'का लागि) लगायतबाट विभूषित भइसकेका छन् ।

विशिष्‍ट सर्जक शङ्करसँगको यस संयोगमा निबन्धकार नयाँघरेलाई शङ्कर स्मृति घरको पनि हार्दिक बधाई ! साथै व्यक्तिगत जीवनयात्रा सुखमय रही निबन्ध र सिङ्गो साहित्यमा उनले सोचे-आँटेको नयाँ घर बनिरहोस्, मङ्गल कामना !
------------------------------------------------------------------------------------

Sunday, January 11, 2009

प्याज: भूमिका-अभूमिका

वि. सं. २०२४ सालको मदन पुरस्कारविजेता शङ्करको कृति 'एब्स्ट्रयाक्ट चिन्तन प्याज' बाट शङ्करद्वारा अभिव्यक्त दुई भूमिकापरक टिप्पणीलाई यसपाली समेटेका छौँ । पहिलो पटक २०२४ सालमा प्रकाशित 'प्याज' निबन्धमालालाई ३३ वर्षछि शङ्करका शुभेच्छुक, हितैषी, समकालीनहरू एवम् परिवारको सामुहिक चाख र लगनबाट २०५७ सालमा दोस्रो संस्करणको रूपमा प्रकाशन गरियो । भावक अभियान नेपालको सक्रियतामा थालिएको प्रकाशन-यात्रामा शङ्करका तीन निबन्धात्मक कृतिहरू ('प्याज'सँगै 'गोधूलि संसार', 'विम्ब प्रतिविम्ब') ले पुनःजीवन मात्र पाएनन्, नेपाली साहित्यिक र पाठकीय बजारमा शङ्करको चर्चा र बहस वर्षौँपछि एकफेरा फेरि हृवात्तै चुलियो । पछिल्लो समयमा साझा प्रकाशनले शङ्करका दुई कृति प्याजगोधूलि संसारको प्रकाशन-अभिभारा लिँदै उक्त किताबहरू बजारमा ल्याएको छ ।

'प्याज' कृतिकै लागि शङ्करले २०२४ मा लेखेको भूमिकासँगै २०३२ मा अभूमिका शीर्षक दिएर कोरिएको जीवनबारेको विश्‍लेषणात्मक दार्शनिक पङ्क्तिहरू यहाँ भावक अभियानले २०५७ सालमा प्रकाशन गरेको (प्याज, दोस्रो संस्करण) बाट साभार गरेका छौँ । उक्त दोस्रो अभूमिका पढेर जीवनको आखिरी घडीमा शङ्कर जीवनप्रति कति रागी अथवा वैरागी रहेछन्, प्रबुद्ध पाठक समुदायले हिसाब निकाल्ने नै छन् ।

--------------------------------------

भूमिका

स सङ्कलनमा परेका रचनाहरूको सिर्जनकाल मेरो जीवनको साह्रै नै अव्यवस्थित काल थियो । व्यवसायको असामयिक र अचिन्तनीय परिवर्तन, रूप लिन खोजिरहेका जीवनका अर्जित दर्शनको आकस्मिक विष्फोट तथा उमेरको प्रौढता - यी सबले एकै पटक मउपर प्रहार गरे । ढाड भाँच्न एउटा मात्रै परिस्थिति पनि पर्याप्‍त हुन्छ एक व्यक्तिलाई - म त झन् तीन बल्ड्याङ खान पुगेँ । चित्ता परेर भुइँमा, मैले उठ्न खोजेको प्रयासमा लर्खरिँदै लेखिएका यी रचनाले मलाई अर्कै गति दिए - शैलीमा, अभिव्यक्तिमा तथा आत्मविश्‍वासमा । एक प्रकारले, नयाँ उखान भन्ने हो भने, यी मेरा कालरात्रिका उज्ज्वल तरिका हुन् ।

यिनै ताक मैले अध्ययन पनि गरेँ विभिन्न विषयका । वेद, दर्शन, इतिहास, साहित्य, कामकला - जेजे हात पर्‍यो, जेजे सहजसँग उपलब्ध भयो । केही बुझेँ, धेरै बुझिनँ होला । तर तिनले सामुहिक रूपमा एक कुराको बोध गराए मलाई । त्यो के भने, नेपाली साहित्यका लागि प्रशस्त सम्भावना अझै उपलब्ध छन् । प्रशस्त विषय छन् जो छाइएका छैनन् र पर्खिरहेछन् कलमको कोराइलाई । र भाषा हाम्रो यत्ति सुन्दर र मलिलो र मीठो छ; यसबाट के उपलब्धि गर्न सकिन्न र ?

भाषाको कुरा उठ्यो, तर म भाषाविद् होइन । मैले आफैँ पनि अङ्ग्रेजी, उर्दू, संस्कृतलाई प्रशस्त प्रयोग गरिदिएको छु । (किताबको नाम नै एब्स्ट्रयाक्ट छ !) यसको उल्था अनेक किसिमबाट गर्न सकिन्छ, तर पनि मूल शब्दको जुन मात्रिक झङ्कार छ त्यसको आत्माको लागि मैले शब्दको हत्या गरिनँ । अमूर्तका रूप अमूर्त नै रहोस् !

मेरा एक-दुई शुभचिन्तक छन् । उनको गुनासो हुन्छ प्रायशः - मेरा रचनामा नेपाली माटोको गन्ध आउँदैन भन्ने । कुरा एक प्रकारले ठीक पनि हो । हाम्रो शिक्षाको माध्यम नै अहिलेसम्म व्यवस्थित भइसकेको छैन । हामीलाई आफ्नो देशको इतिहास, संस्कृति, ज्ञान र शिक्षा त विदेशी भाषाको माध्यमद्वारा मात्र उपलब्ध छ (भनौँ, हाम्रो अनुहार हेर्न बेल्जियममा बनेको ऐना हेर्नुपर्छ !) । त, यस परिस्थितिमा कुनै एक प्रबुद्ध लेखक कसरी विश्‍व-साहित्यबाट अप्रभावित रहन सक्छ - फेरि आजको संसार विज्ञानबाट खुम्चिन गएको छ र हामी स्वयम् आफ्नै प्रयासले पनि अरूको नगीच हुने कोशिसमा छौँ । नेपालको राणाकालीन अवस्थाझैँ विश्‍वबाट एक्लिएर बस्न सक्दैन, न विश्‍वको अभिव्यक्तिबाट अलग्गिन । यस सन्दर्भमा, मेरा कृतिहरूले यदि राष्ट्रिय सिमाना नाघेका छन् भने, यसमा अपसोच मनाउने कुनै कुरा छैन ! हुन सक्ला, कुनै-कुनै लेखमा म विदेशी झल्किउँला, तर मेरा सभ्य समालोचकले मलाई त्यस्तो प्रवासी ठाने हुन्छ जो विदेशमा पनि नेपाली संस्कृतिको झन्डा बोकेर हिँडेको छ, लुगा उसले सूट नै लाएको किन नहोवोस् । म कुन कालमा जन्मेँ, कुन कालमा हुर्केँ र कुन कालमा प्रयोग गर्दैछु त्यो बिर्सनु हुन्न सच्चा साहित्यिकले ।

मलाई लाग्दछ, म सामयिक छैन ! सामयिक हुनु असाहित्यिकपन अपनाउनु हो । आजको नेपालमा मान्छे सामयिक हुन सक्दैन । १०० वर्षको प्रगति १० वर्षमा परिपूर्ण गर्ने सङ्कल्पमा हामी छौँ । नेपालको यही जागरण अवस्थामा, यस 'गाउँ फर्क' आन्दोलनको सन्दर्भमा, मलाई भन्न मन लाग्छ, हामीले विगत, गत र आगतको एउटा छिटो प्रक्रिया सहने दुस्साहस गरेका छौँ । यस आन्दोलनको भविष्यमा नै हाम्रो भविष्य निर्भर छ !

यसभन्दा बढी केही भन्नु छैन ।
भूमिका सदा भूमिका नै रहन्छ । वास्तविकता सदा समयको हातमा । समयलाई रिस उमार्ने दुस्साहस मेरो छैन ।
त्यस कारण, म यो पुस्तक समयलाई नै समर्पित गर्छु ।

शङ्कर लामिछाने

मङ्सिर १, २०२४

--------------------------------------
अभूमिका

ज आएर जीवनको लेखाजोखा गर्न मन लागिरहेछ । जत्ति-जत्ति बाँचिदै जाइन्छ, उत्ति-उत्ति यो जटिल हुँदै जाँदो रहेछ । नलेखिएको स्लेट-पाटी बोकेर मानौँ हामी जन्मिन्छौँ र अक्षर कोर्ने मेट्ने, फेरि कोर्ने निरन्तर प्रयासमा त्यो स्लेटको स्वच्छता दिनपरदिन अस्पष्ट हुँदै जान्छ । र अक्षर लेख्‍न सक्ने र अरूले पढ्न सक्ने अभ्यास आफ्नो हुँदा नहुँदा स्लेट त यत्ति धमिलिँदो रहेछ- त्यसमा के लेखियो त्यही नै हामी स्वयम् बुझ्न नसक्ने भइसक्ने बनिसक्दा रहेछौँ ।

सबभन्दा प्रथम प्रश्‍न छ, जीवनको लेखाजोखा गर्ने नै किन ? जन्मिनु र मर्नु नै यदि यसको मापदण्ड हो भने, के कति इन्ची वा सेन्टिमिटरमा के कति उपलब्धि भयो त्यसको निरुपण गरेर फाइदा नै के छ र ? आत्मसन्तुष्टिको नै यसको परिपूर्ति हो भने त्यो प्राप्‍ति भएपछिका अन्य थप क्षण व्यर्थमा बाँचिएको रहेन ? अप्राप्‍ति र त्यसको प्राप्‍तिको प्रयास नै यदि जीवनको मुख्य ध्येय हो भने जीवन के त एक सनातन र चिरन्तन यातना मात्र हो ? र अप्राप्‍ति केको, र प्राप्‍ति केको ? धनको, धर्मको, इज्जतको ? यी तीनवटै वस्तुको सूक्ष्म विश्लेषण गरियो भने अन्तयमा केही अर्थ प्राप्त हुँदैन !

सायद जीवन साधारणपनाको पयार्यवाची हो । धन प्राप्‍ति गर्ने ऐतिहासिक अनेक विभूतिहरू आज रहेनन्- यिनका सन्तान साधारण व्यक्तिमै परिणत भएका छन् । धर्मकै कुरा गर्ने हो भने; राम, कृष्ण, बुद्ध, क्राइष्ट, मुहम्मद इत्यादि इत्यदिका सन्तान रहेनन्- धर्म उनले कल्पना गरेको रूपबाट निकै पृथक् भएर आज साधारणीकरण अपनाइसकेको छ । इज्जत ? पनि त त्यही प्रक्रियामा परेर साधारणपनमा परिणत भइसकेको छ !?

लाग्दछ, यो कुनै लेख होइन, कुनै कथा होइन, कुनै उपन्यास होइन, न कुनै आत्मकथा नै हो ! सबै अभिव्यक्तिका शैली हुन्- भन्न चाहेका कुराहरूको भनाइको छनोट ! यसो हेरेमा भन्नु बाँकी नै छ के ? कस-कसले कत्ति राम्ररी भनेर गएनन् र ? र त्यो भनाइ टिक्यो के ? सबै समयको गर्भमा साधारणपनामा परिणत भए- मैले यहाँ भन्न चाहेको, वा भन्न नचाहेको कुरा पनि कालान्तरमा साधारणमय भै त्यही पनामा बदलिनेछ ।
त्यस कारण म यसलाई अभनाइको अभूमिका भनूँ ?

शङ्कर लामिछाने

पाटन
मङ्सिर ७, २०३२
------------------------------------------------------------------------------------

Wednesday, January 7, 2009

पढ्नु : प्रेम

प्रेमसँग हाड नाता भएकाहरूले बुझ्छन्- यसभित्रको लगाव कति दुःखदायी हुन्छ, तर मीठो तड्पन ! भोगेपछि यस्तो लाग्दो हो, यो प्रेम भन्ने कुरा त नभइदिएकै भए पनि हुने ! तर के यसबिना संसारको सहज रफ्तार सम्भव छ ?

धेरैअघि सोचेथेँ प्रेमबारे केही त लेख्‍नेछु । तर यसबेलासम्म त मैले त्यही सोचाइसँग नै प्रेम गरेर बसिरहेको रहेछु । फेरि यो बसिरहनु, बस्न सक्नु पनि त एउटा प्रेम नै हो । कति-कति प्रेमहरू...।
आरम्भमा प्रेमका बारेमा केही विद्वान्‌द्वारा अभिव्यक्त पङ्क्तिहरू :

- हरेक दिन म तिमीलाई बढी माया गर्छु हिजोभन्दा आज बढी, भोलिको भन्दा आज कम । - रोजमोन्ड गेरार्ड
- म प्रेममा धेरैपल्ट परेँ । र सधैँ तिमीसँग । - एडगर एलेन पो
- प्रेम दुई जनाले खेल्न मिल्ने र दुवै विजयी हुने खेल हो । - इभा गाबर
- थप प्रेमबाहेक प्रेमको कुनै उपचार नै हुँदैन । - थोरो
- प्रेम विष्फोटक सिगार हो । जानी जानी हामी यसलाई खाइरहेका हुन्छौँ - लिन्डा बेरी
- प्रेम मेरो धर्म हो । योबिना म बाँच्न सक्दिनँ । - जोन किट्स
- मेरो हृदयमा आएर बस । यसको कुनै भाडा तिर्नुपर्दैन । - स्यामुयल लभर

... ...र यति गमिसकेपछि के भयो ? भयो नै भने पनि उपर्युक्त प्रेमशास्त्री विद्वान्‌हरूसँग हामीलाई आकर्षणको प्रेम भयो सायद । आह ! क्या धारिलो चित्रण !! तर तिनको निचोरिएको भावधारा त हामीबाट गुम ! खासमा भनाइहरूका ती चास्नीले हामी लस्सादार हुनुपर्ने हो । शीतको प्रथम आवेगले भिजेको कपासझैँ अझ कोमल र प्रेमालु हुनुपर्ने हो । जो बतासको वेग देख्‍नासाथै जुरुक्क उत्तेजनामा मर्किहाल्दैन, हामी त तेलको स्याहार पाएर सपक्क सुतेको त्यस्तो कपाल पो हुनुपर्ने ।

यी अनगिन्ती 'हुनुपर्ने'हरूलाई हामी मानौँ देउसी र भैलोको सुरिलो भाका ठानेर भट्याइरहेछौँ । भट्याएर आज पोल्टोमा कति दान-दक्षिणा भरियो ? खोइ, मैले प्राप्तिलाई अङ्कगणितमा पढ्न र पारख गर्न जानेको छैन । यति जानेको छु, प्रेम गर्न । तर प्रेम गर्नु भनेको त्यस्तो जान्नैपर्ने पाकशिक्षाको तालिमकक्षा नै कहाँ हो र ? र, प्रेम गर्नुको मिठासलाई अर्थ दिन सक्यो भने पढ्नु पनि त प्रेमभन्दा कम मुलायम छैन नि π खासमा यही जान्नुनपर्ने भएकाले अहिलेसम्म म केही न केही पढ्दै आइरहेको हो कि क्या हो ? अघिल्तिर देखा पर्ने कुनै अन्जान अनुहार पढ्नु, साथीको कोपरिएको मनको मर्म पढ्नु, आफ्नै एकालाप पढ्नु ... आदि आदि ।

तर यस्ता किसिमका पढाइको कुरामा म छैन, कम्तीमा यो अहिलेको लेखाइभरिलाई । म त पढ्नु अर्थात् ज्ञानको चकटीमा पलेंटी कसेर किताबसँग योगासन जमाउने कुराको विस्तारमा यहाँनेर फुक्न खोज्दै छु । जहाँ प्रत्येक श्वाससगै चेतनाको सिर्‌सिर् अन्तरमा घुसोस् र त्यसको आयतनसगै प्रत्येक प्रश्‍वाससगै अज्ञानता बान्ता भएर निस्कियोस् ।

प्रेम : आफूले आफूलाई भुलेर आफूलाई अरुमा पाउनु । मैले कतै पढेको । आफूलाई सम्पूर्ण रूपमा बिर्सिएर उसैमा समर्पित हुनु प्रेम हो रे । यो पनि पढेको । यसरी पढाइमार्फत प्रेमलाई बुझ्दाबुझ्दै पढ्नुसँगै प्रेम बस्यो । बरु प्रेमसँग नै प्रेम भएन सायद !

आज आएर अलिकता आफ्नै भोगाइ, अलिकता बाहृय बुझाइ तौलिएर हेर्दा लाग्दैछ, आफूबाहेकको अस्तित्वलाई प्रेम गरेर प्राणीले आफ्नो कमजोरीको स्तर स्वयम् पुष्टि गर्छ । कसैलाई प्रेम गर्नु आज शुद्ध रूपमा प्रेम गर्नुमै मात्र व्याख्या हुन्छ भन्ने छैन, गरिँदा-गरिँदा त्यो प्रेम- प्रेम थाप्ने पात्रको आँखामा सस्तोपनको बेकामी चश्मा भएर झर्ने खतरा प्रबल रहन्छ । कठै झिरिप्प शीशाहरू....!

यति लेखिसकेपछि एउटा नोटबुकमा केही समयअघि कोरिन पुगेको दार्शनिक पङ्क्ति सम्झिन पुगेँ । झ्वाट्ट पङ्क्ति के सम्झिनु, नोटबुकमा केही कोरेको छु भन्ने मात्र हेक्का भयो, पल्टाएँ- 'प्रेम कुनै अवस्था हो कि काम ? अर्थात् प्रेममा छु कि प्रेम गर्दै छु ?'

यसको खास तथ्य उधिन्न सोचमा डुबुल्की मारेँ, र केही सोच्न सकिनँ । छुट्यो केवल रन्थनी । अवस्था, काम, छु, गर्दै छु....। प्रेमभित्रको लगावपछि झ्याङ्गिन पुगेको आत्मीयता कसैको समक्षमा जाहेर गर्दा कसैलाई हिउँद मासमा घामको तमतम्याइलो सहीछाप धस्काएझैँ हुँदो हो भने कसैलाई कृपावादको फिर्ता खेल लाग्दो हो । के टुङ्गो छ र एकनास हुनुपर्ने ? नाप्न मिल्ने भए मनको कुनाकानी आयतन र सङ्कुचनको मात्रामाथि अध्ययन गरेर आम मनहरूबारे एउटा निष्कर्ष छरिदिन हुन्थ्यो - हेर बाबू-नानी हो, आपसको मन यस तवरले पिँजडाझैँ साँगुरिन्छ र क्षितिजझैँ फैलिन्छ, नौनीझैँ गल्छ र इस्पातझैँ गाँठिन्छ.....।

खुङ्खार पण्डित अर्थात् विशेषज्ञहरूले प्रेमको पन्ना एकपछि अर्को गर्दै अति तन्मयतापूर्वक थपिरहे प्रेमशास्त्रको उत्थानमा । मानौँ प्रेम नै नगरी-नगरी । यदि प्रेम गर्नतिर ती लाग्दा हुन् त शास्त्रका ठेलीमा जिल्दामाथि छिप्पट भाकामा ढ्याप्प शीर्षक मात्र ओगटिएर बस्थे होलान् । भित्रका पन्नाहरू त निष्प्राण जीवको श्‍वासनलीझैँ एकदम सफा-सफा । बिनाप्रेम, अनुभवहीनताको त्यस्तो अनुभवी बलमा प्रेमशास्त्रीहरूले प्रेमको बारेमा रास-रास लय बगाउनु पनि विचित्र प्रेम-महफिल लाग्छ ।

पढ्नुको के कुरा, पुस्तकमा आँखालाई बगरमा टक्रक्क उभिएको बकुल्लामा रुपान्तर गरी छोडिदिने हत्तेदेखि पर आफ्नै जिन्दगी पढ्न नजानेर/नसकेर धुरुधुरु रुने जमात हाम्रो सामाजिक पुस्तकालयमा टन्नमन्न होलान् । पढ्दापढ्दै कसैको आँखालाई न्रि्राले छल गर्छ, कसैको आँखामा विरहले जल भर्छ । कति फरक छन् प्रेमका नमुनाहरू ! आफ्नो अज्ञान देख्‍न र ज्ञान देख्‍न पढ्ने अलग-अलग ढाँचाको संसारमा यस्तो पनि होला, कोही अज्ञान र ज्ञानको खिचडीलाई धुवाँ छुटाउन्जेल पगाल्न पढिरहेको होस् । त्यस्तो तपमा कुनै न कुनै प्रेमी त होला । जागिर खान पढ्नु, आनन्द बटुल्न पढ्नु, केही सिक्न पढ्नु, सिकाउन पढ्नु, पाण्डित्य प्रदर्शन गर्न पढ्न... एउटै पढ्नुभित्र पनि कति-कति प्रेमहरू पत्रेदार भएर बसेका छन् । र आजको जमानामा एउटा मान्छे ती सबैखाले प्रेम गर्दै अथवा गर्नलाई के त नपढिरहेको होला र, किटान गर्न गाह्रो छ । कारण, ती सबैसबै प्रेम नै त हुन् फरक अनुहारका । प्रेम सबैलाई चाहिन्छ, सबै यसलाई अँगाल्न उत्सुक हुन्छन् । मतलब हुन्न, प्रेमपछि गहिरो रापको तातो हुन्छ या उँचो चापको चिसो । बस् प्रेम भए पुग्यो !

'प्रेम गर्नु' लाई विपरीत लिङ्गीबीचको दोहोरी भाका भन्ने बुझिदिए सङ्गीतको एकाङ्गी आलाप मात्र हुन जाला । प्रेमको जरामा एउटै रस थलथलिएर रहे पनि चारैतिर हुत्तिएर जाने हाँगाबिँगाको हिसाब कसले राखोस् ! जस्तै कि, प्रेम गर्नुः भाइचाले ढलको पानीमा गोडा रङ्ग्याई-रङ्ग्याई काउली र गोलभेँडामा पानी पटाउनु । प्रेम गर्नुः हजुरआमा विष्णुमाया आफ्नो घरको चियारङ र चिनी बचाइबचाइ छिमेकको घरमा चिया-पाहुना लाग्न जानु । प्रेम गर्नुः आफाले दनुवारले छोराछोरीको पढाइ बिग्रिने डर पचाएर लोकलाजका कारण बजारबाट डाँडाको घरमा टेलिभिजन भित्र्याउनु । प्रेम गर्नुः प्राण धानिरहेको स्वस्थ मृगौला बेचेर पुर्खाले चलाउँदै आएको पत्रिका प्रकाशनलाई निरन्तरता दिनु । प्रेम गर्नुः शून्यताको चिच्याहटदेखि झर्को मानेर पागल हुँला-हुँला आफ्नो मनस्थितिलाई निश्‍चिन्त आधारमा बिसाउन परिवारमा फर्किनु । प्रेम गर्नुः स्वाभिमान बचाउन समूहको भाँडभैलोबाट तानिएर टापुको बासमा जानु । प्रेम नै प्रेम...। जम्मामा, प्रेम गर्नुः समग्रमा संसारमा रहनु र आफ्नो अवस्था -त्यो चाहे रहर वा विवशताको उपज) लाई आत्मसात् गरेर श्‍वासप्रवाहमा चिप्लिरहनु...।

र म यही चिप्ल्याइलाई थप रौनकता दिन केही न केही पढ्दै छु । अर्थात् प्रेमको पुष्टकारी चपाउँदै । कथम् यो पुष्टकारीको मोजमज्जामा म पात्तिँदापात्तिँदै बेहोसीवश दाँतको सीमाले नरम जिब्रोमा रत्तिभर पनि धावा बोलेर रगतको सिर्का उमाल्यो भने त्यसको तातो मिठासलाई पनि म पुष्टकारीकै स्वाद सम्झेर कृतज्ञ बनूँला । सायद खासमा, त्यही नै त हो प्रेम ।
------------------------------------------------------------------------------------