Monday, March 23, 2009

तुम कौन हो ?

तुम कौन हो ?
चन्द्रमा की विमल, स्वर्णिम रश्मि सी तुम
कौन हो ?
तुम कौन हो ?

कमल की नव पल्लवी सी कोमला तुम
कौन हो ?
तुम कौन हो ?

मधुर वीणा के स्वरों सी चन्चला तुम
कौन हो ?
तुम कौन हो ?

आग की उठती लठा सी सुन्दरी तुम
कौन हो ?
तुम कौन हो ?

कौन जीवन के अन्धेरे में उजाले की किरण सी
कौन हो ?
तुम कौन हो ?

स्वर्ग का वरदान हो तुम
या कि माया मूर्ति कोई ?
अप्सरा या मानवी हो ?

सत्य हो या स्वप्न कोई ?
मुस्कुराहट में नयन की
बात मन की
मत छिपाओ
यह बताओ

कौन हो ?
तुम कौन हो ?

-----------------------------------------------------
शङ्करले हिन्दी साहित्यमा पनि कलम चलाएका छन् । खास गरी अध्ययनका क्रममा बनारस-बसाइमा सरसङ्गतिको प्रभावले उनी हिन्दी साहित्यतिर आकर्षित भएको र बिस्तारै लेखनमा पनि हात बसाउन थालेको पाइन्छ । हिन्दीमा विशेषत: उनी कविता लेखनतिर ढल्किएका छन् । तिनमा पनि प्रायश: उनले प्रेम-प्रणयका कविता लेखेका छन् । उनले लेखेका तिनै कविताहरूमध्येबाट प्रकाश सायमीको सङ्कलनमा रहेको र उहाँमार्फत समृद्धि सायद हुँदै हामीसम्मन् आइपुगेको कविता यहाँ प्रस्तुत गरेका छौँ । शङ्करका चेतनप्रवाह शैलीमा बगेका निबन्ध मात्र पढ्दै आएका पाठकहरूको मनमा यो सौगात फरक स्वादको रूपमा बस्ने नै छ ।

*तस्बिर: मिस्ट एन्ड स्टोन

Sunday, March 15, 2009

जापानी हाइकु कविता

-६ वर्षअघि मैले हाइकु शैलीका एक दुई कविता रूप-रेखामा प्रस्तुत गरेको थिएँ । तिनको छोटकरीमा तथा देखिने सहजताको परिणामस्वरूप सबैले खिसी त गरे, हाइकुको बाढी आयो, सम्पादकको डेस्कमा । हाइकुकविता वास्तवमा त्यति सहज कविता होइन । ५-७-५ अक्षरका कवितामा यसका तीन पङ्क्तिको मुख्य विभाजनमा एउटा दर्शन छ ।

जापानी साहित्यमा हाइकु शैलीका कविताका सबभन्दा चर्चित कवि हुन् बासो । उनको बहुचर्चित कविता लिऊँ -


फुरूइके या (५) पुरानो ताल
कावाजु टोबिकोमू (७) भ्यागुतो उफ्रिन्छ
भिजू नो ओटो (५) पानीको शब्द ।

आफ्ना शिष्यहरूसमक्ष कविताको व्याख्या गर्दा बासोले भनेका थिए, उनका कविताको चरित्रको दुई विशेषता छन् । परिवर्तन तथा स्थायित्व । जापानी कविताको अध्ययन गर्ने व्यक्तिलाई थाहा हुनेछ, त्यसबखत परम्परालाई मात्र कायम राख्‍ने एक रोग व्याप्‍त थियो, उनको साहित्य समाजमा । बासोका कथन अनुसार, "मेरो कवितामा प्रत्येक वर्ष परिवर्तन आउनुपर्दछ र ती प्रत्येक महिना स्वच्छ हुनैपर्दछ ।"

आउनुहोस् यस सन्दर्भमा माथिको कविताको अध्ययन गरौँ ।

पहिलो पङ्क्तिमा, विश्‍वको कवितात्मक अभिव्यक्ति जनाइन्छ- त्यो हो समयहीन, सञ्चालनहीन पानी तालका । दोस्रो पङ्क्तिमा सामयिक हलचल जनाइन्छ- जसमा भ्यागुतोको उफ्राइ जनाइन्छ । तिनको सङ्घर्षको परिणाम हो तेस्रो पङ्क्ति- पानीको शब्द !! यसैलाई यदि औपचारिक रूपमा व्याख्या गर्ने हो भने पहिलो पङ्क्तिले चिरन्तन सत्य अभिव्यक्त गर्छ , जो जापानी साहित्यको एक आधारभूत गुण हो;बासोको देन यहाँ छ सञ्चालन निमित्त प्रयोग गरिएको भ्यागुतो, जो बेढङ्गको स्वररहित, परम्परालाई भत्काएर नयाँ परम्परा स्थापित गर्दछ ।

सत्यको खोजी नै यदि कविताको मुख्य वस्तु ठान्ने हो बने त्यसलाई जने बुद्धिज्मका सन्दर्भमा हामी बुझ्न सक्छौँ, जसअन्तर्गत अन्य कुराका अतिरिक्त, बोध हामीलाई एक्कासि हुन्छ भन्ने सिकाइयो । यसै अनुरूप, नयाँ शिष्यलाई एक्कासि पाठ घोकिरहेको बेला कपालमा विस्तारै हिर्काउने गर्थे उनीहरू, ज्ञान उमार्न । जे होस्, एक्कासि उम्रेको भावना नै हाइकुको आत्मा हो । बासोको अर्को उत्तिकै चर्चित कविता लिऊँ-

कारेइदा नी (५) जर्जर हाँगा
कासुनो तोमार्केरी (७) कौवा एक बसेछ
आकिनो कुरो (५) शरद्‌मा सन्ध्या ।

बासोको यो कविताले प्रसिद्धि पायो- लाखौँ चित्रणमा । तर चित्रण गर्ने भने उनको उद्देश्य थिएन । कवितामा चित्रण मात्र उनी चाहदैन तिए, यसको उदाहरण निमित्त अर्को कविता लिऊँ-

सिजुकासा या (५) कस्तो निस्तब्ध
इवानी सिमिइरू (७) झ्याउँकिरीको शब्द
सेमी नो कोई (५) डुब्छु डुङ्गामा ।

हाइकु कवितामा सुधारको सम्भावना जहिले पनि हुन्छ । १००-२०० वर्षको कुरा त्यहाँ आउँदैन । (सन् १७१७-८४) मा लेखे :−

च्छुरो गाने नी (५) मन्दिर घण्टा
तोमारिते हिकारू (७) आरामसाथ मस्त
कोचो का ना (५) क्या झ्याउँकिरी !

दोस्रो उपमा सिकीको (१८७६-१९०२)

च्छुरो गाने नी (५) मन्दिर घण्टा
तोमारिते किकारू (७) आराम ली उज्ज्वल
होतारू का ना (५) त्यो झ्याउँकिरी

यहाँ तपाईँहरूले देख्‍नुभयो होला- प्रत्येक कवितामा एक पद्धति छ- आफ्नै । प्रथम पङ्क्तमा विश्‍व अवस्थाको; दोस्रोमा सब्जेक्टको अवस्थाको, तेस्रोमा प्रतिक्रियाको ।
यी सारालाई अनुबन्ध गर्नुपर्‍यो १७ अक्षरमा !
सम्भव छ के ?

हाइकु, त्यही हो ।

---------------------------------------------------------------
प्रथम पटक प्रकाशित : रूपरेखा, पूर्णाङ्क ११३, असोज २०२७ साभार : शङ्कर स्मृति (व्यक्ति, कृति स्मृति), सन् २००६- पैरवी बुक्स, काठमाडौँ ।
सम्पादक- प्रकाश सायमी ।

Sunday, March 1, 2009

मोफसलको कथा

न्छन्, मोफसल राजधानीबाट धेरै टाढा छ । हुन त सायद त्यसैले पनि राजधानीवादको हावादेखि पर पनि छ । आज मात्र होइन हिजोदेखि नै मोफसल सँधै राजधानीबाट टाढा नै रहृयो । पर रहेपनि मोफसलले कहिल्यै राजधानीलाई स्मृतिको कठघरामा राखेन । कस्तो बिडम्बना छ भने राजधानी बिरामी पर्दा मोफसलले भरथेग गर्नुपर्छ तर मोफसल थला पर्दा पनि राजधानीले एक झल्को चियाउँदैन । अचम्म लाग्छ, मोफसलको ऋण खाएर बलियो र मजबुत बनेको राजधानी आफूलाई कहिल्यै मोफसलको ऋणी हुँ भन्दैन ।

वास्तवमा मोफसलको कथा यतिमै समाप्‍त हुँदैन,पुस्तकका पुस्तक लेखिन सक्छ मोफसललाई लिएर । उसको कथा नै यस्तो दर्दनाक छ कि जति नै भने पनि कहिल्यै टुङ्गिदैन । कथा समाप्‍त भएको उद्‌घोष बारम्बार गरिए तर पटकपटक सुरू हुन्छ त्यसको श्रृङ्खला । धेरै पीडा र यातनाहरूसँग दशकौँदेखि सङ्घर्षमय जीवन बाँच्दै हुर्किएको मोफसलमा सुविधाको ना
ममा राजधानीमा सहज रूपमा प्राप्‍त हुने ती यावत् कुराहरू पाइँदैनन् जुन मोफसलले पनि भित्री हृदयदेखि चाहना राखेको हुन्छ ।

पण्डितहरू भन्छन्, 'केन्द्र र मोफसलबीचको दूरी अब घट्दो क्रममा छ ।' विज्ञान तथा प्रविधिको चमत्कारका कारण केन्द्रमा पाइने कतिपय कुरा मोफसलमा नपाइने होइनन् तर यसको अर्थ यो हुँदैन- अब दूरी घट्दै गएको छ । एकले अर्कोलाई हेर्ने सोचमा जबसम्म आफ्नोपनको मीठो आभाष मिल्दैन तवसम्म दूरी घट्दै गएको कुरा कुनै काल्पनिक कथाको विषयवस्तु त हुनसक्छ कहिल्यै यथार्थ हुन सक्दैन । आजसम्म जुन दृष्टिकोणका साथमा मोफसललाई हेरिएको छ त्यही दृष्टिकोणकै निरन्तरता जता हेरे पनि देखिन्छ । मन खोइ त आत्मीयताले भिजेको, निथ्रुक्क नहुने गरी ओभानै मात्र देखिन्छ । यसलाई के नाम दिने ?

पटकपटक भनिन्छ, 'जीवन यात्रा हो यात्रा जसरी नै बाँच्नुपर्छ । यात्राका उतारचढावहरू कहिले घाम हुन्छन् र झलमल्ल लाग्छन् । कहिले
भने छाया भएर ओझेलमा रेखाहरू बनाउँदै त्यसमा सुँकसुँकाएर धमिला रङ्गहरूको समायोजन हुँदै पोखिन्छन् ।' भनाइकै पछि लाग्ने हो भने जीवन झन् कष्‍टकर हुने निश्‍चितप्रायः नै छ । सन्दर्भ के हो र त्यो जीवनमा कत्तिको सापेक्ष छ भन्ने कुराले मात्र धेरै ठूलो अर्थ राख्छ, जीवनका तमाम निरपेक्षरूपी उद्धरणहरूका साथले पनि जीवनमा केही परिवर्तन आउन सक्ने छैन ।

धेरैपछि, केही समयअघि, काठमाडौंमा एक जनासँग भेट हुन्छ । उनलाई परिचित मान्दा पनि हुन्छ र नमान्दा पनि । त्यसको पनि कारण छ, उनीसँग केही वर्षपहिला मेरो परिचय भएको थियो र त्यसले निकै समय निरन्तरता पनि पायो । जब मलाई काठमाडौँले के साँझ के बिहान, के रात के दिन नभनी मोफसलतिर लखेट्दै थियो तब मलाई थाहा भयो सङ्घर्ष मात्र गर्नु शक्ति होइन रहेछ । बिनासङ्घर्ष कतिले नाम पनि कमाए र दाम पनि कमाएका प्रत्यक्षदर्शीका रूपमा उपस्थित हुने यिनै आँखाहरू पर्याप्‍त छन् । जति सङ्घर्ष गरे पनि त्यसको कुनै अर्थ नरहेपछि र बाँच्नसक्ने कुनै विकल्प नै नभएपछि काठमाडौँले मलाई मोफसलमा धपाएरै सन्तुष्‍टि लिएका दृश्यहरू अझै पनि यी आँखाहरूमा ताजै देखिन्छन्
म कलङ्की चोकबाट सधैँका लागि पश्‍चिमतिर लाग्दा मेरा पूर्वपरिचित मित्र भने त्यतिबेला अग्रपङ्क्तिमा बसेर जोड जोडसँग ताली बजाइरहेका थिए ।

यो मेरो मात्र पीडा होइन, म त केवल प्रतिनिधि पात्र हुँ । केही हदसम्म काठमाडौँमा नै बसेर पनि श्रवण मुकारूङको पीडा हुनसक्छ यो । केही हदसम्म युवराज नयाँघरेको पनि पीडाका रूपमा दोहोरिन सक्छ यो । चाहे कृष्ण धराबासी नै किन नहून् या मनु ब्राजाकीकै पीडा हुनसक्छ यो ।

मोफसलको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ नकि आदर्शमा बाँच्ने आदर्श नायकहरूलाई । मोफसलको सङ्घर्ष अनुभव गर्नेले मात्र थाहा पाउँछ नकि राजधानीको सुख र सम्पन्नतामा जीवनबोध गर्नेहरूले । किन कहिल्यै लाग्दैन राजधानीको घाम मोफसलको धरतीमा ? एक झुल्को घामको प्यासी बनेर मोफसल धेरै अघिदेखि प्रतीक्षारत छ, उसले किन कहिल्यै बुझ्दैन मोफसललाई ? किन कहिल्यै गाउँदैन राजधानीले मोफसलको गीत आफ्नो नजिकको साथी मानेर ? गीतको वर्षाले पटकपटक रुझ्न चाहन्छ मोफसल, सङ्गीतको झरीले बारम्बार भिज्न चाहन्छ मोफसल । राजधानीले किन कहिल्यै यसलाई महसुस नै गर्दैन ?

एक्लो एक्लो मोफसल जीवन्त सङ्घर्षका कथाहरू लेखिरहेछ तर सार्वजनिक गर्ने साहस जुटाउन सक्दैन । भन्छ, 'सार्वजनिक गरेर मात्र के हुन्छ ? प्रचारप्रसारका लागि पालो कुरेर राजधानीलाई चाकडी गर्नुपर्छ । यदि पालोको क्रम आयो भने पनि त्यसको कदर नै हुन्छ भन्ने के आधार छ र ! मोफसलले अहिले ती दृश्यहरू सम्झिन्छ जहाँ उसको पालो आउँदा पनि अरूले नै मिचेर अतिक्रमण गरेको विम्ब मोफसलको आँखाभरि अझै व्याप्‍त छ । मोफसललाई थाहा नभएको होइन, राजधानीलाई नमस्कार गरेर मात्र पुग्दैन, मोटो दक्षिणाको रूपमा भेटीसमेत चढाउनु पनि पर्छ ।'

एक मन त लाग्छ, हुनेखानेहरू सबैले किन मोफसललाई रातारात त्यागेका होलान् ? किन हुँदाखानेहरूको जिम्मामा मोफसललाई छोडेर उनीहरू नफर्किने गरी भागेर गएका होलान् ? प्रतिभा पलायनको यस्तो अद्‌भूत दृश्य राजधानीले सायदै कहिल्यै देख्यो जति मोफसलले आफ्नो जिन्दगीभरि देख्यो । यस्तो प्रकारको प्रतिभा पलायनलाई अब के नाम दिने ? के सबैलाई राजधानी चाहिएकै हो त ?

घाम सबैको लागि हो भनिन्छ, त्यसले दिने प्रकाशलाई सार्वजनिक अर्थ र अभिप्रायमा नै गणना गरिन्छ । पानीले कहिल्यै आफ्नो जात छुट्टयाउँदैन भन्ने कुरा घरिघरि प्रमाणित पनि हुन्छ । फूलको सुगन्धले कहिले कसलाई भेदभाव गर्छ र ! हावाको उपस्थितिले सबैलाई नै आलिङ्गनबद्ध गरेर सधैँ नै न्यानोपन प्रदान गर्दैन र ! मान्छेरूपी भौतिक प्राणीले कतिसम्म गर्‍यो भने प्राकृतिक रूपमा सबैका लागि उस्तै रहेको घाम भौतिक अर्थमा घामलाई हेर्ने सन्दर्भमा पनि ठूलो विभाजन ल्यायो । पानीको महत्व सबैका लागि त्यत्तिकै हो तर आजको मान्छेले पानीलाई पनि तराजुमा जोख्‍ने काम गर्‍यो । फूलले दिने सुगन्धमा कतै फरक महसुस हुँदैन तर मान्छेले फूलको सुगन्धलाई पनि फरक फरक मूल्यमा विक्री गर्न राख्यो । हावा सबैका लागि अनिवार्य छ तर आजको मान्छेले त्यस हावालाई पनि वर्गीय बनाउँदै त्यसको मूल्यवेत्ता कायम गर्‍यो ।

यस कुरामा न कहिल्यै शङ्का थियो न अहिले नै कुनै शङ्का छ, राजधानीलाई अहिलेको राजधानी बनाउनुमा मोफसलको जति हात कसैको पनि छैन । दुःखको कुरा यही छ, राजधानीले यस्तो सत्यलाई कहिल्यै महसुस नै गरेन । चाहे कलामय यात्रामा बौद्धिक श्रमको लागि नै किन नहोस् या जीविकोपार्जनमा शारीरिक श्रमको बलमा नै राजधानीलाई सिञ्चित गर्ने अभियानमा किन नहोस्, हरेकपल्ट मोफसलले राजधानीलाई बचाएको छ । सधैँ नै राजधानी देशको गौरव र गरिमा हो भन्दै मोफसलले आफूलाई अर्पित गरेको छ । यात्रा यात्रामा साथ दिने मोफसललाई राजधानीले गर्ने व्यवहार प्रिय नहुँदा मोफसलबासीको मन चसक्क दुख्‍नु अनौठो पनि छैन ।

Sunday, February 15, 2009

THIS NIGHT

- Shankar Lamichhane
Like a torn leaf of notation
A piece of sky
Is glued over here.

It is its song
thant the waves murmer
And sing out to the shores.

This night,
Now I feel,
Will not be able to nestle in my eyes ! ---

It is this night
That has taken away
The songs
That I composed
And had not yet sung.

Thursday, February 12, 2009

बूढ्यौली घर

मायाले कसैलाई बचाउन सकिने त होइन तर पनि हामी
निष्प्राण भएर लडेको मान्छेलाई कठै बिचरा भन्ने गर्छौँ । त्यसैले असी वर्ष पार गरेका मान्छे बित्दा पनि हामी त्यसलाई सहज मान्दैनौँ र उसको मृत्युलाई असामयिकताको संज्ञा दिन्छौँ । यति मात्र होइन, शरीरबाट अलग भएर उडी जाने अमर आत्मालाई पनि हामी मृत नै घोषित गरिदिन्छौँ । आजकाल सजिलो पनि भएको छ- को मरे भन्ने थाहा पाउन अखबार हेरे पुग्छ । विशेषगरी बूढाहरू (यसले विपरीतलिङ्गीलाई पनि जनाउँछ) लाई आफ्ना साथीभाइको जानकारी राख्‍न अखबार सहयोगी भएको छ । समवेदना छपाउने फेसन खुब चलेकोले घाटमा पत्रिकावालाले विज्ञापन प्रतिनिधि राख्‍नुपर्ने दिन पनि छिट्टै आउन सक्छ !

हुन त मृत्यु बूढो भएपछि मात्र आउने होइन । न यो फोटोग्राफर नै हो जसले आफ्नो उपस्थिति अर्थात् फोटो खिच्ने बेला भएको जनाउ दिन्छ । मृत्यु त थाहा नै नदिई लुसुक्क आएर खुसुक्क जाने चिज हो । तर पनि केही अपवादलाई छाडेर साधारणतया मान्छेको मृत्यु युवा अवस्थामा हुँदैन । खानपिन र आहारविहारमा आएको परिवर्तन, रोगप्रतिको चनाखोपनले मान्छेको औंसत आयु क्रमशः बढिरहेको पाइन्छ । सयौँ वर्ष, अझ त्योभन्दा बढी बाँच्ने मान्छे पनि छन् । यसरी लामो समयसम्म बाँच्ने मान्छे सबै स्वस्थ-निरोगी भएरै बाँच्छन् भन्ने छैन । कति दीर्घरोगी भएर बसेका छन् । कतिपय मान्छे आफ्नै अकर्मण्यता, हठ, लत जस्ता कारणले बुढेसकालमा रोगी भएका छन् । नियममा बस्ने बूढाहरू तन्दुरुस्त मात्र होइन नब्बे वर्ष नाघ्दा पनि कमाउन सक्रिय छन् ।

अहिलेको समय पहिलेको जस्तो संयुक्त परिवारको छैन । त्यतिमात्र होइन आजकाल विशेषगरी सहरका मान्छेमा बच्चा कम पाउने र छोरा र छोरीमा भेद नगर्ने चलन पनि आइसक्यो । धेरैजसो परिवारमा त अबको केही वर्षमा बाबु, आमा र एउटा बच्चा गरी तीन जनाभन्दा बढी मानिस नै हुँदैन । कुनैकुनै सासूहरूले एउटामात्र बच्चा पाएमा कागजस्तो एकवेते (कागवेते) हुन्छ भनी दबाव दिएको कारणले दुइटा पाउनेबाहेक धेरै बुहारीहरू दुइटा बच्चा पाउन राजी छैनन् । यसको कारण हो- थप आर्थिक भारबाट मुक्ति र कमाउन जान पाउने बाटो खुला । फेरि मान्छेले अब के बुझ्न थाले भने छोराछोरीले बुढेसकालमा सहयोग गर्छन् भनेर सोच्नु बेकार हो । किनभने उमेर पुगेपछि कसैले पनि सन्तानलाई न बन्धनमा राख्‍न मिल्छ, न उनको वृत्तिविकासको लागि संसार चहार्न जान रोक्न मिल्छ ।

छोराछोरीको पढाइ पूरा भएपछि उनीहरू बाबु आमासँग बस्छन् र बुढेसकालको सहारा बन्छन् भन्ने कुरा अबको सामाजिक परिवेशमा सम्भव हुँदैन । यस्तो इच्छा राख्‍नु पारिवारिक द्वन्द्व सिर्जना गर्नु मात्र हो । द्वन्दले झन् वैमनष्यता बढाउँछ र रिक्तता तथा तिक्तता मात्र बढ्छ । जान्नेले बीचमा जोडिएको नाता बीचमा नै बिलाउँछ भनी सहज रूपमा लिनुपर्छ । नाता भनेको हाम्रो दाँत जस्तै हो, जो पछि आएर पहिले नै फुक्लन्छ । परिस्थितिलाई यस प्रकारले ग्रहण गरेमा मात्र अवकाशप्राप्‍त जीवन हाँसीखुसी रचनात्मक कार्य गरेर बिताउन सकिन्छ । होइन भने डिप्रेस हुने सम्भावना बढी रहन्छ ।

आजकाल हामी देखिरहेका छौँ- पाँच/छ वर्षका बालकहरू पनि आमा-बाबुसँग छुट्टिएर आवासीय विद्यालयमा बसेका छन् । वास्तवमा भन्ने हो भने अरु कुराको अतिरिक्त बाबु आमाको व्यस्तताको कारण पनि यसो हुन गएको हो । अबका केही वर्षमा यस्तै विद्यार्थीहरूको जमात प्रसस्त पाइनेछ । यस्ता विद्यार्थी जवान भएर आफ्नो खुट्टामा उभिने भएपछि यिनका बाबु-आमा बूढो हुँदै जानु सेवाबाट अवकाश हुनु असहज नभई सामान्य कुरा नै हो । यस्ता बाबुआमाको चाहना छोरा आफूसँगै बसिदेओस्, हेरविचार गरिदेओस् भन्ने हुनु नौलो कुरा होइन । तर त्यो सोच राख्दा आफूले अभिभावन नगरेर आफ्नो छोरालाई कलिलै उमेरमा आवासीय विद्यार्थी बनाएर एकलकाँटे बनाएको कुरा बिर्सनु हुँदैन । अब यस्ता एकलकाँटे कामकाजी र आफ्नो वृत्तिविकासको लागि देशदेशावर गर्नुपर्ने छोरा आमा-बाबुसँग बस्ने भन्ने कुरा एकादेशको कुरा भइसक्यो । हो यस्ता छोराले आमा बाबुलाई आफ्नी श्रीमती सुत्केरी हुँदा केही महिना बच्चा हुर्काउन सम्म सहयोग लिन माया देखाउने हुन् । आजकाल त त्यो माया पनि आमा भन्दा सासु मनपराउने परम्परामा बदलिइसकेको छ ।

माथिका कथनहरूलाई बियाँलो नगरेर गम खाने हो भने अब यूरोप-अमेरिकामा जस्तो हाम्रो एशियामा पनि बूढोको जीवन सहज एवम् सरल छैन भन्ने बुझ्नुपर्छ । पहिलेजस्तो नोकर चाकर राख्ने, राख्‍न सक्ने अनि तिनलाई विश्‍वास गर्न सक्ने स्थिति पनि अहिले छैन । आफू टाठै भए त बुढाहरू बिजुली, पानी, टेलिफोनको महसूल आफैँ बुझाउन जालान् । तरकारी, रासन आफैँ किनेर ल्याउलान् । आफैँ पकाएर खालान् । भाँडा माझ्लान् । होइन असक्त रहेछन् भने त उपचार गर्न कसले लगिदिने ! हात समातेर कसले पुर्‍याइदिने ! तातो पानी तताएर कसले खान दिने ! भन्ने समस्या आइलाग्छ । अनि त बत्तीको लाइन काटिएर अँध्यारैमा बस्नु पर्ने स्थिति पनि आउन सक्छ । यति मात्र होइन एक्लै बस्नुपर्दा एक्लोपनले झन गालेको हुन्छ । आफू फूर्तिलो भएको बेला धेरैलाई चिढाएको पनि हुन्छ जसले गर्दा चिढिएकाहरू खुलेर सहयोगी हुन पनि सक्दैनन् किनभने उनीहरूलाई कसैले लालची भनिदिन पनि सक्छ ।

शारीरिक अवस्था क्षीण भएको बेला एककिलो आलु त भारी हुन्छ भने त्यो पन्ध्र किलोको ग्याँसको सिलिण्डरलाई कसरी यताउता गर्ने ? वास्तवमा बुढाका अनगिन्ति समस्याहरू छन् । अझ उमेरमा कुनै समस्या नझेलेर ढलेको लोटा नउठाएकाहरूलाई त आफ्नै शरीर बोझ भएको महसुस हुनेछ । मरुँ भने काल आउँदैन बाँच्दा पैसा भएर पनि मुखमा माड हाल्न सकिएन भनेर विगत सम्झेर पछुतो गर्दैमा केही हुने पनि होइन । बूढोको जीवन यसरी विरक्तिनु भनेको वर्डफ्लुभन्दा पनि खतरा हुन्छ । यसलाई त 'फिस फ्लु'सँग तुलना गरिदिए हुन्छ । बच्चाहरू रवरको चुङ्गीमा रमाएजस्तै नेता भनाउँदाहरू राजनीतिको चुङ्गी खेल्नमा नै मस्त छन् । युवा तन्नेरीहरूको कल्याण गर्न नसकेको देशले बूढाको कल्याण गर्ला भनी सोच्नु पनि अहिलेको परिप्रेक्ष्यमा सान्दर्भिक देखिँदैन । यो परिस्थितिमा बूढाहरूले आफूमाथि आइपर्नसक्ने कुनै पनि समस्याको पूर्वानुमान गरेर तत्काल कदम चाल्न बाध्य भइसकेको छ ।

अवकाशप्राप्‍त बूढाहरूमध्ये आफूलाई शारीरिकरूपमा स्वस्थ ठान्नेहरू भने विहान विहान घुम्ने गरेका भेटिन्छन् र बाटामा समवयष्क साथीहरू भेट्दा भनेजस्तो नहुने रहेछ, हुँदै नहुने रहेछ भनी भलाकुसारी गरेको पनि सुनिन्छ । केही टाठाहरू काम पनि गरिरहेका छन् । सबैलाई एउटै अवसर नमिल्ने हुँदा धेरैजसो बुढाहरूको हविगत राम्रो छैन । कतिपयका छोरा विदेशमा अथवा जिल्लामा छन् । एउटै घरमा हुनेहरू पनि आम्दानीमा एकरूपता नहुनाले छुट्टिएर अलग्ग बसेका छन् । सँगै बस्नेको पनि छोरा बुहारी काममा, नातिनातिना पढ्न जान्छन् । अनि बुढो एक्लोको एक्लै । विधवा अथवा विधुरको समस्या अझ जटिल छ । बार्दलीमा एउटा मेच राखेर दिनभरि ट्वाल्ल परेर काल कुरिरहनु अर्थात् अर्को अर्थमा डिप्रेस भई अरु उपाय शून्य हुन जाने स्थिति छ । जसले छिमेकी एवम् नातागोताका मान्छेलाई गरिपुर्‍याउनु कि हेरिछाड्नुको अन्यौल उत्पन्न गराइरहेको छ । यो गम्भीर यथार्थलाई त्यति सारो सबैले महसुस गरिनसके पनि धान्नै नसक्ने गरी एकैचोटि यो समस्याले विकराल रूप लिने स्थिति देखापरिसकेको छ ।

सर्सर्ती हेर्दा माथिका समस्या सामुहिक नभएर व्यक्तिगत हुन् । तर पनि यसलाई सामाजिक समस्या होइन भनेर टार्न मिल्ने अवस्था भने छँदैछैन । उमेरमा सबैले भोलिको ख्याल नगरी मार्वल छापेर घर बनाएका छन् । आफू भुइँ तलामा नबसी चार तलामाथि बस्ने बानी गरेका छन् । आज अर्काको बच्चालाई पढाइदिएजस्तो गरी नोकरचाकर बनाएर राखेका छन् । आफूले केही नगरी सबै काम अरुलाई लगाएर जीउ साँचेका छन् । तर बुढेसकालमा मार्वल छापेको घरमा बस्न र चार तला भर्‍याङबाट ओहरदोहर गर्न के सम्भव होला ? काम गर्ने मान्छे नै पाइए पनि ति महँगा हुन्छन् । केही अपवादलाई छाडेर सबैले राख्‍न सक्दैनन् । उमेरमा साँचेकोले जीउ चल्दैन । अनि परेन त फसाद । नानीदेखि लागेको बानी जाँदैन भन्ने हामी सबैलाई थाहा छँदैछ । उमेरमा आफैँले एक कप चिया पकाएर नखाएको मान्छे बूढो भएपछि एक्लै पर्‍यो भने त्यस्ताले आफ्नो लागि एक गिलास तातो पानी कसरी जुटाउला भन्ने जस्ता समस्या धेरै छन् । त्यसैले अबका दिनमा पनि केही नसोच्ने हो भने आगामी दिनमा बूढोको जीवन झनै कष्टकर हुने छर्लङ्ग छ ।

हुन त हामी पशुपतिक्षेत्रको वृद्धाश्रम मात्र बुझेका मान्छेहरूलाई वृद्धाश्रममा बस्न जाने भन्दा अपच पनि हुन सक्छ । तर यथार्थमा माथि भनिएका बूढाले बेलैमा अलि भिन्न प्रकारको वृद्धाश्रमको बाटो रोज्नैपर्छ । अरु उपाय छँदैछैन । पशुपतिक्षेत्रमा अवस्थित सरकारले चलाएको वृद्धाश्रममा गरीब, दुःखी तथा अपहेलितलाई आश्रय दिएर पालिएको छ । त्यसैले त्यहाँ समाजका सबै क्षेत्रका मान्छे सेवा गर्न जान्छन् । एक किसिमले अर्को भाषामा त्यो हण्डीबराबर हो । गरीब असहायको लागि त्यो आवश्यक छ ।

यहाँ उठाउन खोजिएको प्रसङ्ग आर्थिकरूपले असहायको होइन । पैसा भएर पनि शारीरिक अस्वस्थताले गर्दा आफ्नो हेरविचार आफैँ गर्न नसक्ने एवं परिवारमा कोही नभएर एक्लै बस्नुपर्ने स्थितिमा परेका बूढो मान्छेको हो । जो सँग आफ्नो गुजारा चलाउने पैसा छ तर व्यवहार चलाइदिने सहयोगी छैन त्यस्ताले अब आफ्ना छोरा-छोरीको घर रूँगेर दिनभर बार्दलीमा टवाल्लपरेर बस्नुभन्दा सबै कुराको सुविधा भएको एउटै घरमा समवयस्कसँग बस्नु बुद्धिमानी हुन्छ । त्यसो हुन सकेमा छोराछोरीको पनि आङ हलुको भई उनीहरू पनि निर्धक्कपूर्वक आफ्नो धन्दा गर्न पाउँछन् । तर यस्तो आश्रमको जीवन तालिकावद्धरूपमा हातेमालो गर्दै सञ्चालन गर्ने खालको हुनुपर्छ । त्यहाँ आ-आफ्नो एउटा कोठामा बस्ने । सामुहिक भान्सामा खाने । तालिकाअनुसार प्रार्थना, पूजा, ध्यान, योग, भजन, कीतर्न गर्ने, प्रवचन सुन्ने, आत्मानुभव सुनाउने, विद्यार्थीहरूको लागि प्रेरणाको स्रोत, अध्ययनको पुस्तक बनिदिने । संस्मरण लेख्‍ने । बगैँचामा डुल्ने । झर्नासँग मोहित हुने । चराचुरुङ्गीसँग जिस्किने । उफ्रिने । गाउने आदि वातावरण होस् ।

अस्वस्थ भएमा उपचारको लागि बन्दोवस्त मिलाउन कर्मचारी एवम् स्वयंसेवी परिचालित भई यी सबको लागि बूढालाई केही गर्न नपरोस् तर आफ्नो लागि पर्न आउने न्यूनतम खर्च आफ्नै हातले आश्रमलाई बुझाउन पाउँदा उनीहरूको मनमा खुसी जागोस् । अनि मात्र बूढाको जीवन बूढो भएकोमा सार्थक हुन पाउँछ । होइन भने 'बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधै माथि' भन्दै मोहपासमा डुबेर काल कुरिरह्‍यो । कहिले छोरालाई सराप्यो कहिले बुहारीलाई सराप्यो । कुरा काटयो । तुरुक्क आँसु चुहायो । सानो छँदा छोरालाई काँधमा बोकेको सम्झ्यो । त्यसो गर्दा उसले मुतिदिएकोमा हाँसेर दङ्ग परेको संझ्यो । आफू छोराको घोडा भएको संझ्यो । अहिले त्यसैले स्वास्नीको पछि लागेर टेरेन भनेर खुइय गरेर आफ्नो जीवनलाई धिक्कार्‍यो । यसैमा जिन्दगी वित्छ । वास्तवमा बुझ्ने हो भने त छोराछोरी भनेको त हाम्रा मालिक हुन्, हामी त तिनको सेवक हौँ र तिनीहरू नै हाम्रा भोलिका बाबु हुन् । मानव चोलाको चक्रले त यसै भन्छ । उनीहरूलाई योग्य बनाइदिएपछि हाम्रो दायित्व सकिन्छ । तर पैसा खर्च गर्न सक्नेले पनि उनीहरूको वृत्तिविकास रोकेर आफैँसग बस्नुपर्छ भनी उनीहरूलाई बाध्य पार्नु भनेको आत्मकेन्द्रित प्रवृत्ति हो । यस्तो प्रवृत्तिले एक आपसलाई झन् टाढा पुर्‍याउँछ र दुवै पक्ष आपसमा खुल्न नसकेर एउटै घरमा सँगै बसेर पनि उकुसमुकुस भएको भान हुन्छ । छटपटाएर औडाहा भएर बोलचाल नगरेर बूढो बाबु र तन्नेरी छोरा एउटै घरमा बस्नुभन्दा बाबुले आफ्नो सुविधा रोज्नु र छोरालाई स्वतन्त्र छाडिदिएर असल मान्छे बन्ने सुझाव दिनु नै पैसाले सक्ने बाबुको धर्म हो ।

यसैले पेन्सन खाने गरेका र पचास नाघेकाहरूले समयमा नै बूढेसकालको साथी "बूढो घर" बनाउने अभियान चलाएमा उनीहरूको हैसियत पनि बिसे नगर्चीको जस्तो हुन कत्ति बेर लाग्दैन ।

रचनाकाल- फाल्गुन १, ०६२
------------------------------------------------------------------------------------