इन्द्रेनीको दोस्रो अंकमा परिचय दिंदै लेखिएका श्री ईश्वर बरालका वाक्य यस प्रकार छन्: “भीमदर्शन रोका उर्दूको खानीबाट जुहार लिएर नेपाली काव्याकाशमा झल्किनुभएको छ । उहाँका कवितामा चटक्कता छ । उहाँका कवितामा एक झुल्का हुन्छ, एक उफ्राइ । त्यसैले उहाँका कविता छरिता र साना हुन्छन् । रोका विशेषतः बोलीचालीको भाषामा लेख्नुहुन्छ । यस प्रकार उहाँ फूलको मुस्काइमा तलवारको चोट गर्नुहुन्छ । उहाँका कवितामा विशेषतः प्रेमालु भावनाको सरसता पाइन्छ । भीमदर्शन एउटा खास किसिमको मस्ती तथा भाषाको खानी लिएर आउनुभएको छ ।”
रोकाको खानी र मस्ती यस्तो थियो तिनताक–
रात केवल एक प्रहर बाँकी छ
तीन प्रहरको अन्तिम असर बाँकी छ
पश्चिममा पुगेकी एक्ली चाँदनीलाई
केवल यौटा मेरै भर बाँकी छ
रात केवल एक प्रहर बाँकी छ ।
कैयौंले यहाँ रातको गीत थालेथे
आफ्ना आफ्ना ताराहरू बालेथे
तर को रह्यो अब यहाँ– तिमी छौ,
म छु र हाम्रो रहर बाँकी छ
रात केवल एक प्रहर बाँकी छ ।
भाक्सु, धर्मशालामा हुर्केको तरुण प्रवासी नेपाली भीमदर्शन रोकालाई नेपाल आउने ढोका खुल्छ, २००८ सालको विद्यार्थी सम्मेलनद्वारा । प्रतिनिधिको रूपमा उसको आगमन हुन्छ र काठमाडौंले उसलाई यत्ति मोहित पार्छ, ऊ फर्केर जाँदैन, बरु चार वर्षभित्र नै नेपालको प्रतिनिधित्व गर्न विदेश पो पुगिराखेको ।
नेपाली सांस्कृतिक मण्डलमा सदस्यको रूपमा जाने भीमदर्शन रोकालाई त्यस बेला म चिन्दिन थिएँ । कुरा पनि त एक जुगअघिको भयो । प्रगतिमा उसका कविताहरू निस्कन्थे– पढ्थें । नेपाली कवितामा उसले ल्याएको नयाँ शैलीमा उर्दूको स्वादले मजा दिन्थ्यो ।
अनि हाम्रो भेटघाट भयो कविगोष्ठीमा । उसको कविता पाठको शैली बढो प्रभावकारी थियो । बोल्न उठेपछि उसको अनुहारमा एउटा दीप्ति आउँथ्यो– झुमेर मस्तीमा उसले पङ्क्तिहरू निर्धक्क बोल्दा वातावरण शम उम्री आउँथ्यो । झटकमा उसले आँखा चिम्लेर टाउको फड्काउँदा हामी स्वयम् आकाशतिर हुत्तिएको अनुभव हुने ।
हामीलाई नगिच ल्यायो इन्द्रेनी पत्रिकाले । इन्द्रेनीको काव्य–प्रतिष्ठान भनिने हाम्रो छ जनाको जत्थामा ऊ पनि थियो । भेटघाट बढ्यो, सम्बन्ध बढ्यो र हामी तपाईं–तपाईंबाट नगिचिंदै तिमी–तिमी र पछि तँ–तँमा आइपुग्यौं ।
ऊ जातैले मात्र मगर होइन, अनुहारले पनि, मिजासले पनि (माओत्सेतुङसँग खिचेको फोटोमा ऊ ठ्याम्मै भतिजा देखिन्छ) । उसको अनुहार र तिनताकको व्यवहारअनुसार उसको हातमा कलमको सट्टा बन्दुक तथा बोलीको सट्टा गोली नै सुहाउने । परम्परागत सिपाही परिवारमा जन्मेर कविताजस्तो कोमल कला अपनाउनु तथा मास्टरजस्तो पेसाद्वारा जीविका चलाउनु नै उसको जीवनको ठूलो क्रान्ति हो ।
बिदेसिएका नेपाली परिवारले भोग्ने क्रमबद्ध कष्ट उसको परिवारले पनि भोग्यो । ब्यारेकको जीवन र धर्मशालाछेउछाउको उसको बाल्यावस्था निकै रोचकरूपमा ऊ वर्णन गर्छ । पन्जाबी (भनौं भाक्सु) लहजामा बोल्ने उसको तिनताकको नेपाली मीठो सुनिने, यारों !
गीत ऊ गाउँदैन तर बाँसुरीको तान मीठो छोड्छ । पेन्टिङ ऊ गर्दैन तर उसले बयान गरेको कुरा त्यत्तिकै चित्रमय हुन्छ । ऊ व्याख्यात्मक वर्णन पटक्क मन पराउँदैन, “भन्ने कुरा भनिहाल, बुझ्नेले बुझ्छ” भन्छ । एक प्रकारको आँ गर्दा अलङ्कार बुझ्ने मान्छे हो ऊ– उसका कवितामा पनि त्यही मिजास छ ।”
एउटा कविता लिऊँ–
ढल्मल ढल्मल ढल्मल गरी
सेतासेता बादलसरी
मलाई आकाशतिर जान नदेऊ
मेरै आफ्नै धरती छाडी
कहिले प्रयास गरें भने पनि
उचा उडान भरें भने पनि
तिमी मलाई हावाले हान्नू
पानी पार्नू, असिना मार्नू
बिजुली चुल्ठीले बाटो छेक्नू
तल मेरै धरतीका फ्याँक्नू
ढल्मल ढल्मल गरी
आकाशतिर जान नदेऊ ।
र व्यक्तिगत जीवनमा पनि उसले आफ्नै प्रयासद्वारा धरतीमै खुट्टा गाडिरह्यो । स्कुलमा पढाउने पेसा एकपटक अपनाइसकेपछि, अनेक प्रलोभन देखाउँदा पनि उसले त्यो त्यागेन ।
केटाकेटी उसलाई मन पर्छ । ऊ भन्छ, ती जीवित कविता हुन्– एकपटक त्यसको चस्को लागेपछि कविता किन पढ्नुपर्यो ? यिनै कारणले होला, उसले कलमको पनि परित्याग गरेर चक समातेको !
एकपटक ऊसँग भएको घटनाको वर्णन मैले मेरो एक लेखमा यसरी गरेको छु–
र, मलाई सम्झना आइरहेथ्यो मेरो साथी एक कविको । जो कविता गर्न छाडेर मास्टरी गर्न थाल्यो । र जो अब मास्टर मात्र भएको छ । नाउँ उसले नकमाएको होइन, स्वयम् एक स्कुल बनायो कविता क्षेत्रमा । लेख्न छाडे पनि, आजसम्म तर जसको बराबर चर्चा भइरहन्छ । ऊ बराबर भन्छ– “कविता लेखिन्छ आत्मातृप्तिका लागि, होइन त ? तँ केटाकेटीका घेरामा एकछिन बस् त, कस्तो आत्मतृप्ति हुँदो रहेछ !” सडकमा हिंड्दाहिंड्दै एक दिन, अनायस टक्क अडेर भन्छ– “यो ठाउँ देख्छस् ?”
“देखिरहेछु ।”
“राम्ररी हेर् ! यस ठाउँमा मलाई एकपटक चरम तृप्तिको अनुभव भयो ।”
“ठाउँ हेर्छु । नाङ्गो पेटी र रित्तो भित्ता, पर्खालबाहेक त्यहाँ केही छैन ।”
“पानी परेर म त्यहाँ त्यसै ओत लागेको थिएँ । एउटी पाँच वर्षकी केटी आफ्नी आमासँग जाँदै थिई । मलाई देखी । आमाको ओढिरहेको छाता मागेर ल्याई । भन्छे– “मास्साब, छाता लिनोस् ।” मेरा त परेला रसाए । सक्छस् तँ बुझ्न त्यस केटीको हृदयमा भएको भावलाई ? रिस राग, छलकपट, द्वेष केही नउम्रेको स्वच्छ स्नेह हो त्यो । त्यसले मुश्किलले दुई–चार सय शब्द जानेकी होली; त्यत्रो सानो शब्दकोशबाट शब्द झिकेर “मास्साब, छाता लिनोस्” भन्न सक्नु, आत्मप्रवञ्चनाबिना आफूलाई, आमालाई, वर्षालाई बिर्सेर ! भन् त, ती तीन शब्दमा कत्तिको कविता छ । बिस्तारै गाला थपथपाएँ, भनें– भो बा भो, मान्छे पर्खिरहेको । बेमनसाथ ऊ फर्की । केटी स्कुलमा साधारण हो, विशेष आँखामा नपर्ने । भोलिपल्ट मैले क्लासमा उसलाई धन्यवाद दिएँ । उसको अनुहारको दीप्ति, त्यस बेला । बाबू, जीवनमा कविता छरिएर बसेका छन्, देख्न सक्नु र टिप्न सक्नु मात्र पर्छ । लेख्ने फुर्सद कसलाई ?”
र, साँच्चिकै उसलाई लेख्ने फुर्सद छैन । झन्डै महिनौं हाम्रो भेट हुँदैन । अनि अनायास कि ऊ मकहा, कि म ऊकहाँ पुग्छौं– दुवैलाई भेटघाटको तिर्खा लागेको हुन्छ । दुई–चार घण्टा, जति ऊ जोगाउन सक्छ, त्यत्ति दिन्छ– गरिबले जुवा खेल्ने दुस्साहस गरेजस्तै । त्यस समयमा पनि हाम्रै आफ्नै धुकधुकी व्याप्त हुन्छ– के महँगो भयो र के अप्राप्य भयो र के हुँदै छ र कत्ति ट्युसनको मारामार छ र जाँच आयो वा जाँच भर्खर टुङ्गियो, कापी जाँच्नै छ, आई.ए.को जाँच आयो वा बि.ए.मा उसकी पत्नी जाँच दिंदै छ । “हेर भाइ शङ्कर, संसारमा परेपछि जे पनि गर्नुपर्दो रहेछ । म सबलाई पढाउने मेरी स्वास्नीलाई नहेरी दिंदा उसको चित्त दुख्तैन ? आजकल म गृहविज्ञान पढाउँदै छु उसलाई ।” अनि ऊ झन्डै अप्राकृतिक रूपको प्राकृतिक अट्टहास गर्छ । मैले आजसम्म बुझेको छैन, उसको यो अट्टहास कसप्रति लक्ष्य गरिएको हो ! जीवनका बढ्दा विषमतालाई आफ्नो रूपमा ढाल्न र तिनैलाई प्रयोग गरी उपयोगी बनाउने उसको क्षमताको प्रतिक्रिया हो यो, अथवा आफ्ना कलात्मक प्रवृत्तिहरूलाई बन्धक राखी उसले जुन दाल, भात, डुकु कमाएको छ, त्यसको गन्ध वातावरणमा मगमगाउँदा उसमा उम्रेको रोष हो– यो मैले आजसम्म ऊसँग सोध्ने दुस्साहस पनि गर्न सकिनँ ।
वर्तमान नेपाली जनजीवनलाई नाप्ने मापदण्डको प्रतीकका रूपमा एक छेउमा रोका, बीचमा म तथा अर्को छेउमा तुलसीलाई राखे, हाम्रो आर्थिक, सामाजिक, राजनीतिक, कलापक्ष र विचारपक्षको विवेचना गर्न निकै सुविधा हुनेछ । रोकाले बुझेर सन्यास लियो भने म नपैल्याएर भट्किँदै छु र तुलसी नबुझेर हरायो । अथवा त्यही गजलाई पर्लक्क पल्टायौं भने तुलसी बुझेर भाग्यो, म बुझाइको अन्योलमा गुजुल्टिएँ र रोकाले वास्तविकता स्वेच्छाले अँगाल्यो ।
एउटा नमुना हेरूँ । म आफ्नो भविष्यप्रति यसरी भवना व्यक्त गर्छु–
मेरो छोरा,
एक दिन तैंले मसँग
वा मेरो मृत्यु भएमा
स्वयंसँग,
एक प्रश्न गर्नेछस् ।
मेरो छोरा,
मसँग त्यस प्रश्नको केही उत्तर छैन
सिर्फ छ एक सन्तुष्टि
बल्ल मेरो परम्पराले थिचेका प्रश्नहरू
तेरा मुखबाट निस्कन सक्यो ।
मेरा छोरा,
तेरो युगको प्रभावमा
मेरो अन्धकार
मेरो मृत्युसँगै मरिसकेको हुनेछ ।
र तैंले बुझ्ने छैनस्–
तेरो पितालाई
स्वयम्को अस्तित्वसँग पनि शंका उठेको थियो
तँलाई पत्यार पार्न सक्नेछैन त्यस बेला–
म कस्तो उत्तेजनाहीन
निष्क्रिय र निर्बल थिएँ ।
तैंले सायद कहिल्यै पनि बुझ्ने छैनस् होला–
सङ्घर्षको सृजनानिम्ति
शरीरको रगतको अन्तिम बुँद पनि झुल्किनुपर्छ–
केन्द्रित हुनुपर्छ प्रत्येक क्रिया एक लक्ष्यमा ।
म त झन्डै लक्ष्यहीन थिएँ
सिवाय एक प्रयासको
मैले तँलाई जन्माउने प्रयास गरिनँ ।
र लुकाइराखें आफैँमा
एक अज्ञात, अपरिचित, अनिश्चित अवसरका निम्ति ।
म भन्न सक्तिनँ, म बिलकुलै असमर्थ छु–
तँलाई जन्म दिन ढिला गरेर,
मैले आफैंसँग
वा तैंसँग
वा तेरा पछि आइरहने कैयन् कैयन् वंशसँग
केही अन्याय त गरिनँ ?
नजन्मेको मेरो छोरा !
तेरो जन्मभन्दा
कति अघि
कति अघिदेखिन्
तेरो यो प्रश्न
मकहाँ आएर फर्केको छैन !
तुलसी आफूलाई यसरी व्यक्त गर्छ–
“...म आफ्नो बारेमा केही पनि नजान्ने भइसकेको छु, केही सोच्न मन लाग्यो भने पनि केही बुझ्दिनँ । कहाँ छु र के गर्दै छु, केही पनि थाहा छैन । हुरीले जताजता हुत्याउँछ, त्यतैत्यतै पुग्छु । खै यस्तैउस्तै छ जीवन ।”
मलाई अम्बरले गाएको भूपीको सम्झना आउँछ यहाँनिर–
मेरो मृत्युपछि मेरा अनाथ आँसुहरू
तिम्रो आँखामा वास माग्न आउनेछन्
बादल बनेर मेरा सुस्केराहरू
तिम्रो आँखाको प्रकाश माग्न आउनेछन् ।
बिपना बन्न नपाएका मेरा स्वप्नहरूले
तिम्रो निद्रामा सानो ठाउँ खोज्नेछन् ।
म कहाँ छु र कसरी छु–
मिरमिरेमा पिलपिले तारा तिमीसँग सोध्नेछन्
नदीझैं बग्दै जहाँ गए पनि तिमीले मलाई
किनार बनेर पर्खिरहेको पाउनेछौ
एकलासपनको क्षणमा आफूलाई छामी हेर्नू
बालुवा बनेर मलाई सँगै बगिरहेको पाउनेछौ ।
रोका भने आफूलाई यसरी व्यक्त गर्छ–
वरिपरि छेउछाउबाट
सजिला र अप्ठ्यारा ठाउँबाट
वनपाखाहरूबाट
र हलुका सुस्केराहरूबाट
आइरहन्छ
समय सधैं आइरहन्छ ।
पानीपानीमा बगेर
पातपातमा मस्केर
ऋतुहरूको आगमन
र तिम्रो आवाजबाट– आइरहन्छ ।
केही भन्न छुन्छ मलाई
केही बेर सुनिरहन्छ मलाई
मेरो श्वासमा लुटपुटिएर
मेरा क्षणहरूलाई लिएर
गइरहन्छ
समय सधैं गइरहन्छ ।
मबाट उठेर
फैलिंदै माथि पुगेर
नीलो आकाश बनिरहन्छ
त्यही नै मेरो अतीत हुन्छ ।
असलमा नेपालको सामूहिक प्रतिनिधित्व हाम्रो तीन जनाको जीवनबाट मात्र सम्भव छ ।
म जान्दिनँ, रोकालाई मैले किन यस लेखको नायक बनाएँ । असलमा नायकत्वको ऊ जीवनविरोधी हो । र, एक्लै चरित्र छान्यो भने उसको कुनै महत्व छैन । म र तुलसीको पटाक्षेप नपाए ऊ उठ्न पनि सक्तैन ।
सायद हामी उठ्न यो लेखमा मैले रोकालाई गिराएको होला ।
कुण्ठाको यो एक प्रतीक हो ।
यो यसैमा समाप्त होओस् ।
- ‘विम्ब-प्रतिविम्ब’ बाट

Comments
Post a Comment
۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्नुस्---