Skip to main content

हृदयमा तोपलाङ्

वाह तोपलाङ् !

तिम्रो चित्र मेरो हृदयमा स्थायी बनेको छ । तिम्रो सङ्घर्षको कथा र पीडाका घाउहरूले म तरल बनेको छु ।

कपासको फूलजस्तो
हुस्सुका गुच्छाहरू
तल खोँचबाट उठिरहेका
आकाश चुम्न

हरियालीको पृष्‍ठभूमिमा
फूल झैँ आकाङ्क्षाका गुच्छाहरू पनि
आकाश चुम्न उठेको
अनुभूत गर्छु
तोपलाङ्‌मा ।

एउटा संयोग मात्र थियो म तोपालाङ् पुग्नु । एउटा सुखद् तर आकस्मिक भविता । जीवनमा भइरहने सामान्य घटनाहरू झैँ एउटा छोटो यात्रा केही घन्टाको । कहिलेकाहीँ यस्ता सामान्य घटनाको ठूलै अर्थ र प्रभाव रहन्छ मान्छेको जीवनमा । जीवन भनेकै सूक्ष्म अवलोकन हो जसले नदेखिएका अनन्त भविताहरूको गहिराइ देख्छ र अर्थका सार्थक तहहरू अन्वेषण गर्छ । एउटै घटना र संयोजित दृश्यको पनि अनन्त अर्थहरू उत्पादन गर्ने सम्भावना रहन्छ, सौसरले भने झैँ । तर त्यहाँ जरुरत छ खोजीको, भोकको, प्रतिबद्धताको, सिर्जनशीलताको, जीवनदृष्टिको र सकारात्मकताको ।

तोपलाङ्‌मा मैले भैरवबहादुरलाई भेटेँ । उनी आफैँ तोपलाङ्का जीवित स्तम्भ बनेको पाएँ मैले । सत्तरी शिशिर पार गरेका उनको अनुहारका असङ्ख्य रेखाहरूमा सङ्घर्षको महाआख्यान पढ्न सकिन्छ । प्रत्येक रेखाहरू समयका क्रूर कोर्राबाट लेखिएका हुन् । अभाव, विपन्नता, अन्याय, अत्याचार, राज्यको पूर्वाग्रह र बेवास्ता आदिबाट संयुक्त रूपमा सिर्जित पीडाका उदास रङ्गहरूले कोरिएका हुन् उनका अनुहारका धर्साहरू । उनको दृश्य पिल्लिएको पाएँ मैले पीडाका तुलिकाघातले । उनको हृदयको पोखरी आफ्नै आँसुले भरिएको छ । उनको हृदय भन्छ :

तोपलाङ्‌मा पानी पर्दा
मेरो आँसु मिसिएर झर्छ

म सधैँ चिन्तित हुन्छु
मेरो आँसु मिश्रित झरीले
हरियाली डड्ने त हैन !

हो भैरवबहादुरको जीवन तोपलाङ्कै उन्नतिमा समर्पित छ र उनी चिन्तित बनेका छन् मातृभूमिको प्रगतिप्रति ।

जवानीमै सेनाको आकर्षक जागिर छोडेर उनी गाउँ फर्किएका हुन् र प्रयास गरेका हुन् गाउँको मुहार फेर्न । उनको जीवनमा आँसुको कथा मात्र छैन । उनको अनुहारमा पीडामा रेसा सँगसँगै उन्मुक्त हाँसो पनि छ । गाउँलेहरूलाई सङ्गठित गर्दै सामूहिक प्रयासद्वारा परिवर्तनका पक्षमा उभ्याउन सकेको सफलताको खुसी पनि निस्वार्थ र निस्कपट हाँसोमा प्रतिबिम्बित हुन्छ ।

यो देशमा सारा राजनीति सामान्य र गरीब जनताकै उन्मुक्तिको लागि गरिएको छ र शासन तिनकै रक्षा र समृद्धिको लागि लक्षित भनिएको छ इतिहासमा । इतिहासको पछिल्लो टुप्पोसम्म पनि यही नै दसी कायम छ । तर यी सबै दसीहरू झूट, पाखण्ड र आडम्बर भएका छन् भन्ने प्रमाणका लागि एक्लै तोपलाङ् काफी छ ।

राजधानीबाट केही किलोमिटर भित्रै पर्ने धादिङको यो गाउँ वास्तवमै धेरै अर्थमा नेपालका ठगिएका गाउँहरूको प्रतिनिधि हो भन्ने लाग्छ मलाई । न यहाँ 'एउटा गाई र घरको चित्र' पुग्यो, न 'गाउँ फर्क राष्ट्रिय अभियान', न पुग्यो 'एशियाली मापदण्डको वायु, न त 'आफ्नो गाउँ आफैँ बनाऊँ'को राष्ट्रिय अभियानको प्रभाव । यी नाराहरू केवल शत्तासीनहरूको दीर्घायुका लागि सिर्जना गरिएका प्रतिबद्धताविहीन नाराका नयाँ अवतारहरू मात्र भएका छन् तोपलाङ्का लागि ।

जनताप्रति गरिएको धोकाहरूको शृङ्खला बढ्दै जाँदा विद्रोहको आगो पनि दन्किन्छ नै । तोपलाङ्‌माथिको राज्यको ज्यादती सम्झँदा मलाई मेरै गाउँको सम्झना भयो । झापाको भौतिकरूपमा अविकसित गाउँबाट झापा विद्रोहको आगो हुर्केको थियो । राज्य र राज्यहरूद्वारा पोषित सामन्तहरूको विरुद्धमा वि.सं. २०२० को दशकको अन्त्यतिर । चिनियाँ सांस्कृतिक क्रान्तिको प्रभावमा भारतको पश्‍चिम बङ्गाल राज्यको नक्सलवादीबाट चारु मजुमदारको नेतृत्वमा उठेको सशस्त्र विद्रोहको पहिरो असर पर्‍यो त्यहाँ । वि.सं. २०२० को दशकको अन्त्यतिर झापा विद्रोहले चरम रूप लिएको थियो । यस्तो सशस्त्र विद्रोहको चरमोत्कर्षमा युवाहरूले सामन्तको टाउको गिड्नेसम्म अभियान चलाएका थिए । तर तोपलाङ् संयमित छ, उसको विद्रोहले हतियार रोजेन । विद्रोहबाट उत्पन्न हुन सक्ने खतरनाक परिणतिबाट जोगिँदै आफ्ना चेतनाका आवाजलाई आफ्नै ढङ्गले बुलन्द गरिरह्यो । यद्यपि ती आवाजहरू राज्यका अगाडि साउतीभन्दा बढी केही हुन कसेका छैनन् -अहिलेसम्म ।

भैरवबहादुरको उन्मुक्त पारदर्शी हाँसोमा उनको सफलताको कथा पनि प्रतिबिम्बित हुन्छ । उनको सबैभन्दा ठूलो विश्‍वास छ, गाउँलेको एकता र तोपलाङ्बासीको सहकार्यमा । उनको परिवर्तनको लडाइँ पनि यही बलमा टिकेको छ । उनीहरूले लडेर स्कुल ल्याए राज्यबाट । तर शिक्षक बेपत्ता छन् अहिलेसम्म । त्यहाँका बालबालिका चार घन्टा एकतर्फी हिँडेर प्राथमिक शिक्षा लिन जान बाध्य छन् । राज्यको ध्यान तान्न निरन्तर सदरमुकाम धाइरहेछन् गुनासोका पुलिन्दा बोकेर उनीहरू ।

राजधानीको नाकैमा पनि देखेन राज्यले तोपलाङ्लाई । बाटोका लागि बजेट नदिएर निषेध गर्न खोज्यो । तर गाउँले मिलेर खने बाटो र जोडे नजिकको केन्द्रसँग । अवसरको राजमार्ग खोज्दै । राजधानी उज्यालोमा डिस्को नाच्छ । सँगै तोपलाङ् अन्धकारमा उच्छ्‌वास छोड्न बाध्य छ । अन्धकारकै बीचबाट पनि चहकिलो उज्यालोको खोजी गर्न ऊ प्रयत्‍नशील छ ।

सूचनाको हकको आधारभूत अधिकारको नाङ्लो ठटाउँछ राज्य राजधानीबाट । सँगै तोपलाङ् सञ्चारसँग विच्छेदित भई कुहिरामा हराइरहेछ ।

राज्य गाउँको आवाज नसुन्ने बहिरो भएको छ, समस्या नदेख्ने अन्धो, पीडा अनुभूत गर्न नसक्ने निर्दयी र ध्यान दिन नसक्ने अविवेकी बनेको छ । राज्य तोपलाङ्का लागि चेतनाहीन मुर्कुट्टा बनेको छ । लज्जास्पद कुरा के छ भने राजधानीबाट आफूलाई जनमुखी भनी सरकार ढ्वाङ् फुकिरहेछ । सुन्दर प्रकृतिको अनुपम सौन्दर्यमा गर्व गर्छ तोपलाङ् । हरियालीको बर्को ओढेर मुसुक्क मुस्कुरायो हामीलाई देखेर । यही हरियालीलाई आफ्नो र सन्ततिका सम्पदा ठानेका छन् यहाँका मानिसहरूले । डेढ दशकअघि सुख्खा डाँडा बन्न लागेको वनको संरक्षणका लागि सङ्गठित प्रयास गरेर फर्काउन सके हरियाली । प्रत्येक बच्चाको आँखामा चम्किने हरियालीको प्रतिबिम्ब वास्तवमा जीवनको प्रतिबिम्ब हो । तोपलाङ्ले जीवनको प्रतिरूप जोगाएको छ ।

तोपलाङ् आत्मनिर्भर बन्न प्रयत्‍नरत छ । भुटेका मकै र साँधेको गुन्द्रुकमा रमाएको छ । अहिलेसम्म राज्यले चामलको लाइनमा उभ्याएको कर्णालीको जस्तो नियति भोग्नबाट जोगिएको छ ऊ । जे फल्छ त्यो नै उसको हो । आफ्नै आधारमा उभिएर तोपलाङ् बाँचेको छ ।

भैरवबहादुरको आकाङ्क्षा, प्रतिबद्धता र सङ्घर्षलाई मनोजको नातिपुस्ताले निरन्तरता दिइरहेको छ । अझ प्रगाढ सपनाको साथ । प्रयासहरूको निरन्तरता नै उपलब्धिमा पुग्ने सिँढीहरू हुन् जीवनका । सिङ्गै गाउँ सङ्गठित रूपमा यिनै प्रयासका सिँढीहरू उक्लिरहेछ ।

राज्यको खुनी पञ्जाबाट पनि आफूलाई बचाउने प्रयास गरेको छ तोपलाङ्ले आफूलाई । उत्पादकत्व बढाउने र उन्नत प्रविधिका नाममा जहाँ जहाँ राज्य पस्यो समस्या सँगै थोपरेको छ । तोपलाङ प्राकृतिक छ, जैविक वा अर्ग्यानिक छ । राज्यको काँध चढेर आयातीत रसायन छिरेको छैन त्यहाँ अहिलेसम्म । घातक रसायन रोक्न प्रयत्‍नशील छ तोपलाङ् ।

शताब्दीऔँ लामो इतिहास भएको समृद्ध तामाङ संस्कृति तोपलाङ्को मौलिक परिचय बनेको छ । आफ्ना भाषा र संस्कृतिप्रति गर्व गर्दै यसको संवर्द्धनमा भिडेको छ तोपलाङ् । तोपलाङ् बहुलता स्विकार्ने उदारता देखाउँछ तर आफ्नो परिचय आफ्नै संस्कृतिबाट अघि सार्छ । इतिहासको गर्वमा मात्र होइन, तोपलाङ् वर्तमानमा नै बाँचेको छ । नजिकै चन्द्रागिरी पुगेर जीवन र प्रकृतिका शास्वत कविता रचना गरेका महाकवि देवकोटाले पनि काव्य लेख्दा सायद तोपलाङ्को प्रभाव पनि लिएको हुनुपर्छ ।

तोपलाङ्का प्रौढ महिला पनि अक्षर पढ्छन् । अक्षरभित्र अन्तर्निहित जीवन र सभ्यताका आयामहरूको खोजी यहाँका महिलाले गरेका छन् । इतिहासमा सधैँ ठगिँदाको पीडाका वर्णमाला र उन्मुक्तिको सार्थक वाक्य पूरा गर्न सङ्घर्ष गरिरहेछन् उनीहरू । हँसिया, कुटो र लिपपोतका साथमा उज्यालाका गीतहरू पनि गाइरहेछन् उनीहरू ।

हामी, तोपलाङ्का मित्रहरू छत्र क्षितिज र ऋषि बस्ताकोटीको प्रयासमा यहाँ आइपुगेका छौँ - गणतन्त्र घोषणा कार्यान्वयन भएको अर्को हप्‍ता । रगतले लेखिएको आँसुले लेखिएको, सिन्दूर र पीडाका मसीले लेखिएको गणतान्त्रिक नेपालमा तोपलाङ्को चित्र कसरी उतारिनेछ ? के तोपलाङ्जस्ता हजारौँ गाउँहरू उक्लिनेछन् राष्‍ट्रिय एजेण्डाका केन्द्रमा ? नयाँ नेपालको नयाँ अनुहारको चहक विपन्न गाउँबाट उदाउने छ ?
तोपलाङ्को छोटो यात्रामा यिनै यक्ष प्रश्‍न मेरो मनमा चट्याङ् जसरी गाडिएका छन् ।

- tankaupreti@hotmail.com

Comments

  1. तोप्लाङ् र भैरवबहादुरका बारेमा पढ्न पाऊँदा खुशी लाग्यो, र साथै राज्यप्रतिको आक्रोश पनि चुलियो। जबसम्म तोप्लाङ्जस्ता गाऊँका कथामा उज्यालो आऊँदैन तबसम्म कुनैपनि क्रान्ति फगत भ्रान्तिमात्र भएर रहनेछन्।

    अरु पनि यस्तै लेखोटहरुको प्रतीक्षामा छु।

    ReplyDelete
  2. स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै
    नया बर्ष 2066 को उपलक्षमा -
    यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद !

    ReplyDelete
  3. टङ्क उप्रेतीका सबै लेखोटले पाठक मन पगाल्छ र यो त्यसको निरन्तरता हो। कविता, यात्रा संस्मरण ,निबन्ध जताततै उहाँ असल कलमवीर
    भएर उँभिनु भएको छ। - anuj

    ReplyDelete

Post a Comment

۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्‍नुस्---

Popular posts from this blog

किन लेख्दिनँ म ?

“म तिमीसँग साँच्चै रिसाएको छु, तिमीलाई भन्न मात्रै नभनेको ! मेरो साँच्चै चित्त दुखेको छ तिमीसँग । तिमीले मेरो अपमान गरे झैँ लाग्छ मलाई आजकाल !” यी वाक्यहरू सुनिरहँदा मेरो शिर निहुरिएको थियो । म निरुत्तर थिएँ । भित्रभित्रै आफैँलाई अपराधी अनुभव गरिरहेकी थिएँ । तर स्नेहको तरलताले लफ्रक्क रुझेकी थिएँ । लाग्यो, मेरो आलस्यको ठिहीलाई पगाल्न समयले दिएको न्यानो सूर्योदय हो यो । चुपचाप सुनिरहेँ, अकर्मण्यताको ठिहीलाई पगाल्ने न्याना वाणीहरू । मनको कोमल भागमा मीठो स्पर्श पाएझैं लाग्यो । एउटा चेतनाले अर्को चेतनालाई ब्युँझाउने तातोपन महसुस गरेँ । हृदयमा चुपचाप लुकाएर मुसुक्क मुस्कुराएँ । केही बोल्ने आवाजै थिएन मसँग । त्यसैले एउटी आमाले सन्तानको मृदु तर व्यङ्ग्य वाणीलाई बेवास्ता गरे झैँ आवाजलाई कान दिइरहें, शब्द दिन सकिनँ । तर मेरो अघिल्तिर त मेरो पितातुल्य व्यक्तित्वको आवाज थियो । शरीरभरि एक प्रकारको तरङ्ग छुट्यो । एकैछिनमा झनझनायो मेरो शरीर । बाहिरको चिसोलाई चुनौती दिएझैँ रननन तात्‍न थाल्यो । मैले मेरा गालामा तातो-तातो हुँदै आएको रातोपन महसुस गरेँ ।

क्याट माने बिरालो

ए क अमेरिकन मित्र काठमाडौँबाट प्रस्थान गर्दै थिए । हामीसँग निकै हेमचेम थियो । उनले सायभिज-सङ्कर बिरालो पालेका थिए । अब त्यसलाई उचित वासको टुङ्गो लगाउने समस्या पर्‍यो तिनलाई । हाम्रो सहायता मागे । एक प्रकारले म कुकुर, बिरालोप्रेमी हुँ । ती दुवै जनावरको केही अंश सायद ममा अवस्थित छ । जे होस्, मैले बिरालो स्याहार्ने जिम्मा लिएँ । हुन त बिरालो नदेखेको वा बिरालोउपर प्रबन्ध नलेखेको पनि होइन स्कुली जीवनमा, तथापि बिरालोको केही गुण, अवगुण रहेछन्, जो मलाई थाहा थिएन । जस्तै, त्यो बिरालो थियो । बाथरुममा हग्ने । उसको निमित्त काठको बाकस बनाएर त्यसमा बालुवा राखिदिनुपर्ने । ऊ बिहानै बाथरुम जाने र त्यसमै हग्ने । बिरालो आफ्नो गुहु लुकाउँछ भन्छन्, लोकोक्ति हो, बिरालो बाघको फुपू रे, सारा भदालाई सिकाएर उसले एउटै कुरा सिकाएन रे, रूख चढ्ने । त्यसमा रिसाएर बाघले झोँकमा भन्यो रे, ' तँ मूलाको गुहु पनि बाँकी राख्दिनँ ।' - र त्यस बेलादेखि बिरालाले गुहु लुकाउन थालेको रे ! त, त्यो अमेरिकन - सायभिज-सङ्कर बिरालो झन्डै छ महिनाजति बस्यो होला हामीकहाँ । त्यसको आगमनपछि, अनि पो मैले बिरालोबारे अध्ययन गर्न पाएँ । ...

महामुद्रा

आ जभन्दा २००० वर्षअगाडि अनकन्टार, हिमालयको एक कन्दरामा भिक्षु बसेका छन्। उनका सामु दश–पन्ध्र जना चेला–भिक्षुहरु दत्तचित्त भएर गुरुले बताएको धर्म उपदेश ग्रहण गरिरहेछन्। पीतवर्ण लुगा लगाएका भिक्षुहरु, हिमालयबाट बिदा हुन लागेको सुनौला प्रकाशमा अरु देदिप्यमान बनिरहेछन्। उनका अनुहारमा कौतुहल, जिज्ञासा र कथाको अनौठो प्रकृतिबाट अल्मलिएकोपन पनि प्रष्ट थाहा हुन्छ।    ताडपत्रमा लेखिएको त्यो तान्त्रिक कथा सन्ध्या–भाषामा लेखिएको थियो। अनङ्गवज्रद्वारा रचित ‘प्रज्ञोप’यबिनिश्रयसिद्धि’को त्यस अंशमा अनौठोसँग यी वाक्य परेका थिए– ‘महामुद्राको अनुभव ग्रहण गर्नलाई प्रत्येक साधकले सर्वनारीको भोग गर्नै पर्दछ।’   भिक्षुहरुको अनुहारमा बढी कौतुहल र बढी जिज्ञासा देखिन्छ। कसै–कसैको अनुहारमा वितृष्णा पनि झल्कियो। गुरुले आँखा चिम्लेर भने– ‘म अर्को अंश सुनाउँछ । तिमीहरू यी दुवै अंशको आत्ममनन भोलिको सूर्यास्तसम्म गर र अनि आफूले बुझ्न सकेको कुरा व्यक्त गर्नू।’   केही पत्र गुरुले पल्टाए। उनका अभ्यस्त हातले दृष्टिको साथ दियो। एकछिन ताडपत्रमा दृष्टि उनका दौडे, आँखा चिम्लेर अनि उनले भन्न...