Sunday, January 25, 2009

एकहजार वर्षपछि जन्मिन चाहने लेखक

> सुरेश 'प्राञ्जली' सापकोटा

- 'हाँस्न जान्नु पनि ठूलो कला हो ! कुन मानिससँग कसरी हाँस्नु पर्छ त्यो जानिएन भने रोएको बराबर दुःख पाइन्छ ।' (एब्स्ट्रयाक्ट चिन्तनः प्याजबाट)- 'बाँच्नु जस्तो ठूलो कुरा जीवनमा अरु केही रहेनछ । मैले कसैलाई मारिनँ, त्यो मेरो भाग्य हो । म सायद साहित्यिक क्षेत्रबाट सन्यास लिदैछु र अब म लेख्ने पनि छैन होला ।' (कुमुदिनीलाई लेखेको पत्रबाट)
- 'मैले आफूलाई कहिल्यै लेखक ठानिनँ र परिस्थितिले मलाई लेखक बनाइदियो । लेखक बन्ने साहस मैले कहिल्यै गर्न सकिनँ । कारण, लेखक मेरो नजरमा देवता हो, देवकोटा हो ।' (गौँथलीको गुँडः भूमिकाबाट)

आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शङ्कर लामिछानेले नेपाली साहित्यको जगमा असङ्ख्य इँटा थपेका छन् । विशेषगरी, नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफैँले खने । नेपाली 'नन फिक्सन'को फाँटलाई उँचाइमा पुर्‍याउने काममा उनको भूमिका अत्यन्तै उल्लेखनीय छ । नेपाली निबन्धमा 'चेतनप्रवाह शैली' (स्ट्रीम अफ कन्सिअसनेस)लाई स्थापित गराउने लेखक हुन् उनी । पश्‍चिमा साहित्यका आधुनिक लेखक जेम्स जोयसले महाकाव्य 'यूलिसिस' (सन् १९२२) मार्फत यो शैलीलाई जसरी स्थापित गर्ने काम गरे त्यसरी नै लामिछानेले 'एब्स्ट्रयाक्ट चिन्तनः प्याज' (वि.सं. २०२४) मार्फत यो 'चेतनप्रवाह शैली'लाई अङ्कुराउने कार्य गरे नेपाली साहित्यमा । त्यसो त उनका अधिकांश लेखनमा अमूर्त क्रान्तिको 'फ्लेभर' पाइन्छ । जीवन आफ्नो लागि भन्दा पनि अरुको लागि आदर्श भएर बाँच्नुपर्दाको पीडाले गर्दा व्यक्तिगत जीवन स्वेच्छाले बाँच्न नपाउनु नै आजको मानवको गुनासो बनेको छ । यद्यपि त्यो गुनासोलाई निबन्धशिल्पी शङ्कर लामिछानेले न्यूनिकरण गर्ने प्रयास गरेका छन् ।


हामीले भोगेको जीवन केवल अनुभूति हो । व्यवहारिक रुपमा सार्थक नहोला तर पनि एउटा कल्पनालाई आधार बनाएर बाँचिरहेका हुन्छौँ हामी । जीवनको मूल्य ज्यादै सस्तो छ जसलाई बिहान-बेलुकाको तरकारीसँग तुलना गर्न सकिन्छ । अमूर्त भाव नै जीवनप्रतिको अमूर्त सङ्केत हो लामिछानेको । शङ्कर लामिछानेका हालसम्म 'एब्स्ट्रयाक्ट चिन्तनः प्याज' 'गोधुलि संसार', 'विम्ब प्रतिविम्ब' (परिचयात्मक निबन्धसङ्ग्रह), 'गौथलीको गुँड' (कथासंग्रह), 'शङ्कर लामिछाने' (आत्मकथा) र 'शंकर लामिछानेका निबन्ध' (पोष्टहृयूमस कृति) प्रकाशित छन् । सङ्ख्यात्मक रूपमा थोरै भएपनि गुणात्मक रूपमा लामिछानेका निबन्धले सिङ्गो युग थामेका छन् । उनका निबन्ध कुनै भौगोलिक परिधिभित्र सीमित छैनन् ।

भूमिका लेखेर हलचल मच्चाउने लामिछानेले पारिजातको 'शिरीषको फूल' र पिटर.जे. कार्थकको 'प्रत्येक ठाउँ प्रत्येक मान्छे' आदि दुई औपन्यासिक कृतिमा भूमिका लेखे । पारिजातले भोगेको युग-जीवनप्रति लक्षित गरेर लेखिएको 'शिरीषको फूल'को भूमिका खण्डमा उनले लेखेका छन् - 'सापेक्षताको माध्यम अपनाएर हामी त्यो खाडल (जीवनको) फड्किन सक्तैनौँ, सापेक्षताको आड लिइरहुन्जेल हामीहरू घेरामा हुन्छौँ/वृत्तमा हुन्छौँ ।' त्यसो त कतिपय समिक्षकहरू पारिजातको ओइलाउन लागेको 'शिरीषको फूल'मा लामिछानेको भूमिकाले पानी दिएर पुनः सौन्दर्यमय र सुगन्धित बन्न पुगेको बताउँछन् ।

शङ्करका प्राय निबन्धहरूमा विसङ्गत चेतना, प्रयोगशीलता, आत्मपरकता, बौद्धिकता, जीवनप्रतिको तीखो व्यङ्ग्य र वैज्ञानिक चिन्तन प्रचुर मात्रामा पाउन सकिन्छ । (मैले साहित्यपढ्न शुरु गरेको पनि लामिछानेकै निबन्ध 'एब्स्ट्रयाक्ट चिन्तनः प्याज'बाटै हो ।) 'मानिस आस्था वा विश्‍वासमा बाँचेको छ ।' उनको यो हरफ अत्यन्तै जीवन्त छ । विश्‍वासको भरोसामा यो संसार अडिएको भाव पाइन्छ उनको निबन्धमा । उनी भन्छन् -'हामी बाँचेको युग द्वन्द्वात्मकताका शर्तहरू स्वीकार गर्नु नै एक ठूलो अस्वीकृति हो ।' 'जरोन्जन राम्भो' तथा 'दस्तोभस्की'का युगका अनेक भोगाइहरूलाई निबन्धका माध्यमबाट दुरुस्तै उतारेका छन् लामिछानेले । 'अल्बर्ट कामु' र 'सामुअल बेकेट'को विसङ्गतवादसँग अति निकट सम्बन्ध राख्‍ने लामिछानेका निबन्धहरूले विश्‍वको परिप्रेक्ष्यमा भिन्न नेपाली स्वाद प्रवाह गरेका छन् ।

एब्स्ट्रयाक्ट चिन्तनः प्याजमा प्रयुक्त निबन्धको शैली केलाउन शङ्कर लामिछानेकै चश्मा लगाउनुपर्छ । यस कृतिमा लेखकको अहम्‌भन्दा पनि 'म'को भाव टड्कारो रुपमा प्रस्फुटित भएको छ । हरेक वस्तुलाई हेर्ने दृष्टिकोण आफ्नै प्रकारका छन् । वस्तुलाई उनी आफ्नो अध्ययन, भोगाइ तथा व्यवहारको गाढा रङ्ग ठान्दछन् । जीवनलाई प्याजको बोक्रासँग तुलना गर्दछन् । प्याजको गुदी नभेट्टाए झैँ जीनवको सार भेट्टाउन नसकिने भाव व्यक्त गर्दछन् उनी अर्थात् जीवन भन्नु नै रहस्य र भाव मिसिएको अनुभूति मात्र हो । उनका निबन्धमा विश्‍वमा बढ्दै गएको वैज्ञानिक आविष्कार एवम् अनुसन्धानको प्रभाव परेको पाइन्छ । उनी आधुनिक वैज्ञानिक चिन्तनबाट प्रभावित निबन्धकार भएकोले चमत्कारिक वैज्ञानिक आविष्कार र त्यसबाट साहित्य र अन्य क्षेत्रमा पर्ने असर आफ्ना निबन्धहरूमा व्यक्त गरेका छन् । व्यक्ति शङ्कर लामिछानेले भोगेको जीवन नै निबन्धकार लामिछानेको जीवनको 'पोट्रेट' हो । जीवनप्रति नैराश्यता हुँदाहुँदै पनि आदर्श जीवनको खोजी उनका निबन्धको विशेषता हो ।

निबन्धमा आजको पुस्ताले भोगेको र भोलिका पिंढीले भोग्नुपर्ने पीडालाई छर्लङ्ग प्रतिविम्बित गरेका छन् लामिछानेले । लेखनका अधिकांश विधाहरूमा कलम चलाए पनि लामिछानेले लेख्‍न सुरू गरेको उपन्यास भने अधूरो नै रहृयो । 'गौँथलीको गुँड'मा समेटिएका कथाहरुमा 'अस्तित्वगत चेतना' को आभाष हुन्छ झण्डै 'जाँ पाल सार्त्र'लाई चुनौति दिने गरी । 'विम्ब प्रतिबिम्ब'मा परिचयात्मक निबन्धहरु सङ्ग्रहित छन् । त्यसैगरी 'गोधुलि संसार'का निबन्धहरु व्यवहारवादी र जीवनवादी विषयवस्तुमा आबद्ध छन् । 'शंकर लामिछाने' उनको आत्मकथात्मक कृति हो जहाँ जीवन बाँच्ने क्रमका गुनासाहरू समेटिएका छन् ।

कवि भूपी शेरचन र भीमदर्शन रोकालाई अति निकट ठान्ने लामिछानेले आफूलाई कहिल्यै लेखक मानेनन् । बरु आफू ठट्टामा लेखक बनेको जिकिर गरिरहे । उनलाई आफू छिटो जन्मेकोमा गुनासो रहिरहृयो । अनि फ्रेन्च दार्शनिक रोलाँ बार्थले 'दी डेथ अफ दी अथर'को कुरा गरिरहँदा नेपाली लेखक शङ्कर लामिछानेले भने एक हजार वर्षपछि जन्मिने इप्सा बोकिरहे । उनले बारम्बार दोहोर्‍याइरहने वाक्य हो -'म एक हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ ।' असलमा, उनी एक इमान्दार लेखक हुन् । उनले 'प्लेगियारिज्म्' (साहित्यिक चोरी)को आरोप कति सहजै स्वीकार गरे । माइकल कर्वीको लेखमा आधारित भनी लेखिएको 'आभा गार्देको सौन्दर्यशास्त्र' नामक लेखउपर कुमुदिनीले तेर्स्याएको तगारोले उनको लेखनयात्रामा पूर्णविराम लगाइदियो । तर अफसोच ! कुमुदिनी को हुन् ? हालसम्म बाहिर आउन सकेकी छैनन् ! (यस्ता महान् लेखकको यात्रालाई वर्जित तुल्याउने वास्तविक कुमुदिनीसँग एकपटक भेट गर्ने ठूलो धोको छ मेरो, खुल्ला आहृवान पनि हो यो ।)

वि.सं. १९८४ साल चैत्रमा जन्मेका यी महान् लेखकको मृत्यु मेनेन्जाइटिजका कारण २०३२ माघ १० गते भयो । 'के गरे देखिन् मैले ठिक हुन्छ ?' भन्दै एकदिन देवकोटाकोमा पुगेका थिए उनी र त्यसदिन महाकवि देवकोटाले 'रिपिटिसन अफ वर्क अन दि सेम लाइन हृयाज नो मिनिङ्' भनेपछि लामिछाने आफ्नै पृथक् बाटो पैलाउन लागिपरेका थिए । जुन बाटोले आज पनि अझ बढी फराकिलो भएर सबै लेखकहरुलाई हिँडाइरहेको छ ।

Pranjali.sapkota@gmail.com
------------------------------------------------------------------------------------

3 comments:

  1. सहज र राम्ररी नै लेख्नु भएको रहेछ नि !धन्यवाद !

    ReplyDelete
  2. शंकर लामिछानेको सुन्दर विचार र लेखनीका बारेमा यति मिठो तरिकाले कुरा गर्नुभएकोमा सापकोटाजीलाई धेरै-धेरै धन्यबाद! शंकर लामिछानेको बारेमा बुझ्दै जाँदा आफ्नो चेतनाको धरातल पनि फैंलिंदै गएको महशूश हुँदैछ। धन्यबाद यो ब्लगका सारथीहरुलाई!

    ReplyDelete
  3. जति घुट्को धेरै पियो उति बढ्ने शङ्कर प्यास
    अझै धेरै भन्दा पनि धेरै पढ्ने शङ्कर प्यास

    खडेरीले ताल तलाउ सुकेको थ्यो यतातिर ,
    बाटो मिल्यो मेट्नलाई हिमाल् चढ्ने शङ्कर प्यास.....
    ....................
    (हैन ठट्टामा साँच्चै गजल हुन लाग्यो क्या हो ?)
    मलाई यौटा जिज्ञासा उठ्यो शङ्कर बारेमा । गौँथलीको गुँडको भुमिकामा 'मैले आफूलाई कहिल्यै लेखक ठानिनँ र परिस्थितिले मलाई लेखक बनाइदियो । लेखक बन्ने साहस मैले कहिल्यै गर्न सकिनँ । कारण, लेखक मेरो नजरमा देवता हो, देवकोटा हो ।' भन्ने शङ्कर बिना पारिश्रमिक रचना पत्रिकामा दिँदैनथिए , दिन हिच्किचाउँथे भनिन्छ । यसबारेमा विशेष लेखिएका कुनै सामाग्रीहरु फेला पर्लान् ? शङ्कर अध्ययनको मुख्य कडि यसैमा छ कि जस्तो , पाईयो भने हामीलाई पढाउनुहोला ।

    ReplyDelete

۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्‍नुस्---