प्रत्येक दुई वर्षमा प्रदान गरिने शङकर लामिछाने युवा निबन्ध पुरस्कार यस वर्ष स्रष्टा युवराज नयाँघरे (२०२६, इलाम) ले पाएका छन् । दुई दशकदेखि नेपाली साहित्यमा साधनारत नयाँघरे विशेषतः निबन्ध विधामा क्रियाशील छन् ।नेपाली निबन्ध विधालाई विशिष्ट दर्जा दिलाउनमा अहम् भूमिका खेल्ने दिवङ्गत साहित्यकार शङ्कर लामिछाने (वि. सं. १९८४-२०३२) को नाममा स्थापित शङ्कर लामिछाने निबन्ध समाजद्वारा प्रदान गरिने पुरस्कार १५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । पुरस्कार लामिछानेको स्मृति दिवसको अवसर पारेर माघ १० गते प्रदान गरिन्छ । पुरस्कृत नयाँघरेका मुहूर्तको वरिपरि, मखुण्डोको मन , काठमाडौँलाई कोर्रा, नीलडाम, अनाम पहाडमा फनफनी लगायतका निबन्धात्मक तथा यात्रा संस्मरणात्मक कृतिहरू प्रकाशित छन् ।
निबन्धमा वर्णनात्मक-विवरणात्मक शैलीका विरोधी नयाँघरे अनुभूतिपरक स्थितिचित्रणका पक्षपाती मानिन्छन् । यसअघि उनी राष्ट्रिय प्रतिभा पुरस्कार, उत्तम-शान्ति पुरस्कार, अन्तर्राष्ट्रिय नेपाली साहित्य उत्कृष्ट पुस्तक पुरस्कार ('अनाम पहाडमा फनफनी'का लागि) लगायतबाट विभूषित भइसकेका छन् ।
विशिष्ट सर्जक शङ्करसँगको यस संयोगमा निबन्धकार नयाँघरेलाई शङ्कर स्मृति घरको पनि हार्दिक बधाई ! साथै व्यक्तिगत जीवनयात्रा सुखमय रही निबन्ध र सिङ्गो साहित्यमा उनले सोचे-आँटेको नयाँ घर बनिरहोस्, मङ्गल कामना !
------------------------------------------------------------------------------------
नयाँघरेज्यूलाई हार्दिक बधाई!
ReplyDelete