Saturday, October 31, 2009

Abstract Chintan: Pyaaz (An Onion: Contemplating the Abstract)

 त प्रस्तुतिमा मेरो रेडियोको सौजन्यस्वरूप रुपेश श्रेष्ठको आवाजमा शङ्कर लामिछानेको बहुचर्चित निबन्ध कृति एब्सट्र्याक्ट चिन्तन प्याज भित्रको शीर्ष निबन्धलाई समेटिएको स्‍मृति घरमा यसपाली सोही निबन्धको अङ्ग्रेजी अनुवाद लिई आएका छौँ । आशा छ, भाषागत सीमाको कारणले खुम्चिएर रहेको शङ्करको उक्त निबन्ध सबै पाठकको घेरामा पुग्नेछ ।

यस अनुवादलाई लामिछानेकै छोरी शिखा लामिछानेले तयार पारेकी हुन् भने यो सामग्री हामीले शङ्करकै सुपुत्र प्रभास लामिछानेको ब्लगबाट साभार गरेका हौँ ।  प्रभासलाई हार्दिक धन्यवाद !

------------------------------------------------

I met Bangdelji last evening on New Road. “Shankarji”, he says, “I just read your essay, you know that essay ‘Shankar Lamichhane in Shankar Lamichhane’s opinion.’”

“Did you like it?”

“It was entertaining. But too realistic. Why don’t you make the next one a little more abstract”.

“But it is you who paints the abstract. How could I attempt painting at this point in my life.”

“No, …..but what I mean is, why can’t you adopt an abstract style for your ‘pen-picture’?”

I continued to smile.
बाँकी पढ्नुस् >>

Saturday, October 3, 2009

शङ्करको 'प्याज' सुनौँ

०२४ सालको मदन पुरस्कार विजेता निबन्धकृति  'एब्स्ट्रयाक्ट चिन्तन प्याज'  को महत्ता कसको नजरमा कति छ कुन्नी । तर सर्जकको रुपमा शङ्कर लामिछानेको परिचय स्थापनाको परीक्षण-पाइला त्यही कृति  भयो, उनले पाठकको दैलोभित्र बास पाए ।

स्वाद लिनेले उनका जम्मै किताबमा उत्तिकै रस भेट्छन् । ती मध्ये 'प्याज' को महिमा विशिष्ट रहिआएको छ 'पढालु' पाठकहरूमाझ । पहिलो चोटि किताब समाएर बस्दा नबुझ्दा-नबुझ्दै पनि धेरै कुरा बुझे जस्तो लाग्न सक्छ, र त्यही माझधारको चिनाजानासँगै शङ्करको केस्रादार अध्ययनको लागि घुम्टी खुल्छ ।

यसपाली शङ्कर स्‍मृति घरमा त्यही कृति  'एब्स्ट्रयाक्ट चिन्तन प्याज' भित्रको शीर्ष निबन्धलाई सुन्ने रुपमा लिएर आएका छौँ, आशा छ यो स्वरुप शङ्करप्रेमी पाठकहरूलाई रुचिकर लाग्नेछ । यसलाई हामीले अनलाइन अडियो सङ्ग्रह 'मेरो रेडियो' बाट लिएका हौँ । निबन्ध वाचनमा आवाज रुपेश श्रेष्ठको हो ।
सुन्नलाई यो लिङ्कमा जानुहोला ।

बाँकी पढ्नुस् >>

Wednesday, July 15, 2009

गिरीको याद

वि अगमसिंह गिरीप्रति शङ्कर लामिछानेको कलमको प्रेम र श्रद्धाभाव यस लेखोटको सार हो । हामीले यसलाई यहाँ यस रूपमा प्रस्तुत गर्नुको कारण त्यो श्रद्धाभावलाई पाठकसमाजमाझ छनक दिनु मात्र हुँदै होइन । बरू हो- गद्यलेखनमा प्रयोगशिल्पी भनी चिनिएका र पुजिएका-बुझिएका शङ्करको संस्मरणलेखनको पाटो के-कस्तो रहेछ भनेर उदाहरण राख्‍नु । त्यसो त कुनै व्यक्तिविशेषमाथि लेखिएको तथा संस्मरण लेखनको गहकिलो स्वाद चाख्‍न शङ्करको सिङ्गै किताब 'विम्ब-प्रतिविम्ब' मै पस्नुपर्छ ।

तर परिचयात्मक निबन्ध-सङ्ग्रहको नाम दिइएको 'विम्ब प्रतिविम्ब'मा उनको उक्त पुस्तकलेखनको समयमा दिवङ्गत भइसकेका व्यक्तित्व मात्रै थिएनन् । जिउँदा अग्रज प्रतिभा र समकालीनबारे परिचयात्मक भाव उनले उतारेका थिए उक्त पुस्तकमा । प्रस्तुत 'गिरीको याद' निबन्ध भने अगमसिंह बितिसकेपछि लेखेका हुन् शङ्करले ।
गिरीबारे शङ्करले 'निरन्तर बजिरहने एउटा धुन' र 'ओम स्वाहा ! एउटा नवीन आहुति' गरेर अरू दुई सम्झौटो पनि लेखेका छन् । यी दुईसहित प्रस्तुत 'गिरीको याद' विम्ब-प्रतिविम्ब' सँगालोमा पढ्न पाइन्छ । यसपाली शङ्कर स्मृति घरमा त्यही यादलाई सम्झना गरौँ, पढ्नुस् 'गिरीको याद' :-
--------------------------------------------
झ पनि विश्‍वास लाग्दैन गिरीको स्वर्गवास भयो भन्ने कुरा । एक दु:स्वप्न जस्तो भान हुन्छ, र लाग्छ कताकता, बिहानको उज्यालोमा निद्रा खुलेपछि वास्तवमा उनी अझै बाँचेका छन् भन्ने यथार्थ बोध सम्भव छ ।

एक प्रकारले विचार गर्ने हो भने उनको मृत्युको दोष काठमाडौँ तथा खास गरी यसको सरकारी स्तरको अनेक औपचारिक कार्यप्रणाली तथा बेवास्ताको भावनालाई थोपरिदिए हुन्छ । प्रवासमा बस्ने नेपाली बन्धुहरू सोच्दछन्, आफ्नो मातृभूमिमा अवहेलनाको सिकार हुने छैनन् उनीहरू । र जब अवहेलनाले उनीहरूलाई मातृभूमिको मुटुमै प्रहार गर्दछ, उनीहरू निराशाको हद सीमामा पुग्दछन् । हामी जो काठमाडौँमा जन्मेम्, हुर्केम्, हामीलाई यसबारे बोध तथा सहिष्‍णुता एक द्वितीय बानी परिसकेको छ । प्रवासीका लागि यसको वेदना चर्को आघात दिने हुन्छ ।

* * *

मैले कतै लेखेको छु । काठमाडौँ त्रिभुवन विमानस्थलमा अचिन्तनीय रूपमा गिरीज्यूसँग मेरो अन्तिम भेट भएको थियो । अन्यान्य व्यक्तिलाई बिदा गर्न पुगेको, थाहा पाएँ गिरीज्यू पनि जाँदै हुनुहुन्छ । बिदा हुन गएँ । मनस्थिति उहाँको त्यस बेला पनि अलि अस्वाभाविक लाग्यो । एकाग्रता पारा झैँ ढलमलढलमल, दृष्‍टिमा चञ्चलता, कुनै पूर्वभावनाले मनमा अनेक कुरा खेलोरहे जस्तो ।

* * *

यसअघि, यस्तै एउटा परिस्थितिमा मैले उहाँलाई भनेको थिएँ "मबाट केही सहयोग चाहिए भन्नुहोस् है, गिरीज्यू ।" जवाफ पाएको थिएँ, "चाहिएमा निश्‍चय पनि भन्नेछु ।"

* * *

यसपछि, एउटा संयोग । सरस्वतीपूजाकै दिनको कुरा । मेरो घर काठमाडौँको मुख्य सरस्वतीस्थानको मन्दिरको एक मात्र बाटोमा पर्छ । तसर्थ त्यस दिन मकहाँ परिचितहरू एक प्रकारले ताँती लाग्छन् । त्यस दिनको दिवाभोजनमा अम्बर गुरुङका परिवार सम्मिलित हुँदै थिए हामीसँग सरस्वतीको । सरस्वतीको दर्शन गरिसकेपछि उनीहरू आए । यो नियमित आकस्मिकता नै होला, हामीले त्यस दिन आनायास गफ गर्ने विषय रोज्न पुग्यौँ- मृत्युको । मृत्यु कति प्रकारका हुन्छन् र विश्‍वमा कसकसको मृत्यु कुन प्रकारबाट भयो ।

"मृत्यु वास्तवमा अनेक प्रकारका हुन्छन्, मर्ने कुरा जान्दै नजानी सोच्दै नसोची मरिने, मर्न नचाहेर मर्नुपर्ने, मरणको अर्थ नजानेर मर्नुपर्ने, मरणको अर्थ बुझेर अङ्गीकार गर्नुपर्ने निस्सहाय भई, मरणको कामना गरी मृत्यु पर्खेर मर्नुपर्ने, मृत्युको अवस्था आफूले सिर्जेर मर्नुपर्ने, मृत्यु डाकेर पनि नआइदेओस् भन्ने कामनासहित मर्नुपर्ने ।"

(गोरखापत्र, श्रावण १ गते, २०२८, लेखक)

त्यस बेला यी चर्चा हुँदा, आज सम्झन्छु, गिरी चिरनिद्रामा सुतिसकेका थिए, तथा उनको पार्थिव शरीर भस्म पनि भएको थिएन होला !

तर के, अम्बरलाई एवम् मलाई उनको अन्तिम टेलिप्याथिक संवाद त थिएन यो, जो हामीले अनजानमा मृत्युको चर्चामा परिणत गर्‍यौँ ?
को जानोस् ?

* * *

"हामीले यहाँ एउटा कुरा भुल्नुहुँदैन । बाँच्न चाहनु जस्तो ठूलो चाहना अरू केही छैन । यसैका निमित्त हामी चोरी गर्छौँ, चाकरी गर्छौँ, डकैती गर्छौँ, डाँक पर्खन्छौँ, आफ्ना आस्थालाई धरौटीमा राख्छौँ, अर्काको विश्‍वासलाई (गलत भए पनि) मान्यता प्रदान गरिदिन्छौँ ।"

(गोरखापत्र, श्रावण १ गते २०२८, लेखक)

र, गिरीमा यी सब कुराको अभाब थियो । युटोपियामा जन्मिनुपर्ने मान्छे, उनी नेपालको आस्था र अस्तित्व जोगाउन भारतमा हुर्के ।
यही उनको अभिशाप या वरदान थियो ।
अभिशाप यसनिमित्त: उनले अकाल मृत्यु मर्नुपर्‍यो ।
वरदान यसनिम्ति : उनको असामयिक मृत्युबाट अरू लेखक कविका लागि एउटा विशेष व्यवस्था हुने सम्भावना छ ।

* * *

दार्जिलिङप्रति मेरो विशेष प्रेम छ । दार्जिलिङ मात्र नभनौँ, सम्पूर्ण प्रवासप्रति । (दार्जिलिङकी नारी विवाह गरेर यो प्रेम उम्रेको नठान्नुस् !) प्रवासको सहायतानिमित्त २/३ पटक मैले सक्रिय अनुदान गरिसकेँ ।

एकताक नेपालबाट नोकरी एवम् पेसाका लागि नेपाली भारत लाग्थे भने, आज त्यसको ठीक उल्टो परिस्थिति छ ।

यहाँ अगम पनि आउँछन् भने, यहाँ अन्य त्यस्ता पनि आउँछन्, जो कसैलाई भगाएर जागिरको खोजमा आउँछन्, र भोकभोकै पर्छन् ।

त्यस्तासँग नेपाल त्रसित भइसकेको छ । स्थानीय नेपालीहरू आफ्नो भाग खोसिएको अनुभव गर्दैछन् । र, छोपेको मन नपराउने अवस्थामा छन् ।

यो कुरा, नेपालको आशा राख्‍ने सबै भाइले बुझ्नु आवश्यक छ ।

* * *

अन्त्यमा, मलाई एउटै कुरा भन्नु छ । गिरीज्यूलाई सबै दार्जिलिङको राजदूतमा गनेको छु । उहावको असफलताको दोष जसलाई थोपरे पनि, अवस्थाको सुधार हुने होइन ।

* * *

गिरीपछि नेपालीत्वको त्यो झन्डा उचाल्ने को छ, दार्जिलिङमा, त्यसको सूचना चाहियो मलाई ।

* * *

गिरी त गए ! अस्तित्व बाँच्छ के ?
मलाई जवाफ चाहियो ।

--------------------------------------------------------------

*अस्तित्व - वर्ष २, पूर्णाङ्क ५, असोज २०२८
* हामीले साभार गर्‍यौँ: 'शङ्कर लामिछानेका निबन्ध' (२०५९), साझा प्रकाशन, ललितपुर बाट
बाँकी पढ्नुस् >>

Sunday, June 28, 2009

किन लेख्दिनँ म ?

“म तिमीसँग साँच्चै रिसाएको छु, तिमीलाई भन्न मात्रै नभनेको ! मेरो साँच्चै चित्त दुखेको छ तिमीसँग । तिमीले मेरो अपमान गरे झैँ लाग्छ मलाई आजकाल !”

यी वाक्यहरू सुनिरहँदा मेरो शिर निहुरिएको थियो । म निरुत्तर थिएँ । भित्रभित्रै आफैँलाई अपराधी अनुभव गरिरहेकी थिएँ । तर स्नेहको तरलताले लफ्रक्क रुझेकी थिएँ ।

लाग्यो, मेरो आलस्यको ठिहीलाई पगाल्न समयले दिएको न्यानो सूर्योदय हो यो । चुपचाप सुनिरहेँ, अकर्मण्यताको ठिहीलाई पगाल्ने न्याना वाणीहरू । मनको कोमल भागमा मीठो स्पर्श पाएझैं लाग्यो । एउटा चेतनाले अर्को चेतनालाई ब्युँझाउने तातोपन महसुस गरेँ । हृदयमा चुपचाप लुकाएर मुसुक्क मुस्कुराएँ । केही बोल्ने आवाजै थिएन मसँग । त्यसैले एउटी आमाले सन्तानको मृदु तर व्यङ्ग्य वाणीलाई बेवास्ता गरे झैँ आवाजलाई कान दिइरहें, शब्द दिन सकिनँ । तर मेरो अघिल्तिर त मेरो पितातुल्य व्यक्तित्वको आवाज थियो । शरीरभरि एक प्रकारको तरङ्ग छुट्यो । एकैछिनमा झनझनायो मेरो शरीर । बाहिरको चिसोलाई चुनौती दिएझैँ रननन तात्‍न थाल्यो । मैले मेरा गालामा तातो-तातो हुँदै आएको रातोपन महसुस गरेँ ।

मेरो मनमा सिर्जनाको दियो बाल्न बारम्बार हृदयको मैन भएर पग्लिने आवाजमा साँच्चै दु:ख थियो । एउटा लेखकले अर्को सिकारु लेखकलाई देखाउनुपर्ने मायासहित नजानिँदो पीडा बगिरहेको थियो त्यो आवाजमा ।

किन हो फेरि मभित्र कता कता दुख्यो । अहँ मलाई ती वचनहरू भने दुखेनन् । दुख्यो, मेरो अकर्मण्यता दुख्यो, मेरो लाचारी दुख्यो अनि दुख्यो त मेरो आलस्यपूर्ण जिन्दगी दुख्यो ।

यति रहरलाग्दा दिनहरू मैले यस्सै सकाएँछु । जिन्दगीको व्यस्त मेलामा कति न्याना र फुर्सदिला हिउँदका दिनहरू थिए मेरा अगाडि तर तीसँग कुनै नाफाको मोल लिन सकिनछु मैले । मूल्यहीन बितेका दिनहरू आज शूल भएर घोचिरहेछन् मभित्र । थाहै नपाई बितेछन् ती दिनहरू । के उत्तर दिऊँ म उहाँलाई ? म किन लेख्दिनँ ?

मैले नलेख्दा आफ्नो अपमान भएको सम्झिने मेरो आदरणीय प्रेरक व्यक्तिलाई दिने केही उत्तर पाएकी छैन आज मैले । म किन लेख्दिनँ आजभोलि ? म आफैँलाई थाहा छैन । तर नलेख्‍नुको छटपटीले मलाई पनि उत्तिकै पोलिरहेको छ । कुजीवन बाँचेजस्तो । मरीमरी बाँचेजस्तो वा बाच्दै नबाँचेजस्तो ! नलेख्दा मलाई यस्तो लाग्छ । तर किन लेख्दिनँ म ?

उफ्, समयको व्यस्त पिंजडामा थुनिएर कतिबेला कतिबेला काटिएछन् मेरा पखेटाहरू । न उड्न सक्छु, न जस्तो छ त्यस्तोमै जिउन सक्छु ।

कर्तव्यले चोरेको जिन्दगीको प्रत्येक समयसँग कुनै गुनासो छैन भन्दाभन्दै पनि त्यसैलाई निहुँ बनाएर म आज यस्तो अकर्मण्यताको पहाडमा किन चढिरहेछु ? समयका भँगालोहरू फटाफटी नाघेर विश्‍वासको सेतुबाट जीवनको आधा आकाशलाई रङ्ग्याउने मेरो चाहना कता हरायो खै आज ? के अरू कुरालाई कारण बनाएर मैले आफ्नै जिन्दगीको अर्को पाटो जिउन नजान्नु मेरो दोष हैन ? समयको मागलाई अक्षरले व्यक्त गर्नु हातमा कलम लिनेहरूकै कर्तव्य हैन ? खै मेरो कलम ? भाँचियो कि सुक्यो हँ ?

किन हो थाहा छैन मन दुखिरहन्छ । किन दुख्छ यति विधि समस्याहरू ? किन दुख्छ यतिविधि घटनाचक्रका विविध दुर्गतिहरू ?

आज मलाई सोच्न बाध्य पारेको छ, के म साँच्चै दुख्छु ? अहँ दुख्दिनँ । दुख्‍नुको प्रमाण के हो ? खै त्यसको प्रतिक्रिया ? खै कहाँ छ मेरो धर्ती फुटेको, टुसाएको ? के प्रगतिका लागि केही सुरुवात चाहिन्न र ? नअङ्कुराईकन, नटुसाईकन फुल्न खोज्ने मेरो मूर्खताले मलाई सीधै ललकारिरहेछ । तँ केही होइनस् । खालि ढुङ्गो, पत्थर !

आफैँसँग खेद छ । खै, मनमा कलमको निबलाई मसी दिने तरलता ? कहाँ भाग्यो संवेदना ? कहाँ लुक्यो त्यो निश्‍चल मन ? किन देख्दैन यस्तो ज्यस्ति बिझ्ने क्षणहरूलाई । किन सम्पूर्ण पीडा आफैँमा समन गरेर समुद्र बन्न खोजिरहेछ मन ? हलाहल र कालकूटलाई मनमा लिएर बाँच्नुको बाध्यता किन ? नीलकण्ठ बनेर किन उद्दारक बन्न जानेन मेरो मनले ?

ओहो ! कलमलाई हतियारले काटेको बेला के हेरिरहेछु म ? कलमवीर उमा सिंहहरू आफूलाई छियाछिया पारेर सत्य उकेल्दैछन् । सत्यलाई केहीले मेट्न नसक्ने अन्तिम आवाजमा पुकारी रहेकाछन् । तर म किन केही सोच्न सक्दिनँ ? किन लेख्‍दिनँ मेरो समाजको अन्यायको कथा ? किन बिझ्दैनन् आँखाहरूमा असत्यले पर्दा हालेका अँध्यारा कोठाहरू ? फेरि किन बिझेर लाचार हुन्छ मेरो लेखक ? उज्यालोलाई अँध्यारोले जितेको बेला किन काँप्दैन मेरो अभ्यन्तर ? कलमका कोमल शरीरमा खुकुरीले छियाछिया पारेर रगतका फल्साहरू बगाएको बेला, किन जुर्मुराउँदैन मेरो कलम ? सन्तानलाई आफ्नै आँखाअगाडि काटिएकी छोरीको लाश हेरेर टोलाइरहने आमाहरू देख्दा, किन मात्र टोलाइरहेछु म ? यो च्यातिएको समयलाई किन सिउँदैनन् मेरा हृदयका डिकाहरूले ? के आज मेरो मन शब्दहरूबाट भागेकै हो त ? के म शब्दविहीन भएकै हुँ त ? थाहा छैन आफैँलाई म किन लेख्दिनँ ?

दिनदिनै अखबारका पृष्ठहरूमा छापिने समाचारहरूमा कति पल्ट बगाउँछु आफूलाई । के पग्लनु शब्दहीन हुनु हो ? आजैमात्र पढेँ, पढ्न स्कुल गएका बेला बाबुले छोरीको बिहेको डोन (सगुन) खायो । अब पढ्ने चाहना भएकी नौ कक्षामा पढ्ने छोरीलाई बिहे नगरी सुखै छैन । किनकि डोन खाएपछि विवाह रद्द गर्न पाइँदैन । रद्द गरे डोन फिर्ता गर्नुपर्छ । फिर्ता गर्ने उपाय पनि छैन । विवाह नगरे बाबुले घरबाट निकाल्छ । गरिबी र अशिक्षाको कारण समाजमा मौलाएको विकृतिले चिथोर्छ मलाई । कति निरीह छन् छोरीहरू । फेरि त्यही पत्रिकाको अर्को पानामा पढ्छु, अर्की छोरीको आवाज – “महिला विरुद्धको हिंसा स्त्री पुरुषबीच असन्तुलित शक्ति सम्बन्धको उपज हो ।” घटनाको जीवन्त प्रस्तुति गर्दै विचारको बुलन्दीमा इन्दु पन्त घिमिरेको आवाज आफ्नै हो झैँ लाग्छ ।

जीवनका व्यावहारिक पाटोहरूमा नमिलेका क्षणहरू कति घोच्न आउँछन् । के तिनमा जुझ्नु शब्दहीन हुनु हो ? मानव भएर मानवताका लागि गर्न नसकेका कामहरूमा कति लखेटिन्छु ? समस्याको उल्झनमा फसिरहेका क्षणहरू कति टोलाइरहन्छु । समाजका अन्धविश्‍वासका बाटाहरूमा ठेस लाग्दा कति कहालिन्छु ? तर खै लेख्‍न सक्दिनँ !

नलेख्दा संवेदनाहरू कहाँ सुकेर जान्छन् हँ ? विचारको शृङ्खलालाई भने नलेखी पोख्‍न नसकिने रहेछ । तर थाहा छैन मलाई, किन लेख्दिनँ म ?

म क्षमाप्रार्थी छु मेरो प्रेरक व्यक्तित्वसँग ।

- धापाखेल, ललितपुर ।
-------------------------------------------------
बाँकी पढ्नुस् >>

Tuesday, June 16, 2009

औपन्यासिक पात्र - जीवनको पृष्‍ठभूमिमा

न्छन् दान गर्नु बिर्सिदिनु, अनि मात्र पुण्य मिल्छ । कुरा कहाँबाट उठ्छ भने, भर्खर एउटी अन्धी आइमाई केटोलाई डोर्‍याउँदै आइरहेकी थिई । उसलाई मैले एक ढ्याक दिएँ । बच्चोले पैसा हत्केलामा राखेर हेर्‍यो र बिस्तारै भन्यो 'पाँच पैसा' । स्वास्नीमान्छेको अनुहारमा न कुनै कृतज्ञताको भाव आयो, न हर्षको, न सफलताको । ऊ ढ्याक जत्ति नै निस्पन्द थिई । परेला चिम्लेकी नै ऊ बिस्तारै घुमी र गई । ठिटोले डोर्‍याउँदै लग्यो उसलाई ।

असलमा यो साह्रै नगन्य एक घटना थियो । र, कहानी कलाको मापतौलमा यस्ताको उल्लेख गरिन्न पनि । र जीवनमै पनि यी जुन नगण्य पात्र छन् यिनलाई सम्झिराखिन्न । तर मेरो परिस्थिति अर्कै थियो, म त्यस बेला जीवनको गहनता र महान्‌ता र विभिन्नताउपर रमिएको थिएँ । मेरो आँखामा एउटा स्मार्ट ठिटोको अनुहार व्याप्‍त थियो र मेरा कानमा उसका बोलीको झन्कार गुञ्जिरहेको थियो । ऊ असलमा स्कूलबाट भागेर आएको थियो । नीलो कट्टु, सेतो कमिज, पुस्तकको झोली जनै जस्तो भिरेको, दाहिने हातमा लन्च-बक्स । सडकमा उभिएर ऐनाभित्रका मालसामन निरीक्षण गरिरहेको । मेरो छोराकै स्कूलको लुगा देखेर, सायद एक आत्मीयताको नाताले होला- मैले अङ्ग्रेजीमा सोधेँ, 'आज स्कूलबाट चाँडै आयौ ?'

पुलुक्क मेरो मुख हेर्छ ऊ ! अहिलेसम्म, साँच्चै भनूँ भने, म युनिफर्मसँग कुरा गर्दै थिएँ । अब जब अनुहार आउँछ मेरो सामु म उसलाई उसकै रूपमा हेर्दछु घोप्ट्याएको त्रिकोण छ उसको अनुहार, र यसका आँखा भर्खरै मानौँ कसैले कर्धले अनुहारमा रोपेको दुई ताजा घाउ हुन् । नानी, परेला, आँखीभौँ केही देखिँदेन पहिलो झोँकमा । होलान् ती, तर तिनको प्रमुखता छैन, सायद प्रयोजन पनि । अनुहार विशिष्‍ट छ, बुझ्‍न नसकिने एक छाप छाडिदिन्छ मनमा, र धेरै बेरसम्मन् ऊ धमिलिएर पनि प्रष्‍ट भइरहन्छ मानौँ ।

'फादरले घर जाऊ भन्यो । मलाई घाउ भयो ।'

'कहाँ ?'

'यहाँ ।'

निहुरिएर घुँडामुनि हेर्छु । घिस्रिएको दाग छ, आलो ।

'म त तिमी भागेर आयौ भन्ठानेको ।'

'म भाग्ने खालको मान्छे होइन !'

'मलाई थाहा थिएन नि त । मैले घाउ देखिनँ, ठानेँ स्कूलबाट तिमी भाग्यौ !'

उसले बिर्सिदियो मैले दिन खोजेको सफाइ, त्यसरी नै जसरी हामी दान बिर्सिदिन्छौँ अथवा भनौँ सफाइका वाक्य उसको लागि महत्वहीन थिए, नगन्यै भनौँ ।

'अस्ति मैले अङ्ग्रेज लिएर आएँ, यहाँबाट उसले दुईवटा यो किन्यो ।'

उसले औँल्याएका कुरा हेर्छु - ज्यापू, ज्यापुनी हुन् काठका । उसको अनुहारको भाव यस्तो छ मानौँ त्यो किनाइदिएर उसले मेरो ठूलो उपकार गरिदिएको छ । मानौँ मैले उसप्रति कृतज्ञता गर्नैपर्दछ । स्वीकार गरिहाल्नु उसको महत्वलाई होच्याएको देखिने हुनाले म शङ्का प्रकट गरिदिन्छु - 'तिमीले किनाइदियौ ?'

अब ऊ दङ्ग पर्छ । ऊ मलाई यस दृष्‍टिले हेर्दछु मानौँ उसको लमाइ ५ फीट एक्कासि बढ्यो र इथरमा उसका वरिपरि एक प्रकम्पन छ उसको सानको, सब मानौँ ग्रहण गरिरहेछु । चुप लागेर रोक्दारोक्दै फुस्कन गएको पाराले मुस्कान बिस्तारै छाड्दैछ । मलाई लट्टाइबाट धागो छाडिरहेको सम्झना आउँछ । यत्तिका मौन सम्भाषण जो भयो, यसको लागि मानौँ भाषा, शब्द अभिव्यक्ति खै पर्याप्‍त ?

'मेरो घरमा यो पनि छ ।' उसले बुद्धको सानो प्रतिमा इङ्गित गर्छ । मलाई देखापर्छ झल्यास्स एक पूजाकोठा र खापा र धूपबत्ती र अनेक भगवान्‌का बीच बुद्ध बसेको दृश्‍य । म पनि यसरी टाउको हल्लाइदिन्छु मानौँ म जान्दछु सब, मानौँ मैले उसको पूजाकोठा देखेको छु, मानौँ म नै त उसको पूजाकोठे, पूजारी हुँ ।

'यसभन्दा ठूलो र यसभन्दा राम्रो ! साँच्चिकैको । यस्तो अङ्ग्रेजलाई बेच्ने खालको होइन ।'

पूजारीको जागिर पजनी हुन्छ मेरो । म मर्माहत मेरो । उसले मेरो व्यवसाय मानौँ राम्ररी जानेको छ ।

'अँ ? !!' यो अँ म यस पाराले भन्छु जसमा आश्‍चर्य, प्रश्‍न, जिज्ञासा, अनुरोध सब छ । मानौँ यो ॐ को मन्त्र हो । बुझिदिन्छ ऊ कुरा; भन्छ - 'मसँग टिबेटन स्टोन पनि थियो दुईटा ।'

ईश्‍वरको स्वादिलो गम्भीर चर्चा-बीच यो स्टोन दाँतमै मानौँ टोकिन्छ ।

"अँ ? दुईवटा ?"
'हरायो । बाकसबाट । नत्र देखाउने थिएँ ।' - ऊ भन्छ ।
"तिमी कुन स्टैन्डर्डमा ?"
'सेकेन्ड बी-मा ।'
'घर कहाँ ?'
'पनोरमा होटल…निरै ।'

यस पाराले ऊ 'निरै' भन्छ, एकछिन गम खाएर, मानौँ पनोरमा होटल उसकै घर हो, 'निर' त अर्काको । ऊ घरतिर जान्छ । न कुनै ग्रिटीङ, न कुनै मुस्कान; फरक्क फर्कन्छ र हिँडिदिन्छ । म उसैको आभामा रुमल्लिरहन्छु ।

मलाई केटाकेटी मनपर्छ । तिनको वरिपरि एक आभा हुन्छ, जीवनदायिनी । र त्यसको उद्‌गम स्रोत हुन्छ एक क्षणिक … जिज्ञासाको … असलमा केटाकेटी मलाई मनपर्छ उसले हामीलाई बिर्सिदिने हुनाले । र जब-जब एउटा स्मार्ट केटा म देख्छु, मलाई एक आशा प्राप्‍त हुन्छ, एक विश्‍वास बर्सिन्छ मेरो सामु । लाग्दछ अझै संसार समाप्‍त भइसकेको छेन ।

कहाँबाट बीचमा यो दर्शन आइपुग्यो बूढो हुँदै गएको लक्षण यही हो - जेमा पनि अर्थ, योजना र दर्शन खोज्ने, नपाएमा भिडाउने ।

अँ, त भन्दै थिएँ । त्यै केटाको तेजमा, छोडेर गएको वातावरणको आभामा म रुमल्लिरहेको थिएँ । त्य बेला म जीवनको गहनता, महान्‌ता र विभिन्नतामा रूमल्लिरहेको थिएँ । र मलाई सम्झना आइरहेथ्यो मेरो साथी एक कविको । जो कविता गर्न छाडेर मास्टरी गर्न छाड्यो । र जो अब मास्टर मात्रभएको छ । नाउँ उसले नकमाएको होइन, स्वयम्‌ एक स्कूल बनायो, कविता क्षेत्रमा । लेख्‍न छाडे पनि, आजसम्म तर जसको बराबर चर्चा भइरहन्छ । ऊ बराबर भन्छ - कविता लेखिन्छ आत्मतृप्‍तिका लागि होइन त? 'तँ केटाकेटीका घेरामा एक छिन बस् त, कस्तो आत्मतृप्‍ति हुँदोरहेछ !' सडकमा हिँड्दाहिँड्दै एक दिन, अनायास, टक्क अँडेर, भन्छ ।

'यो ठाउँ देख्छस् ?'

'देखिरहेछु !'
'राम्ररी हेर् ! यस ठाउँमा मलाई एक पटक चरम तृप्‍तिको अनुभव भयो !'

ठाउँ हेर्छु । नाङ्गो पेटी र रित्तो भित्ता, पर्खालबाहेक तयहाँ केही छैन ।

पानी परेर म तयहाँ त्यसै ओत लागेको थिएँ । एउटी ५ वर्षकी केटी आफ्नो आमासँग जाँदे थिई । मलाई देखी । आमाको ओढिरहेको छाता मागेर ल्याई । भन्छे- मास्साब, छाता लिनोस् । मेरो त आँखाका परेला भिजे । सक्छस तँ बुझ्न ? त्यस केटीको हृदयमा भएको भावलाई ? रिस, राग छल-कपट द्वेष केही नउम्रेको स्वच्छ स्नेह हो त्यो । त्यसले मुश्किलले ३००-४०० शब्द जानेकी होली, त्यत्रो सानो शब्द झिकेर 'मास्साब, छाता लिनोस्' बन्न सक्नु, आत्मप्रवञ्चनाबिना आफूलाई, आमालाई, वर्षालाई बिर्सेर ! भन् त, ती तीन शब्दमा कत्तिका कविता छ ! बिस्तारै गाला थपथपाएँ, भनेँ, 'भो, बा भो, भो, मान्छे पर्खिरहेको ।' बेमनसाथ ऊ फर्की । केटी स्कूलमा साधारण हो, विशेष आँखामा नपर्ने । भोलिपल्ट मैले क्लासमा उसलाई धन्यवाद दिएँ । उसको हनुहारको दीप्‍ति, त्यस बेला … ! बाबू, जीवनमा कविता छरिएर बसेका छन्, देख्‍न सक्नु र टिप्न सक्नु मात्र पर्छ । लेख्‍ने फुर्सद कसलाई ?'

म जान्दछु, उसले नलेखिदिनाले हामीले धेरै कुरा गुमाएका छौँ । तर लेखिएका कुराबाट नै हामीले कहाव के कत्ति पाउन सकेका छौँ आजकाल ! फेरि दर्शन च्याउन खोज्छ । त, भन्दै थिएँ, जीवनको यस्तै गहनता, महान्‌ता र विभिन्नताले परिपूर्ण काव्यात्मक अनुभूतिमा रमाइरहेको बेला मेरा आँखामा पर्छन् ती ढ्याक जस्तो चिसो अनुभूतिहीन अनुहार । म पाँच पैसामा त्यसलाई पन्छाउने ध्येयले झटपट पैसा दिइहाल्छु र भन्छु, मन मेरो, तँ बिर्सिदे तैँले गरेको यो उपकार र फर्की आइज काव्यपूर्ण संसारमा । र याहँनिर म असफल हुन्छु । मलाई लाग्दछ म अतीतबाट उम्कन सकेको छैन । यो जो विगत एक इतिहासको निचोड छ, यो उक्ति, जसले 'अर्काको असफलतालाई पन्छाइदेऊ, पैसाले, दानले, पुण्यले, भजनले, स्तुतिले …' भन्छ, यही हो जो हाम्रा पुर्खाका पुर्खाले हाम्रा पुर्खालाई सिकाए, त्यस बेला जब समाजलेयो चेतनता पाएको तिएन, यो व्यक्तिको सामूहिक उत्तरदायित्व समाजउपर छ भन्ने चेतनता ! म किन अझै यो चेतनतालाई बन्दी बनाएर पुण्य कमाउने तर्खरमा छु हँ ?, म मेरा सन्ततिलाई किन फेरि यही उक्तिको कोसेली ओसारूँ हँ ?, जब स्वयम् मैले बुझिसकेको छु …. के बुझिसकेको छु ? हो कि होइन, सोझो कुरा गर्ने हो भने, मलाई पापी नै बन्न देऊ, बरू म सम्झिरहन चाहन्छु मैले दान गरेका कुरा, कारण अनि पो मेरा आँखा अगाडि बारम्बार र बराबर आइरहनेछन् ढ्याक जस्ता चिम्लिएका आँखा, चिसा अनुहार र निर्लिप्‍त भाव । र बारबार सम्झिरहेछु घोप्टिएको त्रिकोण र कर्धले उधारेको दुई गाउ अनुहारको, र बारबार म सम्झिरहन चाहन्छु मानिसको हीनतम अवस्था झब एक व्यक्तिले अर्को व्यक्तिसामु हात पसारेर पाएको दान पनि दान नसम्झिन सक्ने भएको थियो , जब दान पाएर पनि पाउनेको अनुहारमा कुनै प्रतिक्रिया, कुनै लाज, कुनै कृतज्ञता अथवा खोक्रो आशिष्‌को सङ्केतसम्म पनि थिएन । म सम्झिरहन चाहन्छु त्यो अनुहार जसले भीख माग्नु पनि एक कर्तव्य ठानिसक्यो, त्यत्ति ठूलो कर्तव्य मानौँ ऊ हामीलाई अनुगृहित गरिरहेछ, अथवा भनौँ त्यत्ति पनि होइन, उसको निम्ति त्यो क्रिया सास फेरेजत्तिकै, रौँ उम्रेजत्तिकै, नङ उम्रेजत्तिकै स्वाभाविक भइसक्यो । म चाहन्छु, म उमारिदिऊँ उनीहरूमा, आफू स्वयम्‌ कृतघ्न भएर पनि एक लज्जाको भावना, वा म चाहन्छु उमारिदिऊँ स्वयम् आफूमा एक प्रतिक्रिया यी रगतमा घुसिसकेको परम्पराविरूद्ध । म चाहन्छु उसमा पीडाको, लाज-शरम-कष्‍ट-हीनताको अनुभूतिकै माध्यमबाट तिनको परिष्‍कार, तिनको दुर्दशाको निवारण छ ।

दान दिने कुरा धर्म बनिसकेको धेरे भयो । आज मलाई अनुभव हुँदैछ, यो अब जीवन पनि पो बन्न थालिसक्यो ।

म चाहन्छु, खुट्टामा घाउ भएर चाँडै घर आउने ठिटो, त्यो ठिटो जसले अङ्ग्रेजलाई ज्यापू-ज्यापुनी बेचिदियो, र उसको घरमा बढी ठूलो र बढी राम्रा बुद्ध छन्, र जसले बाकसबाट टिबेटन स्टोन गुमायो, त्यस ठिटोले चाहे कविता र कथा नलेखोस्, चाहे कवि-हृदय मास्टरलाई छाता नदेओस्, तर पनि, निश्‍चयसाथ 'पुण्यचाहिँ नकमाओस् ।'

म जहाँ अडेको छु आज, त्यहीँसम्म मात्र उसका पनि पाइला पुग्ने हुन् र अगाडि बढ्न मैँ जस्तो अलमलिने हो भने, मलाई डर छ, हामी बाँचेको अस्तित्व रहेनछैन ।

उसका आँखामा हामी पनि कहीँ नगण्य र बिर्सिदिनुपर्ने औपन्यासिक पात्र मात्र नरहन जाऔँ ।

* साभार: एब्सट्र्याक्ट चिन्तन प्याज (सम्वत् २०२४)

बाँकी पढ्नुस् >>

Sunday, June 7, 2009

लघु संस्मरण, लघु लिपिमा शङ्कर दाइ

भूतपूर्व लेखनकला, वैचारिक प्रखरता र विभिन्नताका धनी, कथावस्तु विनाका कथाका पनि जन्मदाता । नेपालीमा हाइकुका प्रथम प्रयोक्तासमेत रहेका शङ्करदाइ 'इम्प्रेसनिज्म्' जस्ता नौला साहित्यिक धाराहरूको स्वाद हामीलाई चखाउने प्रथम व्यक्ति पनि थिए । कुरैकुरामा एकदिन मैले उनलाई सोधेको थिएँ, "दाइका प्रेरक साहित्यिक गुरुहरू लरेन्स डुरेल र सारोयानमध्ये कुन चाहिँ हुन् ?"

"मलाई त्यस्तो दम्भ गर्न मन त लाग्दैन, तर कहिलेकाहीँ म स्वयम् शङ्कर सारोयान र लरेन्स लामिछानेमध्ये कुन चाहिँ बढी हुँ, ठम्याउनै सक्दिनँ !"

यो उत्तर पनि मलाई अति 'एब्स्ट्र्याक्ट' (Abstract) जस्तो नै लाग्यो । अर्थात्, मैले केही बुझेँ पनि, बुझिनँ पनि । उनका निबन्धहरूले अत्यन्त प्रभावित भएर मैले उनलाई 'निबन्ध शिरोमणि' मानेको पनि धेरै भयो ।

तर अचम्म, 'दि काठमान्डु पोष्‍ट' अङ्ग्रेजी दैनिकमा सन् १९९७ देखि पछिका दुई वर्षमा हरेक साता छापिने मेरा करिब ३०० जति स्मृतिप्रधान रचनाहरूमध्ये एउटैमा पनि शङ्कर कसरी परेनन् होला, के भएर छुटे होला, म स्वयम् पनि भन्न सक्दिनँ । जब कि तिनमा कुने बेला यस्ता व्यक्ति पनि परे, जसलाई आजीवन समेत भेटेको थिइनँ- जस्ते निराद सिंह चौधरी ।

शङ्कर लामिछानेसँग मेरो पहिलो भेट करफोकको एक साहित्यिक जमघटमा भएको थियो, सन् १९५२ सालतिर । त्यस जमघटमा सबैभनदा केटौले, 'स्मार्ट' र जाँगरिला देखिने काठमान्डुका प्रतिनिधि उनै थिए ।

म जब कलकत्ता छोडेर काठमाडौँ आएँ, शङ्कर दाइको विवाह रत्‍ना राइसँग भइसकेको रहेछ । काठमाडौको एक बाहुन युवकले राइ युवतीसँग बिहे गर्नु भनेको तिनताकको नेपाली समाजमा एउटा ठूलो विद्रोह, एउटा सामाजिक क्रान्ति गर्नु सरह नै थियो । फेरि रत्‍ना, जसलाई म दार्जिलिङदेखि नै चिन्थेँ र जो काठमाडौँमा आयोजित नेपाल भारत छात्र सम्मेलनमा हामीसँगै प्रतिनिधि भएर आएकी थिइन्, उनैसँग शङ्कर दाइको विवाह भएको सुन्दा विद्रोहीको रूपमा उनीप्रति जागेको आदर भावमा आत्मीय नाता कुटुम्बपना पनि थपिएको थियो ।

काठमाडौँमा मेरा दिदी-बहिनी कुनै नभएकाले मैले रत्‍ना दिदी र यांगजि (शेर्पा) बहिनीको हातबाट भाइटीका थाप्ने प्रक्रिया पनि सुरू गरेँ । यांगजि र रत्‍नाले एकै ठाउँ, शङ्कर दाइकै डेरामा हामीलाई भाइटीका लगाइदिने गर्थे । हुँदाहुँदा यस सहरमा मेरो दोस्रो घर (सेकेण्ड होम) पनि त्यहीँ हुनगयो । यसरी जीवनका १५-२० हिउँद-वर्षासँसँगै रुझेर, भिजेर, रमेर र गमेर शङ्कर दाइसँग बिताएँ । व्यावहारिक जीवनमा लगायत साहित्यिक र वैचारिक यात्रामा समेत अनेक सहयोग र अगुवाइ मैले उनैबाट पाएँ । भनूँ नै भने कथा, कविता, नाटक आदि विधाबाट निबन्धतिरै कलम चलाउन पनि मलाई सबैभन्दा धेरै प्रेरित उनैले गरे ।

यांगजि बहिनी र म दुवैको जागिर खुस्केपछि हामीले साझेदारीमा एउटा 'स्ट्रक्चरल' (Structural) कम्पनी स्थापना गर्‍यौँ । त्यसको 'न्वारान' श,कर दाइले नै गरिदिएका थिए । त्यो अत्यन्त नौलो नाउँ थियो 'स्ट्रक्टो नेपाल' ।

अझ एकपल्ट मैले प्रेस राख्‍नलाग्दा पनि दाइसँगै सल्लाह मागेँ ।
"कतै प्रेस हेर्नुभएको छ ?" - उनको प्रश्‍न थियो ।

"छैन ।"

"त्यसो भए एकछिन पर्खौँ । वीरगञ्जमा एउटा प्रेस बिकाउ छ रे । त्यो मेरै साथीको हो । ऊ अहिले आउँदै पनि छ । राम्रो रहेछ र दाम-काम मिल्यो भने त्यही लिउँला, हुन्न ?"

"हुन्छ, तर वीरगञ्जबाट यहाँ ल्याउन पो गाह्रो पर्ला ।"

म अनकनाए जस्तो लागेर होला, दाइले भने, "अरे के ठूलो कुरा छ ? हामी दुवै सँगै जाउँला, रमाइलो पनि गरौँला, प्रेस पनि ल्याउँला । पशुपतिको जात्रा सिद्राको व्यापार ।" गट्टट् हाँसोको फोहोरा छुट्यो ।
र म पनि हाँसेँ ।

त्यसै गर्‍यौँ पनि । उनी मसँग वीरगञ्जसम्म गए मात्र होइन, ३-४ दिन सँगै बसे, प्रेसबारे जानकारी भएका व्यक्तिहरूबाट मेसिन जाँच्न लगाए, चित्त बुझेपछि खरिद गराए । आफैँले ट्रक पनि बन्दोबस्त गरे, प्रेस लाद्‌न लगाए र मसँग त्यसै ट्रकमा काठमाडौँ आए । फेरि मेरो पुतलीसडकस्थित 'रामझुपडी'को भुईँतल्लामा त्यो प्रेस जडान गर्न सबै व्यवस्था समेत मिलाइदिए ।

तर जीवनको उत्तरार्द्ध कालमा उनी दोस्रो घरजम गरी पाटनतिर बस्न गएछन् । त्यसपछि हामी एक-अर्काबाट टाढिँदै जानु स्वाभाविक थियो । यही क्रम केही वर्ष जारी नै रहेको थियो मैले उनको दर्शन धेरैपछि एकैचोटि वीर अस्पतालको आइ.सी.यू. (I.C. U) मा मात्र पाएँ र त्यही अन्तिम भेट पनि हुन गयो …. ।

- ipainc@hotmail.com
--------------------------------------------------------------
* प्रथम प्रकाशन: 'सम्झाउनी बिर्साउनी', निर्माण प्रकाशन, गान्तोक सिक्किम (सन् २००५)
* हामीले साभार गर्‍यौँ : शङ्कर स्मृति (व्यक्ति, कृति र स्मृति) सन् २००६- पैरवी बुक्स, काठमाडौँ । सम्पादक- प्रकाश सायमी ।

बाँकी पढ्नुस् >>