* * *
यसपछि, एउटा संयोग । सरस्वतीपूजाकै दिनको कुरा । मेरो घर काठमाडौँको मुख्य सरस्वतीस्थानको मन्दिरको एक मात्र बाटोमा पर्छ । तसर्थ त्यस दिन मकहाँ परिचितहरू एक प्रकारले ताँती लाग्छन् । त्यस दिनको दिवाभोजनमा अम्बर गुरुङका परिवार सम्मिलित हुँदै थिए हामीसँग सरस्वतीको । सरस्वतीको दर्शन गरिसकेपछि उनीहरू आए । यो नियमित आकस्मिकता नै होला, हामीले त्यस दिन आनायास गफ गर्ने विषय रोज्न पुग्यौँ- मृत्युको । मृत्यु कति प्रकारका हुन्छन् र विश्वमा कसकसको मृत्यु कुन प्रकारबाट भयो ।
"मृत्यु वास्तवमा अनेक प्रकारका हुन्छन्, मर्ने कुरा जान्दै नजानी सोच्दै नसोची मरिने, मर्न नचाहेर मर्नुपर्ने, मरणको अर्थ नजानेर मर्नुपर्ने, मरणको अर्थ बुझेर अङ्गीकार गर्नुपर्ने निस्सहाय भई, मरणको कामना गरी मृत्यु पर्खेर मर्नुपर्ने, मृत्युको अवस्था आफूले सिर्जेर मर्नुपर्ने, मृत्यु डाकेर पनि नआइदेओस् भन्ने कामनासहित मर्नुपर्ने ।"
(गोरखापत्र, श्रावण १ गते, २०२८, लेखक)
त्यस बेला यी चर्चा हुँदा, आज सम्झन्छु, गिरी चिरनिद्रामा सुतिसकेका थिए, तथा उनको पार्थिव शरीर भस्म पनि भएको थिएन होला !
तर के, अम्बरलाई एवम् मलाई उनको अन्तिम टेलिप्याथिक संवाद त थिएन यो, जो हामीले अनजानमा मृत्युको चर्चामा परिणत गर्यौँ ?
को जानोस् ?
* * *
"हामीले यहाँ एउटा कुरा भुल्नुहुँदैन । बाँच्न चाहनु जस्तो ठूलो चाहना अरू केही छैन । यसैका निमित्त हामी चोरी गर्छौँ, चाकरी गर्छौँ, डकैती गर्छौँ, डाँक पर्खन्छौँ, आफ्ना आस्थालाई धरौटीमा राख्छौँ, अर्काको विश्वासलाई (गलत भए पनि) मान्यता प्रदान गरिदिन्छौँ ।"
(गोरखापत्र, श्रावण १ गते २०२८, लेखक)
र, गिरीमा यी सब कुराको अभाब थियो । युटोपियामा जन्मिनुपर्ने मान्छे, उनी नेपालको आस्था र अस्तित्व जोगाउन भारतमा हुर्के ।
यही उनको अभिशाप या वरदान थियो ।
अभिशाप यसनिमित्त: उनले अकाल मृत्यु मर्नुपर्यो ।
वरदान यसनिम्ति : उनको असामयिक मृत्युबाट अरू लेखक कविका लागि एउटा विशेष व्यवस्था हुने सम्भावना छ ।
* * *
दार्जिलिङप्रति मेरो विशेष प्रेम छ । दार्जिलिङ मात्र नभनौँ, सम्पूर्ण प्रवासप्रति । (दार्जिलिङकी नारी विवाह गरेर यो प्रेम उम्रेको नठान्नुस् !) प्रवासको सहायतानिमित्त २/३ पटक मैले सक्रिय अनुदान गरिसकेँ ।
एकताक नेपालबाट नोकरी एवम् पेसाका लागि नेपाली भारत लाग्थे भने, आज त्यसको ठीक उल्टो परिस्थिति छ ।
यहाँ अगम पनि आउँछन् भने, यहाँ अन्य त्यस्ता पनि आउँछन्, जो कसैलाई भगाएर जागिरको खोजमा आउँछन्, र भोकभोकै पर्छन् ।
त्यस्तासँग नेपाल त्रसित भइसकेको छ । स्थानीय नेपालीहरू आफ्नो भाग खोसिएको अनुभव गर्दैछन् । र, छोपेको मन नपराउने अवस्थामा छन् ।
यो कुरा, नेपालको आशा राख्ने सबै भाइले बुझ्नु आवश्यक छ ।
* * *
अन्त्यमा, मलाई एउटै कुरा भन्नु छ । गिरीज्यूलाई सबै दार्जिलिङको राजदूतमा गनेको छु । उहावको असफलताको दोष जसलाई थोपरे पनि, अवस्थाको सुधार हुने होइन ।
* * *
गिरीपछि नेपालीत्वको त्यो झन्डा उचाल्ने को छ, दार्जिलिङमा, त्यसको सूचना चाहियो मलाई ।
* * *
गिरी त गए ! अस्तित्व बाँच्छ के ?
मलाई जवाफ चाहियो ।
--------------------------------------------------------------
*अस्तित्व - वर्ष २, पूर्णाङ्क ५, असोज २०२८
* हामीले साभार गर्यौँ: 'शङ्कर लामिछानेका निबन्ध' (२०५९), साझा प्रकाशन, ललितपुर बाट
बाँकी पढ्नुस् >>