'तिम्रा पर्खालमै
तिम्रो बाटो छ !'
यो कसको महान्
वाणी ? नित्सेको
? अहिले
ट्याक्क सम्झिन सकिनँ !
‘बाटो नभएको
ठाउँमै गोरेटो छ !’
यो कसको महान्
वाणी ? थाहा
छैन !
‘लेख्न असमर्थ
भएकै बेला, लेख्ने प्रयास गर !’
यो कसको महान्
वाणी ? थाहा
छैन !
तर, अहिलेको क्षणमा
म यो तीनै आयाममा संकुचित भएको स्वयंलाई अनुभव गर्दै छु । बाटो छैन, गोरेटो छैन,
लेख्ने
सामर्थ्य छैन !!!
मलाई सम्झना
आइरहेछ, कसरी
म प्रेमपत्रहरु १५-२० पेजको लेख्थेँ । न हात थाक्थ्यो, न मन ! र
त्यत्ति लेखिसक्दा पनि लाग्दथ्यो अझ भन्ने कुरा व्यक्त भएको छैन !
र आज ?
व्यक्त गर्ने
कुरा नै पाउँदिनँ !
लाग्दछ, के मेरो भण्डार
रित्तियो ? वा मेरो सेन्टीविटीमा ठेला पर्यो ? होइन, यी कुनै पनि
कुरा होइनन्, म यथावत् नै छु भन्ने धारणालाई कुम्लो झैं बोकी मेरो अन्तर्मन विद्रोह
गर्न खोज्दछ । म कलम हातमा लिन्छु र कामना गर्न थाल्दछु – यसबाट उच्च
साहित्य नै निस्कोस् !
यहीँ, यस चाहनामै,
मेरो
कमजोरी छिपेको छ । के मैले नै ठेक्का लिएको छु, उच्च साहित्य
लेख्ने ? के
अरुले उच्च लेखेको उच्च साहित्य होइन ?
र उच्च साहित्य
भनेको के हो ?
अब, भो ? शंकर लामिछाने
परास्त हुन्छ ।
कारण उसले
आजसम्मन् उच्चताको परिभाषा बुझ्न सकेको छैन । शेक्सपियर टाइममा आफ्नी प्रेमिकालाई
अर्कोले दृष्टिपात गरेको झझल्कोमै डुएल लडिन्थ्यो । आज चाहिँ स्वास्नीलाई अर्कोले
हेरिदिँदा उसको दृष्टिमा फ्रायड देखा परे लोग्नेलाई भरेका लागि खुराक मिल्दछ । यी
दुई उच्चतामा, यी दुई महानतामा कत्तिको फरक छ ? २००७ सालको
क्रान्ति नभएको भए विजयबहादुर मल्लबाट ‘कालो चश्मा’ सिर्जना हुन
सक्थ्यो ? र,
२००७
सालको क्रान्ति भइदिएको भए, अघिबाटै ‘दोषी चश्मा’
बन्थ्यो ?
एउटाले पर्खालमा
बाटो खोज्यो ।
अर्कोले त्यसैमा
गोरेटो पैल्यायो ।
र, मैले बाटो
नपाउनुको अर्थ हो, मेरा लागि क्षितिज खुला छ । मेरो लागि अंकमालमा हात फैलिएको छ ।
आफ्नो सामर्थ्यभन्दा बढी प्रतिष्ठा पाएकोले नै आज म असहाय भएको छु । अब त, कस्तो हुन
लाग्यो भने, एउटा पंक्तिमै ‘वाह वाह’ एउटा लेखमै ‘वाह वाह’
। मानौं
पाठकलाई मेरो सफलताको नशा लाग्यो, मानौं मेरो नामको हिप्नेटिज्म वशीवरणले
उनीहरुलाई पो छोयो ।
र म ? म चाहिँ विदेशी
साहित्य चोर्दछु । विलियम सारोयान पढेँ, मेरो शैली परिमार्जित भयो । हेनरी मिलर पढेँ,
लेख्ने
कुरामा सत्यवादिताको पुट बढ्यो । एनास निन पढेँ, गद्य काव्यात्मक
रुपमा ढाल्न मन लाग्यो । सार्त्र र कामु पढेँ, शून्यवादको
अध्ययन गर्न पुगेँ । जेम्स ज्वायस र वाल्डविन पढेँ, ‘के भो के भो,
हिजो आज
तिम्रै माया लाग्छ !’
शून्यवादले मलाई
अन्यवादको भोक बढायो । सांख्यदर्शनदेखि प्रज्ञापारमिता पनि पढ्न पुगेँ । पाएँ,
सब माया
हो । स्वयंलाई छल्ने उपाय मात्र हो । ईश्वरले हुन सक्छ, सोखका लागि
मानिस बनायो; तर, विडम्बना त के भने, मानिसले पूजाका लागि ईश्वर बनाइदियो । सोखका
लागि केही गर्नु र श्रद्धाका लागि केही गर्नुमा निकै अन्तर छ । सोखको लागि गरिएका
कुरामा आनन्द हामीलाई स्वत: प्राप्त हुन्छ; श्रद्धाको लागि
गरिएको कुरामा आनन्द रिटेलरबाट मात्र पुग्न आउँछ हामी कहाँसम्मन् ।
यस कुराको बोध
भएपछि सास फेर्दा पनि कफ अड्के जस्तो घ्यार्र-घ्यार्र हुँदो रहेछ । त्यस अवस्थामा
कसले भाषण गर्न सक्छ ? कसले कविता गाउन सक्छ ?
कसले कविता
लेख्न सक्छ ?
कसले गोरेटो
पैलाउन सक्छ ?
तर ‘पर्खालमै तिम्रो
बाटो छ !’
कसले भनेको हँ,
यो ?
नित्सेले
?
म जान्दिनँ,
मैले
लेखेको यो साहित्य भयो भएन ! तर, असलामा, साहित्यसको
परिभाषा नै मलाई थाहा छैन । साहित्य केको लागि ? जनताको लागि ?
समाजको
लागि ? धर्तीको
लागि ? स्वयंको
लागि ? वा,
आफू मरेर
कता कता हिँडिसकेपछि एउटा लाइब्रेरीका दराजबाट धूलोमा बेरिएर एउटा इच्छुकका आँखाको
लागि ? वा,
कोर्सबुकको
लागि ?
यिनै
प्रश्नहरुका पर्खालमा म बाटो खोज्दै छु !
सोखको लागि
साहित्य अँगालेको भए, अब यो श्रद्धा हुन गयो । आफ्नो लागि देख्न आरम्भ गरेको थिएँ-
प्रेमपत्रबाट, हृदयको व्याकुलताबाट, विदेशी-देशी विद्वानको प्रभाव जो परेको थियो
आफूउपर, त्यसलाई
देशवासीउपर दर्शाउने अभिलाषाबाट, डायरीबाट, अनुभवबाट,
‘वाह वाह-‘
बाट र
प्रतिष्ठाको लोभबाट ! आज चाहिँ, म अर्काको लागि लेख्दै छु (रुप-रेखाको
सम्पादकको लागि !), जनताको लागि ?, समाजको लागि ?, भविष्यको लागि ?,
एक
पाठिकाको अस्पष्ट अनुहारको लागि ?
तर, आज साहित्य मेरो
लागि सोख रहेन । श्रद्धा हुन गयो । यसैको माध्यमद्वारा म ‘बाँच्छु’
कि भन्ने
भावनाले घर बनायो मुटुमा !
(मानौं रोजै
पशुपतिनाथ धाइदिँदा, मोक्ष पाइन्छ कि भन्ने भावना !)
र, पर्खालको एक
अर्को घेरा हो यो, जसमा म बाटो खोज्दै छु ।
र, जनताको लागि
मैले जीवनमा कहिले पनि लेखिनँ !
आमालाई रिझाउन क
ख ग लेखेँ ।
मास्टरलाई
रिझाउन प्रबन्ध लेखेँ ।
प्रेमिकालाई
रिझाउन प्रेमपत्र लेखेँ ।
जागिर बढाउन
रिपोर्ट लेखेँ ।
नाम कमाउन कथा
लेखेँ ।
प्रतिष्ठा कमाउन,
भविष्यमा
बाँच्न यो गोरेटो लेख्दै छु ।
र प्रत्येक लाइन
लेख्दा मेरा आँखामा प्रबुद्ध अनुहार नै आए । यस्ता अनुहार जसलाई म रुचाउँछु वा
जस्तो अनुहार वृद्धि होस् भन्ने कल्पना गर्छु । आमाको अनुहार, मास्टरको अनुहार,
प्रेमिकाको
अनुहार, साहूको
अनुहार, जागिरको
अनुहार, इज्जतको
अनुहार, प्रतिष्ठाको
अनुहार ।
‘हेर, हेर, कान्छा बाख्री !’
भन्ने
अनुहार होइन- जो उत्तर दुई नम्बरबाट काठमाडौं ओर्लेर नयाँ सडकमा, नयाँ सडकमा,
नेपाल
आर्ट एन्ड हैन्डिक्राफ्ट सेन्टरको शो-विन्डोमा राखेको सानो याक देखेर कराउँछ ।
हो, ती जनता हुन् ।
र तिनलाई मैले माया नगरेको, घृणा गरेको होइन ! (दैव जान्दछ, म अर्को जुनीमा
यहीँ जन्मूँ- यो मेरो आन्तरिक अभिलाषा छ !) तापनि म तिनका लागि साहित्य लेख्दिनँ ।
तिनको लागि लेखिएको कुरा शिक्षा-सामग्री हो- साहित्य होइन । (र शिक्षा-सामग्री
मैले नलेखेको पनि होइन र नछापेको पनि होइनन्, र तिनको नामकरण ‘हाम्रो साहित्य’
नभएको
पनि होइन !!)
तथापि, म बालमुकुन्द र
उत्तमको लागि लेख्छु, भूपी शेरचनको लागि लेख्छु, पारिजातको लागि लेख्छु, भीमदर्शन रोकाको
लागि लेख्छु, कैयन् नजन्मेका अनुहारको लागि लेख्छु- यस्ता अनुहार जो शून्यवाद
बुझ्दछन्, जो
याक र भेडाको अन्तर थाहा पाउँछन्, जो होनोलुलु सम्मेलनको विश्वव्यापी प्रतिक्रिया
अठोट गर्ने दुस्साहस राख्दछन् ।
मैले रचना गरेका
साहित्यमा स्वदेशीपन छैन । त्यसमा अन्तर्राष्ट्रिय बीज अंकुरित भएको छ । त्यसमा
सार्त्र र सारोयान, जायस र जिल्ड, मिलर र मोराँक, जेनेड र
दर्जाइको वीर्य मिसिएको छ । त्यफ वर्ण-संकर हो । तापनि, म गर्वसाथ भन्ने
साहस गर्छु, त्यो नेपाली हो, कारण त्यो मेरो गर्भमा अंकुरित भएको छ ।
र मेरो गर्भको
विश्वरुपको रुप हो ।
त्यसमा करोडौं
ओभम् छन् ।
त्यसमा करोडौं
स्पर्माटोजोआ छन् ।
कहिले कसैको
ओभम-शैलीसँग कसैको स्पर्म-विचार जोल्टिन पुग्छ । कहिले कसैको स्पर्म-शैलीसँग
अर्कोको दर्शन ओभम् । यही गर्भको पाठेघर बीचम म जन्मिने उपाय खोज्दै छु ।
त्यही
पर्खालभित्र मेरो ढोका छ ।
त्यही बाटो
नभएको अन्योलमा मेरो गोरेटो छ ।
र त्यही
गोरेटोमा मेरो भविष्यको राजमार्ग छ ।
No comments:
Post a Comment
۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्नुस्---