Monday, February 27, 2017

एक पत्र– सम्पादकलाई

(शङ्कर लामिछानेले समाज दैनिकका सम्पादक मणिराज उपाध्यायलाई लेखेको पत्र । यो पत्र समाजले २०१९ साल फागुनमा निकालेको साहित्यिक विशेषांकमा प्रकाशित छ । २०२४ सालमा प्रकाशित शङ्करको निबन्धसङ्ग्रह एब्सट्र्याक्ट चिन्तन प्याजमा समेत यो निबन्ध सङ्ग्रहित छ ।)
मणि दाजु,
तपाईँले भन्नुभएको छ 'समाजको विशेषांकको निमित्त म केही लेख दिऊँ- खासगरी पत्रकारिता र त्यो पनि 'समाजकै समालोचना गरेर । करिब दुई घण्टादेखि समाजको मसँग भएको संग्रह पलटाइरहेँ र सोचिरहेँ क्यै त लेख्नैपर्‍यो । तपाईँ एक मित्रको रूपमा मबाट चाहनुहुन्छ आफ्नु कला कौशलको समीक्षा ।
, यो दुई घण्टा म सोचिरहें । र केही पनि सोच्न सकिनँ । कमसे कम छाप्ने लायक त केही पनि सोच्न सकिनँ । तपाईँ भन्नुहोला छाप्ने लायक छुट्याउने अधिकार त सम्पादकमाथि पो छ । मेरो, यहाँनिर, छाप्ने लायक भन्ने शब्द प्रयोगको अर्थ चाहिँ होत्यस्तो विषय, जो मानिसले पढ्न मन पराउँछ । अब तपाईँकै पत्रिका लिऊँ न । मृत्यु, दुर्घटना, असाधारण कष्ट, पीडा इत्यादि नै त हुन्, जसले त्यसमा प्रमुखता पाएका छन् । किन अर्काको कष्ट, दुर्घटना र मृत्युलाई मानिस पढ्न मन पराउँछ ? (मन नपर्ने भए तपाईँको पत्रिका कहिले नै बन्द भैसक्थ्यो) ।

म आजकल अनौठा पुस्तकहरू पढिरहेछु । स्टिफन ज्वाइनको 'द वर्ल्ड अफ यस्टरडे', अल्वेयर कामूको 'मिथ अफ सिसिफस', र चित्तरञ्जन नेपालीको 'भीमसेन थापा र तत्कालीन नेपाल' । यसैबाट तपाईं बुझनुहुनेछ म अलि अध्ययन गर्न खोजिरहेछु मानिसको मृत्युपट्टिको भावना ।
मृत्युको अध्ययन गर्नानिमित्त आरम्भ गर्ने बिन्दु हो जीवन । कारण मृत्युको जन्म जीवनको जन्म साथै भएको हुन्छ । त्यो क्षण जब म जन्में, त्यही क्षण नै मेरो मृत्युको प्रथम क्षण, प्रथम पाइलो थियो, होइन त ? त आज जीवनकै कुरा गरौं र मृत्युलाई चिन्ने प्रयास गरौं ।
म अहिले पसलमा बसिरहेछु । पानी परिरहेछ झमझम । भर्खरै राजदूतहरू र मन्त्रीहरूको मोटरको ताँती फर्क्यो- नरप्रताप थापाको शोकसभा थियो रे रञ्जनामा !
सडक पारिपट्टि एउटा माग्ने जस्तो मानिस गणेशथानको देवलको चौतारामा बसेर लँगौटीमा अलमलिएको जुम्रा मारिरहेछ । एउटा मानिस, म त्यसलाई चिन्दछु, तर नाम जान्दिनँ, जो दिनभरि त खसीबोका बेची हिँड्दछ, अहिले भजन अलाप्दै गणेशजीकहाँ गइरहेछ, हातमा उसको थाली छ, चन्दन अक्षता र फूल अबीरले भरेको । एउटा कुकुर आङ चिलाएकोले पेटीको भित्तामा आङ घस्रिरहेछ । एउटी कैली गाई गइन्, कसैले उनको निधारमा पूजा गरेको छ । केटीहरू छाता ओढेर किताब च्यापी गइरहेछन् । एउटा केटो बर्साती ओढी स्कुल जान बस पर्खिरहेछ । एउटा मानिस पिउनबुकमा खातका खात चिठी च्यापेर दोबाटोमा कता नै जाऊँ- पहिलेको भावमा अल्मलिरहेछ ।
, मलाई एउटा लेख लेख्नु छ । यस्तो लेख, जसले नेपाली साहित्यको उत्थान गरोस् । यस्तो लेख, जसले मणि दाजुको 'समाज'को स्तर नगिराओस् । यस्तो लेख, जुन पढ्दा नेपाली जनता रमाऊन् । तर मणि दाजु, म अल्मलिरहेछु । मेरो मन स्थिर छैन । सबै कुरा जो आँखाअगाडि घटिरहेछन्, तिनलाई म हेरिरहेछु र बुझ्न नसक्ने छु ।
म बुझिदनँ- त्यो जुम्रा जन्म्यो नै किन, जब उसलाई लंगौटीकै कापमा दुईवटा औंलाका नङले पिसिएर मर्नु थियो ? त्यो मानिस किन गणेशको पूजा पनि गर्दछ र खसीबोकाको ज्यान पनि लिन्छ ? त्यो कुकुर लूतो भएर मर्ने नै तर्जुमामा छ भने किन भुकी टोपल्छ ? मानिस गाईलाई पूजा गर्छ भने उसको बाछीको भाग खोसेर किन दूध खान्छ फेरि ? त्यो तरुनी केटी, जो अग्रवालको 'थ्योरी अफ इकोनोमिक्स' बोकेर कलेज जाँदैछे, किन त्यो पढ्छे, जब उसलाई विधवा हुनुपर्ने छ, शायद पोइल जानुपर्ने छ, शायद वेश्यावृत्ति अपनाउनुपर्ने छशायद । त्यो बच्चा केको आशामा अरूले छापेका विश्वासहरू बोकेर स्कुल जाँदै छ, जब एकदिन उसलाई रानीपोखरीमा डुब्नु नै छ, व्यर्थ बनी, बेकार बनी  दुईतीन छोरा छोरीको पिता र एउटी स्वास्नीको पोइ र कैयन् अरू केटाहरूको प्रतिस्पर्धी बनेर ? त्यो पिउन किन ओसारिरहेछ खामबन्दी चिठ्ठीहरू, जब उसलाई थाहा छैन, पत्रमा के छन् ? कसैको खोसुवापुर्जी, कसैको विवाहको निमन्त्रणा, कसैको मृत्युको समाचार ?
बुझ्नु भो मणि दाजु ! यी जम्मै चरित्र तपाईँका पत्रिकामा स्थान पाउन सक्ने पात्रका हुन् । ती आज भाद्र ३, २०१९ साल बिहान १० बजे मेरा निमित्त बनेका हेडलाइनहरू हुन् । यिनको महत्व, तर, तपाईँलाई छैन, कारण ती अझै जीवनमा छन्, अहिले केही गरी ती भाक्लाक भुक्लुक्क सडकमा मरून्, या रानीपोखरीमा हाम्फालून्, या मोटरले किल्चिऊन्, तपाईं भातको गाँस छाडेर प्रेसतिर भाग्नुहुनेछ । तपाईँको कलम कागजमा दौडिनेछ, तपाईँको कम्पोजिटरले औलामा चाल्नेछ, तपाईँको ट्रेडलले काम पाउनेछ, पत्रिका छापिनेछ, र बिक्नेछ पाँच पैसामा ।
ढ्याक्क ।
ढ्याक्क ।
ढ्याक्क ।
ढ्याक्क ।
प्रत्येकपल्ट एक इम्प्रेशन र छः मृत्यु । यो यत्तिका जनाको जुम्रा, पुजारी, कुकुर, केटी, केटा र पिउन ६ जनाको जीवनको मूल्य सिर्फ पाँच पैसामा बिक्नेछ ? यिनको मृत्युको समाचार बोकेर अखबारका पानाहरू छापिनेछन्, सड्नेछन्, बिलाउनेछन्, खतम हुनेछन् ।
मणि दाजु ! के कहिले यस्तो हुन सक्दैन, तपाईं अखबारमा जन्मको मात्र खबर छाप्नुहोस् ? के यस्तो हुन सक्दैन, तपाईं भीमसेन थापाको आत्महत्याको कारण छाप्न सक्नुहोस् ? के यस्तो हुँदैन, साँढे र वर्षाको सम्पादकीय त्यागेर तपाईँ आफ्नो सच्चा कथन भन्न सक्नुहोस् ? के यस्तो हुन सक्दैन, कहिले आफैंलाई चिरेर आफ्नु महत्व छाप्नुहोस् ?
तपाईँ आज सोच्नुहुँदो हो- पत्रिका चलाएर तपाईँ देश र जनताको सेवा गर्दै हुनुहुन्छ । तपाईँ भन्ठान्नु हुँदो हो, नेपाली इतिहासमा तपाईँको स्थान छ, सदा रहिरहनेछ, तपाईँको देन पत्रकारिता जगतले कहिले पनि भूल्न सक्नैछैन होला । मूर्ख दाजु बेकार हो ! तपाईँको नाम अखबारले त्यहाँ छापेको छ, सधैं जहाँ समाचारलाई एक कालो धर्काले तपाईँबाट सीमारेखा छुट्ट्याएको हुन्छ । थाहा छ तपाईँलाई, तपाईँको अखबारले रोजै कति कसिंगर र गुहु झ्यालबाट चोकमा मिल्काउँछ ? थाहा छ तपाईँलाई ? थाहा छ तपाईँलाईं ? थाहा छ तपाईँलाई ? तपाईँलाई केही थाहा छैन । तपाईँलाई किन साँढेमाथि सम्पादकीय लेखेँ भन्ने पनि थाहा छैन ?
तपाईँलाई किन भीमसेन थापामाथि सम्पादकीय लेखिनँ भन्ने पनि थाहा छैन ? तपाईँलाई किन सम्पादकीय लेख्छु भन्ने थाहा छैन ? तपाईँलाई किन सम्पादकीय लेख्दिनँ भन्ने पनि थाहा छैन ?
अझ, मणि दाजु, तपाईं किन सम्पादक हुनुभयो, त्यो पनि थाहा छैन तपाईँलाई । तपाईँ सम्पादक नभए के हुनुहुन्थ्यो, त्यो पनि थाहा छैन तपाईँलाई ।
तपाईँको पत्रिका त ऊ त्यो माग्नेको लँगौटी हो, जसका कापमा रोज ट्रेडलका औँलाले जुम्रा मारिरहेछन् ।
म शायद त्यो लुत्याहा कुकुर हुँ, तपाईँ शायद निधारमा टीका लाएको त्यो गाई हो । अथवा तपाईँ कुकुर हो, म गाई हुँ अथवा म जुम्रा, तपाईँ नङ्ग्रा अथवा तपाईँ पुजारी, म बोका अथवा तपाईँ पिउन म चिट्ठी, अथवा तपाईँ केटी म केटा । तपाईँ जे पनि हो, म जे पनि हुँ ।
तपाईँ र म जन्मिनुअघि यसो सोचिहेर्नुस् त, कत्ति आशा, विश्वास र हिम्मत संसारमा जन्म्यो । खै त्यो आज, खै ? तपाईँ र म जन्मिनुअघि कति शहीद र कति गद्दार जन्मे, खै ती आज, खै ? अमरसिंहबारेको सत्य के ? इतिहासको तथ्य खै ? सत्य खै ? सत्यको सत्य खै ? आज तपाईँ भन्न सक्नुहुन्छ, इतिहासमा कहाँनिर कल्पना शुरु भएको छ, कहाँ वास्तविकता हराएको छ ? भन्न सक्नुहुन्छ, तपाईँको अखबारमा छापिएका आत्महत्याका खबरको वास्तविकता के थियो ? किन रामेचा या कृष्णचा या कखचाले आफूलाई मार्नुअघि छोराछोरीलाई र स्वास्नीलाई माऱ्यो ? भन्न सक्नुहुन्छ के त्यस्तो कारण थियो जसले ती मरे ?
मणि दाजु, बेकार छ । हामी सदा नै आफूलाई छोप्न खोज्छौं । हामी अर्काको मृत्युको समाचारबाट आफ्नु मृत्युको समाचार छोप्न खोज्छौं । हामी अर्काको विश्वास पढेर आफ्नो विश्वास छोप्न खोज्छौं । हामी आफ्नो मनको सत्य कुरा श्रद्धाले छोप्न खोज्छौं । म जो ईश्वरको कल्पना गर्छु, त्यसको पूजा गर्छु, म आफ्नु औंलामा लागेको बोकाको रगतको रंगलाई अबीरले छोप्न खोज्छु । तपाईँ जो साँढेमाथि सम्पादकीय लेख्नुहुन्छ, आफू गाई भएको छोप्न खोज्नुहुन्छ । मणिराज उपाध्यायलाई सम्पादक मणिराज उपाध्यायले छोपिरहेछ । शंकर लामिछानेलाई पतिपिता, व्यापारी शंकर लामिछानेले छोपिरहेछ । तपाईँ आत्महत्या गर्दै हुनुहुन्छ, म आत्महत्या गर्दैछु । तपाईँ र म नमरिकन के खबर लायकका हुँदैनौं ? हाम्रो आत्महत्याको प्रोसेस के यत्ति महत्वहीन छ ? हामी स्वयं त्यसबारे सोच्न, लेख्न पनि चाहन्नौं ? यो सोचाइलाई छोप्नु नै हाम्रो जीवन हो त ?
मणि दाजु, यस मनोस्थितिमा म कसरी लेख लेख्न सक्छु ? कसरी म साहित्य सिर्जना गर्न सक्छु, कसरी म नेपाल आमाको सेवा गर्न सक्छु ? कसरी म राष्ट्रियताको नारा लगाउन सक्छुजब मेरो नारा, मेरो भविष्य, मेरो भाग्य, मेरो विश्वास, मेरो खोसुवा पुर्जी, मेरो प्रमोशन, मेरो निमन्त्रण, मेरो मृत्यु खामबन्दी छ ? जब एउटा पिउनले त्यसलाई ओसारिरहेछ, एउटा यस्तो पिउन, जसलाई खामबन्दी चिठ्ठीको मजबुन थाहा छैन ।
भो मणि दाजू, विशेषांक निकाल्ने आवश्यकता नै के छ र? तपाईँले विशेषांक निकाल्ने अठोट नै गर्नुभएको छ भने म के भन्न सक्छु र यत्ति हो- यसपटक म लेख दिन असमर्थ छु । शायद अर्को पटक तपाईँको पत्रिकाको हेडलाइनमा आउनबाट उम्किएँ भने- शायद अर्को वर्ष ।
कृपया पत्र पढेर तुरुन्तै च्यातिदिनुहोला ।
तपाईँको भाइ

शंकर लामिछाने

4 comments:

  1. nice post, thanks for sharing,
    visit this blog about Limbuwan :
    https://limbuwankingdom.blogspot.com

    ReplyDelete
  2. Dearest Esteems,

    We are Offering best Global Financial Service rendered to the general public with maximum satisfaction,maximum risk free. Do not miss this opportunity. Join the most trusted financial institution and secure a legitimate financial empowerment to add meaning to your life/business.

    Contact Dr. James Eric Firm via
    Email: fastloanoffer34@gmail.com
    urgentloanoffer22.blogspot.com/
    Whatsapp +918929509036
    Best Regards,
    Dr. James Eric.
    Executive Investment
    Consultant./Mediator/Facilitator

    ReplyDelete
  3. Dearest Esteems,

    We are Offering best Global Financial Service rendered to the general public with maximum satisfaction,maximum risk free. Do not miss this opportunity. Join the most trusted financial institution and secure a legitimate financial empowerment to add meaning to your life/business.

    Contact Dr. James Eric Firm via
    Email: fastloanoffer34@gmail.com
    urgentloanoffer22.blogspot.com/
    Whatsapp +918929509036
    Best Regards,
    Dr. James Eric.
    Executive Investment
    Consultant./Mediator/Facilitator

    ReplyDelete
  4. Dearest Esteems,

    We are Offering best Global Financial Service rendered to the general public with maximum satisfaction,maximum risk free. Do not miss this opportunity. Join the most trusted financial institution and secure a legitimate financial empowerment to add meaning to your life/business.

    Contact Dr. James Eric Firm via
    Email: fastloanoffer34@gmail.com
    urgentloanoffer22.blogspot.com/
    Whatsapp +918929509036
    Best Regards,
    Dr. James Eric.
    Executive Investment
    Consultant./Mediator/Facilitator

    ReplyDelete

۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्‍नुस्---