Friday, July 26, 2013

३७ वर्षपछि – शंकरसँग अम्बर

॥ रामशरण बजगाईं ॥
॥ प्रतिमा सिलवाल ॥














पिच भत्केर सडकमा उडेको धुलोले वातावरण खैरो छ । शंकर लामिछानेबारे अम्बर गुरुङसँग संवाद गर्न हामी एकदिन पुग्छौं नेपाल संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठानको अफिस छाउनीमा । टेबिल पछाडि कार्यालय शैलीमा कुर्सीमा बसेका छन् अम्बर ।

हामी प्रवेश गर्छौं, हेर्छौं– टाउकोबीच झन्डै चिम्म हुँदै गएका उनका आँखा, स्वयम्भूका झैं सम्यक् छन् । हामी चाहन्छौँ– नेपाली साहित्यको एक स्वर्ण युगमा शंकरसँगै ज्ञानको आँच तापेका उनका आँखाबाट त्यसबेलाको समय कोट्याएर निहारौं र समयको धुलोले छोपेर विस्मृत भएका चरित्र र चित्रहरू ब्युँताइदिऊँ ।


‘शंकर लामिछानेबारे कुरा गर्ने’ हाम्रो प्रस्ताव मात्रै भुइँमा झरेको थियो धमिलो बन्दै गएको अम्बरको स्मृति धारिलो हुँदै जुर्मुराउन थाल्यो । शंकर आए उनको स्मृतिमा पत्र–पत्र भएर, मानौं अम्बरका अगाडि हामी होइन शंकर बसेका छन् टेबिलको साइडमा, साथमा रमको गिलास छ र दुवैजना जीवन र कलाकारिताबारे निर्बन्ध संगीतमय बहस गरिरहेछन् सलल ।

‘अम्बर ! तिमीले अगाडि अर्को बाटो देखेका छौ ?’
‘छैन शंकर दाइ’
‘अनि किन नयाँ बाटो खोजिरहेछौ ? पर्खालमा तिम्रो द्वार खुल्छ, बाटो त्यहीँ छ हेर त ! म निश्चिन्त छु, त्यो बाटो तिमीले नै पाउनेछौ । बाटोका लागि अग्रिम बधाइ अम्बर !’


‘आफूभित्रको कलाकार पराजित भएर शिथिल भएका बेला म अर्कै बाटो खोजिरहेको हुन्थेँ शंकर दाइ, तपाईंका उत्साहका यस्ता शब्दले म यसै भरिन्थेँ । त्यतिबेलाको सामाजिक व्यवस्थामा कलाकारिता र साहित्यको आर्थिक मूल्य मानौँ जीवनबाट मुन्टो निहुराउनु थियो र अभावको त्रासवाट आँखा चिम्लेर भाग्नु थियो । मेरा तीन छोरा–छोरी भइसकेका थिए, अझै भटाभट जन्मिँदै थिए । संगीत सिर्जना गरेर पनि बाँच्न सकिन्छ र ? भन्ने अवस्था थियो । मैले कैयौंपटक संगीतको संसारबाट आँखा चिम्लेर भाग्न कोसिस गरेको थिएँ । आफू उभिएकै पर्खालमा बाटो खोज्न तपाईं उत्साही बनाउनुहुन्थ्यो । म भन्थें, ‘मैले छोड्ने विचार गरिसकेँ ।’ तपार्इं भन्नुहुन्थ्यो, ‘ओहोऽ कसरी छोड्छौ ? यो घाम भर्खरै झुल्किन लागेको छ, मलाई लाग्दैन झुल्किँदैन ।’ अहिलेसम्म म बाँचेको छु शंकर दाइ ! झुल्किएरै, चम्किएरै, तपाईंले देखाएको त्यही पर्खालबाट पहिल्याएको बाटो हिँडेरै । हेर्नुस् त कति चौडा भएको छ आज त्यो बाटो ! तपाईं भन्नुहुन्थ्यो ‘तिमीलाई भूगोल सानो भयो अम्बर !’ आज मैले पाएको धर्ती हेर्नुस्, कति फराकिलो छ, तपाईंले नै बनाइदिएको सुन्दर सिर्जनाको मानस वातावरणले मलाई साँच्चिकै अम्बर बनायो दाइ !

अचेल सधैं म तपाईंको घरको बाटो भएर अफिस ओहोरदोहोर गर्छु, जहाँ आलुबखडाको रूख छ मौसमी प्रभावमा त्यो शीक्रो छ र अन्तिम पात झर्ने तरखरमा छ । तपार्इंले जुन सामाजिक चेतना बेहोर्नुभयो त्यो रचनाकालबाट हाम्रो समाज उम्केको छ । तपाईंको जीवनभर एब्स्ट्र्याक्ट लेखनीलाई बुझ्न नसकेको समाज आज बल्ल रचना चिन्ने आधुनिकतामा पुग्न खोज्दै छ ।’
अम्बर एकैछिन वर्तमानमा बौरिए । एक याम, अम्बरलाई भेट्न शंकर कालिम्पोङ पुगेका थिए । संगीत र रक्सीको नशाबीचै उनीहरूबीच जीवनको लेखाजोखा भएको थियो । हामी सोध्छौं, ‘मित्रताको मूल्य र लयमा उनी र शंकरबीचको मिलनभूमि कुन हो ?’ फेरि उतै फर्के अम्बर, अगाडि टेबुलमा आफूले अम्बरबारे लेखेको रचनाको एक प्याराग्राफ उनलाई पढेर सुनाउँदै छन् सायद शंकर–
‘फायरप्लेसमा आगो बलिरहेछ साइड टेबिलमा रमको गिलासमा ज्वालाका प्रतिविम्ब सल्वलाइरहेछन् । मधुरो उज्यालोमा हामी दुईजना आफ्ना जीवनका विगतको लेखाजोखा गरिरहेछौँ । हामी के पो कुरा गर्दैछौं : सफलता–असफलता, प्रेम–घृणा, साहित्य–रुचि, विवाह, पत्नी, पत्र पैसा.. जति कुरा गर्‍यो उत्तिकै विविधता छ दुईको जीवनमा, तैपनि दृष्टिकोणमा क्या समानता ! अनुभवहरूको माध्यम, समय र स्थान अलग छन् तथापि वेदनाको तापक्रम उही । मानौं जंगलको दुई किनारबाट भित्र पसेर बाटो बिराएर अकस्मात भेट भएका दुई बटुवा हौँ हामी । र, श्लेषमा कुरा गर्ने हो भने हाम्रो वार्ता यसप्रकार थियो भनौँ–

‘अम्बर तिमीले सिमलको बोट देखेका छौ हगि, लटरम्म फूल फूलेको ?’


‘देखेको छु ।’


सानै हुरीमा बैंसको सपना सिमलको फूल झैं झरी गयो !

तिमी के गयौ, खुसीले पनि मलाई आँखा तरी गयो ।


वाह ! आँखा तरी गयो । साँच्चै आँखा तरी गयो ! सानै हुरीमा …अँ… झरी गयो… अँ… आँखा तरी गयो । ठीक ठीक ठीक

त, चोट उही हुनु पर्दैन, व्यक्ति उही हुनु पर्दैन, तापनि जुनसुकै ठाउँमा चोट लागे पनि बगेको रगतको रङ र दर्द र त्यसको मीठो सम्झना उही हुन्छ । कलाकारको घाउको टाटो मस्तिष्कमा हुन्छ र ऊ चाहिएको बेला पाप्रो उप्काई त्यसको अनुभूतिबाट प्रेरणा पाउँछ ।


सायद, यही थियो हाम्रो मिलन–स्थल ।

‘मैले त्यहाँ जानेँ, ज्यादै मन मिलेपछि सर्टहैन्डमा कुरा गर्न सकिँदोरहेछ र नयाँ अनुभवहरू अनुहार नहेरेरै पनि टेलिप्याथीबाट व्यक्त गर्ने क्षमता उम्री आउँदो रहेछ । यस परिस्थितिमा पुगेपछि जीवनको मूल्य अर्कै हुन जान्छ ।’


‘हो शंकर दाइ !
हामीलाई कुरा गर्न र एक अर्काको मन बुझ्न भाषा चाहिँदैनथ्यो । तपाईंले भने जस्तै शब्द, वाक्य, भाषा साहित्य यी सब अपूर्ण मानवका आफूलाई व्यक्त गर्ने एकक्रुड साधन हुन् । हामी हरेक साँझ सिर्जनाको आवेशमा बस्थ्यौं, एक अर्काको आत्मियतामा चुर्लुम्म डुब्थ्यौं, रुन्थ्यौं, हास्थ्यौं, अनि, एक अर्काको रचना सुनाउँदै कसी लगाउँथ्यौं । कालिङ्पोङबाट तपाईं काठमाडौं फर्कंदा मोटर चढ्ने ठाउँसम्म म तपार्इंलाई पुर्‍याउन गएको थिएँ । बाटोभरी तपार्इं पनि बोल्नु भएन म पनि बोलिनँ । मोटरनेर पुगेपछि मैले आवेशपूर्वक तपाईंलाई ग्वाम्लांग अँगालो हालेँ । न तपाईंले हात मिलाउनुभयो न मैले नै तपाईंतिर हात तेर्स्याएँ । तपाईंले फर्केर हेर्न सक्नु भएन र मैले पनि । नहेरे पनि म के सोचेर कस्तो अनुहार लगाएर फर्केको थिएँ तपाईंले थाहा पाउनुभयो, त्यो लेख्नुभएकै छ । तपाईं चुरोट सल्काउँदै बिन्ड–शील पारिको दृश्य हेरिरहनु भएको थियो, मैले फर्केर नहेरे पनि देखेको थिएँ । दुवैका मनको भाइब्रेसन तपाईंसँग छुट्टिदा अनुभूत गरेको थिएँ ।’


‘ठीक हो अम्बर !

तिमी कलाकार थियौ तर, त्यो भन्दा धेरै हामी साथी थियौँ । कलाकारपनले सिर्जनाका लागि दर्द खडा गरिदिन्थ्यो र हामीलाई सिर्जनाब्यथा लाग्थ्यो । त्यस्तो बेला हामी दिवानापनको सिमानासम्म पुग्थ्यौँ । हेर त हामी त्यहीँ सिमानासम्म अडिइरहन पाएको भए ! तर, हामी फर्कन्थ्यौँ घरमा, बाबु भएर, श्रीमान् भएर र छोरा भएर । यदि, त्यो बोझले हामीलाई नथिचेको भए आज हामी सन्त महासन्त हुने थियौँ ।’


‘शंकर दाइ, तपाईंको यही एब्स्ट्र्याक्ट चिन्तनको धारिलोपनलाई त समाजले बुझ्न सकेन र आलुबखडाको बोटबाट अन्तिम पात पनि झरेपछि तपाईं जानुभयो । तपाईंले गरेका र नगरेका कुरा सबै मैले सुनेको छु । तपार्इं नभएको यत्रो वर्षपछि पनि ती मलाई ब्युँझाउन आइदिन्छन् अनायासै । तपाईंका रचनाले छर्ने वीज र भाषाले दिने संगीतको धूनले मेरो मनमा तरंग उब्जिन्थ्यो नयाँ संगीतको । सिर्जनाको नशा रक्सीको भन्दा कम्ती हुँदैनथ्यो । हामी कलाकार एबनर्मल प्राणी हौँ । राम्रो पति, बुबा अनि व्यावहारिक व्यक्ति हुन सक्दैनौं । राम्रो लोग्ने बन्ने चाहना राखे कलाकार हराउँछ । तपाईं राम्रो पति र पिता बन्न सक्नु भएन, वा सामाजिक चेतना र परिवेशले बनाउन दिएन तर, शंकर दाइ तपाईं राम्रो कलाकार हो । घर अगाडिको आलुबखडाको रूख हेरेर जीवनलाई फरक–फरक पृष्ठभूमिमा व्याख्या गर्ने शिल्प थियो तपाईंमा । त्यही कलाकारितामा एउटा जादुयी र ज्ञानी लेखक भेट्थेँ म ।’


‘ठीक, ठीक.., अँ..।

म पनि सम्झन्छु अम्बर ! मैले भनेको थिएँ, तिमी आमाको मृत्युपछिको वेदनामा थियौ त्यसबेला, त्यो अग्नीपरीक्षाबाट पार भएपछि तिमीमा अर्कै प्रतिभा व्याप्त भएर आउनेछ तिमीले गर्ने रचनामा प्रतिभा तिखारिएर देखिनेछ । एक नयाँ भेल आउनेछ जसले नदिको किनारलाई नयाँ मोड दिनेछ ।’


‘हो शंकर दाइ, म तपाईंको महानतालाई अनुभूत गरिरहेछु आजका दिनसम्म । नौलाखतारा गीत गाइसकेपछि त्यसताका म एकप्रकारले हिट थिएँ । म दुर्लभ पनि बन्न चाहन्थेँ । तपाईंले दार्जिलिङ बोलाउनुभएको थियो, तपाईं ससुरालीमा हुनुहुन्थ्यो । सम्झन्छु म, म होटेलमा थिएँ, हार्मोनियम लिएर बसिरहेको थिएँ । मैले संगीत सिकाएका केही केटाहरू पनि थिए । रक्सीको भेराइटी पनि थियो । धेरै बेरसम्म तपाईं नआउनुभएपछि एक पेग लगाएर म गाउन बसेँ । त्यहीबेला तपाईं दुइटी केटी लिएर आउनुभयो ।


मलाई देखाएर तपाईंले उनीहरूलाई सोध्नुभयो, ‘डु यु नो हु इज सिंगिङ ?’

‘डन्ट नो’

‘ग्रेट अम्बर गुरुङ इज सिंगिङ !’
‘ओ !’
‘डु यु वान्ट टु मिट हिम ?’ गफ गर्दै ती केटीहरूलाई म भए ठाउँ ल्याउनुभयो र मलाई भन्नुभयो, ‘सरी अम्बर, दिज टु आर वान्ट टु मिट यु । सो आइ ब्रट देम टु मिट यु ।’
‘ओके दाइ ।’


ती इन्डियन एयरहोस्टेस केटीसँगै र हामी राति १२ बजेसम्म संगीत र रक्सीको नशामा रमाइलोसँग डुब्यौं । झ्याल ढोका ढ्यामढुम लगाएर जो हामी बसिरहेका थियौं । बीचबीचमा तपाईं मेरो व्याख्या गर्नुहुन्थ्यो ‘यस्तो कलाकारलाई पनि सरकारले बुझेन ।’ उनीहरूले तपार्इंलाई पनि प्रश्न गरेका थिए ‘तपाईं पनि कलाकार ?’


तपाईं कति सजिलै नकारिदिनुहुन्थ्यो ‘होइन म त ?’

मैले अब्जेक्सन गरेको थिएँ ‘उहाँ नेपालको ठूलो लेखक ।’


‘अम्बर बढाईचढाई नगर, म त लेखिटोपल्छु मात्र ।’ तपाईंको त्यति जवाफमा पनि कति ठूलो साहित्य थियो । म नेपालको कि दार्जिलिङको भन्ने पनि ठूलै बहस भएको थियो हगि दाइ त्यहाँ ! ‘कलाकार एउटा भूगोलको मात्र हुँदैन’ तपाईंको जवाफले मेरो छाती भरिएर आएको थियो दाइ । म पानी–पानी भएको थिएँ । ती केटीहरू नि त्यस्तै भएर गए । तपाईंको दार्शनिक सोच, चिन्तन र भाषामा कत्रो सामर्थ्य, कत्रो शक्ति !


‘ओ !

पुग्यो अम्बर पुग्यो । त्यो भाषा फगत मैले आफूलाई अभिव्यक्त गर्ने माध्यम मात्र थियो । जुनसुकै कालमा पनि रचनाहरू जन्मिन्छन्, यौवन प्राप्त गर्छन् र मर्छन् । मेरा रचनाहरू पनि आजका लागि होइनन् । कम्तिमा ३० वर्षपछिको समयका लागि हुन् ।’

‘तीस वर्षपछिका लागि ?’
‘हो अम्बर, तीस वर्षपछिका लागि !’

अब ब्युँझिए अम्बर । उनले शंकर लामिछानेसँग भौतिक संगत गुमाएको ३७ वर्ष पुगेछ र भर्खर उनका रचनाहरू जन्मन थालेका छन् । जति पछि भयो त्यति नवजागृति लिएर जन्मँदै छन् र कालजयी हुँदै छन् शंकरका रचनाहरू । बाँचेका भए शंकर ८५ वर्षका हुने थिए । तर, पर्सि माघ १० गते उनको ३७औँ वार्षिकी । अम्बर उठे नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिको कुर्सीबाट र घरतिर लागे ।
(२०६९ माघमा सौर्य दैनिकमा प्रकाशित)

No comments:

Post a Comment

۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्‍नुस्---