Wednesday, January 7, 2009

पढ्नु : प्रेम

प्रेमसँग हाड नाता भएकाहरूले बुझ्छन्- यसभित्रको लगाव कति दुःखदायी हुन्छ, तर मीठो तड्पन ! भोगेपछि यस्तो लाग्दो हो, यो प्रेम भन्ने कुरा त नभइदिएकै भए पनि हुने ! तर के यसबिना संसारको सहज रफ्तार सम्भव छ ?

धेरैअघि सोचेथेँ प्रेमबारे केही त लेख्‍नेछु । तर यसबेलासम्म त मैले त्यही सोचाइसँग नै प्रेम गरेर बसिरहेको रहेछु । फेरि यो बसिरहनु, बस्न सक्नु पनि त एउटा प्रेम नै हो । कति-कति प्रेमहरू...।
आरम्भमा प्रेमका बारेमा केही विद्वान्‌द्वारा अभिव्यक्त पङ्क्तिहरू :

- हरेक दिन म तिमीलाई बढी माया गर्छु हिजोभन्दा आज बढी, भोलिको भन्दा आज कम । - रोजमोन्ड गेरार्ड
- म प्रेममा धेरैपल्ट परेँ । र सधैँ तिमीसँग । - एडगर एलेन पो
- प्रेम दुई जनाले खेल्न मिल्ने र दुवै विजयी हुने खेल हो । - इभा गाबर
- थप प्रेमबाहेक प्रेमको कुनै उपचार नै हुँदैन । - थोरो
- प्रेम विष्फोटक सिगार हो । जानी जानी हामी यसलाई खाइरहेका हुन्छौँ - लिन्डा बेरी
- प्रेम मेरो धर्म हो । योबिना म बाँच्न सक्दिनँ । - जोन किट्स
- मेरो हृदयमा आएर बस । यसको कुनै भाडा तिर्नुपर्दैन । - स्यामुयल लभर

... ...र यति गमिसकेपछि के भयो ? भयो नै भने पनि उपर्युक्त प्रेमशास्त्री विद्वान्‌हरूसँग हामीलाई आकर्षणको प्रेम भयो सायद । आह ! क्या धारिलो चित्रण !! तर तिनको निचोरिएको भावधारा त हामीबाट गुम ! खासमा भनाइहरूका ती चास्नीले हामी लस्सादार हुनुपर्ने हो । शीतको प्रथम आवेगले भिजेको कपासझैँ अझ कोमल र प्रेमालु हुनुपर्ने हो । जो बतासको वेग देख्‍नासाथै जुरुक्क उत्तेजनामा मर्किहाल्दैन, हामी त तेलको स्याहार पाएर सपक्क सुतेको त्यस्तो कपाल पो हुनुपर्ने ।

यी अनगिन्ती 'हुनुपर्ने'हरूलाई हामी मानौँ देउसी र भैलोको सुरिलो भाका ठानेर भट्याइरहेछौँ । भट्याएर आज पोल्टोमा कति दान-दक्षिणा भरियो ? खोइ, मैले प्राप्तिलाई अङ्कगणितमा पढ्न र पारख गर्न जानेको छैन । यति जानेको छु, प्रेम गर्न । तर प्रेम गर्नु भनेको त्यस्तो जान्नैपर्ने पाकशिक्षाको तालिमकक्षा नै कहाँ हो र ? र, प्रेम गर्नुको मिठासलाई अर्थ दिन सक्यो भने पढ्नु पनि त प्रेमभन्दा कम मुलायम छैन नि π खासमा यही जान्नुनपर्ने भएकाले अहिलेसम्म म केही न केही पढ्दै आइरहेको हो कि क्या हो ? अघिल्तिर देखा पर्ने कुनै अन्जान अनुहार पढ्नु, साथीको कोपरिएको मनको मर्म पढ्नु, आफ्नै एकालाप पढ्नु ... आदि आदि ।

तर यस्ता किसिमका पढाइको कुरामा म छैन, कम्तीमा यो अहिलेको लेखाइभरिलाई । म त पढ्नु अर्थात् ज्ञानको चकटीमा पलेंटी कसेर किताबसँग योगासन जमाउने कुराको विस्तारमा यहाँनेर फुक्न खोज्दै छु । जहाँ प्रत्येक श्वाससगै चेतनाको सिर्‌सिर् अन्तरमा घुसोस् र त्यसको आयतनसगै प्रत्येक प्रश्‍वाससगै अज्ञानता बान्ता भएर निस्कियोस् ।

प्रेम : आफूले आफूलाई भुलेर आफूलाई अरुमा पाउनु । मैले कतै पढेको । आफूलाई सम्पूर्ण रूपमा बिर्सिएर उसैमा समर्पित हुनु प्रेम हो रे । यो पनि पढेको । यसरी पढाइमार्फत प्रेमलाई बुझ्दाबुझ्दै पढ्नुसँगै प्रेम बस्यो । बरु प्रेमसँग नै प्रेम भएन सायद !

आज आएर अलिकता आफ्नै भोगाइ, अलिकता बाहृय बुझाइ तौलिएर हेर्दा लाग्दैछ, आफूबाहेकको अस्तित्वलाई प्रेम गरेर प्राणीले आफ्नो कमजोरीको स्तर स्वयम् पुष्टि गर्छ । कसैलाई प्रेम गर्नु आज शुद्ध रूपमा प्रेम गर्नुमै मात्र व्याख्या हुन्छ भन्ने छैन, गरिँदा-गरिँदा त्यो प्रेम- प्रेम थाप्ने पात्रको आँखामा सस्तोपनको बेकामी चश्मा भएर झर्ने खतरा प्रबल रहन्छ । कठै झिरिप्प शीशाहरू....!

यति लेखिसकेपछि एउटा नोटबुकमा केही समयअघि कोरिन पुगेको दार्शनिक पङ्क्ति सम्झिन पुगेँ । झ्वाट्ट पङ्क्ति के सम्झिनु, नोटबुकमा केही कोरेको छु भन्ने मात्र हेक्का भयो, पल्टाएँ- 'प्रेम कुनै अवस्था हो कि काम ? अर्थात् प्रेममा छु कि प्रेम गर्दै छु ?'

यसको खास तथ्य उधिन्न सोचमा डुबुल्की मारेँ, र केही सोच्न सकिनँ । छुट्यो केवल रन्थनी । अवस्था, काम, छु, गर्दै छु....। प्रेमभित्रको लगावपछि झ्याङ्गिन पुगेको आत्मीयता कसैको समक्षमा जाहेर गर्दा कसैलाई हिउँद मासमा घामको तमतम्याइलो सहीछाप धस्काएझैँ हुँदो हो भने कसैलाई कृपावादको फिर्ता खेल लाग्दो हो । के टुङ्गो छ र एकनास हुनुपर्ने ? नाप्न मिल्ने भए मनको कुनाकानी आयतन र सङ्कुचनको मात्रामाथि अध्ययन गरेर आम मनहरूबारे एउटा निष्कर्ष छरिदिन हुन्थ्यो - हेर बाबू-नानी हो, आपसको मन यस तवरले पिँजडाझैँ साँगुरिन्छ र क्षितिजझैँ फैलिन्छ, नौनीझैँ गल्छ र इस्पातझैँ गाँठिन्छ.....।

खुङ्खार पण्डित अर्थात् विशेषज्ञहरूले प्रेमको पन्ना एकपछि अर्को गर्दै अति तन्मयतापूर्वक थपिरहे प्रेमशास्त्रको उत्थानमा । मानौँ प्रेम नै नगरी-नगरी । यदि प्रेम गर्नतिर ती लाग्दा हुन् त शास्त्रका ठेलीमा जिल्दामाथि छिप्पट भाकामा ढ्याप्प शीर्षक मात्र ओगटिएर बस्थे होलान् । भित्रका पन्नाहरू त निष्प्राण जीवको श्‍वासनलीझैँ एकदम सफा-सफा । बिनाप्रेम, अनुभवहीनताको त्यस्तो अनुभवी बलमा प्रेमशास्त्रीहरूले प्रेमको बारेमा रास-रास लय बगाउनु पनि विचित्र प्रेम-महफिल लाग्छ ।

पढ्नुको के कुरा, पुस्तकमा आँखालाई बगरमा टक्रक्क उभिएको बकुल्लामा रुपान्तर गरी छोडिदिने हत्तेदेखि पर आफ्नै जिन्दगी पढ्न नजानेर/नसकेर धुरुधुरु रुने जमात हाम्रो सामाजिक पुस्तकालयमा टन्नमन्न होलान् । पढ्दापढ्दै कसैको आँखालाई न्रि्राले छल गर्छ, कसैको आँखामा विरहले जल भर्छ । कति फरक छन् प्रेमका नमुनाहरू ! आफ्नो अज्ञान देख्‍न र ज्ञान देख्‍न पढ्ने अलग-अलग ढाँचाको संसारमा यस्तो पनि होला, कोही अज्ञान र ज्ञानको खिचडीलाई धुवाँ छुटाउन्जेल पगाल्न पढिरहेको होस् । त्यस्तो तपमा कुनै न कुनै प्रेमी त होला । जागिर खान पढ्नु, आनन्द बटुल्न पढ्नु, केही सिक्न पढ्नु, सिकाउन पढ्नु, पाण्डित्य प्रदर्शन गर्न पढ्न... एउटै पढ्नुभित्र पनि कति-कति प्रेमहरू पत्रेदार भएर बसेका छन् । र आजको जमानामा एउटा मान्छे ती सबैखाले प्रेम गर्दै अथवा गर्नलाई के त नपढिरहेको होला र, किटान गर्न गाह्रो छ । कारण, ती सबैसबै प्रेम नै त हुन् फरक अनुहारका । प्रेम सबैलाई चाहिन्छ, सबै यसलाई अँगाल्न उत्सुक हुन्छन् । मतलब हुन्न, प्रेमपछि गहिरो रापको तातो हुन्छ या उँचो चापको चिसो । बस् प्रेम भए पुग्यो !

'प्रेम गर्नु' लाई विपरीत लिङ्गीबीचको दोहोरी भाका भन्ने बुझिदिए सङ्गीतको एकाङ्गी आलाप मात्र हुन जाला । प्रेमको जरामा एउटै रस थलथलिएर रहे पनि चारैतिर हुत्तिएर जाने हाँगाबिँगाको हिसाब कसले राखोस् ! जस्तै कि, प्रेम गर्नुः भाइचाले ढलको पानीमा गोडा रङ्ग्याई-रङ्ग्याई काउली र गोलभेँडामा पानी पटाउनु । प्रेम गर्नुः हजुरआमा विष्णुमाया आफ्नो घरको चियारङ र चिनी बचाइबचाइ छिमेकको घरमा चिया-पाहुना लाग्न जानु । प्रेम गर्नुः आफाले दनुवारले छोराछोरीको पढाइ बिग्रिने डर पचाएर लोकलाजका कारण बजारबाट डाँडाको घरमा टेलिभिजन भित्र्याउनु । प्रेम गर्नुः प्राण धानिरहेको स्वस्थ मृगौला बेचेर पुर्खाले चलाउँदै आएको पत्रिका प्रकाशनलाई निरन्तरता दिनु । प्रेम गर्नुः शून्यताको चिच्याहटदेखि झर्को मानेर पागल हुँला-हुँला आफ्नो मनस्थितिलाई निश्‍चिन्त आधारमा बिसाउन परिवारमा फर्किनु । प्रेम गर्नुः स्वाभिमान बचाउन समूहको भाँडभैलोबाट तानिएर टापुको बासमा जानु । प्रेम नै प्रेम...। जम्मामा, प्रेम गर्नुः समग्रमा संसारमा रहनु र आफ्नो अवस्था -त्यो चाहे रहर वा विवशताको उपज) लाई आत्मसात् गरेर श्‍वासप्रवाहमा चिप्लिरहनु...।

र म यही चिप्ल्याइलाई थप रौनकता दिन केही न केही पढ्दै छु । अर्थात् प्रेमको पुष्टकारी चपाउँदै । कथम् यो पुष्टकारीको मोजमज्जामा म पात्तिँदापात्तिँदै बेहोसीवश दाँतको सीमाले नरम जिब्रोमा रत्तिभर पनि धावा बोलेर रगतको सिर्का उमाल्यो भने त्यसको तातो मिठासलाई पनि म पुष्टकारीकै स्वाद सम्झेर कृतज्ञ बनूँला । सायद खासमा, त्यही नै त हो प्रेम ।
------------------------------------------------------------------------------------

4 comments:

  1. पढ्नु : प्रेम हो भने ब्लोगिंग पनी प्रेम हो नि ! हैन र ?
    sahi laagyo -
    प्रेम दुई जनाले खेल्न मिल्ने र दुवै विजयी हुने खेल हो

    ReplyDelete
  2. व्लग रोचक लाग्यो।
    सुन्दर अभिव्यक्ती।
    'प्रेम दुई जनाले खेल्न मिल्ने र दुवै विजयी हुने खेल हो'
    यसको सिमामा कहाँ बस्छ र प्रेम

    मलाई त अझ यो उद्धरण याद आउछ
    "प्रेम हारेर पनि जितिने खेल हो। सबभन्दा पछी परे पनि बिजयी हुने खेल हो। " जिसस
    वास्तवमा प्रेम नै सबथोक हो। घ्रिणा, क्रोध, वासना पनि प्रेम कै रुप हुन तर प्रदुषित वा भनौ कच्चा पदार्थ। पवित्र प्रेम 'नाम' मा पुग्न थुप्रै प्रेम 'कृया' बाट गुज्रनु भने अवश्य पर्ला।

    ReplyDelete
  3. निकै गहन र दार्शनिक लाग्यो।

    ReplyDelete
  4. " म सम्म रहुञ्जेल प्रेम भनेको 'म' नै थियो म बाट निस्किएपछि यो भ्रान्ति भएछ । '

    प्रेमको परिभाषा लेखिने क्रममा हाम्रा अग्रजहरुले केहि लेखेका थिएनन र हो कि के हो लेखिएको रहेनछ , साँच्चि हाम्रा अग्रजहरुले लेखेको प्रेमको परिभाषा मैले नि पढेको छैन कि क्या हो ? सम्झिहेरेँ सम्झन सकिनं बरु सिफारिस गरेँ आफैंले गरेको प्रेमको परिभाषा । जिन्दगी र प्रेमको सर्वमान्य , सर्वकालिक परिभाषा होला के ? तपाईंको प्रेम बरु चित्त बुझ्यो - पढ्नु भएर तर नपढ्नेलाई नबुझ्ला ।

    ReplyDelete

۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्‍नुस्---