Monday, January 5, 2009

मादक वस्तुको सेवन

पाठक एवम् अध्ययनप्रेमी साहित्यिकहरूको चाख, गहिरो अभिरुचि तथा थप खोजीले निर्धारण गर्छ, कुनै साहित्यिक प्रयासले कुन रूपमा कोल्टे फेर्दै जान्छ । शङ्कर स्मृति घरको हकमा पनि यो कुरा लागू हुन्छ । सुरूमा शङ्करका आफ्ना कृतिरचना तथा उनीबारे विभिन्न विद्वान्‌ले लेखेका सामग्रीलाई मात्र यस मञ्चमा प्रस्तुत गर्ने भन्ने सोचले राखिएकोमा विस्तारै आजको समयको पनि निबन्ध पनि शङ्करको हाराहारी सजाएर उहिले र अहिलेको बीचमा सेतु जोड्ने चेत पलायो ।
ब्लगमा छिरेको बेला सोझै टिप्पणी नगरे पनि विभिन्न स्रोतमार्फत शङ्करप्रेमी पाठकले इच्छाएका कुरा हामीसम्म आइरहे । 'शङ्करसम्बन्धी ब्लगमा खोइ त शङ्करका किताब ?', अक्षरका पूजकहरूले ठुँगिरहे । तिनलाई हामीले पन्छाउने कुरै थिएन । त्यसो त, विस्तारै प्रक्रिया मिलाएर शङ्करका कृति एकमुष्ठ रूपमा सँगाल्ने हाम्रो योजना छँदै थियो । अब शङ्करको सिङ्गो किताबै यस ब्लगमा राख्‍ने कार्यको बीजारोपण भएको छ, यसै निबन्धरचनामार्फत ।

सम्पादित रूपमा निस्किएको शङ्करको पछिल्लो सङ्ग्रह 'शङ्कर लामिछानेका निबन्ध' लाई सबैभन्दा पहिले हामीले छनोटमा राख्यौँ । कारण, यो सङ्ग्रह पछिल्लो प्रकाशन भएको हिसाबले सर्वसुलभ भइकन पनि सबैको आँखामा परिरहेको छैन कि भन्ने हामीलाई लाग्यो । पुरस्कार पाएर चर्चामा आएको र शङ्करको समयमा तहल्का मच्चाएका उनका प्रारम्भिक कृतिलाई पाठकले अवश्य धेरथोर चिहाएका छन् । यसो भन्दैमा अघिल्ला कृतिहरूलाई एकमुष्ठ रूपमा ब्लगमा समेट्न छुटाउने भन्ने होइन, क्रमश: ती पनि सँगालिनेछन् ।

सिङ्गो किताबलाई नै ब्लगमा समेट्ने यस अभियानबाट शङ्करलाई पढ्न छुटाएका र पढिसकेर पनि स्मृतिमा धूमिल हुन पुगेका पाठकहरू त लाभान्वित हुने नै छन्, यस ब्लगको पूर्णतामा पनि इँट थपिँदै जानेछ ।
-------------------------------------------------
मादक वस्तुको सेवन

झोछेँको सडकमा गाँजा तथा हृयासिसको पसलहरूको लाइन छ । जत्ति विदेशी पर्यटक आउँछन् तिनका लागि यो खुलेआम विक्रय ज्यादै आश्‍चर्य लाग्दछ । साइनबोर्डको फोटो त उनीहरू खिच्छन् आफ्ना फर्केर मित्र तथा परिवारलाई देखाउन, नत्रभने उनीहरूलाई विश्वास हुने छैन रे ! प्रायः सबको भनाइ छ, नेपाल मात्र विश्‍वमा त्यो देश हो, जहाँ हृयासिसको विक्रयमा कुनै प्रतिबन्ध छैन ।

हाम्रा धार्मिक परम्पराअन्तर्गत जोगी, साधु, सन्तहरूले गाँजा, भाङ, अफिम तथा चरेसको सेवन गरी धुनी जगाउने प्रचलन निकै पुरानो हो । हिमालयका आदिदेव महादेव त विषपान गर्नमा ख्यातिप्राप्‍त छन् । पुराना समयमा यसको सेवन गरी चिन्तनमननको लागि एकाग्रता पाउने प्रयास गरिन्थ्यो भने वर्तमान काल पश्‍चिमी सेवकहरू अतिशय भौतिक विकासको प्रतिक्रियाबाट उत्पन्न भएका कोलाहलबाट तन्तुहरूलाई सुषुप्त पार्न तथा वातावरण, एक ट्रान्क्विलाइजरको रूपमा यसलाई प्रयोग गरेको भन्दछन् । एक प्रकारले हेर्ने हो भने संसारका जत्ति मादक पदार्थ छन् ती सबको प्रयोगको आधारभूत उपादेयता एउटै छ, वास्तविकता बिर्सिन, मनमस्तिष्कलाई सकेसम्म निस्क्रिय पार्नु । कुनै मादक पदार्थमा चेतनतालाई लाटो बनाएर बिर्सन सकिने अवस्था हुन्छ भने, अर्का थरीमा कुनै विशेष उत्तेजना उमारेर त्यसलाई तीव्रतम पारिदिएर, अन्यान्य तन्तुलाई त्यसको तुलनामा कमजोर बनाइन्छ । अफिमले शारीरिक सुस्ती बनाएर मनलाई एकोहोरो ढङ्गबाट भविष्यलाई चित्रित गर्ने प्रयास गर्दछ भने रक्सीले ब्लडप्रेसरलाई उकासेर आत्मलघुताको आभास कम गर्नुका साथै क्षणिक यौवनजन्य आवेग तथा तार्किक प्रक्रिया (जुन कहिलेकाहीँ झगडालु प्रवृत्तिमा परिणत हुन्छ) त्यसको वृद्धि गरिदिन्छ ।

पूर्वीय देशहरूमा आफ्ना आर्थिक विषमता र दैनिक दारिद्र्यबाट उम्किन गरिबवर्गमा यसको प्रचलन बढी रूपमा पाइन्छ भने यसको ठीक विपरीत पश्चिमी देशहरूमा धनको गरिमाबाट सबै वस्तु सहज रूपमा उपलब्ध भएका अवस्थाको परिणामस्वरूप जीवनको उराठलाग्दो एकनासेपनबाट मुक्ति पाउन सम्पन्न परिवारहरूका तरुणवर्गमा यो प्रचलित पाइन्छ । अस्ट्रेलियानिवासी तरुणवर्ग आवश्यक सैनिक सेवाबाट छुटकारा पाउन जत्थाका जत्था रूपमा विदेसिन्छन् भने अमेरिकी सैनिकहरू भियतनाम युद्धको विभीषिका बिर्सन यसको शरण लाग्छन् । सैगोनका अँध्यारा बारहरूमा टिपेको मादकसेवन तथा गुप्‍ताङ्गसम्बन्धी रोगहरू बोकेर उनीहरू स्वदेश फर्किन्छन् । भियतनाममा अब शान्ति सम्झौता त भयो, तथापि विगतका युद्धको अनेक अदृश्य प्रभावहरूसँग सङ्घर्ष गर्न अमेरिकालाई एक दशकले पनि पुग्ने छैन । सबभन्दा ठूलो सङ्घर्ष हुनेछ युवावंशको मनोवैज्ञानिक दृष्टिकोणमा आएको एक भावनालाई मेट्न: त्यो हो, अर्काको देशमा गई युद्ध गरी आफ्नो ज्यान किन व्यर्थमा फालियो । आफ्नो यौवनको सर्वश्रेष्ठ कालमा, केही सिक्ने-सिकाइने, केही उपलब्धिको आधार बनाउन सक्ने बेलामा, त्यस समयको दुरुपयोग भएको बोध सायद मृत्युपर्यन्त पनि कैयन्‌लाई बिझाइरहनेछ । युद्धमा मृत्यु भएका सदस्यहरूको परिवार भने यो अनावश्यक हानिको क्षोभ बोकिरहनेछन् ।

त्यस अर्थमा, पूर्वीय देशहरू भाग्यवादी दृष्टिकोणले गर्दा, यी मनोवैज्ञानिक विषमता त्यत्तिको कष्टप्रद नहुन पनि सक्छन् । तथापि यही भाग्यवादी दृष्टिकोण तथा मादक वस्तुको सेवनको बढ्दो प्रचलनले हाम्रो आवश्यक राष्ट्रिय जागरण तथा उत्थानका लागि ठूलो बाधक हुने सम्भावना पनि छ । अधुरो आध्यात्मिकतासँग नैराश्यजन्य निस्क्रियता जोडिन जानु जस्तो आत्मघातक अवस्थाको परिकल्पना गर्न सकिन्न । यो एक यस्तो सङ्क्रमक रोग हो, जसको आक्रमणबाट व्यक्ति वा समाज मात्रको स्तरमा हानि हुने होइन कि यसले राष्ट्रको परम्परागत उपलब्धिहरूलाई समेत क्रमशः गुमाउँदै जान्छ ।

हेरोइनको सबभन्दा ठूलो खेती मध्य-पूर्व एसियामा हुने गथ्र्यो । मेडिटेरेनियन सागरको बाटो ससाना डुङ्गाहरूको माध्यद्वारा यो तस्कर-व्यापार फ्रान्स तथा इटलीमा पुग्थ्यो । त्यहाँ प्रशोधन गरिने प्रयोगशालाहरूमा यिनको प्रशोधित रूप प्रदान गरिन्थ्यो । तथा लैटिन अमेरिकी देशहरूको बाटो गरी यो अमेरिकामा विक्रीवितरण केन्द्रमा पुग्थ्यो । यो अवैध व्यवसायलाई निर्मूल पार्न संयुक्त राष्ट्रसङ्घको माध्यमबाट अमेरिकाले एक दीर्घकालीन योजनाअन्तर्गत अरबौँ डलर खर्च गरी हेरोइनको खेती नै रोक्ने आग्रह गरेको छ । उक्त योजना सफल हुन निकै श्रम र समयको आवश्यकता छ । तथापि त्यसको सफलता अन्य राष्ट्रहरूको लागि एक यस्तो उदाहरण हुनेछ, जसबाट प्रेरणा पाई अरूहरूले समेत केही कदम चाल्ने आशा गरिन्छ ।
यो भविष्य कति टाढा होला ?

गुनकेशरी- अङ्क २, माघ-चैत २०२९
* साभारः शङ्कर लामिछानेका निबन्ध (२०५९), सम्पादक : शिव रेग्मी
--------------------------------------------------------------------------------------------

3 comments:

  1. धेरै-धेरै धन्यबाद यसरी शंकर लामिछानेज्यूका कृतिहरु पस्किने जमर्को गर्नुभएकोमा।

    निकै सरल शब्दावलीमा धेरै गहिरा कुरा राख्नुभएको छ उहाँले यस निबन्धमा पनि।
    "अधुरो आध्यात्मिकतासँग नैराश्यजन्य निस्क्रियता जोडिन जानु जस्तो आत्मघातक अवस्थाको परिकल्पना गर्न सकिन्न । यो एक यस्तो सङ्क्रमक रोग हो, जसको आक्रमणबाट व्यक्ति वा समाज मात्रको स्तरमा हानि हुने होइन कि यसले राष्ट्रको परम्परागत उपलब्धिहरूलाई समेत क्रमशः गुमाउँदै जान्छ ।" यो असाध्यै घत प‍-यो। हामी नेपाली ठ्याक्कै त्यहि 'आत्मघातक अवस्था'मा छौं। हामी भौतिक रुपमा पनि अधूरा छौं, आध्यात्मिक रुपमा पनि अधूरा छौं, हामी निराश छौं र हामी निष्कृय छौं।

    ReplyDelete
  2. आभार वेदनाथजी-वसन्तजी, सकेजति गर्नेछु, तपाईंहरुको प्रत्यक्ष साथको पनि अपेक्षा छ ।
    वसन्तजी, शंकरको जादुमय संसारमा डुब्दै जानेछौँ ।
    के थाहा, हाम्रो निराशा, थकान र निस्कृयता हाम्रै पालादेखि हट्दै जाला कि... ?

    ReplyDelete

۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्‍नुस्---