Sunday, December 28, 2008

शङ्करका १० कुरा

१९९८ असोज १ गते जन्मिएका शिव रेग्मी नेपाली साहित्यको अनुसन्धान, अन्वेषण तथा खोजबीन र सम्पादनका क्षेत्रमा विगत पाँच दशकदेखि निरन्तर सक्रिय रहँदै आएको नाम हो । सरकारी सेवामा उप सचिवसम्मको जिम्मेवारी सम्हालेर हाल सेवानिवृत्त रेग्मी सम्वत् २०१७ देखि कविता-कथा लेखनमार्फत साहित्यमा प्रवेश गरेर केही समय समालोचनामा पनि कलम तिखारे । तर आफ्नो सिर्जनात्मक यात्रामा सन्तुष्ट हुन नसकेपछि २०३५ सालदेखि अरू नै प्रतिभाहरूलाई उजागर गर्न नेपाली साहित्यको खोज-अनुसन्धानतर्फ ढल्किए । भूपी शेरचनका कविता, शारदाका सम्पादकीय टिप्पणी, शङ्कर लामिछानेका निबन्ध (२०५९) आदि महत्वपूर्ण कृतिको सम्पादन गरेका उनको विभिन्न नेपाली साहित्यिक पत्रपत्रिकाबारे अनुसन्धानमूलक फुटकर रचनाहरूको सङ्कलित रूप अतीतका पाना (२०६३) पनि प्रकाशित छ ।

पछिल्लो समयमा देवकोटाबारे कृति निकाल्ने प्रयासमा जुटेका उनी विभिन्न पत्रपत्रिकामा छरिएर रहेका शङ्कर लामिछानेका कथाहरूको सँगालो बनाउन सङ्कलन र सम्पादनको काममा समेत व्यस्त छन् ।

साहित्यबारे विभिन्न स्थानमा रहेका शङ्कर लामिछानेद्वारा अभिव्यक्त विचारलाई एकै हारमा १० बुँदाहरूमा जोरजाम गरेर २०४७ सालको मिर्मिरे पत्रिका (नेपाल राष्ट्र बैँकद्वारा प्रकाशित) मा पहिलो पटक प्रकाशित रेग्मीको सामग्रीलाई यहाँ प्रस्तुत गरिएको छ । उनले यो टिपोट तयार पार्नमा राम्रै परिश्रम खर्चिएको देखिन्छ । तल साहित्यका विविध पक्षबारे अभिव्यक्त मान्यताहरू पढ्दै जाँदा शङ्कर कतैकतै विवादास्पद र हलुका पनि लाग्न सक्छन् । तर खास चुरो के हो त, किन उनले त्यस्तो विचार अघि सारेछन् ? पढिसकेपछि चिन्तन-मननले खोतल्ने हाम्रै भाग हो । निष्कर्ष बनाउने र त्यसलाई ग्रहण गर्ने त हाम्रो आ-आफ्नो हिसाब हो ।
यस सामग्रीलाई हामीले बगर फाउन्डेसन नेपालले २०५९ सालमा प्रकाशन गरेको सर्वश्रेष्ठ दस नामक सँगालोबाट साभार गरेका हौँ ।
-----------------------------------------------------------

प्रयोगवादी सशक्त हस्ताक्षर : शङ्कर लामिछाने



'प्रयोगशीलता नै शङ्कर लामिछानेको विशेषता हो' र शङ्कर लामिछानेको शैलीमा लेखक र पाठकसँगै बसेर कुरा गरिरहेझैँ लाग्छ र प्रभावोत्पादकले गर्दा नेपाली गद्यशैलीले फर्मायसी लुगा लाएझैँ लाग्छ भन्ने उद्‌गारले उनको नेपाली साहित्यमा भएको विशेषताको केही झलक पाइन्छ । तर शङ्कर भने "मैले आफूलाई लेखक कहिल्यै ठानिनँ र परिस्थितिले मलाई लेखक बनाइदियो, (भाग्यको विडम्बना भनेको यही हे क्यारे !) लेखक बन्ने साहस मैले कहिल्यै गर्न सकिनँ । कारण लेखक मेरो नजरमा देवता हो, देवकोटा हो । म त सिर्फ सोखको साधन, एउटा इच्छापूर्ति मात्र गरिरहेको थिएँ । (यो अर्कै कुरा हो, पाठकले मेरो ठट्टालाई साँच्चिकै मानिदियो ।)" भन्दछन् ।

साहित्यलाई व्यवयाय नबनाउने शङ्करको उद्देश्य र धारणाअनुरुप उनी यसमा सचेष्ट रहे तर २०२५/२६ सालतिर आएर उनको यो धारणा अर्थात् नेपालाको आजसम्मको इतिहासमा साहित्य कहिल्यै व्यवसाय हुन सकेन । (चाकडी भएको कुरा छाडिदिनोस् !) तसर्थ मैले यसलाई सोखकै रूपमा अपनाएको छु भन्ने दृढोक्ति ढलपलायो । तर उनले साहित्यलाई व्यवसाय बनाएर उत्पादन गरेको भए पनि गोधूलि संसार निबन्धसङ्ग्रह र अन्य फुटकर निबन्धहरू उल्लेखनीय रूपमा छन् र नेपाली निबन्धका विशिष्ट रूपमा छन् । एब्सट्र्याक्ट चिन्तन प्याज निबन्धसङ्ग्रहमा मदन पुरस्कार प्राप्‍त गर्न सफल हुने शङ्कर लामिछाने नेपाली साहित्यको निबन्ध विधाका साँच्चिकै सशक्त र प्रखर हस्ताक्षरका प्रतिभा थिए ।

शङ्कर लामिछाने आफ्ना समकालीन साहित्यकार-निबन्धकारहरूमध्ये नितान्त अलग र विशिष्ट हुनुमा उनको आफ्नोपनको निबन्धगत शैलीले गर्दा नै हो । पाश्‍चात्य साहित्यमा भएको अत्याधुनिक गद्यको विविध प्रयोग अत्यन्त रुचिका साथ पढेर त्यसको पाचनसारलाई नेपाली साहित्यमा निबन्धको गहन विषयका रूपमा, सर्वथा नौलो ढाँचामा (शङ्करकै शब्दमा भन्ने हो भने 'युनिक') र साधारण बोलीचालीका भाषमा ओकल्न सक्नु नै शङ्कर लामिछानेको आफ्नो विशेषता हो र जीवनको आत्मानुभूतिलाई आत्मसात् गर्दै निबन्धलाई आत्मकथाका रूपमा पेस गर्न सक्नु उनको दोस्रो ठूलो विशेषता हो ।

यसरी आधुनिक नेपाली साहित्यमा नितान्त अलग ढाँचामा तथा सर्वथा नौलो शैली र सीपमा गद्य लेख्‍ने शङ्कर लामिछानेका साहित्यिक मान्यतासम्बन्धी उनका धारणाहरू उनकै शब्दमा यहाँ टिप्ने प्रयास गरिएको छ ।

१. शब्द र कविता

साहित्यिक मान्यताले नै मेरो काव्यगत मान्यतालाई अँगाले मारेको छ । हुन त मैले मेरो साहित्यिक जीवन प्रकाशित रूपमा गद्यबाट सुरु गरे पनि अरू अप्रकाशित शब्दहरूसँग खेल्न मैले कविताबाट नै सिकेँ ।

२. नेपाली साहित्यको गद्य

नेपाली साहित्य ज्यादै कमजोर छ भन्ने चर्चा मित्रमण्डलीमा भयो एक पटक र मैले निश्‍चय गरेँ नै किन बलियो नबनाउने । त्यस्तै एक पटक निबन्धको कमी छ भन्ने चर्चा उठ्यो र म त्यतातिर लागेँ ।

३. साहित्य कसका लागि ?

साहित्यले सेवा गर्नुपर्छ, जनभावना बनाउनुपर्छ र देशको उन्नति गर्नुपर्छ भन्ने नारा - यीउपर मेरो कहिल्यै पनि विश्‍वास हुन सकेन । तपाईँलाई थाहै छ, मेरो साहित्यिक जीवन प्रेमपत्रको लेखनीबाट सुरु भयो, प्रेमपत्र आफ्ना निमित्त लेखेँ, अर्काका निमित्त लेखेँ । आज पनि कुनै नयाँ लेख लेख्‍न एउटा अस्पष्ट अनुहार आँखाका सामु आइरहन्छ- म त्यसैका निमित्त लेख्दछु । त्यो अनुहार मजत्तिकै प्रबुद्ध, अझ मभन्दा बढी प्रबुद्ध हुन्छ र त्यो अनुहारले स्पष्टता लिन बाँकी नैछ । यसै सन्दर्भमा मलाई भन्ने दुस्साहस (?) हुन्छ, म जनताका लागि लेख्दिनँ, किनभने जनताको राजनीतिक अनुहार कमसेकम हुन्छ ।

४. साहित्यमा यौन ?

यो प्रश्‍न संसारमा अनेक रूपमा उठेको छ । तर मलाई लाग्दछ, धेरैजसो मानिसहरूले यौनसम्बन्धको गाम्भीर्यलाई बुझेकै छैनन् किनभने यौनमा 'स्वतन्त्रता' शब्द जोडिनुजस्तो मुर्ख्याइँ अरू केही छैन । यौनस्वतन्त्रता भन्नुको शाब्दिक अर्थ हुन जान्छ खुला रूपमा हस्तमैथुन । यौनको प्राप्ति, कमसेकम यौनको चरम सुखको प्राप्ति स्वतन्त्र रूपमा हुन सक्दैन । यसका लागि एक स्वयम् जत्तिकै बुझ्ने, प्रतिक्रिया व्यक्त गर्नसक्ने सहभागी आवश्यक हुन्छ र यी सम्पूर्ण प्रतिक्रियाहरू एक शुद्ध भावनामा लीन भएर गरिने कुरा हुन् । यिनमा न त स्वतन्त्रता छ, न त यिनको चर्चा त्यस सहभागीबाहेक अन्त सम्भव नै छ । साहित्यमा यौन तरकारीमा नुन हालेर स्वाद तिखारेको जस्तो स्वाद तिखार्न प्रयोग गरिने कुरा अर्कै हो, तर यौनमा साहित्यको प्रयोग जसले गरेको छ त्यसलाई नै यसको मुख्य स्वाद थाहा हुन्छ ।

५. जो भला सो भला

नैतिकवादी म हैन, न त अनैतिकवादी नै हुँ । म त एक मनुष्य हुँ जसको सबभन्दा ठूलो गुण उसमा रहेको एकदुईओटा बैगुन नै हुन्छन् । ममा जे अवगुण रहेका छन् तिनका गुणहरूबाट मैले साहित्य सिर्जना गर्न सकेको हुँ र हिन्दीमा भन्ने हो भने जो भला सो भला, बस् ।

६. दर्शन, बौद्ध दर्शन र शून्यवाद

म दर्शनलाई आफूले देखेको कुरा मान्दछु । सायद दर्शन शब्दको अर्थ पनि यही हो- दार्शनिक कुराहरू निश्‍चय पनि अर्काले देखेको र व्यक्त गरेको राम्रा कुरा हुन्, तर ती हाम्रा लागि व्यत्ति,गत रूपमा शतप्रतिशत ठीक छन् भन्न सकिँदैन, किनभने ईश्‍वरलाई नमान्ने बुद्धलाई नै ईश्‍वर बनाइदिने परम्पार पनि मानवले नै अपनाएका छन् र दर्शनकै कुरा गर्ने हो भने मलाई सबभन्दा मन पर्ने दर्शन बौद्ध दर्शन हो, खास गरी यसको शून्यवाद !

शून्यवाद मेरा निमित्त अझ लक्ष्यवाद नै बनेको छ र मेरो लक्ष्यमा शून्य आइदियो भने छाक अड्कला भन्ने डर हुन्छ । अहिले त म शून्य र लक्ष्यका बीच रोप ट्रिक गरिरहेको छ र मैले स्वयम् आफ्नो दर्शन पैल्याउन सकेको छैन ।

७. आत्म र साहित्य

साहित्य जति मानिसको नजिक कुनै वस्तु छैन । धर्म, पाप, यौन, दर्शन आदि यी सब यथार्थ वा अयथार्थ रूपमा मानिसद्वारा नै आंशिक रूपमा परिचालन गरिने कुरा हुन् । साहित्य भने मानिस-समष्टि रूपको स्वच्छ प्रतिविम्ब हो । यसरी यी माथि भनेका सब कुराहरू साहित्यमा अङ्ग हुन् तर साहित्य कसैको अङ्ग हैन । आत्माको परिभाषा यदि मसँग चाहनुहुन्छ भने म एउटै शब्दमा परिभाषा दिन सक्छु- साहित्य ।

८. आधुनिक र प्राचीन साहित्य

ज्ति लेखिने साहित्य हुन् ती आधुनिक र जति लेखिसकिएका छन् ती प्राचीन, जति नपढिएका हुन् ती आधुनिक र जति पढिएका हुन् ती प्राचीन तर पनि प्रत्येक कृतिमा समयले आफ्नो पन्जाछाप छाडेकै हुन्छ । जस्तै अत्याधुनिक भनेर हामीले दाबा गरे पनि ती रचाना गरिएका कालभन्दा बढी नवीन हुन सक्दैनन् । रहृयो शैलीको कुरा, शैलीले जबसम्म सामयिक बौद्धिकतालाई उत्प्रेरित गर्न सकदैन तबसम्म यस्ता कृति पढिँदा पनि पढिँदैनन् ।

९. साहित्यमा गम्भीरताको प्रश्‍न

साहित्यमा केको गम्भीरता ? म स्वयम् जीवनलाई पनि मैले आजसम्म गम्भीर रूपमा लिएको छैन । बाबु र आमाको आनन्दबाट म जन्मेँ, कैयौँ कीटाणुको आनन्दबाट म मर्नेछु, यहाँ गम्भीरताको ठाउँ नै कहाँ छ र ? र फेरि साहित्यमा मैले गम्भीरता ओगटेँ भने मेरा साहित्य कसले पढिदेला ?

१०. कथा र हाइकू शैलीको कविता

एक पटक नेपाली साहितयमा वैज्ञानिक कथा छैनन् भन्ने चर्चा उठ्यो र म त्यता लागेँ र एक पटक फेरि मेरा मित्र ईश्‍वर बरालले भने- नेपाली साहित्यमा भविष्यकालको व्याकरण ओगटी कुनै कथा लेखिएको छैन र मैले लेखिदिएँ- म भोलि जन्मनेछु, एक किसिमले हेर्‍यो भने नेपाली साहित्यको प्वाङ्ग प्वाल मात्रै म टाल्दै छु । कवितामा नयाँ मान्यता ल्याउनका निमित्त नै मैले जापानी हाइकू शैलीको प्रयोग गरेँ, किनभने नेपाली अस्पष्टमै रुमल्लिएको थियो र काव्यमा मेरो धारणाअनुसार अस्पष्टता हुनु हुँदैन । हाइकू शैलीको एक मात्र ध्येय हो- ५/७/५ अक्षरका तीन पङ्क्तिमा एक चित्रभावना र एक अभिव्यक्ति । काइमा त्यसको स्फुरण चरमा विन्दुमा यही नै मान्यता सर्वोपरि हुन जान्छ कि ? यसै निमित्त मैले हाइकूलाई प्रयोग गरेको हुँ । रहृयो काव्यमा या कवितामा बौद्धिक मान्यताहरू प्रदर्शन गर्ने आकाङ्क्षा, त्यसका लागि गद्य नै प्रशस्त बलवान् र सजिलो छ भन्ने सोच्दछु ।
--------------------------------------------------------------------------------------------

No comments:

Post a Comment

۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्‍नुस्---