Friday, December 19, 2008

सहर : नव कोलाजहरूमा

- जनकराज सापकोटा
तपाईँलाई स्वागत छ, म उभिएको व्यस्त सडकको चोकमा । यो सडक एउटा खुला विश्‍वविद्यालय हो । यहाँ समावेशी मान्छेहरूको जीवन पोखिएको छ । अधमराहरूको बैँस छचल्किएको छ । कति सपनाहरू यही सडकका पेटीहरूमा बलात्कृत भएका छन् । कति सपनाहरूले यही सडकका पेटीहरूमा चिसो रात खाएर मृत्युभोग गरेका छन् । यसलाई पढ्न मात्रै जान्नुपर्छ । यहाँ पोखिएका एक-एक जीवन मार्क्सदेखि स्टालिनसम्म र गोर्भाचोभदेखि तेंग सियाओपेनसम्मका दर्शनमा कहीँकतै लेखिएका छन् र सम्बोधनमा परेका छन् ।

जीवनको सबैभन्दा ठूलो सङ्ग्रहालय हो या सडक । मान्छेहरू जानेर वा नजानेर यी सडकहरूमा घोप्टिन्छन्, पोखिन्छन् र छचल्किन्छन् । बैँस हुनेहरू आरुका फूल फुलाउँछन्, सपना हुनेहरू जीवनका कथा लेख्छन्, पैँताला हुनेहरू दौडिन्छन् र थाक्छन् । हरेक दिनजसो हुने म्याराथन दौडमा पुरस्कार थाप्न नसकेकाहरू बेलुका यहीँ- कहीँकतैका भट्टी पसलहरूमा निर्बाध छिर्छन् । रात छिप्पिँदै गएपछि गिलासको पिँधमा अलिकति बाँकी रहेको रक्सीमा आफ्नो धमिलो छायाकृति हेर्छन् र विधि अनि व्यवस्थालाई कुकुर-गाली गर्छन् । कहिले वेश्यालयजस्तो, कहिले भोजनालयजस्तो, यो सहर कुनै नाट्यशालाजस्तो लाग्छ ।

सधैँभरि मान्छेहरू नाप् र झाँप् गर्दै दौडिन्छन्, थाक्छन् र भन्छन्- साला ! सहरमा क्या है ! सहरबाट भाग्छन् र सहरमै पुग्छन् । सहरलाई गाली गर्छन् र सहरमै हुर्कन्छन् । सहरको सत्तोसराप गर्छन्, अन्तत: त्यही सहर ओढेर-ओछ्‌याएर सुत्छन् ।

कुनै वियोगान्त कथाबाट उछिट्टिएको मूल पात्रजस्तो, कुनै कवितामा आँसु बगाएर थाकेको पात्रजस्तो अलिकति कृत्रिम, अलिकति बेढङ्गको र अलिकति बेसोमतको यो सडक आफैँलाई ओछ्‌याएर आफैमाथि पल्टेको छ । यहीँबाट हो, भर्खर राष्ट्रियताको गीत गाउँदै एउटा जमात पूर्वतिरको यात्रामा निस्किएको । यहीँबाट हो, भर्खर परिवर्तनको शङ्खघोष गर्दै विजयको जुलुस निस्किएको । यहीँबाट हो, भर्खर एउटा जड्याँहालाई घिसारेर महानगरीय प्रहरी प्रभागतिर पाहुना बनाइएको, अनि यहीँबाट हो भर्खर बेपत्ता पारिएका परिवारहरूको एउटा जुलुस निस्किएको । यो सडकमा जीवनको परिभाषा जहाँतही पोखिएको छ ।

यसको आफ्नै ताल छ । यसको आफ्नै गति छ । अलिकति इतिहासको विरासत र अलिकति वर्तमानको हर्कत दुवै बोकेर वाँचेको छ यो सहर । यसको सभ्यता र यसको दिनचर्या ।

यस्तो लाग्छ, सारा परिवर्तनको ठेक्का आफ्नै भागमा परेर उन्मुक्त परेजस्तो देखिन्छ कहिले यो सहर, कहिले प्रेमिकासँग झगडा परेको झोंकमा दारुपानीको साथ लागेर चुरोटको धुँवामा हराएको कुनै अल्लारे केटोको अनुहारजस्तो घुर्मैलो देखिन्छ यो सहर । यो सहरको अनुहार कुनै सिकारु चित्रकारले कोरेको अमूर्त चित्र जस्तो देखिन्छ । सहरको एउटा कुनामा एउटी युवती मोबाइलको किप्याडमा प्रेमका भाका कोर्दै गरेको देखिनेछ, कुनै कुनामा एक बथान युवा छिल्लिँदै मोबाइलको मेमोरी कार्डको कुनै गोप्य फोल्डरमा लुकाएको नीला फिल्मको छोटा किस्सामा मज्जा चाख्दैछ ।

यो उत्तरआधुनिक सहर हो र यहाँ प्राचीनकालका अवशेषहरू भेटिन्छन् मान्छेको जीवनमा, हाम्रा व्यवहारहरूमा । यो हो - नव्य लोकतन्त्रको एउटा गतिलो प्रदर्शनीकक्ष ।
janak_rasa2000@yahoo.com
--------------------------------------------------------------------------------------------

No comments:

Post a Comment

۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्‍नुस्---