Thursday, July 16, 2009

गिरीको याद

वि अगमसिंह गिरीप्रति शङ्कर लामिछानेको कलमको प्रेम र श्रद्धाभाव यस लेखोटको सार हो । हामीले यसलाई यहाँ यस रूपमा प्रस्तुत गर्नुको कारण त्यो श्रद्धाभावलाई पाठकसमाजमाझ छनक दिनु मात्र हुँदै होइन । बरू हो- गद्यलेखनमा प्रयोगशिल्पी भनी चिनिएका र पुजिएका-बुझिएका शङ्करको संस्मरणलेखनको पाटो के-कस्तो रहेछ भनेर उदाहरण राख्‍नु । त्यसो त कुनै व्यक्तिविशेषमाथि लेखिएको तथा संस्मरण लेखनको गहकिलो स्वाद चाख्‍न शङ्करको सिङ्गै किताब 'विम्ब-प्रतिविम्ब' मै पस्नुपर्छ ।

तर परिचयात्मक निबन्ध-सङ्ग्रहको नाम दिइएको 'विम्ब प्रतिविम्ब'मा उनको उक्त पुस्तकलेखनको समयमा दिवङ्गत भइसकेका व्यक्तित्व मात्रै थिएनन् । जिउँदा अग्रज प्रतिभा र समकालीनबारे परिचयात्मक भाव उनले उतारेका थिए उक्त पुस्तकमा । प्रस्तुत 'गिरीको याद' निबन्ध भने अगमसिंह बितिसकेपछि लेखेका हुन् शङ्करले ।
गिरीबारे शङ्करले 'निरन्तर बजिरहने एउटा धुन' र 'ओम स्वाहा ! एउटा नवीन आहुति' गरेर अरू दुई सम्झौटो पनि लेखेका छन् । यी दुईसहित प्रस्तुत 'गिरीको याद' विम्ब-प्रतिविम्ब' सँगालोमा पढ्न पाइन्छ । यसपाली शङ्कर स्मृति घरमा त्यही यादलाई सम्झना गरौँ, पढ्नुस् 'गिरीको याद' :-
--------------------------------------------
झ पनि विश्‍वास लाग्दैन गिरीको स्वर्गवास भयो भन्ने कुरा । एक दु:स्वप्न जस्तो भान हुन्छ, र लाग्छ कताकता, बिहानको उज्यालोमा निद्रा खुलेपछि वास्तवमा उनी अझै बाँचेका छन् भन्ने यथार्थ बोध सम्भव छ ।

एक प्रकारले विचार गर्ने हो भने उनको मृत्युको दोष काठमाडौँ तथा खास गरी यसको सरकारी स्तरको अनेक औपचारिक कार्यप्रणाली तथा बेवास्ताको भावनालाई थोपरिदिए हुन्छ । प्रवासमा बस्ने नेपाली बन्धुहरू सोच्दछन्, आफ्नो मातृभूमिमा अवहेलनाको सिकार हुने छैनन् उनीहरू । र जब अवहेलनाले उनीहरूलाई मातृभूमिको मुटुमै प्रहार गर्दछ, उनीहरू निराशाको हद सीमामा पुग्दछन् । हामी जो काठमाडौँमा जन्मेम्, हुर्केम्, हामीलाई यसबारे बोध तथा सहिष्‍णुता एक द्वितीय बानी परिसकेको छ । प्रवासीका लागि यसको वेदना चर्को आघात दिने हुन्छ ।

* * *

मैले कतै लेखेको छु । काठमाडौँ त्रिभुवन विमानस्थलमा अचिन्तनीय रूपमा गिरीज्यूसँग मेरो अन्तिम भेट भएको थियो । अन्यान्य व्यक्तिलाई बिदा गर्न पुगेको, थाहा पाएँ गिरीज्यू पनि जाँदै हुनुहुन्छ । बिदा हुन गएँ । मनस्थिति उहाँको त्यस बेला पनि अलि अस्वाभाविक लाग्यो । एकाग्रता पारा झैँ ढलमलढलमल, दृष्‍टिमा चञ्चलता, कुनै पूर्वभावनाले मनमा अनेक कुरा खेलोरहे जस्तो ।

* * *

यसअघि, यस्तै एउटा परिस्थितिमा मैले उहाँलाई भनेको थिएँ "मबाट केही सहयोग चाहिए भन्नुहोस् है, गिरीज्यू ।" जवाफ पाएको थिएँ, "चाहिएमा निश्‍चय पनि भन्नेछु ।"



* * *

यसपछि, एउटा संयोग । सरस्वतीपूजाकै दिनको कुरा । मेरो घर काठमाडौँको मुख्य सरस्वतीस्थानको मन्दिरको एक मात्र बाटोमा पर्छ । तसर्थ त्यस दिन मकहाँ परिचितहरू एक प्रकारले ताँती लाग्छन् । त्यस दिनको दिवाभोजनमा अम्बर गुरुङका परिवार सम्मिलित हुँदै थिए हामीसँग सरस्वतीको । सरस्वतीको दर्शन गरिसकेपछि उनीहरू आए । यो नियमित आकस्मिकता नै होला, हामीले त्यस दिन आनायास गफ गर्ने विषय रोज्न पुग्यौँ- मृत्युको । मृत्यु कति प्रकारका हुन्छन् र विश्‍वमा कसकसको मृत्यु कुन प्रकारबाट भयो ।


"मृत्यु वास्तवमा अनेक प्रकारका हुन्छन्, मर्ने कुरा जान्दै नजानी सोच्दै नसोची मरिने, मर्न नचाहेर मर्नुपर्ने, मरणको अर्थ नजानेर मर्नुपर्ने, मरणको अर्थ बुझेर अङ्गीकार गर्नुपर्ने निस्सहाय भई, मरणको कामना गरी मृत्यु पर्खेर मर्नुपर्ने, मृत्युको अवस्था आफूले सिर्जेर मर्नुपर्ने, मृत्यु डाकेर पनि नआइदेओस् भन्ने कामनासहित मर्नुपर्ने ।"

(गोरखापत्र, श्रावण १ गते, २०२८, लेखक)

त्यस बेला यी चर्चा हुँदा, आज सम्झन्छु, गिरी चिरनिद्रामा सुतिसकेका थिए, तथा उनको पार्थिव शरीर भस्म पनि भएको थिएन होला !

तर के, अम्बरलाई एवम् मलाई उनको अन्तिम टेलिप्याथिक संवाद त थिएन यो, जो हामीले अनजानमा मृत्युको चर्चामा परिणत गर्‍यौँ ?
को जानोस् ?

* * *

"हामीले यहाँ एउटा कुरा भुल्नुहुँदैन । बाँच्न चाहनु जस्तो ठूलो चाहना अरू केही छैन । यसैका निमित्त हामी चोरी गर्छौँ, चाकरी गर्छौँ, डकैती गर्छौँ, डाँक पर्खन्छौँ, आफ्ना आस्थालाई धरौटीमा राख्छौँ, अर्काको विश्‍वासलाई (गलत भए पनि) मान्यता प्रदान गरिदिन्छौँ ।"

(गोरखापत्र, श्रावण १ गते २०२८, लेखक)

र, गिरीमा यी सब कुराको अभाब थियो । युटोपियामा जन्मिनुपर्ने मान्छे, उनी नेपालको आस्था र अस्तित्व जोगाउन भारतमा हुर्के ।
यही उनको अभिशाप या वरदान थियो ।
अभिशाप यसनिमित्त: उनले अकाल मृत्यु मर्नुपर्‍यो ।
वरदान यसनिम्ति : उनको असामयिक मृत्युबाट अरू लेखक कविका लागि एउटा विशेष व्यवस्था हुने सम्भावना छ ।

* * *

दार्जिलिङप्रति मेरो विशेष प्रेम छ । दार्जिलिङ मात्र नभनौँ, सम्पूर्ण प्रवासप्रति । (दार्जिलिङकी नारी विवाह गरेर यो प्रेम उम्रेको नठान्नुस् !) प्रवासको सहायतानिमित्त २/३ पटक मैले सक्रिय अनुदान गरिसकेँ ।

एकताक नेपालबाट नोकरी एवम् पेसाका लागि नेपाली भारत लाग्थे भने, आज त्यसको ठीक उल्टो परिस्थिति छ ।

यहाँ अगम पनि आउँछन् भने, यहाँ अन्य त्यस्ता पनि आउँछन्, जो कसैलाई भगाएर जागिरको खोजमा आउँछन्, र भोकभोकै पर्छन् ।

त्यस्तासँग नेपाल त्रसित भइसकेको छ । स्थानीय नेपालीहरू आफ्नो भाग खोसिएको अनुभव गर्दैछन् । र, छोपेको मन नपराउने अवस्थामा छन् ।

यो कुरा, नेपालको आशा राख्‍ने सबै भाइले बुझ्नु आवश्यक छ ।

* * *

अन्त्यमा, मलाई एउटै कुरा भन्नु छ । गिरीज्यूलाई सबै दार्जिलिङको राजदूतमा गनेको छु । उहावको असफलताको दोष जसलाई थोपरे पनि, अवस्थाको सुधार हुने होइन ।

* * *

गिरीपछि नेपालीत्वको त्यो झन्डा उचाल्ने को छ, दार्जिलिङमा, त्यसको सूचना चाहियो मलाई ।

* * *

गिरी त गए ! अस्तित्व बाँच्छ के ?
मलाई जवाफ चाहियो ।

--------------------------------------------------------------

*अस्तित्व - वर्ष २, पूर्णाङ्क ५, असोज २०२८
* हामीले साभार गर्‍यौँ: 'शङ्कर लामिछानेका निबन्ध' (२०५९), साझा प्रकाशन, ललितपुर बाट

3 comments:

  1. झन्डै झन्डै विस्मृतिमा गइसकेका अगमसिंह यो पढेपछि पुन स्मृतिमा अाए । धन्यवाद

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
  3. प्रिय ऋण साधक

    कुनै पनि वित्तीय कठिनाइ तपाईं? तपाईं आफ्नो व्यवसाय सुरु गर्न चाहनुहुन्छ? यो ऋण कम्पनी जीवनको वित्तीय कठिनाइ संग गरिब र मान्छे मदत गर्ने एकमात्र उद्देश्य साथ संसारभरि मानव अधिकार संगठन स्थापित भएको थियो। तपाईं एक ऋण को लागि लागू गर्न चाहनुहुन्छ भने, विवरण इमेल तल संग फिर्ता हामीलाई प्राप्त: elenanino0007@gmail.com

    नाम:
    ऋण रकम आवश्यक:
    ऋण अवधि:
    मोबाइल नम्बर:

    र परमेश्वरको आशीर्वाद धन्यवाद
    निर्धक्क
    Elena

    ReplyDelete

۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्‍नुस्---