Monday, June 29, 2009

किन लेख्दिनँ म ?

“म तिमीसँग साँच्चै रिसाएको छु, तिमीलाई भन्न मात्रै नभनेको ! मेरो साँच्चै चित्त दुखेको छ तिमीसँग । तिमीले मेरो अपमान गरे झैँ लाग्छ मलाई आजकाल !”

यी वाक्यहरू सुनिरहँदा मेरो शिर निहुरिएको थियो । म निरुत्तर थिएँ । भित्रभित्रै आफैँलाई अपराधी अनुभव गरिरहेकी थिएँ । तर स्नेहको तरलताले लफ्रक्क रुझेकी थिएँ ।

लाग्यो, मेरो आलस्यको ठिहीलाई पगाल्न समयले दिएको न्यानो सूर्योदय हो यो । चुपचाप सुनिरहेँ, अकर्मण्यताको ठिहीलाई पगाल्ने न्याना वाणीहरू । मनको कोमल भागमा मीठो स्पर्श पाएझैं लाग्यो । एउटा चेतनाले अर्को चेतनालाई ब्युँझाउने तातोपन महसुस गरेँ । हृदयमा चुपचाप लुकाएर मुसुक्क मुस्कुराएँ । केही बोल्ने आवाजै थिएन मसँग । त्यसैले एउटी आमाले सन्तानको मृदु तर व्यङ्ग्य वाणीलाई बेवास्ता गरे झैँ आवाजलाई कान दिइरहें, शब्द दिन सकिनँ । तर मेरो अघिल्तिर त मेरो पितातुल्य व्यक्तित्वको आवाज थियो । शरीरभरि एक प्रकारको तरङ्ग छुट्यो । एकैछिनमा झनझनायो मेरो शरीर । बाहिरको चिसोलाई चुनौती दिएझैँ रननन तात्‍न थाल्यो । मैले मेरा गालामा तातो-तातो हुँदै आएको रातोपन महसुस गरेँ ।


मेरो मनमा सिर्जनाको दियो बाल्न बारम्बार हृदयको मैन भएर पग्लिने आवाजमा साँच्चै दु:ख थियो । एउटा लेखकले अर्को सिकारु लेखकलाई देखाउनुपर्ने मायासहित नजानिँदो पीडा बगिरहेको थियो त्यो आवाजमा ।

किन हो फेरि मभित्र कता कता दुख्यो । अहँ मलाई ती वचनहरू भने दुखेनन् । दुख्यो, मेरो अकर्मण्यता दुख्यो, मेरो लाचारी दुख्यो अनि दुख्यो त मेरो आलस्यपूर्ण जिन्दगी दुख्यो ।

यति रहरलाग्दा दिनहरू मैले यस्सै सकाएँछु । जिन्दगीको व्यस्त मेलामा कति न्याना र फुर्सदिला हिउँदका दिनहरू थिए मेरा अगाडि तर तीसँग कुनै नाफाको मोल लिन सकिनछु मैले । मूल्यहीन बितेका दिनहरू आज शूल भएर घोचिरहेछन् मभित्र । थाहै नपाई बितेछन् ती दिनहरू । के उत्तर दिऊँ म उहाँलाई ? म किन लेख्दिनँ ?

मैले नलेख्दा आफ्नो अपमान भएको सम्झिने मेरो आदरणीय प्रेरक व्यक्तिलाई दिने केही उत्तर पाएकी छैन आज मैले । म किन लेख्दिनँ आजभोलि ? म आफैँलाई थाहा छैन । तर नलेख्‍नुको छटपटीले मलाई पनि उत्तिकै पोलिरहेको छ । कुजीवन बाँचेजस्तो । मरीमरी बाँचेजस्तो वा बाच्दै नबाँचेजस्तो ! नलेख्दा मलाई यस्तो लाग्छ । तर किन लेख्दिनँ म ?

उफ्, समयको व्यस्त पिंजडामा थुनिएर कतिबेला कतिबेला काटिएछन् मेरा पखेटाहरू । न उड्न सक्छु, न जस्तो छ त्यस्तोमै जिउन सक्छु ।

कर्तव्यले चोरेको जिन्दगीको प्रत्येक समयसँग कुनै गुनासो छैन भन्दाभन्दै पनि त्यसैलाई निहुँ बनाएर म आज यस्तो अकर्मण्यताको पहाडमा किन चढिरहेछु ? समयका भँगालोहरू फटाफटी नाघेर विश्‍वासको सेतुबाट जीवनको आधा आकाशलाई रङ्ग्याउने मेरो चाहना कता हरायो खै आज ? के अरू कुरालाई कारण बनाएर मैले आफ्नै जिन्दगीको अर्को पाटो जिउन नजान्नु मेरो दोष हैन ? समयको मागलाई अक्षरले व्यक्त गर्नु हातमा कलम लिनेहरूकै कर्तव्य हैन ? खै मेरो कलम ? भाँचियो कि सुक्यो हँ ?

किन हो थाहा छैन मन दुखिरहन्छ । किन दुख्छ यति विधि समस्याहरू ? किन दुख्छ यतिविधि घटनाचक्रका विविध दुर्गतिहरू ?

आज मलाई सोच्न बाध्य पारेको छ, के म साँच्चै दुख्छु ? अहँ दुख्दिनँ । दुख्‍नुको प्रमाण के हो ? खै त्यसको प्रतिक्रिया ? खै कहाँ छ मेरो धर्ती फुटेको, टुसाएको ? के प्रगतिका लागि केही सुरुवात चाहिन्न र ? नअङ्कुराईकन, नटुसाईकन फुल्न खोज्ने मेरो मूर्खताले मलाई सीधै ललकारिरहेछ । तँ केही होइनस् । खालि ढुङ्गो, पत्थर !

आफैँसँग खेद छ । खै, मनमा कलमको निबलाई मसी दिने तरलता ? कहाँ भाग्यो संवेदना ? कहाँ लुक्यो त्यो निश्‍चल मन ? किन देख्दैन यस्तो ज्यस्ति बिझ्ने क्षणहरूलाई । किन सम्पूर्ण पीडा आफैँमा समन गरेर समुद्र बन्न खोजिरहेछ मन ? हलाहल र कालकूटलाई मनमा लिएर बाँच्नुको बाध्यता किन ? नीलकण्ठ बनेर किन उद्दारक बन्न जानेन मेरो मनले ?

ओहो ! कलमलाई हतियारले काटेको बेला के हेरिरहेछु म ? कलमवीर उमा सिंहहरू आफूलाई छियाछिया पारेर सत्य उकेल्दैछन् । सत्यलाई केहीले मेट्न नसक्ने अन्तिम आवाजमा पुकारी रहेकाछन् । तर म किन केही सोच्न सक्दिनँ ? किन लेख्‍दिनँ मेरो समाजको अन्यायको कथा ? किन बिझ्दैनन् आँखाहरूमा असत्यले पर्दा हालेका अँध्यारा कोठाहरू ? फेरि किन बिझेर लाचार हुन्छ मेरो लेखक ? उज्यालोलाई अँध्यारोले जितेको बेला किन काँप्दैन मेरो अभ्यन्तर ? कलमका कोमल शरीरमा खुकुरीले छियाछिया पारेर रगतका फल्साहरू बगाएको बेला, किन जुर्मुराउँदैन मेरो कलम ? सन्तानलाई आफ्नै आँखाअगाडि काटिएकी छोरीको लाश हेरेर टोलाइरहने आमाहरू देख्दा, किन मात्र टोलाइरहेछु म ? यो च्यातिएको समयलाई किन सिउँदैनन् मेरा हृदयका डिकाहरूले ? के आज मेरो मन शब्दहरूबाट भागेकै हो त ? के म शब्दविहीन भएकै हुँ त ? थाहा छैन आफैँलाई म किन लेख्दिनँ ?

दिनदिनै अखबारका पृष्ठहरूमा छापिने समाचारहरूमा कति पल्ट बगाउँछु आफूलाई । के पग्लनु शब्दहीन हुनु हो ? आजैमात्र पढेँ, पढ्न स्कुल गएका बेला बाबुले छोरीको बिहेको डोन (सगुन) खायो । अब पढ्ने चाहना भएकी नौ कक्षामा पढ्ने छोरीलाई बिहे नगरी सुखै छैन । किनकि डोन खाएपछि विवाह रद्द गर्न पाइँदैन । रद्द गरे डोन फिर्ता गर्नुपर्छ । फिर्ता गर्ने उपाय पनि छैन । विवाह नगरे बाबुले घरबाट निकाल्छ । गरिबी र अशिक्षाको कारण समाजमा मौलाएको विकृतिले चिथोर्छ मलाई । कति निरीह छन् छोरीहरू । फेरि त्यही पत्रिकाको अर्को पानामा पढ्छु, अर्की छोरीको आवाज – “महिला विरुद्धको हिंसा स्त्री पुरुषबीच असन्तुलित शक्ति सम्बन्धको उपज हो ।” घटनाको जीवन्त प्रस्तुति गर्दै विचारको बुलन्दीमा इन्दु पन्त घिमिरेको आवाज आफ्नै हो झैँ लाग्छ ।

जीवनका व्यावहारिक पाटोहरूमा नमिलेका क्षणहरू कति घोच्न आउँछन् । के तिनमा जुझ्नु शब्दहीन हुनु हो ? मानव भएर मानवताका लागि गर्न नसकेका कामहरूमा कति लखेटिन्छु ? समस्याको उल्झनमा फसिरहेका क्षणहरू कति टोलाइरहन्छु । समाजका अन्धविश्‍वासका बाटाहरूमा ठेस लाग्दा कति कहालिन्छु ? तर खै लेख्‍न सक्दिनँ !

नलेख्दा संवेदनाहरू कहाँ सुकेर जान्छन् हँ ? विचारको शृङ्खलालाई भने नलेखी पोख्‍न नसकिने रहेछ । तर थाहा छैन मलाई, किन लेख्दिनँ म ?

म क्षमाप्रार्थी छु मेरो प्रेरक व्यक्तित्वसँग ।

- धापाखेल, ललितपुर ।
-------------------------------------------------

5 comments:

  1. सुन्दर भाव! साह्रै मन प-यो तपाईँको यो निबन्ध! तपाईँको लेखन-यात्राले फेरि गति लिनेछ र हामीले यस्तै रचना धेरै पढ्न पाउनेछौं भन्ने आशा छ।

    ReplyDelete
  2. मलाई पढ़न मा लघु कथा लेखी अर्को बिधा भन्नु पर्यो भने निबन्ध नै भन्छु र मन पनी पर्छ | तर यस्तै मीठा खुराकहरु पढ़न भने सधै पछि परिरा'छू |
    अन्तिम तीर " कति नरीह छन् छोरीहरू ।" मा निरीह लेख्न खोज्नु भएको हो की जस्तो लाग्यो | सायद " कति निरीह छन् छोरीहरू" लेख्नु भा'होला - होइन ?
    समग्र मा राम्रो रहेको छ - यो निबन्ध | लेखिका रजनी ढकाल जी लाइ साधुबाद !

    ReplyDelete
  3. शंकर लामिछानेले मैले सोच्नै नसकेका कैयन कुराहरु लेखिदिएर मेरा सोचहरुको परिधि तोकिदिए जस्तो लाग्छ । उनको शैली आहा । मेरो बनाउने रहर पो छ त मलाइ ।

    ReplyDelete
  4. Every words visualized the genuineness of cavernous thought. I really like it!

    ReplyDelete
  5. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्‍नुस्---