Friday, June 5, 2009

क्याट माने बिरालो

क अमेरिकन मित्र काठमाडौँबाट प्रस्थान गर्दै थिए । हामीसँग निकै हेमचेम थियो । उनले सायभिज-सङ्कर बिरालो पालेका थिए । अब त्यसलाई उचित वासको टुङ्गो लगाउने समस्या पर्‍यो तिनलाई । हाम्रो सहायता मागे ।

एक प्रकारले म कुकुर, बिरालोप्रेमी हुँ । ती दुवै जनावरको केही अंश सायद ममा अवस्थित छ । जे होस्, मैले बिरालो स्याहार्ने जिम्मा लिएँ । हुन त बिरालो नदेखेको वा बिरालोउपर प्रबन्ध नलेखेको पनि होइन स्कुली जीवनमा, तथापि बिरालोको केही गुण, अवगुण रहेछन्, जो मलाई थाहा थिएन ।

जस्तै, त्यो बिरालो थियो । बाथरुममा हग्ने । उसको निमित्त काठको बाकस बनाएर त्यसमा बालुवा राखिदिनुपर्ने । ऊ बिहानै बाथरुम जाने र त्यसमै हग्ने । बिरालो आफ्नो गुहु लुकाउँछ भन्छन्, लोकोक्ति हो, बिरालो बाघको फुपू रे, सारा भदालाई सिकाएर उसले एउटै कुरा सिकाएन रे, रूख चढ्ने । त्यसमा रिसाएर बाघले झोँकमा भन्यो रे, ' तँ मूलाको गुहु पनि बाँकी राख्दिनँ ।' - र त्यस बेलादेखि बिरालाले गुहु लुकाउन थालेको रे !

त, त्यो अमेरिकन - सायभिज-सङ्कर बिरालो झन्डै छ महिनाजति बस्यो होला हामीकहाँ ।
त्यसको आगमनपछि, अनि पो मैले बिरालोबारे अध्ययन गर्न पाएँ । खासमा बिरालो सारै सुग्घरी हुँदो रहेछ । बिहान उठेपछि उसले मुख धुने, ज्यू चाटी सफा गर्ने गर्छ । आङ उसको सदा चिल्लो र चिप्लो हुन्छ ।

त्यो बिरालो हामीकहाँ आउँदा गर्भावस्थामा थिई । केही महिनापछि उसले बच्चा पाई । सानो बेलामा बिरालाले गुँड सार्छ भन्ने उखान त्यस बेला स्पष्‍ट भयो । मुखले बच्चा समातेर उसले जताततै पुर्‍याएर - लाग्दथ्यो, जङ्गलको प्रवृत्ति अझै उसमा समाप्‍त भएको थिएन, मानौँ एकै ठाउँमा बच्चा राख्दा अरूले त्यसको सुइँको पाउँछन् ।

अनि आउँछ उसले बच्चालाई तालिम दिने काल । उफ्रिने, झम्टिने, प्रहार गर्ने पन्जाले, रिसाउने, खुसाउने । सब सिकाउँछ उसले तथापि सारै दु:खदायी क्षण त सिकार गर्न सिकाएको अवस्था हुँदो रहेछ ।

एक दिन एउटा ठूलो मुसा मारेर ल्याउँछे । कतै घाउ चोट छैन उसको जीउमा । ल्याएर पलङमुनि उसले राख्दछे र बच्चाहरूलाई त्यहाँ पुर्‍याउँछे । उनीहरू नौलो जन्तु देखेर तर्सिन्छन् । आमा स्वयम् मुसालाई खेलौना जस्तो गरेर खेल्छे, मानौँ भनिरहेकी होओस्, यस निर्जीव वस्तुबाट केको भय ? यसबाट बच्चाहरू खेल्न थाल्छन् । एउटाले एकातिर तान्छ अर्कोले अर्कोतिर । घण्टौँको यस खेलबहाडमा समेत त्यो वस्तु खाने सामग्री हो भन्ने ती जान्दैनन् । अनि, आमाचाहिँ आएर मुर्दा मुसामा घाउ बनाइदिन्छे । त्यसबाट रगत चाटेपछि त्यस नयाँ स्वादबाट बच्चाहरूमा हिंसाको प्रवृत्ति स्वत: ब्यूझेर आउँदो रहेछ, र अनि ती यो पनि जान्दछन्- मुसा खेलौनाको साथसाथै भोज्य पदार्थ पनि रहेछ, आपसमा स्पर्धा र ङारङुर सुरु हुन्छ तिनमा ।

सिकारको यो उनीहरूको प्रतम अभ्यासपछि, दोस्रो कदमका रूपमा आमाले जीवित सानो मुसा पकडेर ल्याउँछे । कोठामा छाडिदिन्छे तथा ढोकाको छेउमा आफू बसेर त्यसलाई भाग्ने बाटो पनि बन्द गरिदिन्छे । बच्चाहरू त्रसित मुसालाई देखेर सुरुमा अचम्भित हुन्छन्, अनि बिस्तारै त्यसलाई लखेट्न थाल्छन् । आमाचाहिँ बीचबीचमा एक-दुई झप्पु दिएर मुसाको शक्ति क्षीण बनाइदिन्छे । भाग्ने प्रयास सकभर मुसाले गर्छ, तर चारैतिरबाट निराशा मात्र पाउँछ उसले । अनि, हुँदाहुँदा निराशाको यस्तो चरम सीमामा पुग्छ ऊ हतासिएर त्यसै लम्पसार पर्छ । निर्यातसमक्ष असहाय भएर पल्टेको मुसाको त्यो अवस्था देख्दा मेरी सानी छोरीले भनेकी थिई, "बुबा, त्यो मुसालाई बगैँचामा लुकाइदिऊँ ।"

मैले भनेको थिएँ, "छोरी, यो प्रकृतिको नियम हो, बिरालाले मुसा खाएको स्वभावजन्य अधिकारलाई छेक्ने हाम्रो हक छैन । मुसा खाएन बने बिराला बाँच्छ कसरी ? फेरि, सधैँ हामी बिरालाको चियो पनि त गर्न सक्दैनौँ ।"

आज मलाई लाग्दैछ, त्यत्रो दार्शनिक व्याख्या छोरीले बुझी वा बुझिन, तथापि ऊ चुप लागी । हामी हाम्रो समक्ष संहारको प्रक्रिया हेर्दे गर्‍यौँ ।

बच्चाको विकाससाथसाथै मुसाको आकार पनि बढाउँदै लैजान्छे आमाचाहिँ । पछिपछि हुँदाहुँदा त पूरा विकसित मुसालाई जिउँदै अघाइने रूपमा ऊ ल्याउँछे र छाडिदिन्छे कोठामा । आफू उफ्रेर, जिस्केर, प्रहार गरेर ऊ सारा युद्धशास्त्र बच्चालाई सिकाउँछे ।

यी सारा क्रिया गरून्जेल ऊ माया गर्छे बच्चालाई । अनि बच्चा पारङ्गत के बन्छ एक पटक, उसको माया स्पर्धामा बदलिन्छ । पहिले आफू नखाएर पनि बच्चालाई खान दिने आमा अब खाने बेलामा ती बच्चाप्रति ङुर्रसमेत गर्ने हुन्छे ।

यो अवस्था मानौँ सक्षमताको बाधक हो । मानौँ अब जीवनयापनको समस्या सामूहिक नभएर पूरा रूपले व्यक्तिगत बन्न गएको छ । त्यस बेला लाग्छ, जनावरमा समेत आफ्नो व्यक्तित्वको विकासको आकाङ्क्षा हुँदो रहेछ वा भनौँ आफूसमान अरूलाई हुन नदिने स्वार्थको जुन भन्को छ, त्यो सभ्यताको देन मात्र होइन रहेछ ।

अर्को कुरा जो मैले थाहा पाएँ, त्यो थियो सहवासको आवश्यकताले प्राकृतिक शत्रुता पनि सेलाउँदो रहेछ । जस्तै चलन छ भन्ने, कुकुर-बिरालो झगडा । तथापि, साथसाथ बस्ने अवस्था पर्न जाँदा ती दुई जनावरमा एक-अर्काप्रति बेवास्ताको भावना बढ्दै जाँदो रहेछ । पछिपछि त ती छेउछेमै ढक्केर घाम ताप्नेसम्म पनि हुँदा रहेछन् ।

सारा कुरा विचार गर्दा, हाम्रा जीवनमा हाम्रै आँखासामु अनेकन् घटना घटिरहेका हुन्छन्, हामीले हेरि मात्र दिन सक्नुपर्छ, बुझि मात्र दिन सक्नुपर्छ । बाल्यावस्थामा जुन प्रबन्ध लेख्‍न सिकाइन्छ, जसको आरम्भ नै'बिरालो एउटा चारखुट्टे जनावर हो' वा 'गाई एउटा चारखुट्टे जनावर हो' - त्यो कति गलत तरिका रहेछ शिक्षापद्धतिको, त्यो आज अनुभव हुँदैछ । बिरालाले आफ्नो ज्ञान जुन प्रकारले प्रदर्शनपद्धतिद्वारा आफ्ना बच्चालाई सिकाउँछ, त्यो मानिसले भर्खरभर्खर शिक्षापद्धतिमा अपनाउने प्रयोग आरम्भ गर्न थालेको छ। त्यो पनि सभ्यताको विकास दस हजार वर्षपछि ।

आज अनुभव हुन्छ जीवन पुन: आरम्भ गर्न पाए अनेक कुरा जो जान्नुपर्ने थियो र जो छुटिरहेको छ वा ढिला रूपमा मात्र पछिपछि जानियो, तिनलाई आरम्भमै जान्न सकिने थियो । ती कुरा अघि बुझ्न पाएको भए तिनले जीवनको प्रवाहलाई सायद नयाँ मोड दिन्थे कि ? जेजति गल्ती गरियो, हुन सक्छ, त्यसको मात्रा सायद कम पो बन्थ्यो कि ? केही नभए पनि सामान्य जीवनमा दार्शनिक दृष्‍टिकोणको बढी प्रभाव हुने थियो ।

हाम्रो ज्ञान सी ए टी क्याट, क्याट माने बिरालाको सतहबाट निश्‍चय पनि माथि उठ्ने थियो ।

------------------------------------

:: साभार: शङ्कर लामिछानेका निबन्ध (२०५९), साझा प्रकाशन, ललितपुर ।
सम्पादक: शिव रेग्मी ।

*तस्बिर: डिजिटलजर्नल.कम

15 comments:

  1. वाह! क्या दामी निबन्ध पढ्न पाईयो! पहिला पढ्ने सौभाग्य मिलेको थिएन। धन्यबाद!

    ReplyDelete
  2. धन्यवाद धाईबाजी शङ्करका पढ्न नपाएका रचनाहरु जुटाईदिनुभएकोमा ।

    ReplyDelete
  3. धन्यवाद शङ्करप्रेमीद्वयलाई !

    देखेर पनि देख्‍न नभ्याइरहेको सूक्ष्म दैनिक चटनाक्रमलाई साहित्यिक सेपमा ल्याउने शङ्करको खुबी यस निबन्धमा पनि दैख्‍न सकिन्छ । साहित्यिकता, सिङ्गो मूल भाव र शैलीगत चटकबाट यस निबन्धले मन लुटे पनि तर एउटा कुरामा भने शङ्करप्रति विमति राख्छु म यस लेखमा । जस्तो कि पुछारतिर भनेका छन् उनले- "आज अनुभव हुन्छ जीवन पुन: आरम्भ गर्न पाए अनेक कुरा जो जान्नुपर्ने थियो र जो छुटिरहेको छ...... ।" यो भाव अहिलेको (अर्थात् परिपक्वताको स्थितिमा) आएको विवेकशील सोच मात्र हो । र फर्किएर जीवन फेरि बालापन वा सुरुको अवस्थामा जाने हो भने उही काँचोपनमा अल्झिएर झिनामसिना कुराकै उलझधुलझमा परेर जान्नुपर्ने र मोड्नुपर्ने कति-कति कुरा छुट्नेछन् निश्‍चय नै । यही प्राकृतिकता हो । र यस्तो स्थितिलाई पुन जीवन आरम्भ गर्न पाएँ सच्याउँथेँ भन्नु मीठो काल्पनिकीको झिल्का सिवाय केही होइन ।
    यति मात्र ।

    ReplyDelete
  4. शंकर लामिछानेका मन नपरेका कुनै लेखन छैनन् । यो निबन्धमा पनि उस्तै दर्शन र विचार छन् अनि धाइवाजीको जुन तर्क निस्केको छ त्यो पनि अति परिपक्क पाठकले मात्र गर्न सक्छ भन्ने लाग्यो। हामी अन्धभक्त पाठक बन्नु हुँदैन पनि। 'बडाले जो गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत। छैन शंकरको नंगा मगन्ते भेष निन्दित ।। ' नहोस्।

    ReplyDelete
  5. सर्ब प्रथम त माफ गर्नु होला निकै समय पछि यो स्मृति घरमा छिरेकोमा | झण्डै भुलेको -
    निकै समय को अन्तरालमा छिरेको त निकै - मिठो खुराक चाख्न पाइयो धन्यबाद ! तपाईको लक्ष्य पुराहोस |

    ReplyDelete
  6. shankar lamichhne aafnaima MAHAN SHRASTRA hun kasaile gali ra tali dinupardaina saaathi.....baru sabailai ramrari padhana salhha dinus.

    ReplyDelete
  7. आभार अर्का प्रेमीद्वयलाई ।
    शङ्कर स्मृति घरमा अनुज जीको प्रथम पाइलालाई स्वागत छ गर्दै यथाशक्य स्वच्छ साहित्यको वेगमा चाल मारिरहने विश्‍वास दिलाउँछु । यसको लागि खुला विश्‍लेषणले हामीबीच बहसको रूप लिँदै जानेछ भन्ने आशा पनि छ ।

    वेदनाथ जी, स्मृति घर आफैँ विस्मृतिको लामो निद्रपछि पुन: ब्युँझिएको छ, तपाईँ मित्रजनलाई छाडेर यो कहाँ पो छलाङ लगाउन जाने हो र ? सल्लाह-सहयोग जारी रहोस् । शुभेच्छाका लागि धन्यवाद !

    ReplyDelete
  8. भुपेन्द्र जी, मनकारी कुरा राख्‍नुभयो, शङ्करको महान्‌तामा शङ्का छैन । यस ब्लगको जन्म हुनुको कारण पनि उनकै विशिष्‍ट योगदानको सानोतिनो आराधन हो ।
    तपाईँले कमेन्ट बक्समाथिको आह्वान पढेर आफ्नो भनाइ राख्‍नुभएको हो भने गाली र तालीको अर्थ त्यति कडा रूपमा पनि नबुझिदिनुहोला । विश्‍लेषण र बहसको ढोका कस्तै महान्‌ र अद्वितीय प्रतिभाको हकमा पनि बन्द हुँदैन । चर्चा र क्रिया-प्रतिक्रियाले स्रष्‍टाको महान्‌तामा ठेस पुग्दैन, बरू उनलाई थप बुझ्न र बहुआयामिकतामा हेर्न मद्दत पुर्‍याउँछ ।
    तपाईँको टिप्पणीको लागि धेरै धन्यवाद । फेरि-फेरि पनि राय दिनुहोला ।

    ReplyDelete
  9. interesting and artistic...

    ReplyDelete
  10. यस्तो बिरालो मैले नेपालमा देखेको थिएन । जे होस् लेख राम्रो जानकारीमूलक लाग्यो ।

    ReplyDelete
  11. यो निबन्ध मैले पहिलो चोटी पढेको जस्तो लाग्यो , अबसर जुराईदिनु भएकोमा धाइबा जीलाई धन्यबाद ।

    ReplyDelete
  12. really true ...after i reading this cat क्याट माने बिरालो i feel like i learned somthing different and unique thing ..i cannt expalin it right now...i should have read it befor...

    ReplyDelete
  13. There is no words that can express the depth of sentiments and feelings which could respect the great contribution. It is good that we as readers can follow the same depth of the emotions while reading. This is what I think today's writer should learn from him, to give the words which really touch the heart of readers.

    ReplyDelete
  14. बलदेव
    अर्को कुरा जो मैले थाहा पाएँ, त्यो थियो सहवासको आवश्यकताले प्राकृतिक शत्रुता पनि सेलाउँदो रहेछ । मैले यहाँनिर राम्रो सँग बुझ्न सकिन ।
    यसपछि सहवासका कारण शत्रुता शुरु हुने कुरा छ ।
    लेखाइ राम्रो छ । हुनसक्छ , यो त्यतिबेलाको शिक्षा प्रणाली प्रिती उनको आक्रोश । अवश्य पनि प्रयोगात्मक शिक्षा सिक्न सजिलो हुन्छ नै ।

    ReplyDelete
  15. समयले फड्को मारिसकेको छ ,मारिरहेको छ । हामी अझै कोक्रोमा लोरी सुन्दैछौँ । वास्तवमा मान्छे धेरै पछाडि छ। खासगरी हामी पछी छौं। खै हाम्रो दौड (युग सँगको ,समय सँगको र सभ्यता सँगको)कहिले सुरु हुने हो! दर्शन र जीवनोपायोगी जानकारी हरु यत्रतत्र छन् । हामीमा जीवन बुझ्ने सुक्ष्म ज्ञान हुने हो भने त्यो ज्ञान हाम्रै ओरिपरी छ । टाढा पुग्नु पर्दैन । घोकन्ते प्रब्रित्ती मा रूमलि रहेका हामी बुझन्ते प्रब्रित्तिमा लाग्नु पर्ने हो जो गरिरहेका छैनौँ।
    यो लेख शंकर दाई को तर्फबाट समग्र मानव समाजका निमित्त दिईएको पारदर्शी चश्मा हो । मैले यही बुझेँ। धन्यवाद धाइबा !!
    Deeps Shah

    ReplyDelete

۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्‍नुस्---