Sunday, June 25, 2017

लघु संस्मरण, लघु लिपिमा शङ्कर दाइ

भूतपूर्व लेखनकला, वैचारिक प्रखरता र विभिन्नताका धनी, कथावस्तु विनाका कथाका पनि जन्मदाता । नेपालीमा हाइकुका प्रथम प्रयोक्तासमेत रहेका शङ्करदाइ 'इम्प्रेसनिज्म्' जस्ता नौला साहित्यिक धाराहरूको स्वाद हामीलाई चखाउने प्रथम व्यक्ति पनि थिए । कुरैकुरामा एकदिन मैले उनलाई सोधेको थिएँ, "दाइका प्रेरक साहित्यिक गुरुहरू लरेन्स डुरेल र सारोयानमध्ये कुन चाहिँ हुन् ?"

"मलाई त्यस्तो दम्भ गर्न मन त लाग्दैन, तर कहिलेकाहीँ म स्वयम् शङ्कर सारोयान र लरेन्स लामिछानेमध्ये कुन चाहिँ बढी हुँ, ठम्याउनै सक्दिनँ !"

यो उत्तर पनि मलाई अति 'एब्स्ट्र्याक्ट' (Abstract) जस्तो नै लाग्यो । अर्थात्, मैले केही बुझेँ पनि, बुझिनँ पनि । उनका निबन्धहरूले अत्यन्त प्रभावित भएर मैले उनलाई 'निबन्ध शिरोमणि' मानेको पनि धेरै भयो ।

तर अचम्म, 'दि काठमान्डु पोष्‍ट' अङ्ग्रेजी दैनिकमा सन् १९९७ देखि पछिका दुई वर्षमा हरेक साता छापिने मेरा करिब ३०० जति स्मृतिप्रधान रचनाहरूमध्ये एउटैमा पनि शङ्कर कसरी परेनन् होला, के भएर छुटे होला, म स्वयम् पनि भन्न सक्दिनँ । जब कि तिनमा कुने बेला यस्ता व्यक्ति पनि परे, जसलाई आजीवन समेत भेटेको थिइनँ- जस्ते निराद सिंह चौधरी ।