Sunday, March 15, 2009

जापानी हाइकु कविता

-६ वर्षअघि मैले हाइकु शैलीका एक दुई कविता रूप-रेखामा प्रस्तुत गरेको थिएँ । तिनको छोटकरीमा तथा देखिने सहजताको परिणामस्वरूप सबैले खिसी त गरे, हाइकुको बाढी आयो, सम्पादकको डेस्कमा । हाइकुकविता वास्तवमा त्यति सहज कविता होइन । ५-७-५ अक्षरका कवितामा यसका तीन पङ्क्तिको मुख्य विभाजनमा एउटा दर्शन छ ।

जापानी साहित्यमा हाइकु शैलीका कविताका सबभन्दा चर्चित कवि हुन् बासो । उनको बहुचर्चित कविता लिऊँ -


फुरूइके या (५) पुरानो ताल
कावाजु टोबिकोमू (७) भ्यागुतो उफ्रिन्छ
भिजू नो ओटो (५) पानीको शब्द ।

आफ्ना शिष्यहरूसमक्ष कविताको व्याख्या गर्दा बासोले भनेका थिए, उनका कविताको चरित्रको दुई विशेषता छन् । परिवर्तन तथा स्थायित्व । जापानी कविताको अध्ययन गर्ने व्यक्तिलाई थाहा हुनेछ, त्यसबखत परम्परालाई मात्र कायम राख्‍ने एक रोग व्याप्‍त थियो, उनको साहित्य समाजमा । बासोका कथन अनुसार, "मेरो कवितामा प्रत्येक वर्ष परिवर्तन आउनुपर्दछ र ती प्रत्येक महिना स्वच्छ हुनैपर्दछ ।"

आउनुहोस् यस सन्दर्भमा माथिको कविताको अध्ययन गरौँ ।

पहिलो पङ्क्तिमा, विश्‍वको कवितात्मक अभिव्यक्ति जनाइन्छ- त्यो हो समयहीन, सञ्चालनहीन पानी तालका । दोस्रो पङ्क्तिमा सामयिक हलचल जनाइन्छ- जसमा भ्यागुतोको उफ्राइ जनाइन्छ । तिनको सङ्घर्षको परिणाम हो तेस्रो पङ्क्ति- पानीको शब्द !! यसैलाई यदि औपचारिक रूपमा व्याख्या गर्ने हो भने पहिलो पङ्क्तिले चिरन्तन सत्य अभिव्यक्त गर्छ , जो जापानी साहित्यको एक आधारभूत गुण हो;बासोको देन यहाँ छ सञ्चालन निमित्त प्रयोग गरिएको भ्यागुतो, जो बेढङ्गको स्वररहित, परम्परालाई भत्काएर नयाँ परम्परा स्थापित गर्दछ ।

सत्यको खोजी नै यदि कविताको मुख्य वस्तु ठान्ने हो बने त्यसलाई जने बुद्धिज्मका सन्दर्भमा हामी बुझ्न सक्छौँ, जसअन्तर्गत अन्य कुराका अतिरिक्त, बोध हामीलाई एक्कासि हुन्छ भन्ने सिकाइयो । यसै अनुरूप, नयाँ शिष्यलाई एक्कासि पाठ घोकिरहेको बेला कपालमा विस्तारै हिर्काउने गर्थे उनीहरू, ज्ञान उमार्न । जे होस्, एक्कासि उम्रेको भावना नै हाइकुको आत्मा हो । बासोको अर्को उत्तिकै चर्चित कविता लिऊँ-

कारेइदा नी (५) जर्जर हाँगा
कासुनो तोमार्केरी (७) कौवा एक बसेछ
आकिनो कुरो (५) शरद्‌मा सन्ध्या ।

बासोको यो कविताले प्रसिद्धि पायो- लाखौँ चित्रणमा । तर चित्रण गर्ने भने उनको उद्देश्य थिएन । कवितामा चित्रण मात्र उनी चाहदैन तिए, यसको उदाहरण निमित्त अर्को कविता लिऊँ-

सिजुकासा या (५) कस्तो निस्तब्ध
इवानी सिमिइरू (७) झ्याउँकिरीको शब्द
सेमी नो कोई (५) डुब्छु डुङ्गामा ।

हाइकु कवितामा सुधारको सम्भावना जहिले पनि हुन्छ । १००-२०० वर्षको कुरा त्यहाँ आउँदैन । (सन् १७१७-८४) मा लेखे :−

च्छुरो गाने नी (५) मन्दिर घण्टा
तोमारिते हिकारू (७) आरामसाथ मस्त
कोचो का ना (५) क्या झ्याउँकिरी !

दोस्रो उपमा सिकीको (१८७६-१९०२)

च्छुरो गाने नी (५) मन्दिर घण्टा
तोमारिते किकारू (७) आराम ली उज्ज्वल
होतारू का ना (५) त्यो झ्याउँकिरी

यहाँ तपाईँहरूले देख्‍नुभयो होला- प्रत्येक कवितामा एक पद्धति छ- आफ्नै । प्रथम पङ्क्तमा विश्‍व अवस्थाको; दोस्रोमा सब्जेक्टको अवस्थाको, तेस्रोमा प्रतिक्रियाको ।
यी सारालाई अनुबन्ध गर्नुपर्‍यो १७ अक्षरमा !
सम्भव छ के ?

हाइकु, त्यही हो ।

---------------------------------------------------------------
प्रथम पटक प्रकाशित : रूपरेखा, पूर्णाङ्क ११३, असोज २०२७ साभार : शङ्कर स्मृति (व्यक्ति, कृति स्मृति), सन् २००६- पैरवी बुक्स, काठमाडौँ ।
सम्पादक- प्रकाश सायमी ।

2 comments:

  1. हाईकु लेख्नेहरुको लागी यो ज्यादै राम्रो र पुरानो सामाग्री ( गाडधन) पो ल्याउनु भएछ । यदाकदा मैले नि हाईकुहरु लेखेको छु । पहिले पहिले स्कूलमा हुँदै हाईकु सम्बन्धी लेखहरु चाख मानी मानी पढ्थेँ । जापानीज हाईकुकै उल्थामा एक पटक

    हरियो दुबो
    सर्र पिसाब फेर्दा
    अहा ! क्या मज्जा !

    लेखेको पढेको थिएँ मैले कस्ले लेखेको हो र कस्ले उल्था गरेको हो त बिर्षें तर निक्कै हाँसो आएको थियो । त्यस्तो गहनता केहि बोलेको छैन सायद यस्ले तर भद्दा अश्लिल पनि लागेको थिएन मलाई त ।

    ReplyDelete
  2. सारै कुतकुत्याउने हाइकु रहेछ । हाँसो पनि लाग्यो । अल्लारे बेलामा अल्लारे हाइकु नै फेला पार्नुभएछ ।
    गाडधन नै त यो होइन, शङ्करको यो रचना सर्वसुलभ नै छ । तर हाइकु भन्नासाथै संरचनात्मक रूपमा ५-७-५ को अक्षरसंयोजन बुन्नासाथै थानथान रचना बुन्ने जुन हल्का परिपाटी छ आम बुझाइमा, त्यसलाई यो छोटो रचनामार्फत शङ्करले झापट चखाएका छन् । यति छोटो लेखले धेरै पाठ पढाउन सक्ने रहेछ । धेरै पटकको पढाइबाट त्यो महत्ता बुझेर शङ्करप्रेमी तथा हाइकुप्रेमीहरूलाई यो खजाना टक्र्याएको हुँ ।

    ReplyDelete

۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्‍नुस्---