२००७ सालको पुस महिनाको जाडो साँझ । मैतीदेवीको फाँटको बीच खेतमा टायलको एउटा घर । त्यसको ढोकामा म चिच्याउँदै थिएँ- 'देवकोटाजी हुनुहुन्छ ?' माथिबाट कुनै अंग्रेजी ऐतिहासिक किताब जोरसँग घोकेको शब्द आइरहेको थियो । मेरो मनमा लाग्यो सायद हेनरी आदौंका जीवनी पढ्ने यो कुनै मेट्रिकको विद्यार्थीका घरमा म पुगेछु भूलले ।
सेतो पुरानो छिटको धोती लाएकी एकजनाले मेरो नगिच आएर भन्नुभयो- 'माथि ऊ त्यो कोठामा जानुहोस् ।'
जीवनमा पहिलोचोटि देवकोटाजीसित परिचय पाउने उत्साहमा मेरो मन धकमक गरिरहेको थियो । 'सुन्दरीजल' र 'शाकुन्तल महाकाव्य' लेख्ने कविको साक्षात् दर्शन । भर्याङको हरेक खुड्किला पहाडझैं लागेपछि २/२ वटा गरेर म कोठामा उफ्रेर एक्कासि पुगेँ । देखेँ- कालो कम्बलले गुटुमुटु भएर एउटा मैलो फोहोर ओछ्यानमा पल्टेर घोप्टिई देब्रे हातले चिउँडो अडाएर उच्चस्वरमा एकाग्र चित्त भई पढिरहेछ । एक मन त लगत्तै फर्कूँजस्तो लाग्यो सायद उहाँ त्यो महाकवि होइन होला भन्ठानेर । के छ अनुहारमा कालो फुस्रो मुख छ । कपालका रौं आफूखुसी दस दिशा दौडिरहेछन् । कम्बलबाट निस्केका हातमा झ्याप झ्याप्पी रौं कालो फुस्रो हात मसी-मसी लागेको । यस्तो मानिस पनि महाकवि ! कोठामा चारैतिर हेरेँ ।