वाह तोपलाङ् !
तिम्रो चित्र मेरो हृदयमा स्थायी बनेको छ । तिम्रो सङ्घर्षको कथा र पीडाका घाउहरूले म तरल बनेको छु ।
कपासको फूलजस्तो
हुस्सुका गुच्छाहरू
तल खोँचबाट उठिरहेका
आकाश चुम्न
हरियालीको पृष्ठभूमिमा
फूल झैँ आकाङ्क्षाका गुच्छाहरू पनि
आकाश चुम्न उठेको
अनुभूत गर्छु
तोपलाङ्मा ।
एउटा संयोग मात्र थियो म तोपालाङ् पुग्नु । एउटा सुखद् तर आकस्मिक भविता । जीवनमा भइरहने सामान्य घटनाहरू झैँ एउटा छोटो यात्रा केही घन्टाको । कहिलेकाहीँ यस्ता सामान्य घटनाको ठूलै अर्थ र प्रभाव रहन्छ मान्छेको जीवनमा । जीवन भनेकै सूक्ष्म अवलोकन हो जसले नदेखिएका अनन्त भविताहरूको गहिराइ देख्छ र अर्थका सार्थक तहहरू अन्वेषण गर्छ । एउटै घटना र संयोजित दृश्यको पनि अनन्त अर्थहरू उत्पादन गर्ने सम्भावना रहन्छ, सौसरले भने झैँ । तर त्यहाँ जरुरत छ खोजीको, भोकको, प्रतिबद्धताको, सिर्जनशीलताको, जीवनदृष्टिको र सकारात्मकताको ।
तोपलाङ्मा मैले भैरवबहादुरलाई भेटेँ । उनी आफैँ तोपलाङ्का जीवित स्तम्भ बनेको पाएँ मैले । सत्तरी शिशिर पार गरेका उनको अनुहारका असङ्ख्य रेखाहरूमा सङ्घर्षको महाआख्यान पढ्न सकिन्छ । प्रत्येक रेखाहरू समयका क्रूर कोर्राबाट लेखिएका हुन् । अभाव, विपन्नता, अन्याय, अत्याचार, राज्यको पूर्वाग्रह र बेवास्ता आदिबाट संयुक्त रूपमा सिर्जित पीडाका उदास रङ्गहरूले कोरिएका हुन् उनका अनुहारका धर्साहरू । उनको दृश्य पिल्लिएको पाएँ मैले पीडाका तुलिकाघातले । उनको हृदयको पोखरी आफ्नै आँसुले भरिएको छ । उनको हृदय भन्छ :
तोपलाङ्मा पानी पर्दा
मेरो आँसु मिसिएर झर्छ
म सधैँ चिन्तित हुन्छु
मेरो आँसु मिश्रित झरीले
हरियाली डड्ने त हैन !
हो भैरवबहादुरको जीवन तोपलाङ्कै उन्नतिमा समर्पित छ र उनी चिन्तित बनेका छन् मातृभूमिको प्रगतिप्रति ।
जवानीमै सेनाको आकर्षक जागिर छोडेर उनी गाउँ फर्किएका हुन् र प्रयास गरेका हुन् गाउँको मुहार फेर्न । उनको जीवनमा आँसुको कथा मात्र छैन । उनको अनुहारमा पीडामा रेसा सँगसँगै उन्मुक्त हाँसो पनि छ । गाउँलेहरूलाई सङ्गठित गर्दै सामूहिक प्रयासद्वारा परिवर्तनका पक्षमा उभ्याउन सकेको सफलताको खुसी पनि निस्वार्थ र निस्कपट हाँसोमा प्रतिबिम्बित हुन्छ ।
यो देशमा सारा राजनीति सामान्य र गरीब जनताकै उन्मुक्तिको लागि गरिएको छ र शासन तिनकै रक्षा र समृद्धिको लागि लक्षित भनिएको छ इतिहासमा । इतिहासको पछिल्लो टुप्पोसम्म पनि यही नै दसी कायम छ । तर यी सबै दसीहरू झूट, पाखण्ड र आडम्बर भएका छन् भन्ने प्रमाणका लागि एक्लै तोपलाङ् काफी छ ।
राजधानीबाट केही किलोमिटर भित्रै पर्ने धादिङको यो गाउँ वास्तवमै धेरै अर्थमा नेपालका ठगिएका गाउँहरूको प्रतिनिधि हो भन्ने लाग्छ मलाई । न यहाँ 'एउटा गाई र घरको चित्र' पुग्यो, न 'गाउँ फर्क राष्ट्रिय अभियान', न पुग्यो 'एशियाली मापदण्डको वायु, न त 'आफ्नो गाउँ आफैँ बनाऊँ'को राष्ट्रिय अभियानको प्रभाव । यी नाराहरू केवल शत्तासीनहरूको दीर्घायुका लागि सिर्जना गरिएका प्रतिबद्धताविहीन नाराका नयाँ अवतारहरू मात्र भएका छन् तोपलाङ्का लागि ।
जनताप्रति गरिएको धोकाहरूको शृङ्खला बढ्दै जाँदा विद्रोहको आगो पनि दन्किन्छ नै । तोपलाङ्माथिको राज्यको ज्यादती सम्झँदा मलाई मेरै गाउँको सम्झना भयो । झापाको भौतिकरूपमा अविकसित गाउँबाट झापा विद्रोहको आगो हुर्केको थियो । राज्य र राज्यहरूद्वारा पोषित सामन्तहरूको विरुद्धमा वि.सं. २०२० को दशकको अन्त्यतिर । चिनियाँ सांस्कृतिक क्रान्तिको प्रभावमा भारतको पश्चिम बङ्गाल राज्यको नक्सलवादीबाट चारु मजुमदारको नेतृत्वमा उठेको सशस्त्र विद्रोहको पहिरो असर पर्यो त्यहाँ । वि.सं. २०२० को दशकको अन्त्यतिर झापा विद्रोहले चरम रूप लिएको थियो । यस्तो सशस्त्र विद्रोहको चरमोत्कर्षमा युवाहरूले सामन्तको टाउको गिड्नेसम्म अभियान चलाएका थिए । तर तोपलाङ् संयमित छ, उसको विद्रोहले हतियार रोजेन । विद्रोहबाट उत्पन्न हुन सक्ने खतरनाक परिणतिबाट जोगिँदै आफ्ना चेतनाका आवाजलाई आफ्नै ढङ्गले बुलन्द गरिरह्यो । यद्यपि ती आवाजहरू राज्यका अगाडि साउतीभन्दा बढी केही हुन कसेका छैनन् -अहिलेसम्म ।
भैरवबहादुरको उन्मुक्त पारदर्शी हाँसोमा उनको सफलताको कथा पनि प्रतिबिम्बित हुन्छ । उनको सबैभन्दा ठूलो विश्वास छ, गाउँलेको एकता र तोपलाङ्बासीको सहकार्यमा । उनको परिवर्तनको लडाइँ पनि यही बलमा टिकेको छ । उनीहरूले लडेर स्कुल ल्याए राज्यबाट । तर शिक्षक बेपत्ता छन् अहिलेसम्म । त्यहाँका बालबालिका चार घन्टा एकतर्फी हिँडेर प्राथमिक शिक्षा लिन जान बाध्य छन् । राज्यको ध्यान तान्न निरन्तर सदरमुकाम धाइरहेछन् गुनासोका पुलिन्दा बोकेर उनीहरू ।
राजधानीको नाकैमा पनि देखेन राज्यले तोपलाङ्लाई । बाटोका लागि बजेट नदिएर निषेध गर्न खोज्यो । तर गाउँले मिलेर खने बाटो र जोडे नजिकको केन्द्रसँग । अवसरको राजमार्ग खोज्दै । राजधानी उज्यालोमा डिस्को नाच्छ । सँगै तोपलाङ् अन्धकारमा उच्छ्वास छोड्न बाध्य छ । अन्धकारकै बीचबाट पनि चहकिलो उज्यालोको खोजी गर्न ऊ प्रयत्नशील छ ।
सूचनाको हकको आधारभूत अधिकारको नाङ्लो ठटाउँछ राज्य राजधानीबाट । सँगै तोपलाङ् सञ्चारसँग विच्छेदित भई कुहिरामा हराइरहेछ ।
राज्य गाउँको आवाज नसुन्ने बहिरो भएको छ, समस्या नदेख्ने अन्धो, पीडा अनुभूत गर्न नसक्ने निर्दयी र ध्यान दिन नसक्ने अविवेकी बनेको छ । राज्य तोपलाङ्का लागि चेतनाहीन मुर्कुट्टा बनेको छ । लज्जास्पद कुरा के छ भने राजधानीबाट आफूलाई जनमुखी भनी सरकार ढ्वाङ् फुकिरहेछ । सुन्दर प्रकृतिको अनुपम सौन्दर्यमा गर्व गर्छ तोपलाङ् । हरियालीको बर्को ओढेर मुसुक्क मुस्कुरायो हामीलाई देखेर । यही हरियालीलाई आफ्नो र सन्ततिका सम्पदा ठानेका छन् यहाँका मानिसहरूले । डेढ दशकअघि सुख्खा डाँडा बन्न लागेको वनको संरक्षणका लागि सङ्गठित प्रयास गरेर फर्काउन सके हरियाली । प्रत्येक बच्चाको आँखामा चम्किने हरियालीको प्रतिबिम्ब वास्तवमा जीवनको प्रतिबिम्ब हो । तोपलाङ्ले जीवनको प्रतिरूप जोगाएको छ ।
तोपलाङ् आत्मनिर्भर बन्न प्रयत्नरत छ । भुटेका मकै र साँधेको गुन्द्रुकमा रमाएको छ । अहिलेसम्म राज्यले चामलको लाइनमा उभ्याएको कर्णालीको जस्तो नियति भोग्नबाट जोगिएको छ ऊ । जे फल्छ त्यो नै उसको हो । आफ्नै आधारमा उभिएर तोपलाङ् बाँचेको छ ।
भैरवबहादुरको आकाङ्क्षा, प्रतिबद्धता र सङ्घर्षलाई मनोजको नातिपुस्ताले निरन्तरता दिइरहेको छ । अझ प्रगाढ सपनाको साथ । प्रयासहरूको निरन्तरता नै उपलब्धिमा पुग्ने सिँढीहरू हुन् जीवनका । सिङ्गै गाउँ सङ्गठित रूपमा यिनै प्रयासका सिँढीहरू उक्लिरहेछ ।
राज्यको खुनी पञ्जाबाट पनि आफूलाई बचाउने प्रयास गरेको छ तोपलाङ्ले आफूलाई । उत्पादकत्व बढाउने र उन्नत प्रविधिका नाममा जहाँ जहाँ राज्य पस्यो समस्या सँगै थोपरेको छ । तोपलाङ प्राकृतिक छ, जैविक वा अर्ग्यानिक छ । राज्यको काँध चढेर आयातीत रसायन छिरेको छैन त्यहाँ अहिलेसम्म । घातक रसायन रोक्न प्रयत्नशील छ तोपलाङ् ।
शताब्दीऔँ लामो इतिहास भएको समृद्ध तामाङ संस्कृति तोपलाङ्को मौलिक परिचय बनेको छ । आफ्ना भाषा र संस्कृतिप्रति गर्व गर्दै यसको संवर्द्धनमा भिडेको छ तोपलाङ् । तोपलाङ् बहुलता स्विकार्ने उदारता देखाउँछ तर आफ्नो परिचय आफ्नै संस्कृतिबाट अघि सार्छ । इतिहासको गर्वमा मात्र होइन, तोपलाङ् वर्तमानमा नै बाँचेको छ । नजिकै चन्द्रागिरी पुगेर जीवन र प्रकृतिका शास्वत कविता रचना गरेका महाकवि देवकोटाले पनि काव्य लेख्दा सायद तोपलाङ्को प्रभाव पनि लिएको हुनुपर्छ ।
तोपलाङ्का प्रौढ महिला पनि अक्षर पढ्छन् । अक्षरभित्र अन्तर्निहित जीवन र सभ्यताका आयामहरूको खोजी यहाँका महिलाले गरेका छन् । इतिहासमा सधैँ ठगिँदाको पीडाका वर्णमाला र उन्मुक्तिको सार्थक वाक्य पूरा गर्न सङ्घर्ष गरिरहेछन् उनीहरू । हँसिया, कुटो र लिपपोतका साथमा उज्यालाका गीतहरू पनि गाइरहेछन् उनीहरू ।
हामी, तोपलाङ्का मित्रहरू छत्र क्षितिज र ऋषि बस्ताकोटीको प्रयासमा यहाँ आइपुगेका छौँ - गणतन्त्र घोषणा कार्यान्वयन भएको अर्को हप्ता । रगतले लेखिएको आँसुले लेखिएको, सिन्दूर र पीडाका मसीले लेखिएको गणतान्त्रिक नेपालमा तोपलाङ्को चित्र कसरी उतारिनेछ ? के तोपलाङ्जस्ता हजारौँ गाउँहरू उक्लिनेछन् राष्ट्रिय एजेण्डाका केन्द्रमा ? नयाँ नेपालको नयाँ अनुहारको चहक विपन्न गाउँबाट उदाउने छ ?
तोपलाङ्को छोटो यात्रामा यिनै यक्ष प्रश्न मेरो मनमा चट्याङ् जसरी गाडिएका छन् ।
- tankaupreti@hotmail.com